काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आठौं संस्करणको ‘पावर समीट २०२३’ को आयोजना गर्ने भएको छ । इप्पानले उक्त समीट आगामी चैत १४ र १५ गते गर्न लागेको हो ।
दुई दिन चल्ने उक्त समीट ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ काठमाडौंको हायात रिजेन्सीमा हुने छ ।
उक्त समीटमा ३० भन्दा बढी देशका ३ सय अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रहने छ । साथै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू, विक्रेताहरू, थिंक ट्याङ्कहरू र अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब आठ सय जना सहभागी हुने बताइएको छ ।
इप्पानले सन् २००६ मा पहिलो पावर समीट आयोजना गरेको थियो । यसले मुलुकमा विद्युत् उत्पादनको लागि अनुकूल वातावरण सिर्जना गर्न ठूलो योगदान गरेको बताइएको छ । सोलु-दुधकोशी जलविद्युत आयोजनाबाट ८६ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा थपिएसँगै देशको कुल राष्ट्रिय प्रसारण लाइनको जडित क्षमता करिब २५ सय २० मेगावाट पुगेको पनि इप्पानले बताएको छ ।
यो वर्ष करिब ६०० मेगावाट प्रणालीमा थपिने र सन् २०२७ सम्ममा कुल जडित क्षमता ६७०० मेगावाट पुग्ने अपेक्षा छ ।
सन् २०२२ मा नेपालको विद्युतको उच्चतम माग करिब १७०० मेगावाट मात्र थियो । अबको वर्षायाममा करिब १००० मेगावाट विद्युत बचत हुने देखिएको पनि इप्पानका पदाधिकारीहरुको अनुमान छ । त्यस्तै, विद्युत उत्पादनमा निजी क्षेत्रको योगदान हालको ५५ प्रतिशतबाट बढेर ८० प्रतिशत हुने अनुमान गरिएको छ ।
नेपालमा कोइला वा पेट्रोलियम पदार्थको उपलब्धता छैन तर जलविद्युत, सौर्य, वायु र बायोमास लगायतका हरित ऊर्जाको ठूलो स्रोत रहेको इप्पानका अध्यक्ष कृष्ण आचार्यले बताए । उनका अनुसार पेट्रोलियम पदार्थबाट हरित ऊर्जामा पूर्ण रूपान्तरण गर्नु भनेको नेपाली अर्थतन्त्रलाई वास्तविक रुपमा आत्मनिर्भर बनाउनु हो ।
‘आज हामी मुलुकका ऊर्जावान् र सक्रिय जनशक्ति पेट्रोलियम पदार्थ धनी देशहरूमा काम गर्न जान्छन्, उनीहरूले त्यहाँबाट पठाएको रेमिट्यान्सले अर्थतन्त्र सञ्चालन मात्र होइन, त्यही रेमिट्यान्सले हामी त्यही देशहरूबाट पेट्रोलियम पदार्थ खरिद गर्छौं, यो दुष्चक्र तोड्न सकिन्छ, त्यसैले आजको समय भनेको हरित ऊर्जाको बजारलाई फराकिलो बनाउने सम्पूर्णरुपले ध्यान केन्द्रित गर्ने समय हो, र, यो समिटको मूल उद्देश्य यही हो,’ उनले भने ।
यो पावर समीटले हरित ऊर्जा क्षेत्रमा संलग्न सबैका लागि सञ्जाल बनाउने र एक अर्काबाट सिक्ने र अनुभव आदान-प्रदान गर्ने ठूलो अवसर रूपमा इप्पानले लिएको छ । जसमा भएको छलफलले नेपालको हरित ऊर्जाको बजारका लागि ढोकाहरू पहिचान गर्न र त्यसलाई खोल्नको लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।
उक्त समीटमा पर्यावरण, सामाजिक र सुशासन, क्षेत्रीय सहकार्य र ऊर्जा सुरक्षालगायतका विषयमा नेपाल लगानी बोर्ड तथा निजी क्षेत्रका तर्फबाट ५००० मेगावाटका परियोजनाहरू (प्रोजेक्ट बैंक) प्रदर्शन गरिनेछ । यो सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने भएका छन् ।