विकासन्युज

नेपाल इन्भेष्टमेन्ट मेगाको सीईओमा दोहोरिए पाण्डे, आजैदेखि लागू हुने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डे दोहोरिएका छन् । बैंकले पाण्डेलाई फागुन ३ गतेदेखि लागु हुने गरी अर्को कार्यकालको लागि सीईओ पदमा नियुक्त गरेको हो । यससँगै सीईओ पाण्डेले आगामी चार वर्षसम्म बैंकको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन् । फागुन ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओ पाण्डेलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेशभर भोलि फागुन ४ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको हो । प्रदेश राजपत्रमा विसं २०७९ मा सार्वजनिक बिदामा स्थापना दिवसको दिन समेत समावेश गरिएको हो । गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो । प्रदेश स्थापना दिवसबाहेक प्रदेश सरकारले भानु जयन्ती, कोजाग्रत पूर्णिमा र चैतेदशैंमा बिदा दिँदै आएको छ । गण्डकी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा बिहीबार विभिन्न कार्यक्रम गर्दैछ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीका अनुसार वार्षिकोत्सवलाई भव्य बनाउने गरी तयारी गरिएको छ । उनका अनुसार बिहान ७ः३० बजे शहीदचोकस्थित शहीद स्तम्भमा माल्यार््पणको कार्यक्रम रहेको छ । त्यसपछि शहीदचोकदेखि पोखरासभागृहसम्म प्रभातफेरीको आयोजना गरिएको छ । पोखरा सभागृहमा वार्षिकोत्सवको मूल समारोह आयोजना गरिएको छ । समारोहमा प्रदेशका उत्कृष्ट कर्मचारीको घोषणा, विपद् व्यस्थापनमा खटिएर उत्कृष्ट काम गर्ने सुरक्षाकर्मीको सम्मान र मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिताका च्याम्पियन टोलीलाई पुरस्कार प्रदान गरिने सचिव अधिकारीले जानकारी दिए । रासस

मजदुरका नेताले बारम्बार धम्की दिन्छन्, काम गर्ने वातावरण बनाइयोस् : लोत्सेका अध्यक्ष कुँवर

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले नयाँ बसपार्कमा काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् । लोत्से बहुउद्देश्यीय प्रालिले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले फागुन १ गते नयाँ बसपार्कमा सञ्चालित लोत्से मल तोडफोड र मोबाइल पसल चोरी भएको भन्दै नयाँ बसपार्कको सुरक्षा र काम गर्ने वातावरण निर्माण गर्न माग गरेका हुन् । ‘कानुनसम्मत रुपमा काठमाडौं महानगरपालिकासँग निश्चित समयका लागि सम्झौता गरेर सञ्चालन गरिएको नयाँ बसपार्कको सञ्चालक समूहलाई मजदुरका नेताले बारम्बार धम्की दिने तथा दुःख दिने काम हुँदै आएको छ, बनाइएका संरचनामा तोडफोड गरिएको छ, नयाँ बसपार्कमा कार्यरत कर्मचारीको सुरक्षा र यहाँ काम गर्ने वातावरण निर्माण गरियोस्,’ उनले भने । अध्यक्ष कुँवरले नयाँ बसपार्कभित्र विभिन्न ट्रेड युनियन सङ्घ सङ्गठनले मजदुर भेला तथा आमसभाको लागि ठाउँ माग्दा ठाउँ उपलब्ध नगराएको कारण मलभित्र चोरी तथा तोडफोड भएको बताए । ‘लोत्सेले नयाँ बसपार्क सञ्चालनका लागि निश्चित समयका लागि काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको छ, सम्झौता सकिएपछि यहाँ निर्माण भएका भौतिक संरचना महानगरपालिकालाई जिम्मा लगाउँछौं, राज्यको सम्पत्तिमाथि किन यसरी प्रहार हुँदैछ ?,’ उनले प्रश्न गरे । कोरोना र आर्थिकमन्दीका कारण थला परेका व्यवसायीको पसल चोरी हुनु तथा अर्बौं लगानी गरेर बनाएको मलमा क्षति पुग्दा व्यवसायी र राज्यलाई ठूलो क्षति भएको उनको भनाइ छ । लोत्से मलभित्र चोरी तथा तोडफोडका घटनाबाट १५ करोड रुपैयाँको क्षति भएको अध्यक्ष कुँवरले बताए । उनले मलभित्र भएको क्षतिको क्षतिपूर्ति र घटनामा संलग्न मजदुर नेतालाई अविलम्ब पक्राउ गरी कारबाही गर्न मागसमेत गरे । उनले सोही दिन झुटा आरोप लगाएर पक्राउ परेका लोत्सेका कर्मचारीलाई रिहा गर्न समेत माग गरेका छन् ।

थप १५ दिन बन्द हुँदै नारायणगढ-मुग्लिन सडक

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड थप १५ दिन दिउँसोको समयमा यातायात बन्द गरिने भएको छ । पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो । गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । पछि माघ ६ गतेदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० बन्द गरिएको थियो । थप गरिएको समय फागुन ६ गते सकिँदैछ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सरोकारवालाको बैठकले थप १५ दिनका लागि सडक बन्द गरेर काम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार भित्तो काट्ने काम कठिन भएपछि मङ्गलबार जिल्ला प्रशासन कार्यालय चितवनले विस्फोटक पदार्थको अनुमतिका लागि मन्त्रालयमा सिफारिससमेत गरेको छ । अनुमति आएसँगै विस्फोट गराएर ढिस्को फोर्ने काम हुने उनले बताए । तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानको डाँडो रहेको छ । सो डाँडोलाई काट्न कठिन भएको हो । अन्य पुलको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी इ कृष्ण आचार्यका अनुसार भित्तो काट्न कठिन हुने भएपछि विस्फोट गर्नका लागि फाइल विभाग हुँदै मन्त्रालय पठाइएको छ । उक्त फाइल रक्षा, गृह हुँदै अघि बढेको छ । विस्फोटको स्वीकृत भएसँगै भित्तोमा विस्फोट गर्ने योजना रहेको उनले बताए । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वट पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउ भिर भएको ठाउँमा अर्को पुल बनाउँदै गर्दा भित्तो काट्नुपरेको हो । रासस

यती एयरलाइन्स दुर्घटना : नेपाल लाइफले मृतकको परिवारलाई दियो एक करोड बढी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एक करोड एक लाखको दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले यती एयरलाइन्सको दुर्घटनामा मृतक परिवारलाई सो रकमको बीमा दावी भुक्तानी गरेको हो । इन्स्योेन्सले बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतक संगिता शाहीले इच्छाइएको व्यक्ति कोपिला घर्ति क्षेत्री (आमा) लाई एक करोड एक लाखको चेक हस्तान्तरण गरेको हो । पोखरा उ.म.पा-१७, कास्की ठेगाना भएकी बीमित संगिता शाहीको गत माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घंटनामा असामायिक निधन भएको थियो । आफ्नो जीवनकालमा स्वर्गीय संगिता शाहीले नेपाल लाइफ इन्स्योरेन्स बालाजु शाखा कार्यालयबाट २०७९ भदौ २९ गते ५० लाख रुपैयाँ बीमाङ्क भएको जीवन सहारा बिमा योजना लिएकी थिइन् । बीमाङ्क बापतको रकम अन्तर्गत ५० लाख रुपैयाँ र दुर्घंटना मृत्यु दावी बापत ५० लाख रुपैयाँ गरी जम्मा एक करोड एक लाख रुपैयाँ इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको इन्स्योरेन्सले जानकारी गराएको छ ।

इप्पानले दुई दिने पावर समीट आयोजना गर्ने, ५ हजार मेगावाटको परियोजना प्रदर्शन गरिने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आठौं संस्करणको ‘पावर समीट २०२३’ को आयोजना गर्ने भएको छ । इप्पानले उक्त समीट आगामी चैत १४ र १५ गते गर्न लागेको हो । दुई दिन चल्ने उक्त समीट ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ काठमाडौंको हायात रिजेन्सीमा हुने छ । उक्त समीटमा ३० भन्दा बढी देशका ३ सय अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रहने छ । साथै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू, विक्रेताहरू, थिंक ट्याङ्कहरू र अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब आठ सय जना सहभागी हुने बताइएको छ । इप्पानले सन् २००६ मा पहिलो पावर समीट आयोजना गरेको थियो । यसले मुलुकमा विद्युत् उत्पादनको लागि अनुकूल वातावरण सिर्जना गर्न ठूलो योगदान गरेको बताइएको छ । सोलु-दुधकोशी जलविद्युत आयोजनाबाट ८६ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा थपिएसँगै देशको कुल राष्ट्रिय प्रसारण लाइनको जडित क्षमता करिब २५ सय २० मेगावाट पुगेको पनि इप्पानले बताएको छ । यो वर्ष करिब ६०० मेगावाट प्रणालीमा थपिने र सन् २०२७ सम्ममा कुल जडित क्षमता ६७०० मेगावाट पुग्ने अपेक्षा छ । सन् २०२२ मा नेपालको विद्युतको उच्चतम माग करिब १७०० मेगावाट मात्र थियो । अबको वर्षायाममा करिब १००० मेगावाट विद्युत बचत हुने देखिएको पनि इप्पानका पदाधिकारीहरुको अनुमान छ । त्यस्तै, विद्युत उत्पादनमा निजी क्षेत्रको योगदान हालको ५५ प्रतिशतबाट बढेर ८० प्रतिशत हुने अनुमान गरिएको छ । नेपालमा कोइला वा पेट्रोलियम पदार्थको उपलब्धता छैन तर जलविद्युत, सौर्य, वायु र बायोमास लगायतका हरित ऊर्जाको ठूलो स्रोत रहेको इप्पानका अध्यक्ष कृष्ण आचार्यले बताए । उनका अनुसार पेट्रोलियम पदार्थबाट हरित ऊर्जामा पूर्ण रूपान्तरण गर्नु भनेको नेपाली अर्थतन्त्रलाई वास्तविक रुपमा आत्मनिर्भर बनाउनु हो । ‘आज हामी मुलुकका ऊर्जावान् र सक्रिय जनशक्ति पेट्रोलियम पदार्थ धनी देशहरूमा काम गर्न जान्छन्, उनीहरूले त्यहाँबाट पठाएको रेमिट्यान्सले अर्थतन्त्र सञ्चालन मात्र होइन, त्यही रेमिट्यान्सले हामी त्यही देशहरूबाट पेट्रोलियम पदार्थ खरिद गर्छौं, यो दुष्चक्र तोड्न सकिन्छ, त्यसैले आजको समय भनेको हरित ऊर्जाको बजारलाई फराकिलो बनाउने सम्पूर्णरुपले ध्यान केन्द्रित गर्ने समय हो, र, यो समिटको मूल उद्देश्य यही हो,’ उनले भने । यो पावर समीटले हरित ऊर्जा क्षेत्रमा संलग्न सबैका लागि सञ्जाल बनाउने र एक अर्काबाट सिक्ने र अनुभव आदान-प्रदान गर्ने ठूलो अवसर रूपमा इप्पानले लिएको छ । जसमा भएको छलफलले नेपालको हरित ऊर्जाको बजारका लागि ढोकाहरू पहिचान गर्न र त्यसलाई खोल्नको लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ । उक्त समीटमा पर्यावरण, सामाजिक र सुशासन, क्षेत्रीय सहकार्य र ऊर्जा सुरक्षालगायतका विषयमा नेपाल लगानी बोर्ड तथा निजी क्षेत्रका तर्फबाट ५००० मेगावाटका परियोजनाहरू (प्रोजेक्ट बैंक) प्रदर्शन गरिनेछ । यो सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने भएका छन् ।

ल्होत्से मलको मोबाइल पसल लुटपाट गरेको आरोपमा चार पक्राउ, को को ?

काठमाडौं । ल्होत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट गरेका आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गर्दै चार जना आरोपितलाई पक्राउ गरेको जानकारी गराएको हो । साथै, प्रहरीले पक्राउ परेका व्यक्तिहरूबारे सार्वजनिक गरेको हो । काठमाडौंको तार्केश्वर बस्ने २४ वर्षीय चिरन रेग्मी, काठमाडौंको सामाखुसी बस्ने ३५ वर्षीय नविन खड्गी, रूपन्देही खैरेनी घर भई काठमाडौं २२ बस्ने सुजन खत्री र झापा घर भई स्वयम्भू बस्ने १८ वर्षीय प्रदीप बस्नेतलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूबाट एउटा डिजिटल घडी, चार्जर, दुइटा एयरफोन, मोबाइल दुइटा, चार हजारको मोबाइल फोन लगायत बरामद गरेको छ। त्यस्तै, उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २० चोरी तथा डाँकासम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट चार दिन हिरासतमा राख्न अनुमति लिएको छ।

बैंकिङ क्षेत्रका विषयमा बजारमा उश्रृंखल विषय आउनु राम्रो होइन : बैंकर ढुंगाना

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले अहिले बैंकिङ क्षेत्रका विषयमा बजारमा उच्छृंखल विषय आउनु राम्रो नभएको बताएका छन् । बुधबार नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ढुंगानाले बैंकको ब्याजदर लगायतको विषयलाई लिएर ऋणीहरुले बैंकिङ क्षेत्रका विषयमा बजारमा उच्छृंखल विषयहरु आउनु राम्रो नभएको बताएका हुन् । उनले बैंकहरुले ऋणीहरुलाई प्रिमियम तथा ब्याजदर बैंकको लगानी, लागत खर्चको आधारमा बढी नभएको बताए । उनले बैंकको लगानी, लागत खर्च हेर्दा व्यवसायीहरुले भनेजस्तो र सञ्चारमाध्यममा आए जस्तो बैंकहरुले धेरै नाफा नकमाएको बताए । ढुंगानाले निक्षेपकर्ताको रकम सुरक्षा गर्न पनि बैंकको न्युनतम नाफा हुनुपर्ने दाबी गरे । उनले बैंक वित्तीय संस्था नाफामा सञ्चालन हुन नसके निक्षेपकर्तामा बैंक प्रतिको विश्वास सिर्जना हुन नसक्ने बताए । ढुंगानाले अहिलेकै अवस्थामा बैंकहरुले तत्कालै एकल बिन्दुमा ब्याजदर कायम गर्न नसक्ने बताए । उनले बैंकको ब्याजदर नेपालमा मात्रै नबढेको भन्दै अन्तर्राष्ट्रिय बजारको असर नेपालमा पनि परेको बताए । ‘ग्राहकहरुले बैंकहरुले दिने ब्याजदरको रेट भन्दा कममा निक्षेप जिम्मा गरेका छन्, त्यस्तो हुँदा राम्रो निक्षेपकर्ता पनि बैंकहरुबाट पलायन हुनसक्ने अवस्था देखिएको छ, बैंकहरुले कमाउने अर्ब ठूलो होइन । बैंकको लगानी, लागत खर्च हेर्दा व्यवसायीहरु र बाहिर आए जस्तो बैंकहरुले नाफा छैन, बैंकको न्युनतम नाफा हुनैपर्छ किनकी निक्षेपकर्ताको रकम सुरक्षा गर्न बसेका छौं, विगतदेखि निक्षेप घट्दै गइरहेका छन्, बैंकहरुमा कोभिडको समयमा तरलता बढी भएको समयमा व्यापार व्यवसाय ठप्प थियो, बैंकमा पैसा थुप्रिएर बसेको थियो, तर बैंकले निक्षेपकर्ताहरुलाई ब्याज तिर्नुपर्ने थियो, त्यो समय लगानीको वातावरण नभएपछि प्रिमियम घटाएर शुन्य प्रतिशतमा नै दियौं, कोभिडपछि बैंकहरुमा निक्षेप बढेन, निक्षेपको रेट बढ्दै गयो, ५ प्रतिशत प्रिमियममा कर्जा दिनु भनेको बैंकहरुलाई नोक्शान हो, प्रिमियम भनेको सबै नाफा होइन, बेसरेटमा बैंकको सबै खर्च समावेश छैन, ऋणीहरुको त्यो गलत बुझाई हो,’ उनले भने । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत ढुंगानाले पछिल्लो समय बैंकहरुमा खराब कर्जा डर लाग्ने किसिमले बढ्दै गएको बताए । उनले कोभिडको असर अर्थतन्त्रमा भर्खर देखिन लागेको भन्दै कोभिड सकियो भनेपनि असर सकियो भन्ने अवस्था नभएको बताए । उनले कोरोना महामारीको क्रममा रिसेड्युल गरिएको कर्जा ऋणीले तिर्न नसकेर बैंकहरुले उठाउन नसकेको बताए । उनले अन्तर्राष्ट्रिय देशमा ब्याजदर बढ्नुको एउटै मात्रै उद्देश्य मूल्य वृद्धि नियन्त्रण गरेका थिए । उनले बजारमा तरलता सहजता भएमा ब्याजदर घट्नसक्ने बताए । उनले सरकारले बजेट घटाएको भन्दै त्यसमा विकास खर्च कम गरेको भए बजारमा बढी असर पर्ने बताए । उनले संधै बजेटको आकार घटाउँदा निक्षेप संकलनमा ठूलो असर पर्ने बताए । ‘पछिल्लो समय बैंकहरुमा खराब कर्जा डर लाग्ने किसिमले बढ्दै गएको छ, कोभिड सकियो भने पनि कोभिडको असर पनि सकियो भन्ने अवस्था छैन, कोभिडको असर अब देखिँदैछ, कोरोना महामारीको क्रममा रिसेड्युल गरिएको कर्जा ऋणीले तिर्न सकेका छैन, जुन गम्भीर समस्या हो, अन्तर्राष्ट्रिय देशमा ब्याजदर बढ्नुको एउटै मात्रै उद्देश्य मूल्य वृद्धि नियन्त्रण गर्नु हो, अन्तर्राष्ट्रिय देशमा ब्याजदर बढ्दा नेपाल त्यसबाट अछुतो रहन सक्दैन, त्यसैले तत्काल बैंकको ब्याजदर घट्ने अवस्था छैन, बजारमा तरलता सहज होला र ब्याजदर घट्ला भन्ने विषय एक ठाउँमा रहेको छ, सरकारले बजेट घटाएको छ, त्यसमा विकास खर्च कम गरेको भए बजारमा बढी असर पर्छ, सरकारले विकास खर्च गर्न सक्दैन, सधैँ बजेटको आकार घटाउँदा निक्षेप संकलनमा ठूलो असर गर्छ, १४ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दा पनि बैंकहरुले धेरै मार्जिन राखेको छैन,’ उनले भने । उनले बैंकहरुले १४ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दा पनि धेरै मार्जिन नराखेको बताए ।