
काठमाडौं । नेपाल पर्यटन बोर्डले एक सय १२ जना महिलालाई ट्रेकिङ गाईड तालिम प्रदान गरेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) संगको सहकार्यमा उक्त तालिम सम्पन्न भएको हो ।
३५ दिन सम्म सञ्चालन भएको उक्त तालिममा २५ जिल्लाबाट प्रशिक्षार्थीहरु सहभागी भएका थिए । तालिमको समापन पछि आयोजित प्रमाणपत्र तथा ट्रेकिङ गाईड स्रोत पुस्तिकाको विमोचन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय निर्देशक डा. धनन्जय रेग्मीले पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न तालीमले सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।
‘पर्यटनमा यसैपनि दक्ष जनशक्ति अभाव छ, त्यसमा पनि महिला सहभागिता झनै कम छ, यो अवस्थामा महिलाहरूलाई तालिम दिन सकिए यो दीगो हुनाको साथै पर्यटन क्षेत्रमा महिला सहभागिता समेत बढ्ने अपेक्षा हामीले गरेका छौं, साथै यसले रोजगारीको अवसर मिल्नुका साथै स्वरोजगार समेत सिर्जना हुनेछ’, डा. रेग्मीले भने ।
सो अवसरमा नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले तालिमलाई व्यवहारिक बनाउन शैद्धान्तिक तथा व्यवहारिक कक्षाहरू सञ्चालन गरिएको बताएका थिए। यस्तै नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) का कार्यकारी निर्देशक रूद्रप्रसाद चापागाईंले यो तालिमले पर्यटनमा महिला सहभागिता बढाउनुको साथै रोजगारीमा समेत योगदान पुग्ने अपेक्षा गरिएको बताए ।
नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रमा जनशक्ति अभाव भइरहको र भइरहको जनशीक्त पनि पलायन भइरहेको अवस्थामा आयोजना गरिएको तालिमले जनशक्ति विकासमा टेवा पुग्ने अपेक्षा व्यक्त गरेका थिए ।
देशैभरीबाट सहभागिताको लागि आव्हन गरी तालिम सञ्चालन गर्न खोजिएकोमा तालिममा सहभागी हुन चाहनेहरूको संख्या धेरै भएपछि अन्तवार्ताको माध्यमबाट सहभागी छनोट गरी दुई चरणमा तालिम सम्पन्न गरिएको जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जनविज्ञ धर्म दवाडीले जानकारी दिए।

कार्यक्रमकै अवसरमा ट्रेकिङ गाईड सम्बन्धी स्रोत पुस्तिकाको समेत विमोचन गरिएको थियो । स्रोत पुस्तक ट्रेकिङको क्षेत्रमा काम गर्ने तथा अध्ययन गर्नेहरुका लागि समेत सहयोगी हुने नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) का प्रशिक्षक हिमाल पण्डितले बताए ।
यसमा सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित ट्रेकिङको सामान्य पर्यटन जानकारी, देशको भूगोल र भूगोल, वातावरण, नेपाली धर्मको इतिहास, अन्तरसांस्कृतिक पर्यटन व्यवहार, पदयात्रा र पर्वतारोहण, पदयात्रामा सुरक्षा र सुरक्षा, जोखिमहरू उल्लेख गरिएको छ ।