बोर्डबाट ४५ करोड नपाएको भन्दै प्रसाईंले बैंकलाई झुक्याए, बीमा सुविधा पनि दिँदैनन्

<p>काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको लगानी रहेको बिएण्डसी मेडिकल कलेजले स्वास्थ्य बीमा रोकेको खुलेको छ । बिर्तामोडमा रहेको बिएण्डसी मेडिकल कलेजले स्वास्थ्य बीमा बोर्डबाट बीमा वापत पाउनु पर्ने ४५ करोड रुपैयाँ भुक्तानी नभएको भन्दै स्वास्थ्य बीमा रोकेको हो । गत असारमा पत्रकार सम्मेलनको आयोजना गर्दै बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले बोर्डबाट बीमावापतको रकम नपाए [&hellip;]</p>

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको लगानी रहेको बिएण्डसी मेडिकल कलेजले स्वास्थ्य बीमा रोकेको खुलेको छ । बिर्तामोडमा रहेको बिएण्डसी मेडिकल कलेजले स्वास्थ्य बीमा बोर्डबाट बीमा वापत पाउनु पर्ने ४५ करोड रुपैयाँ भुक्तानी नभएको भन्दै स्वास्थ्य बीमा रोकेको हो ।

गत असारमा पत्रकार सम्मेलनको आयोजना गर्दै बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले बोर्डबाट बीमावापतको रकम नपाए सेवा नै बन्द गर्ने बताएका थिए । ‘असार २० गतेभित्र बाँकी रहेको भुक्तानी गर्न बीमा बोर्डलाई आग्रह गर्छौं, सो अवधिसम्म पनि भुक्तानी भएन भने असार २० गतेदेखि स्वास्थ्य बीमा सेवा रोक्छौं,’ उनले भनेका थिए ।

पत्रकार सम्मेलन नै गरेर बीमावापतकाे पैसा पाउनु पर्ने भनेपछि बोर्डले द्रुत गतीमा दावी भुक्तानीको प्रक्रिया थालेको बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले बताए । तर, प्रसाईंले भनेजति ४५ करोड बाँकी नरहेको उनको भनाइ छ ।

‘असारमा ४५ करोड बाँकी थियो, हामीले मासिक रुपमा तिरिरहेका छौं, संस्थाले दावी गरेको रुजु गर्नु पर्छ, प्रक्रियामा जाँदा समय लाग्छ, तर अहिले करिब १० करोड रुपैयाँ मात्रै भुक्तानी बाँकी छ, अहिले बिएण्डसी कलेजले सेवा नै बन्द गरेको हामीले जानकारी पाएका छौं,’ बसौलाले विकासन्युजसँग भने ।

बाँकी रहेको रकम पनि छिट्टै भुक्तानी गर्ने तयारी भइरहेको भनाइ छ । सरकारले प्रतिव्यक्ति ३५ सय रुपैयाँदेखि प्रतिपरिवार ५ हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा गरिरहेको छ ।

प्रसाईंले बैंकलाई झुक्याए

पछिल्लो समय दुर्गा प्रसाईं सार्वजनिक कार्यक्रममै बैंक तथा वित्तीय संस्था विरोधी अभिव्यक्ति दिइरहेका छन् । उनले बैंकहरुले उच्च ब्याज लिएको भन्दै कसैले पनि बैंक तथा वित्तीय संस्थाको ब्याज नतिर्न आव्हान गर्दै आएका छन् ।

तर, प्रसाईं भने बिएण्डसी मेडिकल कलेज निर्माण गर्दा लिएको ऋणको नियमित किस्ता तिरिरहेको बुझिएको छ । स्रोतका अनुसार उनले केही बैंक तथा वित्तीय संस्थाको भने एक/दुई किस्ता रोकेको स्रोतको भनाइ छ ।

‘उहाँले नियमित किस्ता तिरिरहनु भएको छ, तर केही संस्थाको भने एक/दुई किस्ता रोकेको सुनिएको छु,’ एक बैंकरले भने, ‘ऋण नतिर्नु, बैंकरलाई जहाँ भेट्यो त्यतै समात्नु भनेर समाजलाई भड्काउनु हुँदैन, यो पनि एउटा अपराध हो ।’

एक/दुई किस्ता तिर्न बाँकी रहेका बैंक तथा वित्तीय संस्थासँग कुरा गर्दा उनले स्वास्थ्य बीमा बोर्डबाट ४५ करोड रुपैयाँ आउन बाँकी हरेकोले त्यो पैसा आएपछि तिर्ने प्रतिवद्धता गरिरहेका छन् ।

‘प्रसाईंसँग मेरो नियमित कुरा भइरहेको छ, उहाँले स्वास्थ्य बीमा बोर्डबाट ४५ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेकोले सो पैसा आएपछि नियमित किस्ता तिर्छु भन्नु भएको छ , यसअघि भने उहाँले नियमित किस्ता तिरिरहनु थियो,’ ती बैंकरले भने ।

बैंक तथा वित्तीय संस्थाहरुसँग स्वास्थ्य बीमा बोर्डबाट ४५ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताए पनि उनले पैसा पाइसकेका छन् । बोर्डका अनुसार अब बिएण्डसी मेडिकल कलेजले करिब १० करोड रुपैयाँ मात्रै पाउन बाँकी छ । तर, प्रसाईंले भने बोर्डबाट ४५ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको भन्दै बैंक तथा वित्तीय संस्थालाई झुक्याइरहेका छन् ।

उनले विभिन्न सार्वजनिक कार्यक्रममा बोल्दै २० लाखभन्दा कम हुनेको ऋण मिनाहा गर्नुपर्ने र २० लाखभन्दा बढी ऋण ६ प्रतिशतभन्दा धेरै ब्याजदर लिन नहुने बताउँदै आएका छन् ।

सम्बन्धि सामग्री : कर्जाको किस्ता नियमित तिरिरहेका प्रसाईं किन भड्काउँदैछन् जनता ?

Share News