काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले अहिले बैंकिङ क्षेत्रका विषयमा बजारमा उच्छृंखल विषय आउनु राम्रो नभएको बताएका छन् । बुधबार नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ढुंगानाले बैंकको ब्याजदर लगायतको विषयलाई लिएर ऋणीहरुले बैंकिङ क्षेत्रका विषयमा बजारमा उच्छृंखल विषयहरु आउनु राम्रो नभएको बताएका हुन् ।
उनले बैंकहरुले ऋणीहरुलाई प्रिमियम तथा ब्याजदर बैंकको लगानी, लागत खर्चको आधारमा बढी नभएको बताए । उनले बैंकको लगानी, लागत खर्च हेर्दा व्यवसायीहरुले भनेजस्तो र सञ्चारमाध्यममा आए जस्तो बैंकहरुले धेरै नाफा नकमाएको बताए । ढुंगानाले निक्षेपकर्ताको रकम सुरक्षा गर्न पनि बैंकको न्युनतम नाफा हुनुपर्ने दाबी गरे । उनले बैंक वित्तीय संस्था नाफामा सञ्चालन हुन नसके निक्षेपकर्तामा बैंक प्रतिको विश्वास सिर्जना हुन नसक्ने बताए । ढुंगानाले अहिलेकै अवस्थामा बैंकहरुले तत्कालै एकल बिन्दुमा ब्याजदर कायम गर्न नसक्ने बताए । उनले बैंकको ब्याजदर नेपालमा मात्रै नबढेको भन्दै अन्तर्राष्ट्रिय बजारको असर नेपालमा पनि परेको बताए ।
‘ग्राहकहरुले बैंकहरुले दिने ब्याजदरको रेट भन्दा कममा निक्षेप जिम्मा गरेका छन्, त्यस्तो हुँदा राम्रो निक्षेपकर्ता पनि बैंकहरुबाट पलायन हुनसक्ने अवस्था देखिएको छ, बैंकहरुले कमाउने अर्ब ठूलो होइन । बैंकको लगानी, लागत खर्च हेर्दा व्यवसायीहरु र बाहिर आए जस्तो बैंकहरुले नाफा छैन, बैंकको न्युनतम नाफा हुनैपर्छ किनकी निक्षेपकर्ताको रकम सुरक्षा गर्न बसेका छौं, विगतदेखि निक्षेप घट्दै गइरहेका छन्, बैंकहरुमा कोभिडको समयमा तरलता बढी भएको समयमा व्यापार व्यवसाय ठप्प थियो, बैंकमा पैसा थुप्रिएर बसेको थियो, तर बैंकले निक्षेपकर्ताहरुलाई ब्याज तिर्नुपर्ने थियो, त्यो समय लगानीको वातावरण नभएपछि प्रिमियम घटाएर शुन्य प्रतिशतमा नै दियौं, कोभिडपछि बैंकहरुमा निक्षेप बढेन, निक्षेपको रेट बढ्दै गयो, ५ प्रतिशत प्रिमियममा कर्जा दिनु भनेको बैंकहरुलाई नोक्शान हो, प्रिमियम भनेको सबै नाफा होइन, बेसरेटमा बैंकको सबै खर्च समावेश छैन, ऋणीहरुको त्यो गलत बुझाई हो,’ उनले भने ।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत ढुंगानाले पछिल्लो समय बैंकहरुमा खराब कर्जा डर लाग्ने किसिमले बढ्दै गएको बताए । उनले कोभिडको असर अर्थतन्त्रमा भर्खर देखिन लागेको भन्दै कोभिड सकियो भनेपनि असर सकियो भन्ने अवस्था नभएको बताए । उनले कोरोना महामारीको क्रममा रिसेड्युल गरिएको कर्जा ऋणीले तिर्न नसकेर बैंकहरुले उठाउन नसकेको बताए । उनले अन्तर्राष्ट्रिय देशमा ब्याजदर बढ्नुको एउटै मात्रै उद्देश्य मूल्य वृद्धि नियन्त्रण गरेका थिए । उनले बजारमा तरलता सहजता भएमा ब्याजदर घट्नसक्ने बताए । उनले सरकारले बजेट घटाएको भन्दै त्यसमा विकास खर्च कम गरेको भए बजारमा बढी असर पर्ने बताए । उनले संधै बजेटको आकार घटाउँदा निक्षेप संकलनमा ठूलो असर पर्ने बताए ।
‘पछिल्लो समय बैंकहरुमा खराब कर्जा डर लाग्ने किसिमले बढ्दै गएको छ, कोभिड सकियो भने पनि कोभिडको असर पनि सकियो भन्ने अवस्था छैन, कोभिडको असर अब देखिँदैछ, कोरोना महामारीको क्रममा रिसेड्युल गरिएको कर्जा ऋणीले तिर्न सकेका छैन, जुन गम्भीर समस्या हो, अन्तर्राष्ट्रिय देशमा ब्याजदर बढ्नुको एउटै मात्रै उद्देश्य मूल्य वृद्धि नियन्त्रण गर्नु हो, अन्तर्राष्ट्रिय देशमा ब्याजदर बढ्दा नेपाल त्यसबाट अछुतो रहन सक्दैन, त्यसैले तत्काल बैंकको ब्याजदर घट्ने अवस्था छैन, बजारमा तरलता सहज होला र ब्याजदर घट्ला भन्ने विषय एक ठाउँमा रहेको छ, सरकारले बजेट घटाएको छ, त्यसमा विकास खर्च कम गरेको भए बजारमा बढी असर पर्छ, सरकारले विकास खर्च गर्न सक्दैन, सधैँ बजेटको आकार घटाउँदा निक्षेप संकलनमा ठूलो असर गर्छ, १४ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दा पनि बैंकहरुले धेरै मार्जिन राखेको छैन,’ उनले भने ।
उनले बैंकहरुले १४ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दा पनि धेरै मार्जिन नराखेको बताए ।