माइतीघर-तीनकुने साइकल लेन निर्माण सुरु हुँदै, करिडोर क्षेत्रमा ओभरहेड लेनको अध्ययन गरिँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघर–तीनकुने खण्डमा साइकल लेन निर्माण थाल्ने भएको छ । महानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म सो खण्डमा साइकल लेन निर्माण सुरु गर्ने योजना बनाएको हो । माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन निर्माण गरी सञ्चालन गर्नको लागि छिट्टै टेन्डर आह्वान गर्ने तयारी गरिरहेको काठमाडौं महानगरपालिकाका सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापाले बताए । सो खण्डमा साइकल लेन निर्माण गर्नको लागि वि।सं। २०७६ मा महानगरले गुरुयोजना तयार गरेको थियो । तर, हालसम्म साइकल लेनको काम अगाडि बढाउन सकेको छैन । महानगरअन्तर्गतको सहरी योजना आयोगले माइतीघरदेखि बानेश्वर हुँदै तीनकुने–कोटेश्वरसम्म साइकल लेन बनाउने गुरुयोजना तयार गरेका थियो । तर, पछि आयोगले बनाएको डिजाइन नै फेरबदल गरेका कारण केही समय लागेको महानगरको भनाइ छ । ‘यो ठाउँमा मात्र साइकल लेन बनाएर कतिको उचित हुन्छ, त्यहाँदेखि के गर्ने, बीचमा साइकल लेन बनाउँदा हुन्छ हुँदैन भन्ने कुरा उठिरहेको छ, डिजाइन तयार भइसकेकाले टेन्डर गर्ने भन्ने कुरा भएको छ,’ उनले भने । अवसर भन्दा चुनौती बढी भएकाले पनि उक्त साइकल लेन निर्माण गर्नमा महानगर दुबिधामा देखिन्छ । यद्यपि अब भने साइकल लने निर्माणको तयारीमा महानगर जुटेको हो । माइतीघरदेखि तिनकुनेसम्म लगभग ३.५ किलोमिटर छ । २०७६ मा सो ठाउँमा साइकल लेन निर्माण गर्न महानगरले तीन करोड बजेट छुट्याएको थियो । साइकल लेनको महानगर भित्र सबैभन्दा बढी सम्भावना रहेको ठाउँ पनि माइतीघर–तीनकुने नै रहेको पनि थापाले जानकारी दिए । महानगरपालिकाले साइकल लेन निर्माण गर्ने भने ठाउँमा नै विद्युत प्राधिकरणले भूमिगत तार बिछ्याउने र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) खानेपानीको पाइप बिछ्याउने तयारी गरिरहेको छ । सो कामले महानगरको काममा अफ्ठयारो नपरोस्, र महानगरको कामले त्यो काम नरोकियोस् भन्ने सहकार्य भइरहेको पनि थापाले बताए । महानगरपालिकाका साइकल लेन निर्माण गर्नु भन्दा पहिला नै उक्त काम सकियोस् भन्ने योजनामा छ । थापाका अनुसार वैशाख या जेठबाट साइकल लेन निर्माणको काम सुरु हुनेछ । महानगरपालिकाले चालू आर्थिक वर्षमा उक्त खण्डमा साइकल लेन निर्माण गर्नको लागि ५ करोड रुपैयाँ बजेट छुट्याएका छ । नेपाल साइकल संघका अध्यक्ष गोपी सुन्दरलाल कश्यपति महानगरका भित्र साइकल लेन अति आवश्यक रहेको बताउँछन् । उनका अनुसार लेन निर्माणको लागि महानगरसँग संघले पहल गरिरहेको छ । साइकल लेन लगभग १.२ मिटर चौडाइ पुग्ने पनि कश्यपतिले बताए । ‘साइकल लेन नहुँदा मान्छेलाई साइकल कुदाउन समस्या हुन्छ, अहिले साइकल चढ्ने अभ्यास पनि कम हुँदै गएको छ, महानगरको प्रत्येक ठाउँमा साइकल लेन आवश्यक छ,’ उनले भने । साइकल लने निर्माण गरेमा काठमाडौं भित्र पर्यटकीय गतिविधि पनि बढ्ने उनको भनाइ छ । ओभरहेड लेनको अध्ययन गरिँदै ओभरहेड साइकल लेन महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) को नयाँ योजना हो । बालेन निर्वाचित भएपछि पहिलो कार्यकालको नीति तथा कार्यक्रममा यो योजनालाई समावेश गरेका छन् । महानगरपालिकाले चालू आर्थिक वर्षमा महानगर भित्र ओभरहेड साइकल लेनको सम्भाव्यता अध्ययन गर्नको लागि एक करोड रुपैयाँ बजेट छुट्याएको छ । काठमाडौं महानगरपालिकाले करिडोर क्षेत्रमा ओभरहेड साइकल लेनको सम्भाव्यता अध्ययन गर्ने तयारी गरिरहेको बुझिएको छ । महानगरपालिका अनुसार बागमती, विष्णुमती र धोविखोला करिडोरमा ओभरहेड साइकल लेनको सम्भाव्यता अध्ययन गरिनेछ । चालू आर्थिक वर्ष भित्र सो ठाउँमा सम्भाव्यता अध्ययन गरिने विभागीय प्रमुख थापाले बताए । ‘सम्भवत यो आर्थिक वर्ष भित्र नै यसको अध्ययन हुन्छ, टेकनिकल्ली र आर्थिक हिसाबले पनि उपयुक्त ठिक छ कि छैन भनेर अध्ययन गर्न लागेका हौं, त्यसपछि कार्यक्रम अगाडि बढाउने हो,’ उनले भने । २२ मिटरको सडकमा मात्रै ओभरहेड साइकल लेनको निर्माण गर्न हुने उनको भनाइ छ । ्
प्रधानमन्त्री विकाससम्बन्धी सम्मेलनमा भाग लिन कतार जाने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरु एलडिसिजको पाँचाै सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ जाने भएका छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९ गते त्यसतर्फ जाने र फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको पररराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा उनी संयुक्त राष्ट्रसङ्घका केही कार्यक्रममा पनि सहभागी हुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री दाहाल साइडलाइन बैठक र द्विपक्षीय बैठकमा सहभागी हुने उनले जानकारी दिए । दोहामा रहँदा प्रधानमन्त्री दाहाल नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँगको कार्यक्रममा पनि सहभागी हुनेछन् । एलडिसिजको पाँचौँ सम्मेलनका क्रममा विषयगत आठ गोलमेच बैठक हुने र त्यसमध्ये तीन बैठकमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ । फागुन २० गते एलडिसिजको अध्यक्ष राष्ट्र मलावीले आयोजना गर्ने सम्मेलनलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्नेछन् । सम्मेलनको ‘जनलर डिबेट’का क्रममा प्रधानमन्त्री दाहालले २६औँ वक्ताका रुपमा राष्ट्रिय सम्बोधन गर्नुहुने प्रवक्ता लम्सालले बताए । नेपाली प्रतिनिधिमण्डलले अतिकम विकसित मुलुकबाट स्तरोन्नतिमा रहेका नेपाल, बङ्गलादेश र लाओसबीच हुने साइड इभेन्टमा समेत सहभागिता जनाउनेछ ।
सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त– द मेडिसिटि अस्पतालमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भारतकाे गुँडगाँवस्थित मेदान्त– द मेडिसिटि अस्पतालबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको हो । गुँडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका हुन् । यस किसिमको सहकार्यबाट हाल यस बैंकका ग्राहकहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेको छन् । आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको जनाएकाे छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत ३ वर्ष देखी निरन्तर रुपमा उपलब्ध गराउँदै आइरहेको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
विदेशी पर्यटकले नेपालमा कति खर्च गर्छन् भन्ने बारे अध्ययन गर्दै सरकार
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत खर्चको यकिन तथ्याङ्क लिन अध्ययन सुरु गरेको छ । बोर्डले विदेशी पर्यटकको औसत खर्चदर पत्ता लगाउने उद्देश्यले आजदेखि सर्भेक्षण सुरु गरेको हो । बोर्डका निर्देशक मणिराज लामिछानेले विदेशी पर्यटकले नेपालमा कति खर्च गर्छन् भनेर यकिन तथ्याङ्क निकाल्ने लक्ष्यका साथ अध्ययन सुरु गरिएको जानकारी दिए । उनले भने, ‘दुई हजार नमुना सङ्कलन गरिनेछ, बोर्डबाट खटिने पाँच कर्मचारीले हरेक दिन १० वटा प्रश्नको फाराम भरेर ४० दिनभित्र यो काम सक्नेछन्,’ बोर्डको समन्वयमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नाथमका विद्यार्थी यो अध्ययनमा सम्लग्न छन् । नेपालमा विदेशी पर्यटकले कति खर्च गर्छन् भन्ने यकिन तथ्याङ्क निकाल्न यो अध्ययनले सहयोग पुग्ने निर्देशक लामिछानेले उल्लेख गरे । उनका अनुसार सन् २०२१ मा एक विदेशी पर्यटकले दैनिक औसत ४८ अमेरिकी डलर खर्च गरेको पाइएको छ । सन् २०२२ मा पनि सोही हाराहारीमा पर्यटकले खर्च गर्ने गरेका छन् । सन् २०२३ मा यो दर बढेर ७० देखि ७५ डलर पुग्ने निर्देशक लामिछानेको भनाइ थियो । उनले ‘टुरिज्म स्याटेलाइट अकाउन्ट’ को प्रमुख टुलका रूपमा आजदेखि अध्ययन सुरु गरिएको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय तथ्याङ्क कार्यालय र नाथमको सहकार्यमा पर्यटकको खर्चसम्बन्धी अध्ययन सुरु गरिएको हो । पछिल्ला दिनमा विदेशी पर्यटक आउनेक्रम बढेको छ । बोर्डको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने गएको वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटक भित्रिएका थिए । कोभिड–१९ महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ विदेशी पर्यटक आएकामा सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जनामा खुम्चिएको थियो । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । रासस
जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्र्रियामा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले भने, ‘आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । विसं २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा छ ।’ सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताए । उनले भने, ‘सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्यनिरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ । यो छिट्टै टुङ्गोमा पुग्छ । जनयुद्धका सहिदको सम्मान, उनीहरूको परिवारको परिपूरण, सन्ततिको शिक्षादीक्षाको काम कानुन बनाएर नै गरिन्छ । त्यसका लागि विधेयक महत्वपूर्ण छ ।’ अन्तक्र्रियामा सहिद तथा बेपत्ता परिवारका तर्फबाट अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले देशभरका सहिद र बेपत्ता परिवारलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरे । सरकारले यही फागुन १ गते जनयुद्धको स्मरणमा सार्वजनिक बिदा दिएको थियो । नेकपा माओवादी केन्द्रले आजदेखि फागुन २१ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी सहिद सप्ताह मनाउने तयारी गरेको छ । कार्यक्रममा प्रधानमन्त्री दाहालका प्रमुख सल्लाहकार हरिबोल गजुरेल, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत, नेता हितराज पाण्डेलगायतको सहभागिता थियो । जनयुद्धका सहिद परिवारले राज्यकोतर्फबाट आफूहरुलाई उचित सम्मान दिनु जरुरी रहेको भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।
उज्यालो सहर भरतपुरको दोस्रो चरणको काम सुरु हुँदै
भरतपुर । भरतपुर महानगरलाई उज्यालो सहर बनाउने महानगरको अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ । पहिलो चरणमा ७८ दशमलब एक किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राखिएकामा दोस्रो चरणमा एक सय १८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न आज बोलपत्र आह्वान गरिएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रबद्र्धन आयोजनाको सहकार्यमा महानगरमा उक्त काम सुरु गरिएको हो । पहिलो चरणको काम अन्तिममा पुगेलगत्तै दोस्रो चरणको कामको थालिएको छ । पहिलो चरणमा महानगरपालिकाको १० प्रतिशत लागत साझेदारी थियो भने दोस्रोचरणमा ६० प्रतिशत महानगरपालिका र आयोजनाको ४० प्रतिशत साझेदारीमा काम गर्न लागिएको हो । महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार पहिलो चरणको काम यही वैशाखको पहिलो सातासम्ममा सकिने छ । दोस्रो चरणको काम निर्माण व्यवसायीसँग सम्झौता भएको एक वर्षमा सम्पन्न हुने छ । दोस्रो चरणमा विभिन्न ठाउँमा आठ वटा हाइमास्ट र ६० वटा मिनिमास्टसहितको बत्ती राखिँदै छ । पहिलो चरणमा सडक क्षेत्रमा एक हजार नौ सय ३३ वटा बत्ती जडान गरिएको छ । महानगर प्रमुख दाहालका अनुसार पहिलो चरणमा मूल्यअभिवृद्धि करसहित ११ करोड ४९ लाख ८९ हजार तीन सय रुपैयाँमा ठेक्का सम्झौता भएसँगै सेफ स्टिल/सूर्योदय ऊर्जा/टपशन जेभिले काम गरिरहेको छ । दोस्रो चरणमा २६ करोड ५० लाख रुपैयाँको बोलपत्र आह्वान गरिएको छ । उनले भने, ‘पहिलोको भन्दा धेरै क्षेत्रलाई हामी उज्यालो वनाउँदै छौँ ।’ पहिलो चरणमा महानगरका सहरी क्षेत्रमा बत्ती जडान गरिएको छ । दोस्रो चरणअन्तर्गत महानगरका ग्रामीण क्षेत्रका फराकिलो सडकलाई प्राथमिकता दिएर बत्ती जडान गरिँदै छ । महानगरप्रमुख दाहालले महानगरलाई आउँदो पाँच वर्षभित्र दक्षिण एशियाली मापदण्ड अनुकूलको भौतिक पूर्वाधारले सम्पन्न नमुना सहर बनाउने उद्देश्यअनुरुप उज्यालो सहर बनाउन लागिएको बताए । यस क्रममा स्मार्ट सडक बत्ती, विभिन्न स्थानमा हाई–मास्ट तथा मिनी–मास्ट बत्ती जडान गरिँदै छ । सन् २०२४ लाई भरतपुर महानगरले भ्रमण वर्षको रूपमा मनाउन लागेको भन्दै उनले मुख्य सडकमा यात्रा गर्दा आम सर्वसाधारण, पैदलयात्री, पर्यटक, महिला, विद्यार्थी तथा सवारी साधनको आवतजावतलाई सहज र सुरक्षित बनाइ सडक दुर्घटना न्यूनीकरण गर्न र आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षाको अनुभूति दिलाउन ’उज्यालो सहर–भरतपुर’ अभियान तीव्र पारिएको बताए । उपप्रमुख चित्रसेन अधिकारीले स्मार्ट सहरको पहिलो खुड्किलो स्मार्ट सडक बत्ती हो भन्ने कुरालाई मध्यनजर गर्दै यस ‘उज्यालो सहर–भरतपुर’ अभियानमा सहयोग गर्न सबैमा अनुरोध गरे । यस कार्यक्रमअन्तर्गत पाँच वर्षसम्म निर्माण कम्पनीले मर्मत सम्भार समेत गर्ने उनले जानकारी दिए । अन्य ठाउँमा स्मार्ट बत्ती जडान क्रमश गर्दै लगिने उपप्रमुख अधिकारीको भनाइ थियो । आयोजना प्रमुख प्रमोद रिजालले महानगरपालिकाले आफ्नो क्षेत्रलाई उज्यालो बनाउन गरेको प्रस्तावअनुसार प्राधिकरणले सहकार्य गरेर काम गरिरहेको बताए । पहिलो चरणको काम ८५ प्रतिशत सकिएको भन्दै उनले बोलपत्रको काम सुरु भएकाले आउँदो वर्षभित्रमा महानगरका धेरै ठाउँमा स्मार्ट बत्ती पुग्ने जानकारी दिए । महानगरमा विकास निर्माणका काम तीव्र गतिमा भइरहेका छन् । विकासका हिसाबले धेरै काम भएको पालिकामा भरतपुरलाई चिन्ने गरिन्छ । यस्तै नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगत तथा सुदृढिकरण गरेको छ । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाअन्तर्गत रहेर महानगरपालिकाको पुलचोक–केन्द्रीय बसटरमिनल–गोन्द्राङ् र केन्द्रीय बसटरमिनलदेखि आँपटारीसम्मको विद्युत् लाइन भूमिगत गर्ने काम सुरु भएको र यसका लागि एक अर्ब २० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको हो । भरतपुर बाइपास सडकको पूरै र छ लेनको पुलचोकदेखि केन्द्रीय बस टरमिनलसम्म सबै तार भूमिगत गरिने छ । बसपार्कबाट गोन्द्राङ्सम्म ३३ केभिएलाई मात्र पहिलो चरणमा भूमिगत गर्न लागिएको छ । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले महानगरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत् भूमिगत गर्न लागेको हो । रासस
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८ औं वर्षमा, अध्यक्ष पाँडे भन्छन् : देशकै अग्रणी बैंक बनेका छौं
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताए । स्थापनाको ३७ बर्षसम्म आइपुग्दा बैंकले व्यावसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चतम स्थानमा राखी सेवा प्रवाह गरिरहेको अध्यक्ष पाँडेले बताउँछन् । गत पुसमा वित्तीय बजारका सुपरिचत बैंकहरु नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडबीच मर्जर भएको थियो । मर्जरपछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान हुनुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरका लागि प्रेरित गरेको अध्यक्ष पाँडेले बताए । यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेले वित्तीय बजारमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित भएको बताए । संस्थापकहरुको सोच र भिजनका कारण देशकै विश्वासिलो र अग्रणी बैंकको रुपमा स्थापित भएकोमा गर्व लागेको बताउँदै उनले ग्राहकवर्गको चाहना अनुसार आगामी दिनमा थप नवीनतम सेवा प्रवाह गरिने बताए । बैंकले वार्षिकोत्सवका अवसरमा ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैंकिङ सुविधा लिँदा सीमित महिनाका लागि शुल्क नलाग्ने सुविधा ल्याएको छ । यसैबीच, ३७औं बार्षिकोत्सवका दिवसका अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदानमा बैंकका कर्मचारीहरुको सहभागिता थियो । यसैगरी, वार्षिकोत्सवका अवसरमा साना बालबालिकामा बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले वित्तीय ज्ञानमा आधारित बैंकले एक बाल पुस्तक पनि सार्वजनिक गरेको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंैंकले २९६ शाखा, २७९ एटीएम, ५० एक्सटेन्सन काउन्टर, १० राजश्व संकलन काउण्टर र १०९ शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिरहेको छ । उत्कृष्ट सेवा र व्यवसायका लागि ७ वटा बैंक अफ दि एयर अवार्ड प्राप्त गरिसकेको यस बैंकले अन्तर्राष्ट्रिय युरो मनीबाट ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ का लागि युरोमनी अवार्डहरु प्राप्त गर्न सफल भएको छ । साथै, अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी (इन्फ्रा) नेपालले यस बैंकलाई ‘ए’ क्रेडिट रेटिङ गरेको छ ।
मेरो माइक्रोफाइनान्सको प्रभावकारी फिल्ड व्यवस्थापन तालिम सम्पन्न
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले फिल्ड कर्मचारीका लागि ‘प्रभावकारी फिल्ड व्यवस्थापन’ सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । दुई दिने तालिममा संस्थाका अनुगमन कार्यालय बट्टार, नुवाकोट र कटुन्जे, भक्तपुर अन्तर्गतका १६ शाखा कार्यालयका ४८ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । तालिमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले कर्मचारीहरुलाई तालिममा सिकेको ज्ञानलाई ब्यवहारमा उतार्ने र मनोबल उच्च बनाइ सेवा प्रवाह गर्न आग्रह गरे । तालिममा संस्थाले दिँदै आएको सेवा तथा सुबिधा, वर्तमान परिस्थितीमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावकारीता, सम्भावना र चुनौती, कर्मचारीको व्यक्तित्व विकासका विषयमा तालिम दिईएको थियो। तालिम योजना तथा तालिम बिभागका प्रमुख उमेश मान डङ्गोल, कर्जा विभागका रवि प्रसाद आचार्य लगायतले प्रशिक्षण दिएको थियो । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।