युपग्राम, अम्वेश्वरी, नयाँ तारा र गरिमामय सहकारीको एकीकृत कारोबार फागुन १० देखि
काठमाडौं । विभिन्न ४ वटा सहकारी संस्थाहरुले फागुन १० गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरेका छन् । युपग्राम, अम्वेश्वरी, नयाँ तारा र गरिमामय बचत तथा ऋण सहकारी संस्थाले फागुन १० गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् । यी ४ वटा सहकारी संस्थाहरूको एकीकृत कारोबार पश्चात् गरिमामय बचत तथा ऋण सहकारी संस्थाको नामबाट संचालन हुनेछ । मर्जरपश्चात् संस्थाको प्रधान कार्यालय ललितपुरमा रहनेछ । यस्तै, सदस्य सेवा केन्द्रहरु महालक्ष्मी नगरपालिका ८ लुभु ललितपुर, काठमाडौं महानगरपालिका १४ कुलेश्वर, कलंकी र ललितपुर महानगरपालिका १९, कुमारीपाटीमा रहनेछन् । बागमती प्रदेश, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ ३ गते मर्जरका लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको थियो । पछिल्लो समय सहकारी संस्थाहरुको संख्या घटाउन धमाधम मर्ज भइरहेका छन् ।
ग्याँस विष्फोट हुँदा चन्द्र भण्डारी र उनकी आमा घाइते, आइसियुमा उपचार हुँदै
काठमाडौं । गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा. चन्द्रकान्त भण्डारी र उनकी आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतलामा उपचार भइरहेको छ । बर्न अस्पतालका चिकित्सक डा. किरण नकर्मीका अनुसार उनीहरुको स्वास्थ्य स्थिति गम्भीर छ । डा. भण्डारीको शरीरको करिब ३० प्रतिशत र उनकी माताको ७० प्रतिशत शरीरको भाग जलेको छ । डा. भण्डारीको काठमाडौंस्थित बुद्धनगर निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा पोलेर घाइते भएका हुन् । बिहीबार राती १० बजे ग्याँस पड्किएको थियो ।
११.२५ प्रतिशत ब्याज पाइने ग्लोबल आइएमईको ऋणपत्रमा आवेदन दिने समय लम्बियो
काठमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । बैंकले माघ २९ गतेदेखि निष्काशन गरेको ५ अर्ब रुपैयाँको ऋणपत्रमा फागुन १४ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४÷८५’ निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ब्यक्तिगत र ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणलाई छुट्याएको २० लाख कित्तामध्ये सामूहिक लगानी कोषका लागि ३० हजार कित्ता र बाँकी १९ लाख ३० हजार कित्ता सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, सिडिएस एण्ड क्लिरिङ्गले निर्माण गरेको मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए रेटिङ प्रदान गरेको छ । यसले न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।
बालेन शाहसँग जरिवाना लिने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग जरिवाना लिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलास आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । आयोगले जरिवाना गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिँदै अदालतले आयोगसमक्ष लिखित जवाफसमेत माग गरेको छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा समयमै खर्च विवरण नबुझाएको उल्लेख गर्दै आयोगको गत भदौ ३१ गतको बैठकले समयमै खर्च विवरण पेस नगर्नेलाई जरिवाना गर्ने निर्णय गरेको थियो । शाहलाई ७ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । त्यस्तै अरु १ लाख २३ हजार उम्मेदवारलाई न्यूनतम १ लाख ५० हजार रुपैयाँदेखि ७ लाख ५० हजार रुपैयाँसम्म जरिवाना तोकेको थियो । आयोगको उक्त निर्णयविरुद्ध शाह सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए । सोही निवेदनको सुनुवाइपछि अदालतले जरिवाना गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।
स्वावलम्बन लघुवित्तलाई नयाँ कर्मचारी भर्ना नगर्न श्रम अदालतको आदेश
काठमाडौं । श्रम अदालतले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले खोलेको पदपूर्तिको विज्ञापन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । श्रम अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य निशा बानियाँको संयुक्त इजलासले ७ जना कर्मचारी हटाइएको र अदालतले पुनःबहाली गर्ने फैसला गरेको विषयमा उक्त संस्थाले पुनःबहाली नगरी विज्ञापन प्रक्रिया अघि बढाएको हुनाले तत्काल पदपूर्ति प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो । उक्त संस्थाका कर्मचारी दीपक चौधरी, विराज बोगटी, रामनन्दन मण्डल, विनोद नेपाली, पूर्णचन्द्र राज अवस्थी, हरिशङ्करप्रसाद श्रीवास्तव र चित्रबहादुर बुढाथोकीलाई सेवाबाट हटाउने निर्णय गरेको थियो । ती व्यक्तिले विनाकारण सेवाबाट हटाएको उल्लेख गर्दै सुविधासहित पुनःबहाली गर्न माग गर्दै श्रम अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दाको सुनुवाइ सेवा सुविधासहित पुनःबहाली गर्नुपर्ने अदालतबाट फैसला भए पनि सो संस्थाले पुनःबहाली नगरिकन विज्ञापन प्रक्रिया अगाडि बढाएपछि पीडितले फैसला कार्यान्वयनका लागि पुनःअदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दाको सुनुवाइपछि अदालतते तत्काल पदपूर्तिको विज्ञापन प्रक्रिया अघि नबढाउन आदेश गरेको हो । अदालतले दुवै पक्षलाई छलफलका लागि यही फागुन ११ गते बोलाएको छ ।
८ हजार कित्तासम्म किन्न पाइने मोलुङ्ग हाइड्रोको आईपीओ बिक्री खुला
काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले आज फागुन ४ गते, बिहीबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको ३४ प्रतिशत अर्थात् २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २७ लाख २८ हजार ५ सय कित्ता सेयर छुट्याएको छ । जसमध्ये १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ । यस्तै, २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी २२ लाख ६४ हजार ६५५ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा फागुन १० गतेसम्म र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
लुम्बिनी विकास बैंकका डीसीईओ ढकालको निधन, बैकिङ क्षेत्रमा ३ दशक योगदान
काठमाडौं । लुम्बिनी विकास बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पवन ढकालको निधन भएको छ । डीसीईओ ढकालको बुधबार हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले बताएको छ । डीसीईओ ढकाल हृदयघातका कारण लामो समयदेखि उपचाररत थिए । ढकालको काठमाडौंमा निधन भएको हो । हृदयघात भएपछि उनलाई उपचारका लागि दिल्ली लगिएको थियो । उनलाई दुई पटकसम्म हृदयघात भएको थियो । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका ढकालको नेपाली बैंकिङ क्षेत्रमा तीन दशकको योगदान छ । उनले सन् १९९२ मा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (साविक नेपाल ग्रिन्डलेज बैंक) बाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए । सो बैंकमा करिब ८ वर्ष बिताएका थिए । स्ट्याण्डर्ड चार्टर्ड बैंक छाडेपछि उनी माछापुच्छ्रे बैंकमा आबद्ध भएका थिए ।। उनले माछापुच्छ्रे बैंकमा करिब १४ वर्षसम्म विभिन्न व्यवस्थापकीय भूमिका र जिम्मेवारीमा रहेर काम गरेका थिए । त्यसपछि साविक कैलाश विकास बैंकमा सहायक महाप्रबन्धक, सिद्धार्थ विकास बैंकमा डीसीईओ र जनता बैंकमा सहायक महाप्रबन्धकको रूपमा काम गरेका थिए । उनी सन् २०१९ जुनदेखि लुम्बिनी विकास बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको पदमा प्रवेश गरेका थिए । उनले मुक्तिनाथ क्यापिटलको सञ्चालक समितिमा पनि बैंकको प्रतिनिधित्व गरेका थिए । तनहुँका स्थायी बासिन्दा भएपनि हाल उनको परिवार पोखरामा बस्दै आएको छ । उनको आजै काठमाडौंमा अन्त्येष्टि गरीएको छ ।
रकम फिर्ता नगरेको भन्दै बचतकर्ताले दिए १३७ सहकारीमाथि उजुरी
काठमाडौ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका एक सय ३७ सहकारी संस्थामाथि वचतकर्ताले आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी गरेका छन् । ती उजुरी चालु आर्थिक वर्षको हालसम्म परेको कामपाले जनाएको छ । मङ्सिर महिनामा उजुरी गर्नेको सङ्ख्यामा कमी आएको भए पनि पछिल्लो समय दैनिक एक सयसम्म उजुरी आउने गरेको कामपा सहकारी विभागले जानकारी दिएको छ । गत आर्थिक वर्षभरिमा जम्मा ६० उजुरी परेका भए पनि चालु आर्थिक वर्षको छ महिनाको अवधिमा एक सय ३७ ठगीको उजुरी परेको कामपा सहकारी विभागका प्रमुख देवेन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी बचत थत ऋण सहकारीमाथि बचतकर्ताको रकम फिर्ता नगरेको ठगीका उजुरी छन् । उजुरी परेका एक सय ३७ मध्ये ५७ सहकारीलाई कामपाले पटकपटक सम्पर्क गर्न खोजेको थियो । केही अझै सम्पर्कमा नै नआएका र आएका केहीले पनि बचतकर्ताको रकम फिर्ता नगरेकाले पुनःउजुरी आएपछि कामपाले प्रहरीको जिम्मा लगाएको छ । बाँकी ८० सहकारी सञ्चालकसँग कामपाले छलफल गरी बचतकर्ताको रकम असुलउपर गरिदिनका लागि प्रयास गरिरहेको छ । हाल कामपामा एक हजार नौ सय ५५ सहकारीमध्ये सबैभन्दा बढी करिब एक हजार छ सय बचत तथा ऋण सहकारी छन् । संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज भए पनि सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्था छ । अत्यधिकरूपमा सहकारीको सङ्ख्या बढेको भन्दै विगत दुई वर्षदेखिनै कामपाले नयाँ सहकारी सञ्चालनका लागि अनुमति दिन छोडेको छ । आगामी दिनमा नयाँ सहकारीलाई सञ्चालनका लागि अनुमति दिनेभन्दा पनि मिल्नेसम्मको हकमा एकापसमा गाभ्ने र बाँकी अन्यलाई नियमन र निर्देशन गरी राम्रो बनाउनेतर्फ कामपाको जोड रहने पनि विभागको भनाइ छ । सहकारी ऐन, २०७४ र कामपाको सहकारी ऐन, २०७४ अनुरूप कानूनीरूपमा नै गाभ्न सकिने व्यवस्था रहेको छ । सहकारी गाभ्नका लागि समान प्रकृतिका दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ । एकीकृत हुन चाहने दुईवटै सहकारीले कामपाको सहकारी विभागका निवेदन दिनुपर्छ । त्यसपछि कामपाले प्रकृतिअनुरुप प्रक्रियाअघि बढाउने छ । सहकारी गाभ्न कामपाको चाहनाले मात्र नहुने हुँदा सञ्चालकले इच्छा राख्नुपर्दछ । समान प्रकृतिका सहकारी एकापसमा गाभ्न सकिनेछ । मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेका र उनीहरूमाथिनै बढी समस्या रहेकाले तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरूप जान लागिएको हो । दैनिकरूपमा अनियमितता गरेको गुनासो बढे पनि कामपाले अनुगमन गर्ने तयारी गरेको छ । नागरिकसँग लिएको पैसा समयमा नै फिर्ता गरेर उजुरी परेका सहकारीलाई ध्यानमा राखेर अनुगमन गर्ने बताइएको छ । रासस