कर्मचारीलाई तलब नदिएपछि क्यानले रोक्यो गुण एयरका उडान
काठमाडौं । सरकारले गुण एयरको जहाज ग्राउण्डेड गरेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले गुण एयरको सम्पूर्ण उडान ग्राउण्डेड गरेको हो । क्यान स्रोतका अनुसार पाइलट र कर्मचारीलाई तलब नदिएको गुनासो आएपछि सम्पूर्ण उडान ग्राउण्डेड (बन्द) गरिएको हो । ‘हामीलाई केही समयअघि देखि कर्मचारीले गुनासो गर्दै आएका थिए, गुण एयरका सञ्चालकसँग कुरा भएपछि नियमित तबल दिएको पाइएको थियो, उहाँहरुले पुनः सोही गल्ती गरेपछि हामीले उडान रोक्यौँ’, क्यान स्रोतले भन्यो, ‘नियमित रुपमा कम्पनीले तबल नदिएपछि हवाई सुरक्षामा असर पर्ने देख्दै अनिश्चित कालका लागि उडान ग्राउण्डेड गरियो ।’ क्यानले जहाज ग्राउण्डेड गरेतापनि गुण एयरले भने जहाजमा प्राविधिक समस्या आएको र पाइटल तालिममा रहेका कारण केही समय उडान बन्द गरिएको जनाउँदै आएको छ । फागुन १ गतेदेखि गुण एयरका जहाज ग्राउण्डेड भएका हुन । २०७८ को असोजदेखि गुण एयरले नियमित उडान गर्दै आएको छ । सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएकोमा २०७८ को असोजदेखि गुण एयरको नामबाट उडान सुरु भएको थियो । गुण एयरले काठमाडौं–पोखरा, भरतपुर, भैरहवा, सिमरामा दैनिक उडान गर्दै आएको छ ।गुणसँग यती एयरसँग किनेको पाँचवटा जेट स्ट्रीम र पुरानो श्रीम्रिक एयरलाइन्ससँग रहेको दुईवटा १८ सिट क्षमताको जहाज गरी सातवटा जहाज छन् ।
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादी बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न ४ः३० बजे बस्ने बैठकमा राष्ट्रपति निर्वाचनका सम्बन्धमा छलफल हुने कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म भइरहेका छलफलको जानकारी गराउने उनले बताए । ‘राष्ट्रपति निर्वाचनका लागि मनोनयन गर्न पाँच दिन बाँकी छ, सोही सन्दर्भमा अध्यक्षले बैठकबाट ‘म्याण्डेड’ लिन खोज्नुभएको हो’, उनले भने, “बैठकमा राष्ट्रपतिको निर्वाचनका बारेमा छलफल हुन्छ’ । राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने दिन नजिकिँदै जाँदा दलहरु आन्तरिक छलफलमा जुटिरहेका छन् । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिनुपर्ने बताउँदै आइरहेको छ । यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लािग मनोनयन तोकिएको छ ।
भारतीय दूतावासद्वारा डायलासिस उपकरण हस्तान्तरण
काठमाडौं । भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ । आज यहाँ आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरीलाई सो उपकरण हस्तान्तरण गरेका हुन् । राजदूत श्रीवास्तबले नेपाल सरकारले एक वर्षअघि माग गरेको मेसिन अहिले उपलब्ध गराएको बताए । उनले उपलब्ध डायलासिस मेसिनले नेपालीलाई सहज उपचार सेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यी मेसिनले नेपालको स्वास्थ्य संरचनाको पूर्वाधारमा सहयोग पुग्ने विश्वास दूतावासको छ । नेपाल र भारत सरकारको सहकार्यमा विकासका काम भइरहेका छन्, सोही क्रममा नेपाल भारतमैत्री ट्रमा अस्पताल, बिपी कोइराला अस्पताल र विभिन्न परियोजनाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोगको काम भइरहेको छ ।’ उनका अनुसार सन् २००३ देखि साना परियोजनामार्फत भारत सरकारले नेपालमा सामुदायिक अस्पताल, स्वास्थ्य उपकरण र औषधि उपलब्ध गराउँदै आएको छ । उनले अहिले भारत सरकारले सिरहादेखि सिन्धुलीसम्म विभिन्न १० प्रकारका परियोजनामार्फत काम गरिरहेको बताए । ‘भारत सरकारले नेपाल सरकारलाई विभिन्न समयमा नौ सय ५० एम्बुलेन्स उपलब्ध गराएको छ । छिटै थप एम्बुलेन्स उपलब्ध गराई एम्बुलेन्सको सङ्ख्या एक हजार पु¥याउनेछौँ’, उनले भने । मन्त्री गिरीले भारत सरकारबाट उपलब्ध भएको सहयोगप्रति आभार प्रकट गरे । उनले भने, ‘धेरै मिर्गौला बिरामीले समयमा डायलासिस सेवा पाउन सकेका छैनन् । भारत सरकारले उपलब्ध गराएको उपकरणलाई आवश्यक ठाँउमा पु¥याउँछौँ र यसले बिरामीलाई सहज उपचारमा सहयोग पुग्नेछ ।’ उनले भारत सरकारले भूकम्पको समयमा र कोभिड–१९ महामारीको समयमा गरेको सहयोगको प्रशंसासमेत गरे । ‘भारतको ‘छिमेकी प्राथमिकता नीति’ नेपालका लागि खुसीको कुरा हो, भारतीय सरकारको सहयोग निकै उल्लेखनीय छ’, उनले भने । दूतावासले दुई सय थानमध्ये कार्यक्रममा २० वटा उपकरण उपलब्ध गराएको हो । बाँकी उपकरण छिट्टै नेपाल भित्रिने दूतावासले जानकारी दिएको छ । उपलब्ध उपकरणलाई आवश्यकताअनुसार विभिन्न अस्पतालमा वितरण गरिने मन्त्रालयकी सचिव देविकुमारी गुरागाईंले जानकारी दिए ।
अमेरिकाको बन्दुक हिंसामा एक वर्षमा ५ हजार ८ सयको मृत्यु
वासिङ्टन । हिजो आइतबारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष ५ हजार ८०० जनाको मृत्यु भएको छ । बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा उक्त सङ्ख्या उल्लेख गरिएको छ । आज टेनेसीको मेम्फिसमा भएको गोली काण्डमा एक जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् । मेम्फिस प्रहरीका अनुसार गोलीकाण्ड गए राति एउटा नाइट क्लब र त्यसको आसपासको क्षेत्रमा भएको थियो । गोलीकाण्डको विवरण सार्वजनिक गरिएको छैनभने आक्रमणकारीका बारेमा पनि केही खुलाइएको छैन । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गत शुक्रबार मिसिसिपीको एउटा ग्रामीण क्षेत्रमा गोली हानाहान हुँदा छ जनाको ज्यान गएको थियो ।
एक कम्पनीलाई मात्र फाइदा हुनेगरी प्रस्ताव खोलेको भन्दै रोकियो यातायात अटोमेसनको प्रक्रिया
फाइल फाेटाे काठमाडौं । यातायात कार्यालयलाई अटोमेसनमा लैजाने प्रक्रिया तत्काल रोकिएको छ । बागमति प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तत्काल उक्त प्रक्रिया राक्न श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई परिपत्र गरेसँगै प्रक्रिया रोकिएकोे हो । मुख्यमन्त्री कार्यालयले कुनै एक कम्पनीलाई मात्र लाभ हुनेगरी यातायात मन्त्रालयले प्रस्ताव आह्वान गरेको भन्दै रोक्न परिपत्र गरेको हो । श्रम, रोजगार तथा यातायात मन्त्रालयले सबै यातायात कार्यालयलाई अटोमेसन गर्नका लागि प्रस्ताव आह्वान गरेको थियो । प्राविधिक सहयोगका लागि खोलिएको प्रस्तावमा आशंका गर्दै मुख्यमन्त्री कार्यालयले रोक्न निर्देशन दिएको हो । मन्त्रालयले प्रस्ताव खोलेर मूल्यांकनको चरणमा मुख्यमन्त्री कार्यालयबाट रद्द गर्न परिपत्र गरेसँगै यातायात कार्यालय अटोमेसनमा जाने प्रक्रिया रोकिएको मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले जानकारी दिए । उनका अनुसार पुरानो प्रक्रिया रोकेर नयाँमा जानुपर्दा केही समय लाग्ने भएको छ । ‘हाम्रो योजना आगामी आर्थिक वर्ष सबै यातायात कार्यालयलाई अटोमेसनमा लैजाने थियो, सोही योजना अनुसार काम पनि भएको थियो’, उनले भने, ‘मुख्यमन्त्री कार्यालयको निर्देशनसँगै तत्काल अटोमेसनको काम रोकिएको छ, पुन नयाँ प्रस्तावसँगै बोलपत्र आह्वान गरेर प्रक्रिया सुरु गर्दा समय लाग्छ ।’ प्रक्रिया सुरु गर्दा नै ४ महिना लाग्ने उनको भनाई छ । मन्त्रालयले अटोमेसनका लागि ७ करोड रुपैयाँ बजेट छुट्टाएको थियो । तर मन्त्रालयले तोकिएको रकमभन्दा कम हुनेगरी अटोमेसनका लागि प्राविधिक प्रस्ताव आह्वान गरेको थियो ।
भक्तपुर नगरपालिकाद्वारा इञ्जिनीयरिङका विद्यार्थीलाई ६१ लाखको छात्रवृत्ति रकम वितरण
भक्तपुर । भक्तपुर नगरपालिकाले नगरपालिकाबाट सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङमा अध्ययनरत विद्यार्थीलाई ६१ लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले ती दुवै कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गरे । उनले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित कलेजले गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्न र विद्यार्थीलाई उत्साह प्रदान गर्न छात्रवृत्ति वितरण गर्दै आएको बताए । भक्तपुर नपाबाट सञ्चालित विभिन्न आठ कलेजमार्फत वार्षिक चार करोड बराबरको छात्रवृत्ति वितरण हुँदै आइरहेको जानकारी दिँदै उनले नगरपालिकाले अन्य विभिन्न विषयमा विद्यावारिधिसम्म अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक ऋणसमेत उपलब्ध गराउँदै आएको बताए। भक्तपुर नपाले हाल आठ कलेज, छ शिशुस्याहार केन्द्र सञ्चालन गरिरहेको छ भने ख्वप विश्वविद्यालय सञ्चालनको अनुमतिका लागि प्रयास जारी राखेको छ । ख्वप इञ्जिनीयरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इञ्जिनीयरिङका प्राचार्य सुनिल दुवालले निजी कलेजको तुलनामा झण्डै आधा शुल्कमा भक्तपुर नपाबाट सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजले इञ्जिनीयरिङ शिक्षाको अध्ययन अध्यापन गराउँदै आएको जानकारी दिए। नगरपालिकाले ख्वप इञ्जिनीयरिङ कलेजका विद्यार्थीलाई ३२ लाख नौ सय र ख्वप कलेज अफ इञ्जिनीयरिङका विद्यार्थीलाई २९ लाख ३६ हजार गरी ६१ लाख रुपैयाँ बराबरको छात्रवृत्ति रकम वितरण गरेको हो ।
नागरिक बचतपत्र ल्याउँदै राष्ट्र बैंक, ११.५० प्रतिशत वार्षिक ब्याजदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८४ ‘क’ ल्याउने भएको छ । ५ वर्ष अविधको यो बचतपत्र राष्ट्र बैंकले बुधबारबाट ल्याउँदैछ । दुई अर्ब ५० करोड बराबरको आकार रहेको यस बचतपत्रको वार्षिक ब्याजदर ११.५० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार उक्त बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा कूल आह्वान रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्नको लागि आवेदन दिन सकिन्छ । नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो ।
बोर्डबाट ४५ करोड नपाएको भन्दै प्रसाईंले बैंकलाई झुक्याए, बीमा सुविधा पनि दिँदैनन्
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको लगानी रहेको बिएण्डसी मेडिकल कलेजले स्वास्थ्य बीमा रोकेको खुलेको छ । बिर्तामोडमा रहेको बिएण्डसी मेडिकल कलेजले स्वास्थ्य बीमा बोर्डबाट बीमा वापत पाउनु पर्ने ४५ करोड रुपैयाँ भुक्तानी नभएको भन्दै स्वास्थ्य बीमा रोकेको हो । गत असारमा पत्रकार सम्मेलनको आयोजना गर्दै बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले बोर्डबाट बीमावापतको रकम नपाए सेवा नै बन्द गर्ने बताएका थिए । ‘असार २० गतेभित्र बाँकी रहेको भुक्तानी गर्न बीमा बोर्डलाई आग्रह गर्छौं, सो अवधिसम्म पनि भुक्तानी भएन भने असार २० गतेदेखि स्वास्थ्य बीमा सेवा रोक्छौं,’ उनले भनेका थिए । पत्रकार सम्मेलन नै गरेर बीमावापतकाे पैसा पाउनु पर्ने भनेपछि बोर्डले द्रुत गतीमा दावी भुक्तानीको प्रक्रिया थालेको बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले बताए । तर, प्रसाईंले भनेजति ४५ करोड बाँकी नरहेको उनको भनाइ छ । ‘असारमा ४५ करोड बाँकी थियो, हामीले मासिक रुपमा तिरिरहेका छौं, संस्थाले दावी गरेको रुजु गर्नु पर्छ, प्रक्रियामा जाँदा समय लाग्छ, तर अहिले करिब १० करोड रुपैयाँ मात्रै भुक्तानी बाँकी छ, अहिले बिएण्डसी कलेजले सेवा नै बन्द गरेको हामीले जानकारी पाएका छौं,’ बसौलाले विकासन्युजसँग भने । बाँकी रहेको रकम पनि छिट्टै भुक्तानी गर्ने तयारी भइरहेको भनाइ छ । सरकारले प्रतिव्यक्ति ३५ सय रुपैयाँदेखि प्रतिपरिवार ५ हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा गरिरहेको छ । प्रसाईंले बैंकलाई झुक्याए पछिल्लो समय दुर्गा प्रसाईं सार्वजनिक कार्यक्रममै बैंक तथा वित्तीय संस्था विरोधी अभिव्यक्ति दिइरहेका छन् । उनले बैंकहरुले उच्च ब्याज लिएको भन्दै कसैले पनि बैंक तथा वित्तीय संस्थाको ब्याज नतिर्न आव्हान गर्दै आएका छन् । तर, प्रसाईं भने बिएण्डसी मेडिकल कलेज निर्माण गर्दा लिएको ऋणको नियमित किस्ता तिरिरहेको बुझिएको छ । स्रोतका अनुसार उनले केही बैंक तथा वित्तीय संस्थाको भने एक/दुई किस्ता रोकेको स्रोतको भनाइ छ । ‘उहाँले नियमित किस्ता तिरिरहनु भएको छ, तर केही संस्थाको भने एक/दुई किस्ता रोकेको सुनिएको छु,’ एक बैंकरले भने, ‘ऋण नतिर्नु, बैंकरलाई जहाँ भेट्यो त्यतै समात्नु भनेर समाजलाई भड्काउनु हुँदैन, यो पनि एउटा अपराध हो ।’ एक/दुई किस्ता तिर्न बाँकी रहेका बैंक तथा वित्तीय संस्थासँग कुरा गर्दा उनले स्वास्थ्य बीमा बोर्डबाट ४५ करोड रुपैयाँ आउन बाँकी हरेकोले त्यो पैसा आएपछि तिर्ने प्रतिवद्धता गरिरहेका छन् । ‘प्रसाईंसँग मेरो नियमित कुरा भइरहेको छ, उहाँले स्वास्थ्य बीमा बोर्डबाट ४५ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेकोले सो पैसा आएपछि नियमित किस्ता तिर्छु भन्नु भएको छ , यसअघि भने उहाँले नियमित किस्ता तिरिरहनु थियो,’ ती बैंकरले भने । बैंक तथा वित्तीय संस्थाहरुसँग स्वास्थ्य बीमा बोर्डबाट ४५ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताए पनि उनले पैसा पाइसकेका छन् । बोर्डका अनुसार अब बिएण्डसी मेडिकल कलेजले करिब १० करोड रुपैयाँ मात्रै पाउन बाँकी छ । तर, प्रसाईंले भने बोर्डबाट ४५ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको भन्दै बैंक तथा वित्तीय संस्थालाई झुक्याइरहेका छन् । उनले विभिन्न सार्वजनिक कार्यक्रममा बोल्दै २० लाखभन्दा कम हुनेको ऋण मिनाहा गर्नुपर्ने र २० लाखभन्दा बढी ऋण ६ प्रतिशतभन्दा धेरै ब्याजदर लिन नहुने बताउँदै आएका छन् । सम्बन्धि सामग्री : कर्जाको किस्ता नियमित तिरिरहेका प्रसाईं किन भड्काउँदैछन् जनता ?