विकासन्युज

ग्लोबल आइएमई बैंकमा आकर्षक रोजगारीको अवसर

काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । ग्लोबल आइएमई बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अफिसर लेभल र असिस्टेन्ट लेभलका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । सो पदका लागि बैंकले स्नातक तहदेखि स्नाकोत्तर तह उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने बैंकले जनाएको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । बैंकले ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले फागुन ११ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।  

गणपति लघुवित्तले लाभांश घोषणा नगरी बोलायो साधारण सभा

काठमाडौं । गणपति लघुवित्त वित्तिय संस्थाले लाभांश घोषणा नगरी साधारण सभा बोलाएको छ । कम्पनीले चैत २५ गते साधारण सभा बोलाएको हो । गत आर्थिक वर्ष २०७७/७८ मा २० प्रतिशत लाभांश बाँडेको यस लघुवित्तका सेयरधनीको यस वर्ष भने हात खाली हुने भएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १६ गते एक दिन बुक क्लोज मिति तोकेको छ । यसको अर्थ चैत १५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कम्पनीको सेयरधनीको रुपमा कारोबार गर्नेले मात्र कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् ।

ठेक्का अलपत्र पार्ने ५ निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

काठमाडौं । विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ अनुसार यी निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ । कालोसूची अवधिभर यी कम्पनी सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन पाउने छैनन्’, खरिद अनुगमन कार्यालयले सूचनामा भनेको छ । खरिद अनुगमन कार्यालयको गत बिहीबारको निर्णयअनुसार भरतपुर–४ चितवनको इन्जिनियर्स कन्स्ट्रक्सन एन्ड माइन्ट क्राफ्ट प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । विकास श्रेष्ठ सञ्चालक रहेको यो कम्पनीले चितवनको इच्छाकामना गाउँपालिकाको ठेक्का अलपत्र पारेको थियो । चितवनको खैरहनी नगरपालिकाको सिफारिसमा जय गढीमाई निर्माण कन्स्ट्रक्सन प्रालिलाई पनि कालोसूचीमा राखिएको छ । सीताराम चौधरी मुख्य सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । करण कुमार मुडभरी सञ्चालक रहेको मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालि दुई वर्षका लागि कालोसूचीमा परेको छ । यो कम्पनीले रसुवागढी हाइड्रोपावर कम्पनीसँग भएको ठेक्का सम्झौताअनुसार काम नगरेको खरिद अनुगमन कार्यालयले जनाएको छ । त्यसैगरी, सुदूरपश्चिम विद्यालयअन्तर्गतको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कैलालीको काम अलपत्र पार्ने गुण निर्माण सेवालाई पनि कालोसूचीमा राखिएको छ । गुणराज पाठक सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो । बारबर्दिया नगरपालिकाको कार्यालय बर्दियाले कल्पना कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेको उक्त कम्पनीलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ । रासस

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी

काठमाडौं । एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । कम्पनीको संचालक समितीको बैठकले राठीलाई सर्वसम्मत रुपमा अध्यक्षमा नियुक्त गरेको हो । सोमबार बसेको संचालक समितिको बैठकले संचालकमा दिनेश मारी र राठीलाई नियुक्त गरेको थियो । सोही बैठकले राठीलाई अध्यक्षमा नियुक्त गरेको हो । एनआईसी एशिया बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ । उक्त पदमा यस अघि सञ्चालकहरु कपिल ढकाल र प्रकाश बराल संस्थापक समुहमा संस्थापक एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए ।  

पर्वतबाट यस वर्ष ३० करोडका सुन्तला निर्यात

पर्वत । जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ । यस वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सोमध्ये चार हजार दुई सय ५० मेट्रिक टन सुन्तला निर्यात भएको ज्ञान केन्द्रले जनाएको छ ।  गत कात्तिकको अन्तिम सातादेखि माघ महिनाको अन्तिम सातासम्म जिल्लाका सुन्तला निर्यात भएका छन् । जिल्लाको उच्च पहाडी क्षेत्रमा अवस्थिति बाँसखर्कवाट माघको अन्तिम सातामात्र सुन्तला बजार पठाइएको थियो । निर्यात भएका चार हजार दुई सय ५० मेट्रिक टन सुन्तलाबाट जिल्लामा २९ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिइन् । पर्वतबाट औषतमा ७० रुपैयाँको दरले सुन्तला निर्यात भएका छन् । यहाँ उत्पादित सुन्तला पोखरा, काठमाडौँ, नारायणगढ र बुटवलसम्म पुगेको थापाले बताइन्। जिल्लामा अहिले आठ सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । सो मध्ये पाँच सय हेक्टर क्षेत्रफलबाट उत्पादन भइरहेको छ भने बाँकी क्षेत्रफलबाट आगामी वर्षदेखि उत्पादन दिन सुरु हुनेछ । उत्पादित सुन्तलामध्ये झण्डै १५ प्रतिशत सुन्तला कृषकले उपभोगमै खर्चिएको अनुमान छ । गत आर्थिक वर्ष ०७८/७९ मा पर्वतमा चार हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष चार सय ५० हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन भएको थियो भने यस वर्ष झण्डै ११ प्रतिशत बढी क्षेत्रफलबाट उत्पादन थप भएको वरिष्ठ कृषि विकास अधिकृत थापाले बताइन् । यस वर्ष अनुकूल मौसम, रोग किराको प्रकोप कम र हावाहुरी, असिना पानीलगायतबाट कुनै क्षति नभएकाले सुन्तला उत्पादन बृद्धि भएको हो । पछिल्लो समय बाँझै रहेको खेतबारीमा सुन्तला लगाउने र स्थानीय तहहरुले पनि सुन्तला खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न थालेपछि क्षेत्रफलमा वृद्धि हुँदै गएकाले बर्सेनि उत्पादन बढ्दै गएको छ । ‘किसानले मल, कीटनाशक विषादीको प्रयोग, बगैँचा सुधार गरेको तथा यस वर्ष हावाहुरी असिना नपरेको कारण सुन्तला उत्पादनमा वृद्धि भएको हो ।’ उनको भनाइ छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्वतको जलजला र मोदी, महाशिला र पैँयु  गाउँपालिकाका तथा फलेवास नगरपालिकाका विभिन्न वडालाई जोन र ब्लकको रुपमा विकास गरिएको छ । जिल्लामा सबैभन्दा बढी जलजला गाउँपालिकाको बाँसखर्कमा सुन्तला उत्पादन हुँदै आएको छ । यहाँको एउटै गाउँबाट झण्डै आठ करोड रुपैयाँको सुन्तला निर्यात भएको छ । त्यसैगरी लेखफाँट, माझफाँट, बनौ, कुश्मा नगरपालिकाको दुर्लुङ, मोदी गाउँपालिकाको बाजुङ, देउपुर, चित्रे, तिलाहार, महाशिला गाउँपालिकाको भोक्सिङ, होश्राङदी, पैँयु गाउँपालिकाको हुवास, त्रिवेणी, टकलाक, बिहादी गाउँपालिकाको बाच्छा, फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, लिमीठाना र ठानामौलामा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ । जिल्लाबाट निर्यात हुने मुख्य उत्पादित वस्तुमा सुन्तला नै परेको छ । अन्य वस्तुको तुलनामा पर्वतबाट सुन्तला बढी मात्रामा बाह्य जिल्लामा निर्यात हुन थालेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । कृषकको बोटमै सुन्तला खरिद गर्न व्यापारी आउने भएका कारण सुन्तलाको बजारीकरणमा समस्या नरहेको देउपुरका कृषक दाताराम चापागाईले बताए । रासस

एउटै रुखबाट २ लाख आम्दानी हुने सुगन्धकोकिलाको उत्पादनमा गिरावट

दाङ । दाङमा विश्वमै लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिला (मल्लागिरि) को उत्पादन यस वर्ष घटेको छ । हावाहुरीले फूल झारिदिएपछि जिल्लाको तुलसीपुर उपमहानगरपालिपका–१९ छिल्लीकोटमा पाइने सुगन्धकोकिलाको उत्पादनमा गिरावट आएको हो । विगतका वर्षमा पाँच सय क्विन्टल सुगन्धकोकिला उत्पादन हुने गरेकोमा पछिल्लो दुई वर्षमा उत्पादन घटेको स्थानीयले बताएका छन् । विगतमा पाँच सय क्विन्टल उत्पादन हुने गरेको भए पनि यस वर्ष करिब ५० क्विन्टल मात्रै उत्पादन भएको स्थानीय प्रवीर पुनले बताए । ‘विगतमा वर्षमा पाँच सय क्विन्टलसम्म हामीले मल्लागिरि बिक्री गर्थ्यौँ’, उनले भने, ‘गएको वर्ष पनि बर्षाले गर्दा फूल झारिदिएपछि दुई सय ५० क्विन्टल मात्रै उत्पादन भएको थियो, यस जर्ष झन घटेर ५० क्विन्टलभन्दा बढी उत्पादन हुन सकेन ।’ विश्वमै लोपोन्मुख मानिएको उक्त प्रजातिको वनस्पति छिल्लीकोटमा पाइन्छ । त्यसले नै त्यहाँको जीवनस्तरमाथि उठाउने गरेको हो । सुगन्धकोकिला प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री हुँदै आएको छ । ‘हामीले पाँच सय रुपैयाँमा सुगन्धकोकिला बिक्री गर्ने गर्छौँ तर यहाँबाट लिएर साहुले छ सय रुपैयाँ प्रतिकिलोमा बाहिर पठाउँछन्’, उनले भने, ‘घोराहीमा व्यापारीसँग सम्पर्क गरेर त्यहाँबाट सुगन्धकोकिला बिक्री गर्ने गरिन्छ ।’ सुगन्धकोकिला बाहिरी देशमा पठाउने गरिन्छ । यहाँबाट कच्चा सुगन्धकोकिला लगेपछि के–के वनछ, भन्ने कुरा आफूहरुलाई थाहा नभएको स्थानीयवासी जीवराज रेउलेले बताए । ‘यहाँबाट हामीले कच्चापदार्थ बेच्छौँ, त्यसबाट उच्चस्तरको सेन्ट, अगरबत्ती बनाउन प्रयोग हुन्छ, भन्ने सुनिएको छ’, उनले भने, ‘तर, अरु केमा प्रयोग हुन्छ, भन्ने कुरा आफूहरुलाई पनि त्यति जानकारी नै छैन ।’ एउटा रुखले दुईसय किलोसम्म सुगन्धकोकिला उत्पादन हुने गरेपनि यस वर्ष भने बर्सातले आम्दानी घटेको कृषक कृष्ण रेउलेले बताए । विगतमा एउटै रुखबाट ४० हजारदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरिन्थ्यो । छिल्लीकोटका दश गाउँका एक सय ३५ घरले नै सुगन्धकोकिलाबाट आश्रित छन् । प्रत्येकको घरमा दशभन्दा बढी सुगन्धकोकिलाका रुख छन् भने सामुदायिक वनमा पनि सुगन्धकोकिलाका रुख रहेका छन् । सामुदायिक वनमा रहेको सुगन्धकोकिलालाई गाउँलेले सामूहिक आम्दानी लिने गरेको कृषक प्रवीरले बताए । कहिलेकाहीँ, त्यहाँ उत्पादन भएको सुगन्धकोकिलाले बजार नपाउने पनि समस्या भएकाले त्यसका लागि चिस्यान केन्द्र स्थापना गरिदिनुपर्ने उनीहरुको माग छ । लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिलालाई संरक्षण गर्न पनि राज्यले ध्यान दिन नसकेको गुनासो गर्दै उनले भने, ‘पहिले–पहिलेका रुख पनि सुक्दै जान थालिसकेका छन्, हामीले संरक्षणका लागि केही बिरुवा त रोपेका छौैँ यसमा सरकारले पनि संरक्षणका लागि पहल गरिदिएमा यहाँका बासिन्दाको आम्दानीको स्रोत पनि बढ्ने र रुख पनि संरक्षण हुने थिए ।’ पछिल्लो समय वन कार्यालयले त्यहाँ केही रुख रोपे पनि त्यसलाई संरक्षण गर्न कुनै चासो नदेखाएको पुनको भनाइ थियो । सुगन्धकोकिला पवित्र हुने भएकाले धार्मिक कार्यका लागि प्रयोगमा ल्याउनुका साथै यसको पातबाट तेलसमेत निकाल्न सकिने र पीपलपछि दोस्रो बढी अक्सिजन दिने रुखका रुपमा समेत रहेकाले यसको संरक्षण आवश्यक रहेको अर्का स्थानीयवासी पूर्ण पुनले बताए । सुगन्धकोकिला समुद्र सतहदेखि १५ मिटरको दूरीमा हिमालको हावा बहने जङ्गलमा फष्टाउने गर्छ । बिरुवा रोपेको चार वर्षदेखि नै यसले उत्पादन दिन सक्ने र यसलाई अलि व्यवस्थित गर्न सकिए देशलाई नै आर्थिक हिसाबले टेवा पुग्ने उनको भनाइ थियो । अहिले जङ्गलमा रहेका नयाँ रुखलाई जोगाउने कार्यमा आफूहरु सक्रिय रहेको स्थानीयवासीको भनाइ छ । छिल्लीकोटमा एक सय छ परिवार छन् । ती सबैले मल्लागिरिबाटै आफ्नो जीवन चलाउने गरेका छन् । मल्लागिरिको बोक्राबाट विभिन्न प्रकारका सेन्ट, अगरबत्ती निर्माणका लागि प्रयोग गरिन्छ भने मल्लागिरिको गेँडाबाट तेल बनाउन प्रयोग हुन्छ । रासस

मंगलबार सार्वजनिक विदा

काठमाडौं । सरकारले फागुन ९ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । शेर्पा समुदायको ग्याल्बो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ग्याल्बो ल्होसार’ भनिएको हो । एक महिनासम्म मनाइने ल्होसारको भोली पहिलो दिन रहेको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ ।  

कृषि विकास बैंकका सीईओ गुरुङले कार्यभार सम्हाले

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् । उनले सोमबार कार्यालयमा पुगेर कार्यभार सम्हालेका हुन् । गत शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको थियो । सीईओ छनोट समितिले शनिबार तीन जनाको नाम बोर्डमा सिफारिस गरेको थियो । तीन जनामध्येबाट बोर्डले गुरुङलाई सीईओ बनाउने निर्णय गरेको थियो । सीईओ गुरुङसँग बैंकिङ्ग क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए । उनीसँग विदेशी बैंकको सीईओ भएर काम गरेको अनुभव पनि छ ।