विकासन्युज

थप १५ दिन बन्द हुँदै नारायणगढ-मुग्लिन सडक

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड थप १५ दिन दिउँसोको समयमा यातायात बन्द गरिने भएको छ । पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो । गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । पछि माघ ६ गतेदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० बन्द गरिएको थियो । थप गरिएको समय फागुन ६ गते सकिँदैछ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सरोकारवालाको बैठकले थप १५ दिनका लागि सडक बन्द गरेर काम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार भित्तो काट्ने काम कठिन भएपछि मङ्गलबार जिल्ला प्रशासन कार्यालय चितवनले विस्फोटक पदार्थको अनुमतिका लागि मन्त्रालयमा सिफारिससमेत गरेको छ । अनुमति आएसँगै विस्फोट गराएर ढिस्को फोर्ने काम हुने उनले बताए । तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानको डाँडो रहेको छ । सो डाँडोलाई काट्न कठिन भएको हो । अन्य पुलको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी इ कृष्ण आचार्यका अनुसार भित्तो काट्न कठिन हुने भएपछि विस्फोट गर्नका लागि फाइल विभाग हुँदै मन्त्रालय पठाइएको छ । उक्त फाइल रक्षा, गृह हुँदै अघि बढेको छ । विस्फोटको स्वीकृत भएसँगै भित्तोमा विस्फोट गर्ने योजना रहेको उनले बताए । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वट पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउ भिर भएको ठाउँमा अर्को पुल बनाउँदै गर्दा भित्तो काट्नुपरेको हो । रासस

यती एयरलाइन्स दुर्घटना : नेपाल लाइफले मृतकको परिवारलाई दियो एक करोड बढी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एक करोड एक लाखको दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले यती एयरलाइन्सको दुर्घटनामा मृतक परिवारलाई सो रकमको बीमा दावी भुक्तानी गरेको हो । इन्स्योेन्सले बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतक संगिता शाहीले इच्छाइएको व्यक्ति कोपिला घर्ति क्षेत्री (आमा) लाई एक करोड एक लाखको चेक हस्तान्तरण गरेको हो । पोखरा उ.म.पा-१७, कास्की ठेगाना भएकी बीमित संगिता शाहीको गत माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घंटनामा असामायिक निधन भएको थियो । आफ्नो जीवनकालमा स्वर्गीय संगिता शाहीले नेपाल लाइफ इन्स्योरेन्स बालाजु शाखा कार्यालयबाट २०७९ भदौ २९ गते ५० लाख रुपैयाँ बीमाङ्क भएको जीवन सहारा बिमा योजना लिएकी थिइन् । बीमाङ्क बापतको रकम अन्तर्गत ५० लाख रुपैयाँ र दुर्घंटना मृत्यु दावी बापत ५० लाख रुपैयाँ गरी जम्मा एक करोड एक लाख रुपैयाँ इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको इन्स्योरेन्सले जानकारी गराएको छ ।

इप्पानले दुई दिने पावर समीट आयोजना गर्ने, ५ हजार मेगावाटको परियोजना प्रदर्शन गरिने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आठौं संस्करणको ‘पावर समीट २०२३’ को आयोजना गर्ने भएको छ । इप्पानले उक्त समीट आगामी चैत १४ र १५ गते गर्न लागेको हो । दुई दिन चल्ने उक्त समीट ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ काठमाडौंको हायात रिजेन्सीमा हुने छ । उक्त समीटमा ३० भन्दा बढी देशका ३ सय अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रहने छ । साथै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू, विक्रेताहरू, थिंक ट्याङ्कहरू र अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब आठ सय जना सहभागी हुने बताइएको छ । इप्पानले सन् २००६ मा पहिलो पावर समीट आयोजना गरेको थियो । यसले मुलुकमा विद्युत् उत्पादनको लागि अनुकूल वातावरण सिर्जना गर्न ठूलो योगदान गरेको बताइएको छ । सोलु-दुधकोशी जलविद्युत आयोजनाबाट ८६ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा थपिएसँगै देशको कुल राष्ट्रिय प्रसारण लाइनको जडित क्षमता करिब २५ सय २० मेगावाट पुगेको पनि इप्पानले बताएको छ । यो वर्ष करिब ६०० मेगावाट प्रणालीमा थपिने र सन् २०२७ सम्ममा कुल जडित क्षमता ६७०० मेगावाट पुग्ने अपेक्षा छ । सन् २०२२ मा नेपालको विद्युतको उच्चतम माग करिब १७०० मेगावाट मात्र थियो । अबको वर्षायाममा करिब १००० मेगावाट विद्युत बचत हुने देखिएको पनि इप्पानका पदाधिकारीहरुको अनुमान छ । त्यस्तै, विद्युत उत्पादनमा निजी क्षेत्रको योगदान हालको ५५ प्रतिशतबाट बढेर ८० प्रतिशत हुने अनुमान गरिएको छ । नेपालमा कोइला वा पेट्रोलियम पदार्थको उपलब्धता छैन तर जलविद्युत, सौर्य, वायु र बायोमास लगायतका हरित ऊर्जाको ठूलो स्रोत रहेको इप्पानका अध्यक्ष कृष्ण आचार्यले बताए । उनका अनुसार पेट्रोलियम पदार्थबाट हरित ऊर्जामा पूर्ण रूपान्तरण गर्नु भनेको नेपाली अर्थतन्त्रलाई वास्तविक रुपमा आत्मनिर्भर बनाउनु हो । ‘आज हामी मुलुकका ऊर्जावान् र सक्रिय जनशक्ति पेट्रोलियम पदार्थ धनी देशहरूमा काम गर्न जान्छन्, उनीहरूले त्यहाँबाट पठाएको रेमिट्यान्सले अर्थतन्त्र सञ्चालन मात्र होइन, त्यही रेमिट्यान्सले हामी त्यही देशहरूबाट पेट्रोलियम पदार्थ खरिद गर्छौं, यो दुष्चक्र तोड्न सकिन्छ, त्यसैले आजको समय भनेको हरित ऊर्जाको बजारलाई फराकिलो बनाउने सम्पूर्णरुपले ध्यान केन्द्रित गर्ने समय हो, र, यो समिटको मूल उद्देश्य यही हो,’ उनले भने । यो पावर समीटले हरित ऊर्जा क्षेत्रमा संलग्न सबैका लागि सञ्जाल बनाउने र एक अर्काबाट सिक्ने र अनुभव आदान-प्रदान गर्ने ठूलो अवसर रूपमा इप्पानले लिएको छ । जसमा भएको छलफलले नेपालको हरित ऊर्जाको बजारका लागि ढोकाहरू पहिचान गर्न र त्यसलाई खोल्नको लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ । उक्त समीटमा पर्यावरण, सामाजिक र सुशासन, क्षेत्रीय सहकार्य र ऊर्जा सुरक्षालगायतका विषयमा नेपाल लगानी बोर्ड तथा निजी क्षेत्रका तर्फबाट ५००० मेगावाटका परियोजनाहरू (प्रोजेक्ट बैंक) प्रदर्शन गरिनेछ । यो सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने भएका छन् ।

ल्होत्से मलको मोबाइल पसल लुटपाट गरेको आरोपमा चार पक्राउ, को को ?

काठमाडौं । ल्होत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट गरेका आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गर्दै चार जना आरोपितलाई पक्राउ गरेको जानकारी गराएको हो । साथै, प्रहरीले पक्राउ परेका व्यक्तिहरूबारे सार्वजनिक गरेको हो । काठमाडौंको तार्केश्वर बस्ने २४ वर्षीय चिरन रेग्मी, काठमाडौंको सामाखुसी बस्ने ३५ वर्षीय नविन खड्गी, रूपन्देही खैरेनी घर भई काठमाडौं २२ बस्ने सुजन खत्री र झापा घर भई स्वयम्भू बस्ने १८ वर्षीय प्रदीप बस्नेतलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूबाट एउटा डिजिटल घडी, चार्जर, दुइटा एयरफोन, मोबाइल दुइटा, चार हजारको मोबाइल फोन लगायत बरामद गरेको छ। त्यस्तै, उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २० चोरी तथा डाँकासम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट चार दिन हिरासतमा राख्न अनुमति लिएको छ।

बैंकिङ क्षेत्रका विषयमा बजारमा उश्रृंखल विषय आउनु राम्रो होइन : बैंकर ढुंगाना

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले अहिले बैंकिङ क्षेत्रका विषयमा बजारमा उच्छृंखल विषय आउनु राम्रो नभएको बताएका छन् । बुधबार नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ढुंगानाले बैंकको ब्याजदर लगायतको विषयलाई लिएर ऋणीहरुले बैंकिङ क्षेत्रका विषयमा बजारमा उच्छृंखल विषयहरु आउनु राम्रो नभएको बताएका हुन् । उनले बैंकहरुले ऋणीहरुलाई प्रिमियम तथा ब्याजदर बैंकको लगानी, लागत खर्चको आधारमा बढी नभएको बताए । उनले बैंकको लगानी, लागत खर्च हेर्दा व्यवसायीहरुले भनेजस्तो र सञ्चारमाध्यममा आए जस्तो बैंकहरुले धेरै नाफा नकमाएको बताए । ढुंगानाले निक्षेपकर्ताको रकम सुरक्षा गर्न पनि बैंकको न्युनतम नाफा हुनुपर्ने दाबी गरे । उनले बैंक वित्तीय संस्था नाफामा सञ्चालन हुन नसके निक्षेपकर्तामा बैंक प्रतिको विश्वास सिर्जना हुन नसक्ने बताए । ढुंगानाले अहिलेकै अवस्थामा बैंकहरुले तत्कालै एकल बिन्दुमा ब्याजदर कायम गर्न नसक्ने बताए । उनले बैंकको ब्याजदर नेपालमा मात्रै नबढेको भन्दै अन्तर्राष्ट्रिय बजारको असर नेपालमा पनि परेको बताए । ‘ग्राहकहरुले बैंकहरुले दिने ब्याजदरको रेट भन्दा कममा निक्षेप जिम्मा गरेका छन्, त्यस्तो हुँदा राम्रो निक्षेपकर्ता पनि बैंकहरुबाट पलायन हुनसक्ने अवस्था देखिएको छ, बैंकहरुले कमाउने अर्ब ठूलो होइन । बैंकको लगानी, लागत खर्च हेर्दा व्यवसायीहरु र बाहिर आए जस्तो बैंकहरुले नाफा छैन, बैंकको न्युनतम नाफा हुनैपर्छ किनकी निक्षेपकर्ताको रकम सुरक्षा गर्न बसेका छौं, विगतदेखि निक्षेप घट्दै गइरहेका छन्, बैंकहरुमा कोभिडको समयमा तरलता बढी भएको समयमा व्यापार व्यवसाय ठप्प थियो, बैंकमा पैसा थुप्रिएर बसेको थियो, तर बैंकले निक्षेपकर्ताहरुलाई ब्याज तिर्नुपर्ने थियो, त्यो समय लगानीको वातावरण नभएपछि प्रिमियम घटाएर शुन्य प्रतिशतमा नै दियौं, कोभिडपछि बैंकहरुमा निक्षेप बढेन, निक्षेपको रेट बढ्दै गयो, ५ प्रतिशत प्रिमियममा कर्जा दिनु भनेको बैंकहरुलाई नोक्शान हो, प्रिमियम भनेको सबै नाफा होइन, बेसरेटमा बैंकको सबै खर्च समावेश छैन, ऋणीहरुको त्यो गलत बुझाई हो,’ उनले भने । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत ढुंगानाले पछिल्लो समय बैंकहरुमा खराब कर्जा डर लाग्ने किसिमले बढ्दै गएको बताए । उनले कोभिडको असर अर्थतन्त्रमा भर्खर देखिन लागेको भन्दै कोभिड सकियो भनेपनि असर सकियो भन्ने अवस्था नभएको बताए । उनले कोरोना महामारीको क्रममा रिसेड्युल गरिएको कर्जा ऋणीले तिर्न नसकेर बैंकहरुले उठाउन नसकेको बताए । उनले अन्तर्राष्ट्रिय देशमा ब्याजदर बढ्नुको एउटै मात्रै उद्देश्य मूल्य वृद्धि नियन्त्रण गरेका थिए । उनले बजारमा तरलता सहजता भएमा ब्याजदर घट्नसक्ने बताए । उनले सरकारले बजेट घटाएको भन्दै त्यसमा विकास खर्च कम गरेको भए बजारमा बढी असर पर्ने बताए । उनले संधै बजेटको आकार घटाउँदा निक्षेप संकलनमा ठूलो असर पर्ने बताए । ‘पछिल्लो समय बैंकहरुमा खराब कर्जा डर लाग्ने किसिमले बढ्दै गएको छ, कोभिड सकियो भने पनि कोभिडको असर पनि सकियो भन्ने अवस्था छैन, कोभिडको असर अब देखिँदैछ, कोरोना महामारीको क्रममा रिसेड्युल गरिएको कर्जा ऋणीले तिर्न सकेका छैन, जुन गम्भीर समस्या हो, अन्तर्राष्ट्रिय देशमा ब्याजदर बढ्नुको एउटै मात्रै उद्देश्य मूल्य वृद्धि नियन्त्रण गर्नु हो, अन्तर्राष्ट्रिय देशमा ब्याजदर बढ्दा नेपाल त्यसबाट अछुतो रहन सक्दैन, त्यसैले तत्काल बैंकको ब्याजदर घट्ने अवस्था छैन, बजारमा तरलता सहज होला र ब्याजदर घट्ला भन्ने विषय एक ठाउँमा रहेको छ, सरकारले बजेट घटाएको छ, त्यसमा विकास खर्च कम गरेको भए बजारमा बढी असर पर्छ, सरकारले विकास खर्च गर्न सक्दैन, सधैँ बजेटको आकार घटाउँदा निक्षेप संकलनमा ठूलो असर गर्छ, १४ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दा पनि बैंकहरुले धेरै मार्जिन राखेको छैन,’ उनले भने । उनले बैंकहरुले १४ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दा पनि धेरै मार्जिन नराखेको बताए ।

तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्न सकिँदैन : अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्न नसकिने बताएका छन् । बुधबार नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले आर्थिक सूचकहरुमा देखिएको सुधारले बिस्तारै ब्याजदर घट्ने अवस्था देखिएपनि बैंकहरुले तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्नसक्ने अवस्था नदेखिएको बताएका हुन् । उनले पछिल्लो समय अर्थतन्त्रमा केही राम्रो हुने संकेत देखिए पनि बैंकहरु दबाबमा नै रहेको उल्लेख गरे । अध्यक्ष केसीले उद्योगी व्यवसायीहरुबाट बैंकको ब्याजदर बढी भएको भन्दै बैंकको ब्याजदर घटाएर एकल बिन्दुमा ल्याउन मागहरु आएपनि तत्काल ब्याजदर घटाउन सक्ने अवस्था नभएको बताए । उनले बैंकहरुले लिएको नीतिले विस्तारै ब्याजदर घट्दै जाने अवस्था देखिएको पनि उल्लेख गरे । उनले बैंकहरु कर्जाको ब्याजदरलाई स्थिर राख्नुपर्छ भन्ने विषयमा सजक रहेको बताए । अध्यक्ष केसीले संसारभर ब्याजदर बढीरहेको भन्दै नेपालमा पनि त्यसको प्रभाव परेको बताए । उनले चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा २ सय अर्बको निक्षेप बैंकहरुले संकलन गरेको बताउँदै आर्थिक वर्षको अन्तिम ५ महिनामा २ सय ३० अर्ब जति निक्षेप संकलन गर्ने लक्ष्य रहेको बताए । उनले चालु आर्थिक वर्षमा बैंकको निक्षेप ४५० देखि ५०० अर्ब पुग्ने बताए । उनले बैंकहरुले कर्जा प्रवाह पनि चालु आर्थिक वर्षमा ४०० अर्ब हाराहारीमा गर्ने बताए । अध्यक्ष केसीले बैंकहरुको सिडी रेसियो ८६.३९ प्रतिशत रहेको बताए । ‘चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा २ सय अर्बको निक्षेप बैंकहरुले संकलन गरेको छ, अघिल्लो आर्थिक वर्षको अन्तिम ५ महिनामा २ सय ३० अर्ब जति निक्षेप संकलन थियो, त्यति नै भयो भने पनि चालु आर्थिक वर्षमा ४३० अर्ब पुग्छौं, पछिल्लो ५ देखि ७ वर्षमा हेर्दा र कोभिड समयलाई छाड्दा अर्को २५० अर्ब बढेर ४५० देखि ५०० अर्ब अबको पाँच महिनामा निक्षेप पुग्छ भन्ने अनुमान हो, कर्जामा पनि ४०० अर्ब जतिको हाराहारीमा पुग्छौं, यस्तै अवस्थामा जाने हो भने बैंकहरुमा तरलताको चाप नहुने अवस्था देख्छौं,’ उनले भने । ‘तर अहिलको अवस्था अलि फरक रहेको छ, बैंकको ब्याजदर घटाएर एकल बिन्दुमा ल्याउनुपर्ने मागहरु रहेका छन्, अहिलेको अवस्थालाई हेर्दा बैंकहरुले कर्जाको ब्याजदर तत्काल घटाउन सक्ने अवस्था देखिँदैन, बैंकहरुले बिस्तारै रुपमा ब्याजदर घटाउँदै अगाडि बढेकाले बिस्तारै घट्दै जाने अवस्था भने देखिरहेका छौं, बैंकहरु पनि कर्जाको ब्याजदरलाई स्थिर र सहज अवस्थामा राख्ने विषयमा सहजक छौं, त्यसको प्रभावकारीता कसरी बढाउने विषयमा बैंकहरु लागिरहेका छौं,’ उनले थपे । अध्यक्ष केसीले बैंक वित्तीय संस्थामा खाता खोलेका ४ करोड खातावालालाई संरक्षण दिन खोज्दा बैंक वित्तीय संस्थाबाट ऋृण लिएका १८ लाख ऋणीले दबाब सिर्जना गरेको बताए । उनले अहिले नेपालमा मात्रै ब्याजदर बढेको नभएर भारतको केन्द्रिय बैंकले केही दिनअघि मात्रै ०.२५ प्रतिशतले नीतिगत दर बढाएको बताए । उनले बैंक वित्तीय संस्थाले आफ्नो पुँजीभन्दा कैयौं गुणा रकम सर्वसाधारणबाट लिएर कारोबार गरिरहेकाले ऋणीभन्दा पनि निक्षेपकर्तालाई प्राथमिकतामा राख्नुपर्ने अवस्था रहेको बताए । उनले बजारमा ऋणीको धेरै कुरा आएको तर निक्षेपकर्ताको विषयमा कुनै कुरा नआएको बताए । उनले बैंकहरुले निक्षेपकर्ताको संरक्षणको विषयमा पनि सोच्नुपर्ने भएकाले अहिले बैंकिङ क्षेत्र पनि दबाबमा रहेको बताए । अध्यक्ष केसीले पछिल्लो समय अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिए पनि अझै अर्थतन्त्र पूरै लयमा नभएको बताए । उनले अझै सजक हुनुपर्ने अवस्था रहेको भन्दै केन्द्रिय बैंकले मौद्रिक नीतिको समीक्षामा कुनैपनि दर संशोधन नभएको उल्लेख गरे । अध्यक्ष केसीले ऋणीहरुले बैंक बिरुद्ध आन्दोलन गर्दा भविष्यमा बैंकिङ उद्योगलाई अफ्ठ्यारो पार्ने अवस्था आएको बताए । उनले बैंकहरुले कोभिड महामारीको अवस्थामा पनि ९३ सय अर्ब निक्षेप राख्ने निक्षेपकर्ताहरुको हरेक दिनको ब्याज भनेको समयमा दिइरहेको पनि बताए । उनले ऋणीहरुले बैंकबाट कर्जा लिएर उद्योग खोल्दा पनि उद्योगमा बैंकहरुको बढी पुँजी रहेको बताए । उनले बैंकहरुको आग्रहमा राष्ट्र बैंकले साना तथा घरेलु व्यवसायीहरुलाई कर्जा बुझाउने समय थप गरेकाले केही सहजता ल्याउने बताए । बैंकिङ क्षेत्रमा कोभिडको समयमा प्रवाह गरेको कर्जा समेत उठ्न नसकेकाले खराब कर्जाको अवस्था वृद्धि हुँदै गएको बताउँदै उनले बैंकहरुको खराब कर्जाको अवस्था २.२४ प्रतिशत रहेको बताए ।

तारागाउँ रिजेन्सीका सेयरधनीद्वारा अदालतदेखि अख्तियार लगाउने चेतावनी

काठमाडौं । गैर–कानुनी रुपमा तारागाउँ रिजेन्सी होटल्सले सञ्चालकहरु नियुक्त गरेको भन्दै सेयरधनीहरुले विरोध जनाएका छन् । कानुन बमोजिम निर्वाचनका माध्यमबाट कम्पनीको सञ्चालक नियुक्त हुनुपर्ने भन्दै सेयरधनीहरुले विरोध गरेपछि उक्त प्रस्ताव स्थगित भएको हो । कम्पनीको बुधबार सम्पन्न २६ औं वार्षिक साधारण सभामा विभिन्न ५ वटा प्रस्ताव पेश गरिएको थियो । जसमा सञ्चालक समितिमा विभिन्न ५ जनालाई नियुक्ति गरेको निर्णय पनि उल्लेख थियो । तर, कम्पनीका सर्वसाधारण सेयरधनीहरुले विरोध गरेपछि उक्त प्रस्ताव स्थगित गरिएको हो । कम्पनीले साभामा समूह ‘क’ तारागाउँ विकास समितिबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक सुरेश राज जोशीको नियुक्ती, समूह ‘ख’ बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक अरुण कुमार सराफ, सुरेश लाल श्रेष्ठ र देवेश सराफको पुनः नियुक्ती र स्वतन्त्र सञ्चालकहरुमा श्रीबत्स शम्शेर ज.व.राणा र मनोज प्रसाद राजभण्डारीको पुनः नियुक्ती गर्ने प्रस्ताव गरेको थियो । कम्पनीका सर्वसाधारण सेयरधनीहरुले प्रक्रिया नै नपुर्याएर नियुक्ति गरेको भन्दै विरोध गरेपछि उक्त प्रस्ताव ७ दिनका लागि स्थगित गरिएको छ । अब कानुनी परामर्श लिएर ७ दिनभित्र कम्पनीको सञ्चालक नियुक्त गर्ने कम्पनीका कार्यकारी संचालक सुरेश लाल श्रेष्ठले बताए । लगानीकर्ता तिलक कोइरालाले मनोमानी ढंगकले सञ्चालक नियुक्ति गरिएको भन्दै अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिए । उनले कानुन विपरित सञ्चालक नियुक्ति गरियो भने अदालतमा प्रतिवाद गर्ने चेतावनी दिए । कम्पनीमा सञ्चालकहरुको नियुक्ति कम्पनी ऐन २०६३ को दफा ८७ र धितोपत्र बोर्डले जारी गरेको सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशीका २०७४ को दफा ५ बमोजिम बर्खिलाप रहेको उनको आरोप छ । ‘कानुन विपरित सञ्चालक नियुक्ति गरियो भने अदालतमा प्रतिवाद हुन्छ, सबै सञ्चालकहरुले मुद्दा खेप्नुपर्छ, होटल ठूलो छ, कारोबार धेरै छ तर, चरम बेथिती र अपारदर्शीता छ,’ उनले भने, ‘नियमसंगत निर्वाचन समिति गठन गरी मतदाता नामावली सार्वजनिक गर्नुपर्छ, उम्मेदवारको सूची सार्वजनिक गरेर सेयरधनीहरुले निर्वाचनका माध्यमबाट छनोट गर्नुपर्छ ।’ उनले सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटललाई बुक क्लोज भएपछि लिखित रुपमा सेयरधनीहरुको विवरण माग्दा पनि कुनै सुनुवाइ नभएको बताए । अहिले कम्पनीको संस्थापक सेयर पनि सर्वसाधारण सेयर सरह कारोबार भइरहेकोमा उनले आपत्ति जनाए । यदि नियमविपरित काम भयो भने सर्वसाधारण सेयरधनीहरुले मुद्धा दर्ता गरेर कानुनी कारवाही गराउने चेतावनी उनले दिए । ‘दोस्रो बजारमा कम्पनीको संस्थापक सेयर सहज रुपमा कारोबार हुन्छ, के तारागाउँ विकास समितिको पनि पब्लिक सेयर हो ? कसले अख्तिायारी दियो ? त्यो पब्लिक सेयर बनाउने तारागाउँ विकास समितिका सञ्चालकलाई मुद्धा लाग्छ । खेप्न तयार हो ? अख्तियारमा धाउन तयार हो ?,’ उनले भने । उनले आफू ३ पटक अनसन बसेर विभिन्न १९ वटा बुँदामा सहमति गरेको समेत बताए । जसमा तारागाउँ जस्ता कम्पनीलाई नथ्थि लगाउने मुद्धा पनि समेटिएको उनको भनाई छ । ‘हामी लगानीकर्ता तारागाउँ विरुद्ध धितोपत्र बोर्डमा अनसन बस्नुपर्ने स्थिती नओस्, होटललाई राम्रो बनाउन खोजिएपनि अपारदर्शी ढंगले लूप होल प्रयोग गरिएको छ, अध्यारो कोठाबाट होटल सञ्चालन गर्न पाईंदैन, सञ्चालक समिति ऐन विपरित गर्नुभयो भने भने गलपासो हुन्छ ।’ ८ हजार सेयरधनी कम्पनीमा रहेका छन् । तर, विवरणमा १४ जना मात्रै छ । सञ्चालकहरुले धारण गरेको विवरण कहाँ छ ? खरिदबिक्री गरेकोबारे कसरी जानकारी पाउने हो ? सेयरधनी कमल भारतीले सूचीकृत कम्पनीले नीति नियम पालाना गर्नुपर्ने सुझाव दिए । धितोपत्र बोर्डले जारी गरेको संस्थागत सुशासन कम्पनीले उल्लङ्घन गरेको उनले बताए । कम्पनीका सञ्चालकहरुले आफैले बनाएको नियमावली पनि उल्लङ्घन गरेको आरोप उनले लगाए । ‘कम्पनीका सञ्चालकहरुले धारण गरेको सेयर कति छ ?, कति–कति समयमा बैठक बस्छ ?, यो सबै जानकारी हुनु पर्छ, त्यो कार्यान्वयन भएको छैन, साथै वार्षिक प्रतिवेदनमा लेखापरीक्षकको सम्पूर्ण विवरण पनि उल्लेख गरिएको छैन,’ उनले भने । कम्पनीले खर्च गरेको कानुनी परामर्श भनेर ८४ लाख ३८ हजार रुपैयाँबारे पनि उनले प्रश्न गरे । ‘कुनै कम्पनीको कानुनी शुल्क १ करोडको हाराहारीमा हुन्छ ? के अन्तर्राष्ट्रिय अदालतमा मुद्धा लडेको हो र ? कुन सार्वजनिक खरिदको प्रक्रिाय अनुसार त्यो समावेश भयो ? कम्पनीले अनाश्यक रुपमा गरेको खर्चलाई साधारण सभाले पारित गर्दैन,’ उनले भने । इन्द्र कुमार श्रेष्ठले सञ्चालकहरुले भत्ता मात्रै खाएर सेयरधनीहरुलाई थोरै लाभांश वितरण गरेको गुनासो गरे । २ पटक सञ्चालक समितिको बैठक बसेर सवा ६ लाख रुपैयाँ भत्ता लिएकोमा उनले शंका गरे । ‘सञ्चालकहरु विभिन्न शिर्षकमा भत्ता मात्रै पचाइ रहेका छन्, सञ्चालकहरुले गत वर्ष बैठक भत्ता वापत ६ लाख १७ हजार ४६५ रुपैयाँ लिएका छन् तर, २ पटक मात्रै सञ्चालक समितिको बैठक बसेको छ, यसमा एक जना सञ्चालकले कति भत्ता बुझ्ने गरेका छन् ?,’ उनले भने । विभिन्न शिर्षक राखेर सबै रकम आफैं कुम्ल्याउने गरेको आरोप उनले लगाएका छन् । कम्पनीले बोनसको व्यवथा पनि गरेको भए सेयरधनीहरु खुशी हुने उनले बताए । उनले बोनस सेयर वितरण नगरेकोमा आक्रोस पोख्दै सञ्चालकहरुलाई तपाई अनपढ हो की धनपढ हो ? भनेर प्रश्न गरे । साथै उनले सञ्चालकहरुलाई धनपढको संज्ञा पनि दिए । लगानीकर्ता उत्सव श्रेष्ठले पनि सञ्चालक समितिमा नै खोट लगाए । कम्पनीको वार्षिक प्रतिवेदनमा प्रेसिडेन्ट कर्पाेरेट रानी बंग उल्लेख गरिएको छ । यदि रानी बंग प्रेसिडेन्ट कर्पाेरेट हो भने उनले धारण गरेको सेयर सार्वजनिक गर्नुपर्ने उनले बताए । ‘सञ्चालक समितिमा ११ जना रहेका छन्, प्रेसिडेन्ट कर्पाेरेट रानी बंग भनिएको छ, २ वर्ष अधिको वित्तीय विवरणमा उहाँ वरिष्ठ उपाध्यक्ष र गत वर्षको वित्तीय विवरणमा अध्यक्ष हुनुहुन्थ्यो,’ उनले भने, ‘यदि उहाँ अध्यक्ष भएको भए सेयर धारण गर्नु भएको छ की छैन ? यदि छैन भने उहाँलाई यहि साधारण सभाबाट निकाल्ने प्रस्ताव राख्छु ।’ कार्यकारी सञ्चालक र प्रबन्ध सञ्चलकमध्ये एउटा मात्रै हुनुपर्ने उनले सुझाव दिए । तारागाउँ रिजेन्सी होटल्सका सञ्चालकहरुले गैरकानुनी काम गरेको आरोप सेयरधनीहरुले लगाएका हुन् । बुधबार सम्पन्न २६ औं वार्षिक साधारण सभामा बोल्दै सर्वसाधारण सेयरधनीहरुले सञ्चालहरुमाथि अनेकन आरोप लगाएका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको १ करोड ८८ लाख ६६ हजार ५४० कित्ता सेयर सूचीकृत छन् । जसमध्ये सर्वसाधारण सेयरधनीहरुको १ करोड ३० लाख कित्ता र संस्थापक सेयरधनीहरुको ५८ लाख २० हजार कित्ता स्वामित्व छ । यो दुइटै सेयर साधारण सेयर सरह नियमित कारोबार भइरहेको नेप्सले जनाएको छ ।

घर भाडामा बस्नेले महिना बितेको ७ दिनभित्र भाडा बुझाउनु पर्ने, घरधनीले लिखित सम्झौता गर्नुपर्ने

काठमाडौं । काठमाडौं महानगरभित्र घर भाडामा बस्नेले हरेक महिना सकिएको एक हप्ताभित्रमा भाडा बुझाइ सक्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिको घरबहाल व्यवस्था निर्देशिका-२०७९ बमोजिम उनीहरुले अघिल्लो महिनाको मासिक बहाल महिना बितेको ७ दिनभित्रमा दिनुपर्ने भएको हो । बहाल बुझाउँदा चेक, नगदै वा बहालमा दिनेले तोकिदिएको बैंक खातामा रकम जम्मा गरेर बहाल बुझाउन सकिने छ । नगद बुझाउँदा सोको स्पष्ट प्रमाण वा निस्सा लिनुपर्ने छ । बहाल बुझेको भर्पाई, निस्सा वा बैङ्क जम्मा गरेको अवस्थामा भौचर वा बैङ्क रसिद सुरक्षित रूपमा राख्नु बहालमा लिनेको दायित्व हुने छ । घर भाडामा दिने व्यक्तिले अनिवार्य रुपमा लिखित सम्झौता गर्नुपर्ने भएको छ । घरबहालको अवधि सामान्यतः पाँच वर्षमा नबढाई सम्झौतामा उल्लेख गर्नुपर्नेछ । घर जग्गा बहालमा दिने व्यक्तिले बहालमा दिएको मितिले सात दिनभित्र विभिन्न कागजात सहित सम्बन्धित वडा कार्यालयमा बहालमा दिएको विवरण पेश गरी अद्यावधिक गर्नुपर्ने छ । महानगरपालिका क्षेत्रभित्र घर बहालमा दिने व्यक्तिले बहालमा दिने त्यस्तो घर खाली रहेमा, बहालमा लिने व्यक्तिले बहालमा लिन छोडेमा, बहालमा दिएको घर आफैलाई आवश्यक परी खाली गराइएमा वा खाली भएमा वा सम्झौताबमोजिम आफैले हटाएमा वा जुनसुकै कारणले घर खाली भएमा त्यसरी घर खाली भएको मितिले सात दिनभित्र अनिवार्य रूपमा सम्बन्धित वडा कार्यालयमा घर खाली भएको जानकारी गराउनुपर्नेछ । त्यस्तै, महानगरपालिका क्षेत्रभित्र कसैले आफ्नो हक, भोग वा स्वामित्वमा रहेको घर, घरको कुनै तला, एकाइ वा कोठा तथा घरजग्गा निश्चित रकम लिने गरी तोकिएको समयका लागि कुनै व्यक्तिलाई उपयोग गर्न दिएमा घर बहालमा दिएको मानिने निर्देशिकामा उल्लेख छ । भवन वा भवनको कुनै भाग वा घरजग्गा वा जग्गा बहालमा दिँदा बहालमा लिने व्यक्तिसँग बहालमा दिने व्यक्तिले अनुसूची-१ मा उल्लिखित ढाँचामा तल उल्लेखित विषयहरु उल्लेख गरी लिखित सम्झौता गर्नुपर्ने व्यवस्था महानगरले गरेको छ । (क) घर जग्गा बहालमा लिने र दिने पक्षहरूको पूरा नाम र ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, मोबाइल नम्बर र विदेशी भए राहदानी वा परिचय खुल्ने प्रमाण-पत्र, इमेल ठेगाना, करदाता सङ्केत नम्बरसमेत (ख) घर रहेको स्थान, जग्गाको कित्ता नम्बर, बहालमा लिने भवनको कुल क्षेत्रफल, तला वा कोठाको विवरण (ग) बहालमा लिने प्रयोजन (घ) बहाल सुरु हुने मिति (ङ) बहाल कायम रहने अवधि र अवधि थप सम्बन्धी व्यवस्था (च) मासिक तथा वार्षिक बहाल रकम तथा मासिक वा वार्षिक बहाल रकममा वृद्धि हुने भएमा सो समेत (छ) बहाल रकम बुझाउने समय तथा प्रक्रिया (ज) बहालमा लगाउने सम्पत्तिमा प्रयोग भएका बिजुली, खानेपानी, टेलिफोन, फोहरमैला व्यवस्थापन आदिको महसुल बुझाउने दायित्व (झ) बहाल कर भुक्तानी गर्नेसम्बन्धी व्यवस्था (ञ) बहालमा लिएको भवनको बीमा गर्नुपर्ने भए सो सम्बन्धी कुरा (ट) बहालमा लिएको घर छाड्ने तथा बहालमा बसेको व्यक्तिलाई हटाउने सम्बन्धी कुरा (ठ) बहालमा लिएको घर अन्य व्यक्तिलाई बहालमा दिन पाउने वा नपाउने कुरा (ड) बहालमा लिएको भवन मर्मत तथा सम्भार सम्बन्धी व्यवस्था (ढ) सम्झौता हेरफेर गर्न सकिने नसकिने भन्ने व्यवस्था (ण) संरचना निर्माण, आंशिक निर्माण वा हेरफेर गर्न पाउने वा नपाउने भन्ने विषय (त) सम्झौता विपरीत घर वा घरजग्गाको प्रयोग गरेमा क्षतिपूर्तिसम्बन्धी व्यवस्था (थ) सम्झौता भंग गर्न सकिने पूर्वशर्तहरू (द) बहाल छोड्ने वा हटाउने सम्बन्धी व्यवस्था (ध) अन्य आवश्यक कुराहरू । यस्तो छ घर बहाल व्यवस्था [pdf id=388768]