नागरिक बचतपत्र ल्याउँदै राष्ट्र बैंक, ११.५० प्रतिशत वार्षिक ब्याजदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८४ ‘क’ ल्याउने भएको छ । ५ वर्ष अविधको यो बचतपत्र राष्ट्र बैंकले बुधबारबाट ल्याउँदैछ । दुई अर्ब ५० करोड बराबरको आकार रहेको यस बचतपत्रको वार्षिक ब्याजदर ११.५० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार उक्त बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा कूल आह्वान रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्नको लागि आवेदन दिन सकिन्छ । नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो ।
बोर्डबाट ४५ करोड नपाएको भन्दै प्रसाईंले बैंकलाई झुक्याए, बीमा सुविधा पनि दिँदैनन्
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको लगानी रहेको बिएण्डसी मेडिकल कलेजले स्वास्थ्य बीमा रोकेको खुलेको छ । बिर्तामोडमा रहेको बिएण्डसी मेडिकल कलेजले स्वास्थ्य बीमा बोर्डबाट बीमा वापत पाउनु पर्ने ४५ करोड रुपैयाँ भुक्तानी नभएको भन्दै स्वास्थ्य बीमा रोकेको हो । गत असारमा पत्रकार सम्मेलनको आयोजना गर्दै बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले बोर्डबाट बीमावापतको रकम नपाए सेवा नै बन्द गर्ने बताएका थिए । ‘असार २० गतेभित्र बाँकी रहेको भुक्तानी गर्न बीमा बोर्डलाई आग्रह गर्छौं, सो अवधिसम्म पनि भुक्तानी भएन भने असार २० गतेदेखि स्वास्थ्य बीमा सेवा रोक्छौं,’ उनले भनेका थिए । पत्रकार सम्मेलन नै गरेर बीमावापतकाे पैसा पाउनु पर्ने भनेपछि बोर्डले द्रुत गतीमा दावी भुक्तानीको प्रक्रिया थालेको बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले बताए । तर, प्रसाईंले भनेजति ४५ करोड बाँकी नरहेको उनको भनाइ छ । ‘असारमा ४५ करोड बाँकी थियो, हामीले मासिक रुपमा तिरिरहेका छौं, संस्थाले दावी गरेको रुजु गर्नु पर्छ, प्रक्रियामा जाँदा समय लाग्छ, तर अहिले करिब १० करोड रुपैयाँ मात्रै भुक्तानी बाँकी छ, अहिले बिएण्डसी कलेजले सेवा नै बन्द गरेको हामीले जानकारी पाएका छौं,’ बसौलाले विकासन्युजसँग भने । बाँकी रहेको रकम पनि छिट्टै भुक्तानी गर्ने तयारी भइरहेको भनाइ छ । सरकारले प्रतिव्यक्ति ३५ सय रुपैयाँदेखि प्रतिपरिवार ५ हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा गरिरहेको छ । प्रसाईंले बैंकलाई झुक्याए पछिल्लो समय दुर्गा प्रसाईं सार्वजनिक कार्यक्रममै बैंक तथा वित्तीय संस्था विरोधी अभिव्यक्ति दिइरहेका छन् । उनले बैंकहरुले उच्च ब्याज लिएको भन्दै कसैले पनि बैंक तथा वित्तीय संस्थाको ब्याज नतिर्न आव्हान गर्दै आएका छन् । तर, प्रसाईं भने बिएण्डसी मेडिकल कलेज निर्माण गर्दा लिएको ऋणको नियमित किस्ता तिरिरहेको बुझिएको छ । स्रोतका अनुसार उनले केही बैंक तथा वित्तीय संस्थाको भने एक/दुई किस्ता रोकेको स्रोतको भनाइ छ । ‘उहाँले नियमित किस्ता तिरिरहनु भएको छ, तर केही संस्थाको भने एक/दुई किस्ता रोकेको सुनिएको छु,’ एक बैंकरले भने, ‘ऋण नतिर्नु, बैंकरलाई जहाँ भेट्यो त्यतै समात्नु भनेर समाजलाई भड्काउनु हुँदैन, यो पनि एउटा अपराध हो ।’ एक/दुई किस्ता तिर्न बाँकी रहेका बैंक तथा वित्तीय संस्थासँग कुरा गर्दा उनले स्वास्थ्य बीमा बोर्डबाट ४५ करोड रुपैयाँ आउन बाँकी हरेकोले त्यो पैसा आएपछि तिर्ने प्रतिवद्धता गरिरहेका छन् । ‘प्रसाईंसँग मेरो नियमित कुरा भइरहेको छ, उहाँले स्वास्थ्य बीमा बोर्डबाट ४५ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेकोले सो पैसा आएपछि नियमित किस्ता तिर्छु भन्नु भएको छ , यसअघि भने उहाँले नियमित किस्ता तिरिरहनु थियो,’ ती बैंकरले भने । बैंक तथा वित्तीय संस्थाहरुसँग स्वास्थ्य बीमा बोर्डबाट ४५ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताए पनि उनले पैसा पाइसकेका छन् । बोर्डका अनुसार अब बिएण्डसी मेडिकल कलेजले करिब १० करोड रुपैयाँ मात्रै पाउन बाँकी छ । तर, प्रसाईंले भने बोर्डबाट ४५ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको भन्दै बैंक तथा वित्तीय संस्थालाई झुक्याइरहेका छन् । उनले विभिन्न सार्वजनिक कार्यक्रममा बोल्दै २० लाखभन्दा कम हुनेको ऋण मिनाहा गर्नुपर्ने र २० लाखभन्दा बढी ऋण ६ प्रतिशतभन्दा धेरै ब्याजदर लिन नहुने बताउँदै आएका छन् । सम्बन्धि सामग्री : कर्जाको किस्ता नियमित तिरिरहेका प्रसाईं किन भड्काउँदैछन् जनता ?
सुदूरपश्चिम प्रदेश सरकार ५ वर्ष टिक्छ : मुख्यमन्त्री शाह
अत्तरिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने बताएका छन् । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले विभिन्न प्रकारका अफवाह फैलाउने काम भइरहेको छ भने । ‘सबैसँग सहकार्य गरेर खुल्ला छलफल भइरहेको छ । चाँडै नै हामी टुङगोमा पुग्छौ’, प्रदेश मध्यावधि निर्वाचनमा नजाने बताउँदै उनले संविधानले दिएको जिम्मेवारी पूरा हुने प्रष्ट पारे । उनले जनताको भावनाअनुसार नै आफू नेतृत्वको सरकार अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्को पहिलो बैठकबाट भ्रष्टाचार नियन्त्रणका लागि प्रादेशिक कार्य तर्जुमा समिति गठन गरी काम अघि बढिरहेको उनको भनाइ छ । उनले प्रदेशको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी सिर्जनामा सरकार केन्द्रित रहने बताए । मुख्यमन्त्री शाह पुस २६ गते सो पदमा नियुक्त भएका थिए । उनले अहिलेसम्म विश्वासको मत लिएका छैनन् । कूल ५३ प्रदेशसभा सदस्य रहेको सुदूर पश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन् । रासस
सुन धितो राखेर लिने कर्जामा वृद्धि, १७ बैंकबाट ५० अर्ब प्रवाह
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा बैंकहरुले सुन (पहेँलो धातु) चाँदी धितो कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले सुनचाँदी धितो राखेर झण्डै ५० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सुनचाँदी धितो राखेर वाणिज्य बैंकहरुले ४७ अर्ब २० करोड ११ लाख रुपैयाँ कजौ प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा सुनचाँदी धितो राखेर बैंकहरुले ४२ अर्ब ५७ करोड ७३ लाख रुपैयाँ कर्जा दिएका थिए । गत वर्षको तुलनामा ४ अर्ब ६२ करोड ३८ लाख अर्थात् १०.८५ प्रतिशत बढी कर्जा प्रवाह भएकाे राष्ट्र बैंकले जनाएको छ । सुनचाँदी धितो राखेर १७ वटा बैंकले मात्रै कर्जा प्रवाह गर्ने गरेका छन् । जसमध्ये ६ वटा बैंकले बढाएका छन् भने अन्य ११ बैंकले भने घटाएका छन् । समीक्षा अवधिमा एनआईसी एशिया बैंकले सुनचाँदी धितो राखेर कर्जा प्रवाह ३ सय प्रतिशतले बढाएको छ । एनआईसीले पुस मसान्तसम्म ११ करोड रुपैयाँ कर्जा प्रदान गरेको छ । यस्तै, नेपाल बैंकको २१.९५ प्रतिशतले बढेर १७ अर्ब १० करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १५.९८ प्रतिशतले बढेर १८ अर्ब ७९ करोड १८ हजार रुपैयाँ, लक्ष्मी बैंकको १४.९२ प्रतिशतले बढेर ४२ करोड ४४ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको ११.१२ प्रतिशतले बढेर २ अर्ब ९ करोड १८ लाख रुपैयाँ र सिटिजन्स बैंकको ३.३८ प्रतिशतले बढेर ८५ करोड ८२ लाख रुपैयाँकाे सुन धितो धिताे राखेर कर्जा प्रवाह भएकाे छ । समीक्षा अवधिमा ११ बैंकको भने कर्जा घटेको छ । जसमा सबैभन्दा धेरै एनएमबि बैंकको ८६.४१ प्रतिशत घटेर ४४ लाख रुपैयाँ सुन धितो राखेर कर्जा प्रवाह भएकाे छ । यस्तै, सानिमा बैंकको ७९.४१ प्रतिशतले घटेर ४८ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ६७.६४ प्रतिशतले घटेर १ करोड २२ लाख रुपैयाँ, प्रभु बैंकको ६६.३६ प्रतिशतले घटेर २ करोड ७२ लाख रुपैयाँ, नबिल बैंकको ६२.५३ प्रतिशतले घटेर ५३ करोड ७५ लाख रुपैयाँ र कुमारी बैंकको ३४.२० प्रतिशतले घटेर ४ करोड ८० लाख रुपैयाँकाे कर्जा प्रवाह भएकाे छ । यस्तै, कृषि विकास बैंकको २८.५४ प्रतिशतले घटेर ५ करोड ९३ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको १८.४८ प्रतिशतले घटेर २४ करोड १८ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको ३.४६ प्रतिशतले घटेर ६ अर्ब ८७ करोड ८८ लाख रुपैयाँ र सिद्धार्थ बैंकको २.३३ प्रतिशतले घटेर १ करोड रुपैयाँ सुन धितो कर्जा प्रवाह भएकाे छ । हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमा विभिन्न ६ वटा बैंकले भने सुनचाँदी कर्जा भने ठप्प राखेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, सनराइज बैंक र सिभिल बैंकले सुनचाँदी धितो राखेर कर्जा प्रवाह गरेका छैनन् ।
यी हुन् अर्थशास्त्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने ५ विद्यार्थी
काठमाडौं । नेपाल इकनोमिक्स ओलम्पियाड (नियो)को चौथो संस्करणबाट अन्तर्राष्ट्रिय इकनोमिक्स ओलम्पियाडमा भाग लिने विद्यार्थीको टुंगो लागेको छ । ललितपुरमा सम्पन्न राष्ट्रिय प्रतिस्पर्धामा गोल्ड मेडल विजेता ५ जना विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएका हुन् । जसमा बूढानिलकण्ठ स्कुलका भार्गभ चौटत र भिक्टर हमाल, लिटिल एन्जल्स कलेजका प्रयुश यादव, ट्रिनिटी कलेजका मयंक शंकर झा र सेन्ट जेभियर कलेजका अनुभव ढुंगाना छानिएको नियोले जानकारी दिएको छ । पूर्वमन्त्री डा.मिनेन्द्र रिजालले अहिलेको समय आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को भएको भन्दै च्याट जीपीटीका कारण अध्ययन अनुसन्धानदेखि अध्यापनसम्मको ट्रेन्ड परिवर्तन हुनसक्ने बताए । काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार डा.अच्युत वाग्लेले मेडिकल साइन्सले नयाँ–नयाँ औषधि पत्ता लगाएजस्तै अर्थशास्त्रीले अर्थतन्त्रको समस्या समाधान गर्ने उपाय पत्ता लगाउनुपर्ने बताए । उनले सम्भावना भएका प्रतिभाशाली व्यक्तिहरू बाहिरै बस्ने हो भने यो देश कहिल्यै पनि विकसित नहुने बताए । प्रतिभावान विद्यार्थीहरू पढ्नको लागि जहाँ गएपनि फर्केर नेपालमै आउन उनले आग्रह गरे । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञावलीले यस्ता कार्यक्रममा सफल व्यक्तिलाई भन्दापनि असफलताको कथा भएका व्यक्तिलाई ल्याउनुपर्ने धारण राखे । उनका अनुसार कसैको असफलताको कथा सुन्नै नचाहने हो भने उ कसरी दलदलमा फस्यो ? कहाँ कति चुनौती छन् भन्ने कुरा जान्नका लागि पनि असफलताका कथा सुन्नुपर्ने उनको भनाइ थियो । स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान)का अध्यक्ष धर्मराज सापकोटाले नेपालको अर्थतन्त्र, सेयर बजार र वित्तीय साक्षरताको बारेमा अन्तर्राष्ट्रिय मञ्चमा बोल्न आग्रह गरे । पलस टू तहमा व्यवस्थापन संकाय अध्ययनरत ८० जना विद्यार्थीको सहभागीता रहेको उक्त कार्यक्रमबाट अन्तर्राष्ट्रिय ओलम्पियाडका लागि ५ जना विद्यार्थी छानिएका हुन् । क्षेत्रीय प्रतिस्पर्धामा देशभरका १६२ कलेजका १ हजारभन्दा धेरै विद्यार्थीहरू सहभागी भएका थिए । जसमा उत्कृष्ट ७५ जना विद्यार्थी राष्ट्रिय ओलम्पियाडका लागि छानिएका थिए । सिधै छानिएका ५ जना सहित ८० जना विद्यार्थीहरूले राष्ट्रिय प्रतिस्पर्धा गरेका थिए । सहभागीहरूले बिजनेश केश एनलाइसिस, सिमुलेशन र अर्थशास्त्र विषयसँग सम्बन्धित प्रश्न समेटिएको ३ घण्टाको लिखित परीक्षा दिएका थिए । त्याहाँबाट उत्कृष्ट भएका ५ जनाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने मौका पाएका हुन् । यस अघिका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अन्तिम ३ स्थानसम्म हाँसिल गर्दै आएकोमा यसपाली भने आयोजकले गोल्ड मेडल जित्ने लक्ष्य लिएको नियोका साझेदारी निर्देशक दीपक भण्डारीले बताए । कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पियाडमा तेस्रो र अन्तर्राष्ट्रिय बिजेनश ओलम्पियाडमा पहिलो भएका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।
ग्लोबल आइएमई बैंकमा आकर्षक रोजगारीको अवसर
काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । ग्लोबल आइएमई बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अफिसर लेभल र असिस्टेन्ट लेभलका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । सो पदका लागि बैंकले स्नातक तहदेखि स्नाकोत्तर तह उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने बैंकले जनाएको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । बैंकले ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले फागुन ११ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।
गणपति लघुवित्तले लाभांश घोषणा नगरी बोलायो साधारण सभा
काठमाडौं । गणपति लघुवित्त वित्तिय संस्थाले लाभांश घोषणा नगरी साधारण सभा बोलाएको छ । कम्पनीले चैत २५ गते साधारण सभा बोलाएको हो । गत आर्थिक वर्ष २०७७/७८ मा २० प्रतिशत लाभांश बाँडेको यस लघुवित्तका सेयरधनीको यस वर्ष भने हात खाली हुने भएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १६ गते एक दिन बुक क्लोज मिति तोकेको छ । यसको अर्थ चैत १५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कम्पनीको सेयरधनीको रुपमा कारोबार गर्नेले मात्र कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् ।
ठेक्का अलपत्र पार्ने ५ निर्माण व्यवसायी कम्पनी कालोसूचीमा
काठमाडौं । विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ अनुसार यी निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ । कालोसूची अवधिभर यी कम्पनी सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन पाउने छैनन्’, खरिद अनुगमन कार्यालयले सूचनामा भनेको छ । खरिद अनुगमन कार्यालयको गत बिहीबारको निर्णयअनुसार भरतपुर–४ चितवनको इन्जिनियर्स कन्स्ट्रक्सन एन्ड माइन्ट क्राफ्ट प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । विकास श्रेष्ठ सञ्चालक रहेको यो कम्पनीले चितवनको इच्छाकामना गाउँपालिकाको ठेक्का अलपत्र पारेको थियो । चितवनको खैरहनी नगरपालिकाको सिफारिसमा जय गढीमाई निर्माण कन्स्ट्रक्सन प्रालिलाई पनि कालोसूचीमा राखिएको छ । सीताराम चौधरी मुख्य सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । करण कुमार मुडभरी सञ्चालक रहेको मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालि दुई वर्षका लागि कालोसूचीमा परेको छ । यो कम्पनीले रसुवागढी हाइड्रोपावर कम्पनीसँग भएको ठेक्का सम्झौताअनुसार काम नगरेको खरिद अनुगमन कार्यालयले जनाएको छ । त्यसैगरी, सुदूरपश्चिम विद्यालयअन्तर्गतको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कैलालीको काम अलपत्र पार्ने गुण निर्माण सेवालाई पनि कालोसूचीमा राखिएको छ । गुणराज पाठक सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो । बारबर्दिया नगरपालिकाको कार्यालय बर्दियाले कल्पना कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेको उक्त कम्पनीलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ । रासस