घर भाडामा बस्नेले महिना बितेको ७ दिनभित्र भाडा बुझाउनु पर्ने, घरधनीले लिखित सम्झौता गर्नुपर्ने

<p>काठमाडौं । काठमाडौं महानगरभित्र घर भाडामा बस्नेले हरेक महिना सकिएको एक हप्ताभित्रमा भाडा बुझाइ सक्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिको घरबहाल व्यवस्था निर्देशिका-२०७९ बमोजिम उनीहरुले अघिल्लो महिनाको मासिक बहाल महिना बितेको ७ दिनभित्रमा दिनुपर्ने भएको हो । बहाल बुझाउँदा चेक, नगदै वा बहालमा दिनेले तोकिदिएको बैंक खातामा रकम जम्मा गरेर बहाल बुझाउन सकिने छ । [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरभित्र घर भाडामा बस्नेले हरेक महिना सकिएको एक हप्ताभित्रमा भाडा बुझाइ सक्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिको घरबहाल व्यवस्था निर्देशिका-२०७९ बमोजिम उनीहरुले अघिल्लो महिनाको मासिक बहाल महिना बितेको ७ दिनभित्रमा दिनुपर्ने भएको हो ।

बहाल बुझाउँदा चेक, नगदै वा बहालमा दिनेले तोकिदिएको बैंक खातामा रकम जम्मा गरेर बहाल बुझाउन सकिने छ । नगद बुझाउँदा सोको स्पष्ट प्रमाण वा निस्सा लिनुपर्ने छ । बहाल बुझेको भर्पाई, निस्सा वा बैङ्क जम्मा गरेको अवस्थामा भौचर वा बैङ्क रसिद सुरक्षित रूपमा राख्नु बहालमा लिनेको दायित्व हुने छ ।

घर भाडामा दिने व्यक्तिले अनिवार्य रुपमा लिखित सम्झौता गर्नुपर्ने भएको छ । घरबहालको अवधि सामान्यतः पाँच वर्षमा नबढाई सम्झौतामा उल्लेख गर्नुपर्नेछ । घर जग्गा बहालमा दिने व्यक्तिले बहालमा दिएको मितिले सात दिनभित्र विभिन्न कागजात सहित सम्बन्धित वडा कार्यालयमा बहालमा दिएको विवरण पेश गरी अद्यावधिक गर्नुपर्ने छ ।

महानगरपालिका क्षेत्रभित्र घर बहालमा दिने व्यक्तिले बहालमा दिने त्यस्तो घर खाली रहेमा, बहालमा लिने व्यक्तिले बहालमा लिन छोडेमा, बहालमा दिएको घर आफैलाई आवश्यक परी खाली गराइएमा वा खाली भएमा वा सम्झौताबमोजिम आफैले हटाएमा वा जुनसुकै कारणले घर खाली भएमा त्यसरी घर खाली भएको मितिले सात दिनभित्र अनिवार्य रूपमा सम्बन्धित वडा कार्यालयमा घर खाली भएको जानकारी गराउनुपर्नेछ ।

त्यस्तै, महानगरपालिका क्षेत्रभित्र कसैले आफ्नो हक, भोग वा स्वामित्वमा रहेको घर, घरको कुनै तला, एकाइ वा कोठा तथा घरजग्गा निश्चित रकम लिने गरी तोकिएको समयका लागि कुनै व्यक्तिलाई उपयोग गर्न दिएमा घर बहालमा दिएको मानिने निर्देशिकामा उल्लेख छ ।

भवन वा भवनको कुनै भाग वा घरजग्गा वा जग्गा बहालमा दिँदा बहालमा लिने व्यक्तिसँग बहालमा दिने व्यक्तिले अनुसूची-१ मा उल्लिखित ढाँचामा तल उल्लेखित विषयहरु उल्लेख गरी लिखित सम्झौता गर्नुपर्ने व्यवस्था महानगरले गरेको छ ।

(क) घर जग्गा बहालमा लिने र दिने पक्षहरूको पूरा नाम र ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, मोबाइल नम्बर र विदेशी भए राहदानी वा परिचय खुल्ने प्रमाण-पत्र, इमेल ठेगाना, करदाता सङ्केत नम्बरसमेत

(ख) घर रहेको स्थान, जग्गाको कित्ता नम्बर, बहालमा लिने भवनको कुल क्षेत्रफल, तला वा कोठाको विवरण

(ग) बहालमा लिने प्रयोजन

(घ) बहाल सुरु हुने मिति

(ङ) बहाल कायम रहने अवधि र अवधि थप सम्बन्धी व्यवस्था

(च) मासिक तथा वार्षिक बहाल रकम तथा मासिक वा वार्षिक बहाल रकममा वृद्धि हुने भएमा सो समेत

(छ) बहाल रकम बुझाउने समय तथा प्रक्रिया

(ज) बहालमा लगाउने सम्पत्तिमा प्रयोग भएका बिजुली, खानेपानी, टेलिफोन, फोहरमैला व्यवस्थापन आदिको महसुल बुझाउने दायित्व

(झ) बहाल कर भुक्तानी गर्नेसम्बन्धी व्यवस्था

(ञ) बहालमा लिएको भवनको बीमा गर्नुपर्ने भए सो सम्बन्धी कुरा

(ट) बहालमा लिएको घर छाड्ने तथा बहालमा बसेको व्यक्तिलाई हटाउने सम्बन्धी कुरा

(ठ) बहालमा लिएको घर अन्य व्यक्तिलाई बहालमा दिन पाउने वा नपाउने कुरा

(ड) बहालमा लिएको भवन मर्मत तथा सम्भार सम्बन्धी व्यवस्था

(ढ) सम्झौता हेरफेर गर्न सकिने नसकिने भन्ने व्यवस्था

(ण) संरचना निर्माण, आंशिक निर्माण वा हेरफेर गर्न पाउने वा नपाउने भन्ने विषय

(त) सम्झौता विपरीत घर वा घरजग्गाको प्रयोग गरेमा क्षतिपूर्तिसम्बन्धी व्यवस्था

(थ) सम्झौता भंग गर्न सकिने पूर्वशर्तहरू

(द) बहाल छोड्ने वा हटाउने सम्बन्धी व्यवस्था

(ध) अन्य आवश्यक कुराहरू ।

यस्तो छ घर बहाल व्यवस्था

[pdf id=388768]

Share News