विकासन्युज

अध्यागमनको साइटमा समस्या, रोकिए अन्तर्राष्ट्रिय उडान

फाइल फाेटाे काठमाडौं । अध्यागमन विभागको वेवसाइटमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । सोमबार दिउँसो विभागको साइटमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान रोकिएको हो । अध्यागमनको वेवासाइटमा समस्या आउँदा भिसा जारी नहुँदा उडान प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ । अध्यागमनको सर्भर करिब डेढ घण्टादेखि डाउन हुँदा प्रवेशाज्ञा र प्रस्थान अनुमति दिने कार्य केही प्रभावित भएको छ प्राविधिकहरूले समस्या समाधानको लागि काम गरिरहेको भएपनि समस्या समाधान हुन नसकेको अध्यागमन कार्यालयले जनाएको छ । पछिल्लो समय विमानस्थलमा सर्भर डाउन हुने समस्या आइरहेको छ । यस्तो संवेदनशील स्थानमा पनि सरकारले तदारुकताका साथ काम गर्न नसक्दा यात्रुहरू मारमा परिरहेका छन् । यसअघि गत माघ १४ र १५ गते अध्यागमन विभाग सहित सबै सरकारी कार्यालयको वेवसाइट ह्याक भएको थियो ।

बैंकहरु नसच्चिए देशैभर आन्दोलन गर्न बाध्य हुन्छौं : अध्यक्ष श्रेष्ठ

काठमाडौं । बैंकहरुले ज्यादती गरेको भन्दै सिन्धुपाल्चोकका उद्योगी तथा व्यवसायीहरुले पनि आन्दोलन गरेका छन् । आईतबार सिन्धुपाल्चोकका उद्योगी व्यवसायीहरु मिलेर बैंकहरुले चर्को ब्याजदर लिएको भन्दै आन्दोलनस्वरुप बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध अन्तरक्रिया गरेका हुन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बैंक वित्तीय संस्थाहरुले गरेका क्रियाकलाप सधैँ अघि बढ्ने हो भने व्यवसायीहरु संगठित भएर देशभर नै आन्दोलन गर्नुपर्ने अवस्था आउने बताए । बैंकहरु नसच्चिए व्यवसायीहरु द्वन्द्वात्मक ढंगले प्रस्तुत हुन बाध्य हुनुपर्ने बताउँदै उनले बैंक वित्तीय संस्था र राष्ट्र बैंकले यसमा हेक्का नराखे देशको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने निश्चित रहेको जनाए । उनले व्यवसायीहरुलाई अहिले भइरहेका पीडाको सम्बोधन गर्न र सम्बोधन नभए व्यवसायीहरु पनि प्रतिरक्षात्मक ढंगले उत्रिने चेतावनी दिए । उनले व्यवसायीहरुका मागहरु तत्काल सम्बोधन गरेर अर्थतन्त्रलाई सुधार गर्न र बैंक वित्तीय संस्थामा त्रुटीपूर्ण ढंगले भइरहेका गतिविधिहरुलाई सच्याएर अघि बढ्न आवश्यक रहेको बताएका छन् । त्यस्तै, सिन्धुपाल्चोक उद्योग वाणिज्य महासंघका महासचिव शम्भु तिमल्सिनाले बैंकहरुले आफूलाई अफ्ठ्यारो पर्दा व्यवहार मिलाउने गरेको आरोप लगाए । उनले बैंकहरुले पहिला ऋणीहरुबाट लिएको बढी ब्याज अहिले धमाधम फिर्ता गरिरहेको बताए । राष्ट्र बैंकले बैंकहरुमाथि नथी लगाएमा बैंकहरु सीमाअनुसार चल्न बाध्य हुने उनको चेतावनी छ । उनले ऋणीहरुलाई सम्झौताभन्दा बेगरको ब्याजदर असुलेर लिनेकुरा सह्य नहुने भन्द्रै राष्ट्र बैंकको नीतिअनुसार ऋणको ब्याजदर लिनुपर्ने बताए । उनले यस्ता विषयमा कारोबार गर्नेहरु पनि सचेत रहन आवश्यक रहेको जनाए । अन्तरक्रियामा सहभागी अन्य वक्ताहरुले कानूनका त्रुटीहरु सच्याएर अघि बढ्नुपर्ने बताएका छन् । उनीहरुले देशमै केही गर्छु भनेर लाग्ने व्यवसायीहरुलाई व्यावसायमैत्री वातावरण सिर्जना गर्न सरकारले नसकेको आरोप लगाए ।

पर्यटकीय गन्तव्य बन्दै बनेपाको ‘ब्रम्हायणी उद्यान’

बनेपा। ललितपुरका शान्ति खड्की नालामा रहेको ब्रम्हायणी उद्यान घुम्न पाउँदा दङ्ग देखिन्छिन् । उनि सामाजिक सञ्जाल टिकटकमा ब्रम्हाको पूर्णकदको मूर्तिसहितको उद्यान बनेको थाहा पाएपछि घुम्न आएको बताएको हो । ‘अग्लो ठाउँमा उज्यालो देखिने ब्रम्हाको मूर्तिसहितको पार्क निकै रमाइलो र मनमोहक देखिन्छ । यहाँको सुन्दरतालाई जोगाएर राख्न सके थप आकर्षणको केन्द्र बन्नेछ’, उनले भनिन्, ‘घुम्न गएको ठाउँमध्ये नालाको ब्रम्हायणी उद्यान निकै आकर्षक देखिन्छ ।’ टिकटकमा यहाँको दृश्यसहितको सन्देश हेरेर आन्तरिक पर्यटक घुम्न आउने गरेको स्थानीयवासीले बताए । अहिले ब्रम्हायणी उद्यान घुम्न र दर्शनका लागि आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । नाला बजार निवासी श्याममाया देउला पनि आमालाई लिएर ब्रम्हायणी उद्यान घुम्न आइन् । उनले घर नजिकै धार्मिक पर्यटकीय केन्द्र बनेको र टाढा टाढाबाट मानिस घुम्न आएको देखेर आफू पनि आएको जानकारी दिइन् । शनिबारका दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ मन्दिरै मन्दिरले घेरिएकाले यहाँ धार्मिक पर्यटक बढ्ने गरेकामका ब्रम्हा उद्यानले नाला क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको छ । भूइँचालोडाँडा नामले चिनिने सो ठाउँमा उद्यान बनेपछि नयाँ गन्तव्य थपिएको हो । नाला क्षेत्रमा ऐतिहासिक तथा धार्मिक करुणामाई, उग्रचण्डी र नाला भगवतीलगायत मन्दिर छन् । महादेव खोला ब्रम्हायाणी उत्तरगया विकास समाजले नाला धार्मिक पर्यटनको अर्को गन्तब्य बनाउने उद्देश्यले ब्रम्हाको पूर्णकदसहितको मूर्ति बनाएको जनाएको छ । यहाँ ब्रम्हासहित दश अवतार मत्स्य, कुर्म, बराह, नृसिंह, परशुराम, बामन, राम, कृष्ण, बुद्ध, कल्किको मूर्ति निर्माण गरिएको छ । चर्तुरायण ब्रम्हायणीको मूर्ति राखेर दश अवतारका देवता भएको उद्यान निर्माण गरेपछि स्थानीयवासीले व्यवसाय गरेर आम्दानी गर्न थालेका छन् । करिब एक महिना अगाडिदेखि उद्यान छेउमा चटपटे, पानीपुरी र अन्य तयारी सामान बिक्री गरी व्यवसाय सञ्चालन गर्दै आएकि नाला–४ का मञ्जु खत्रीले दैनिक एक हजार आम्दानी गर्दै आएको बताइन् । अरु बेला मानिसको आवागमन सामान्य रहेपछि बिदाको दिन र शनिबार घुम्न आउनेको घुइँचो लाग्ने गरेको उनले उल्लेख गरिन् । पछिल्लो समयमा सो ठाउँमा घुम्न जानेको सङ्ख्या उल्लेख्य वृद्धि भएपछि उद्यान आसपासमा आधा दर्जन साना व्यसवसायीले व्यवसाय सुरु गरेर आम्दानी लिन थालेका छन् । करिब ९० रोपनी क्षेत्रफलमा फैलिएमध्येको खाली क्षेत्रमा पार्कसहितको बगैँचा निर्माण गर्न लागिरहेको समितिका अध्यक्ष पुरुषोत्तम सापकोटाले बताए । स्थानीयस्तरबाट नै चन्दा सङ्कलन गरी निर्माण गरिएको उद्यान र ब्रम्हमूर्तिको राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ३० गते उद्घाटन गरेकि थिइन् । रासस

ग्यालेक्सी हस्पिटलको निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ५ सय बढीले सेवा लिए

पोखरा । पोखराको उत्तमचोकमा रहेको ग्यालेक्सी हस्पिटल प्रालिले पोखरा मानपा ३३ बागमारामा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सरस्वती टीका माबि परिसरमा भएको उक्त बृहत निशुल्क स्वास्थ्य शिविरमा हाड जोर्नी तथा नसारोग, प्रसुति तथा स्त्री रोग, सामान्य चिकित्सा, बालरोग, नाक,कान,घाँटी, आँखा लगायत रोगका बिशेषज्ञ डाक्टरहरुले स्थानिय ५८५ जनालाई चेकजाँच गरि औषधी समेत बितरण गरिएको हस्पिटलका अध्यक्ष डा हेमन्तकुमार मानन्धरले बताए । उक्त बृहत निशुल्क स्वास्थ्य शिविरमा डा हेमन्तकुमार मानन्धर, डा कल्याण बराल, डा प्रेमराज पंगेनी, डा सृजना शर्मा, डा सुरज बराल, डा शुरेश परियार, डा रोजिना पौडेल, डा बिक्रमबाबु कार्की, डा अन्जिता हिराचन, डा सुमन पराजुली लगायतले बिरामीलाई निशुल्क चेकजाच, स्वास्थ्य परामर्श तथा औषधि वितरण गरिएको र लक्षित समुहमा सेवा उपलब्ध गराउन सकिएको ग्यालेक्सी हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले बताएका छन् । सो अवसरमा १६० जनाको निशुल्क सुगर तथा युरिक एसिड जाँच र १२० जनाको भिडियो एक्सरे समेत गरिएको थियो। आवश्यकता अनुसार बिरामीलाई १ हप्ता देखी ३ महिनासम्मको लागि निशुल्क औषधि वितरण गरिएको बताइएको छ। हस्पिटलका संचालक महेश सिग्देललेले उक्त कार्यक्रम पोखरा मनपा वडा नं ३३ का अध्यक्ष रामचन्द्र पराजुली, विधालय व्यवस्थापन समिति, प्रधानाध्यापक, विधालय परिवार, आमा समुह, युवा कलव, टोल विकास समितिको समन्वयमा गरिएको जानकारी गराउदै शिविरमा सर्मपित सम्पर्ण स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरे । २४ घण्टा बिशेषज्ञ स्वास्थ्य सेवा दिईरहेको हस्पिटलले अनुभवी तथा दक्ष चिकित्सकबाट अत्याधुनिक स्वास्थ्य प्रविधिको प्रयोग गर्दै पोखरा १० उत्तमचोकबाट सबै प्रकारका रोगको उपचार सहितका स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । प्रत्येक हप्ताको सोमबार निशल्क हाड जोर्नी तथा नसारोगको किल्निक संचालन गरिरहेको साथै यस हस्पिटलले नेपाल सरकार श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालय अन्तरगतको सामाजीक सुरक्षा कोष कार्यक्रममा आवद्ध हुने सम्पुर्ण सदस्यहरुलाई सहुलियत दरको मात्र २० प्रतिशत शुल्कमा उपचार गरिरहेको छ । उक्त कोषका सदस्यहरुको दुर्घटना भई चोट पटक लागेमा सत प्रतिशत निशुल्क सहित स्वास्थ्य उपचार तथा परार्मश सेवा उपलब्ध गराई रहेको ग्यालेक्सी हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा ऋषीराम ढकालले बताए ।

उपायले सुरु गर्‍यो ट्रक चालकका लागि विश्राम केन्द्र

काठमाडौं । नेपालकै अग्रणी लजिस्टिक्स कम्पनी उपायले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा प्रविधि र पूर्वाधारमा लगानी गर्ने योजनाअनुरुप विराटनगरमा ‘उपाय स्टेशन’ सञ्चालनमा ल्याएको छ । करिब तीन बिगाहा क्षेत्रफलमा फैलिएको उपाय स्टेशनमा ड्राइभरहरुलाई विश्राम केन्द्र, ७० वटाभन्दा बढी ट्रकहरु पार्किङ गर्न मिल्ने व्यवस्था, लुगा धुने र नुहाउने स्थान, ट्रक मर्मत केन्द्र र सहुलियत क्यान्टिनको सुविधा उपल्ब्ध रहेको छ । पूर्वपश्चिम राजमार्गको टंकीशीनवारीमा अवस्थित उपाय स्टेशन नेपालकै पहिलो विश्राम केन्द्र हो । स्टेशनमा सामान भण्डारण र वितरणको पनि व्यवस्था छ । उपायका सञ्चालक तथा सह–संस्थापक समेत रहेका रञ्जित श्रेष्ठले उपायको पहिलो सेवामा प्रविधिको माध्यमबाट दुई पाङ्ग्रेदेखि २१ टनको ट्रकसम्मको गाडी नेपालका ठूला सहरमा बुक गर्न मिल्ने सुविधा रहेको जानकारी दिए । दोस्रो सेवामा साना पार्सल, क्युआर कोड र सबै खालका सामानहरु नेपालभर सेवाग्राहीको घरदैलोमा पुर्याउने र अन्तर्राष्ट्रिय मापदण्डको सुविधासम्पन्न गोदामको व्यवस्थापन, भण्डारण र मागअनुसारको वितरणको सुविधा प्रदान गर्ने व्यवस्था गरिएको उनले जानकारी गराए । हालसम्म उपायले देशका ६० भन्दा धेरै सहरमा आफ्ना शाखाहरु विस्तार गरिसकेको छ भने आगामी वर्षहरुमा आफ्ना शाखा, फ्रेन्चाइज साझेदारहरु, अन्य उपाय स्टेशन र अन्तर्राष्ट्रिय स्तरको भण्डारण केन्द्रमार्फत नेपालका सातवटै प्रदेशमा सेवा विस्तार गर्ने लक्ष्य राखेको छ ।

कर्मचारीलाई तलब नदिएपछि क्यानले रोक्यो गुण एयरका उडान

काठमाडौं । सरकारले गुण एयरको जहाज ग्राउण्डेड गरेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले गुण एयरको सम्पूर्ण उडान ग्राउण्डेड गरेको हो । क्यान स्रोतका अनुसार पाइलट र कर्मचारीलाई तलब नदिएको गुनासो आएपछि सम्पूर्ण उडान ग्राउण्डेड (बन्द) गरिएको हो । ‘हामीलाई केही समयअघि देखि कर्मचारीले गुनासो गर्दै आएका थिए, गुण एयरका सञ्चालकसँग कुरा भएपछि नियमित तबल दिएको पाइएको थियो, उहाँहरुले पुनः सोही गल्ती गरेपछि हामीले उडान रोक्यौँ’, क्यान स्रोतले भन्यो, ‘नियमित रुपमा कम्पनीले तबल नदिएपछि हवाई सुरक्षामा असर पर्ने देख्दै अनिश्चित कालका लागि उडान ग्राउण्डेड गरियो ।’ क्यानले जहाज ग्राउण्डेड गरेतापनि गुण एयरले भने जहाजमा प्राविधिक समस्या आएको र पाइटल तालिममा रहेका कारण केही समय उडान बन्द गरिएको जनाउँदै आएको छ । फागुन १ गतेदेखि गुण एयरका जहाज ग्राउण्डेड भएका हुन । २०७८ को असोजदेखि गुण एयरले नियमित उडान गर्दै आएको छ । सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएकोमा २०७८ को असोजदेखि गुण एयरको नामबाट उडान सुरु भएको थियो । गुण एयरले काठमाडौं–पोखरा, भरतपुर, भैरहवा, सिमरामा दैनिक उडान गर्दै आएको छ ।गुणसँग यती एयरसँग किनेको पाँचवटा जेट स्ट्रीम र पुरानो श्रीम्रिक एयरलाइन्ससँग रहेको दुईवटा १८ सिट क्षमताको जहाज गरी सातवटा जहाज छन् ।

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न ४ः३० बजे बस्ने बैठकमा राष्ट्रपति निर्वाचनका सम्बन्धमा छलफल हुने कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म भइरहेका छलफलको जानकारी गराउने उनले बताए । ‘राष्ट्रपति निर्वाचनका लागि मनोनयन गर्न पाँच दिन बाँकी छ, सोही सन्दर्भमा अध्यक्षले बैठकबाट ‘म्याण्डेड’ लिन खोज्नुभएको हो’, उनले भने, “बैठकमा राष्ट्रपतिको निर्वाचनका बारेमा छलफल हुन्छ’ । राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने दिन नजिकिँदै जाँदा दलहरु आन्तरिक छलफलमा जुटिरहेका छन् । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिनुपर्ने बताउँदै आइरहेको छ । यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लािग मनोनयन तोकिएको छ ।

भारतीय दूतावासद्वारा डायलासिस उपकरण हस्तान्तरण

काठमाडौं । भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ । आज यहाँ आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरीलाई सो उपकरण हस्तान्तरण गरेका हुन् । राजदूत श्रीवास्तबले नेपाल सरकारले एक वर्षअघि माग गरेको मेसिन अहिले उपलब्ध गराएको बताए । उनले उपलब्ध डायलासिस मेसिनले नेपालीलाई सहज उपचार सेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यी मेसिनले नेपालको स्वास्थ्य संरचनाको पूर्वाधारमा सहयोग पुग्ने विश्वास दूतावासको छ । नेपाल र भारत सरकारको सहकार्यमा विकासका काम भइरहेका छन्, सोही क्रममा नेपाल भारतमैत्री ट्रमा अस्पताल, बिपी कोइराला अस्पताल र विभिन्न परियोजनाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोगको काम भइरहेको छ ।’ उनका अनुसार सन् २००३ देखि साना परियोजनामार्फत भारत सरकारले नेपालमा सामुदायिक अस्पताल, स्वास्थ्य उपकरण र औषधि उपलब्ध गराउँदै आएको छ । उनले अहिले भारत सरकारले सिरहादेखि सिन्धुलीसम्म विभिन्न १० प्रकारका परियोजनामार्फत काम गरिरहेको बताए । ‘भारत सरकारले नेपाल सरकारलाई विभिन्न समयमा नौ सय ५० एम्बुलेन्स उपलब्ध गराएको छ । छिटै थप एम्बुलेन्स उपलब्ध गराई एम्बुलेन्सको सङ्ख्या एक हजार पु¥याउनेछौँ’, उनले भने । मन्त्री गिरीले भारत सरकारबाट उपलब्ध भएको सहयोगप्रति आभार प्रकट गरे । उनले भने, ‘धेरै मिर्गौला बिरामीले समयमा डायलासिस सेवा पाउन सकेका छैनन् । भारत सरकारले उपलब्ध गराएको उपकरणलाई आवश्यक ठाँउमा पु¥याउँछौँ र यसले बिरामीलाई सहज उपचारमा सहयोग पुग्नेछ ।’ उनले भारत सरकारले भूकम्पको समयमा र कोभिड–१९ महामारीको समयमा गरेको सहयोगको प्रशंसासमेत गरे । ‘भारतको ‘छिमेकी प्राथमिकता नीति’ नेपालका लागि खुसीको कुरा हो, भारतीय सरकारको सहयोग निकै उल्लेखनीय छ’, उनले भने । दूतावासले दुई सय थानमध्ये कार्यक्रममा २० वटा उपकरण उपलब्ध गराएको हो । बाँकी उपकरण छिट्टै नेपाल भित्रिने दूतावासले जानकारी दिएको छ । उपलब्ध उपकरणलाई आवश्यकताअनुसार विभिन्न अस्पतालमा वितरण गरिने मन्त्रालयकी सचिव देविकुमारी गुरागाईंले जानकारी दिए ।