विकासन्युज

ललितपुरका १० सहकारी संस्थाको इजाजत खारेज

काठमाडाैं । ललितपुरका १० वटा सहकारी संस्थाको इजाजत खारेज भएकाे छ । ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने सहकारी संस्थाको इजाजत खारेज भएकाे हाे । ललितपुर महानगरपालिकाले शनिबार सूचना जारी गर्दै आफ्नो मातहतमा रहेका १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेकाे जानकारी दिएकाे हाे । महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईले खारेजका संस्थाले अबदेखि आर्थिक कारोबार गर्न नपाउने बताए । ‘त्यी संस्थाका कार्यालय कहाँ छ थाहा छैन, हामीले जम्मा १२ वटा संस्थालाई लक्षित गर्दै सूचना निकालेका थियौं, तर दुई वटा संस्था भने सम्पर्कमा आए, त्यसपछि हामीले १० वटा सहकारीको मात्र इजाजत खारेज गर्यौ,’ उनले भने । सो संस्थामा कसैको पैसा भए सहकारीले फिर्ता गर्नुपर्ने गुरागाईले बताए ।  

भारतबाट हुने अवैध आयातले नेपालगञ्जका उद्योग व्यवसाय धराशायी भएको गुनासो

नेपालगञ्ज । भारतबाट हुने अवैध आयातका कारण नेपालगञ्जका उद्योग व्यवसाय धराशायी हुँदै गएको व्यवसायीले गुनासो गरेका छन् । सीमावर्ती भारतीय नाकाबाट हुने तस्करी र अवैध आयातका कारण नेपालगञ्ज क्षेत्रको व्यापार व्यवसाय धराशायी बन्न पुगेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । सरकारी निकायले नाकामा कडाइ नगर्दा दैनिकरुपमा तस्करी भइरहेकाले स्थानीय उत्पादन र व्यापारले बजार नपाएको उनको गुनासो छ । अवैध आयात नरोकिएमा उद्योगी व्यवसायी पलायन भई नेपालगञ्ज क्षेत्र आर्थिक सङ्कटमा फस्नसक्ने उनले बताए । नेपालगञ्जका अगुवा व्यापारी कृष्णप्रसाद श्रेष्ठले अहिलेको प्रतिकूल अवस्थामा पनि उद्योगी व्यवसायीले सङ्घर्षका साथ उद्योग व्यवसाय सञ्चालन गरेको जनाउँदै सरकारले राहतको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रको समस्या समाधान गरेर आर्थिक अवस्था सुदृढ गर्नेतर्फ अग्रसरता नदेखाए अवस्था भयावह हुने बताए । आर्थिक विकासका लागि उद्योग, कलकारखाना र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै उनले अवैध आयात र तस्करीलाई निरुत्साहित पार्न माग गरे । भारतसँग जोडिएको बाँकेमा छोटी भन्सार कार्यालय सञ्चालन नहुँदा ग्रामीण क्षेत्रबाट दैनिकरुपमा हुने तस्करीले नेपालगञ्जको व्यापार व्यवसायलाई समस्यामा पारेको उनको भनाइ छ । बाँकेको भारतसँग जोडिएको ६५ किमीको खुला सीमानाकामा हाल एउटा मात्र भन्सार कार्यालय छ । ग्रामीण नाकामा रहेका सात छोटी भन्सार कार्यालय करिब दुई दशकअघि बन्द गरिएकामा हालसम्म पुनःस्थापना हुन सकेका छैनन् । छोटी भन्सार कार्यालय नहुँदा ग्रामीण नाकाबाट ठूलो परिमाणमा विभिन्न सामग्री राजस्व छलेर खुलारूपमा भारतबाट भित्रिने गरेकाले राजस्वको लक्ष्य पूरा गर्न समस्या भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए । उनका अनुसार केही वर्षयता छोटी भन्सार बन्द गरिएका नाकाबाट खुलारूपमा चोरी पैठारी बढेका कारण राजस्व सङ्कलन घटेको छ । रासस

आइएमई पेमा बैंक खाता लिंक गर्दा १०० रुपैयाँ पाइने 

काठमाडौ । आइएमई पेले पे विथ लिंक बैंक सुविधा थप गरेको छ । यो सुविधा अन्तर्गत अबदेखि हरेक बैंक प्रयोगकर्ताहरूले आफ्नो खाता लिंक गरि आइएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सकिनेछ । यो सेवा प्रयोग गर्ने सेवाग्राहीहरूले बैंक खाता लिंक गरे वापत १०० रुपैयाँ र बैंक खाता लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्यकका अतिरिक्त विभिन्न अवार्डहरू पनि प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्यूआर भुक्तानी एवम् क्यूएफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा २ सय ५० देखि ७ सय रुपैयाँसम्मको क्यासब्याक बैंक लिंक गरि कारोबार गर्दा प्राप्त हुने कम्पनीले जनाएको छ । थपिएको यस सेवाले बैंक प्रयोगकर्ताहरूलाई लिंक बैंकबाट नै सजिलोसँग भुक्तान गर्न मिल्ने विशेषता प्रदान गर्दछ भने ठूलो रकमको भुक्तानीमा पनि सिधैं पे विथ लिंक बैंक छनोट गरि भुक्तान गर्न सकिनेछ ।

निफ्राको संचालकमा श्रीकृष्ण नेपाल नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्रचर बैंकको संचालकमा श्रीकृष्ण नेपाल नियुक्त भएका छन् । नेपाल सरकारको, अर्थमन्त्रालयको तर्फबाट संचालकमा नियुक्त भएका हुन् । नेपालको स्थानमा यसअघि केदारनाथ शर्मा रहेका थिए । शर्माको पदवधि समाप्त भएपछि नेपाल संचालकमा नियुक्त भएका हुन् ।    

बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले माग्यो कार्यकारी निर्देशक

काठमाडौं । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले कार्यकारी निर्देशक पदका लागि आह्वान गरेको छ । उर्जा, जलस्रोत तथा सिंचार्य मन्त्रालयले आईतबार एक सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको हो । सूचना जारी भएको १५ दिनभित्र मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा उर्जा सम्बन्धी विषयमा स्नातकोत्तर उपाधि सहित बैकल्पिक उर्जाको क्षेत्रमा १० वर्ष काम गरेको अनुभव भएका उम्मेद्वारले उम्मेद्वारी दिन सक्ने सूचनामा उल्लेख छ । बैकल्पिक उर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ बमोजिम बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक माग गरेको उल्लेख छ । इच्छुक उम्मेदवारहरुले आफ्नो हस्ताक्षरसहितको बायोडाटा, दुई हजार शब्दमा नबढाइ लेखिएको चार वर्षे व्यवसायिक कार्ययोजना प्रस्ताव, हाल कुनै संस्थामा कार्यरत रहेको भए सो संस्थाको सहमति र नोटरी पब्लिकबाट प्रमाणित नेपाली नागरिकता, शैक्षिक योग्यता र कार्य अनुभवका प्रमाणपत्रहरु पेश गर्नुपर्नेछ ।

माइतीघर-तीनकुने साइकल लेन निर्माण सुरु हुँदै, करिडोर क्षेत्रमा ओभरहेड लेनको अध्ययन गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघर–तीनकुने खण्डमा साइकल लेन निर्माण थाल्ने भएको छ । महानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म सो खण्डमा साइकल लेन निर्माण सुरु गर्ने योजना बनाएको हो । माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन निर्माण गरी सञ्चालन गर्नको लागि छिट्टै टेन्डर आह्वान गर्ने तयारी गरिरहेको काठमाडौं महानगरपालिकाका सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापाले बताए । सो खण्डमा साइकल लेन निर्माण गर्नको लागि वि।सं। २०७६ मा महानगरले गुरुयोजना तयार गरेको थियो । तर, हालसम्म साइकल लेनको काम अगाडि बढाउन सकेको छैन । महानगरअन्तर्गतको सहरी योजना आयोगले माइतीघरदेखि बानेश्वर हुँदै तीनकुने–कोटेश्वरसम्म साइकल लेन बनाउने गुरुयोजना तयार गरेका थियो । तर, पछि आयोगले बनाएको डिजाइन नै फेरबदल गरेका कारण केही समय लागेको महानगरको भनाइ छ । ‘यो ठाउँमा मात्र साइकल लेन बनाएर कतिको उचित हुन्छ, त्यहाँदेखि के गर्ने, बीचमा साइकल लेन बनाउँदा हुन्छ हुँदैन भन्ने कुरा उठिरहेको छ, डिजाइन तयार भइसकेकाले टेन्डर गर्ने भन्ने कुरा भएको छ,’ उनले भने । अवसर भन्दा चुनौती बढी भएकाले पनि उक्त साइकल लेन निर्माण गर्नमा महानगर दुबिधामा देखिन्छ । यद्यपि अब भने साइकल लने निर्माणको तयारीमा महानगर जुटेको हो । माइतीघरदेखि तिनकुनेसम्म लगभग ३.५ किलोमिटर छ । २०७६ मा सो ठाउँमा साइकल लेन निर्माण गर्न महानगरले तीन करोड बजेट छुट्याएको थियो । साइकल लेनको महानगर भित्र सबैभन्दा बढी सम्भावना रहेको ठाउँ पनि माइतीघर–तीनकुने नै रहेको पनि थापाले जानकारी दिए । महानगरपालिकाले साइकल लेन निर्माण गर्ने भने ठाउँमा नै विद्युत प्राधिकरणले भूमिगत तार बिछ्याउने र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) खानेपानीको पाइप बिछ्याउने तयारी गरिरहेको छ । सो कामले महानगरको काममा अफ्ठयारो नपरोस्, र महानगरको कामले त्यो काम नरोकियोस् भन्ने सहकार्य भइरहेको पनि थापाले बताए । महानगरपालिकाका साइकल लेन निर्माण गर्नु भन्दा पहिला नै उक्त काम सकियोस् भन्ने योजनामा छ । थापाका अनुसार वैशाख या जेठबाट साइकल लेन निर्माणको काम सुरु हुनेछ । महानगरपालिकाले चालू आर्थिक वर्षमा उक्त खण्डमा साइकल लेन निर्माण गर्नको लागि ५ करोड रुपैयाँ बजेट छुट्याएका छ । नेपाल साइकल संघका अध्यक्ष गोपी सुन्दरलाल कश्यपति महानगरका भित्र साइकल लेन अति आवश्यक रहेको बताउँछन् । उनका अनुसार लेन निर्माणको लागि महानगरसँग संघले पहल गरिरहेको छ । साइकल लेन लगभग १.२ मिटर चौडाइ पुग्ने पनि कश्यपतिले बताए । ‘साइकल लेन नहुँदा मान्छेलाई साइकल कुदाउन समस्या हुन्छ, अहिले साइकल चढ्ने अभ्यास पनि कम हुँदै गएको छ, महानगरको प्रत्येक ठाउँमा साइकल लेन आवश्यक छ,’ उनले भने । साइकल लने निर्माण गरेमा काठमाडौं भित्र पर्यटकीय गतिविधि पनि बढ्ने उनको भनाइ छ । ओभरहेड लेनको अध्ययन गरिँदै ओभरहेड साइकल लेन महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) को नयाँ योजना हो । बालेन निर्वाचित भएपछि पहिलो कार्यकालको नीति तथा कार्यक्रममा यो योजनालाई समावेश गरेका छन् । महानगरपालिकाले चालू आर्थिक वर्षमा महानगर भित्र ओभरहेड साइकल लेनको सम्भाव्यता अध्ययन गर्नको लागि एक करोड रुपैयाँ बजेट छुट्याएको छ । काठमाडौं महानगरपालिकाले करिडोर क्षेत्रमा ओभरहेड साइकल लेनको सम्भाव्यता अध्ययन गर्ने तयारी गरिरहेको बुझिएको छ । महानगरपालिका अनुसार बागमती, विष्णुमती र धोविखोला करिडोरमा ओभरहेड साइकल लेनको सम्भाव्यता अध्ययन गरिनेछ । चालू आर्थिक वर्ष भित्र सो ठाउँमा सम्भाव्यता अध्ययन गरिने विभागीय प्रमुख थापाले बताए । ‘सम्भवत यो आर्थिक वर्ष भित्र नै यसको अध्ययन हुन्छ, टेकनिकल्ली र आर्थिक हिसाबले पनि उपयुक्त ठिक छ कि छैन भनेर अध्ययन गर्न लागेका हौं, त्यसपछि कार्यक्रम अगाडि बढाउने हो,’ उनले भने ।  २२ मिटरको सडकमा मात्रै ओभरहेड साइकल लेनको निर्माण गर्न हुने उनको भनाइ छ । ्

प्रधानमन्त्री विकाससम्बन्धी सम्मेलनमा भाग लिन कतार जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरु एलडिसिजको पाँचाै सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ जाने भएका छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९ गते त्यसतर्फ जाने र फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको पररराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा उनी संयुक्त राष्ट्रसङ्घका केही कार्यक्रममा पनि सहभागी हुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री दाहाल साइडलाइन बैठक र द्विपक्षीय बैठकमा सहभागी हुने उनले जानकारी दिए । दोहामा रहँदा प्रधानमन्त्री दाहाल नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँगको कार्यक्रममा पनि सहभागी हुनेछन् । एलडिसिजको पाँचौँ सम्मेलनका क्रममा विषयगत आठ गोलमेच बैठक हुने र त्यसमध्ये तीन बैठकमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ । फागुन २० गते एलडिसिजको अध्यक्ष राष्ट्र मलावीले आयोजना गर्ने सम्मेलनलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्नेछन् । सम्मेलनको ‘जनलर डिबेट’का क्रममा प्रधानमन्त्री दाहालले २६औँ वक्ताका रुपमा राष्ट्रिय सम्बोधन गर्नुहुने प्रवक्ता लम्सालले बताए । नेपाली प्रतिनिधिमण्डलले अतिकम विकसित मुलुकबाट स्तरोन्नतिमा रहेका नेपाल, बङ्गलादेश र लाओसबीच हुने साइड इभेन्टमा समेत सहभागिता जनाउनेछ ।