कालिञ्चोकमा पर्यो हिउँ, व्यापार बढ्नेमा व्यवसायी उत्साहित
काठमाडौं । आइतबार दोलखाको कालिञ्चोकमा हिउँ परेको छ । आइतबार परेको पानीका कारण कालिन्चोकमा हिउँ परेको हो । कालिन्चोक कन्ट्री होटल भिल्लाका बिक्री प्रबन्धक रवि मगरातीले कालिञ्चोकमामा यस वर्षकै पहिलो हिउँ परेको जानकारी दिए । ‘हिउँ एकदमै धेरै परेको छ, अत्याधिक हिउँ परेर गएको बत्ति र नेटवर्क बल्ल आयो,’ उनले भने । यस वर्ष हिउँ नपरेको कारण खासै राम्रो नभएको व्यवसाय आइतबार हिउँ परेपछि राम्रो हुने अपेक्षा गरेको उनले बताए । ‘हिउँ नपरेको कारण व्यवसाय खासै राम्रौ थिएन, अब राम्रो हुन्छ भन्नेमा विश्वास छ,’ उनले भने । यस वर्ष पानी नपरेको कारण देशको अधिकांश ठाउँमा हिउँ परेको थिएन ।
चन्द्रागिरिमा लिच्छविकालीन गौरव ब्युँताउने प्रयास
काठमाडौं । काठमाडौंको पश्चिम भेगमा रहेको किसिपिँढी गाउँले लिच्छविकालीन गौरवलाई पुर्नर्जीवन दिएको छ । मौलिक शैलीमा निर्माण भएका घरबास (होमस्टे)मार्फत किसिपिँढी गाउँले पर्यटन प्रवद्र्धन गरिरहेको छ । यहाँ पाइएका शिलालेख, धारा र मूर्तिले लिच्छविकाल अघि नै ‘किचः प्रिचिङ’ नामका आठ मुख्य द्रन्ध (बस्ती) थिए भन्ने प्रमाणित हुन्छ । तीमध्ये किसिपिँढी एउटा हो । अहिले चन्द्रागिरि नगरपालिका–५ मा पर्ने ‘किचः प्रिचिङ’ले लिच्छविकालीन गौरवलाई पुनःप्राप्ती गर्ने उद्देश्यका साथ वडाध्यक्ष राजेन्द्र महर्जन सक्रिय रुपमा लागेका छन् । पुराना वस्तु खोज्ने तथा बस्तीभित्र नयाँ बन्ने संरचनालाई पुरातात्विक स्वरुप झल्किने गरी निर्माण गरिने उनले बताए । दुई सय ५० घर रहेको किसिपिँढी प्राचिन समयमा गढपर्खालले घेरिएको सुरक्षित र सम्पन्न बस्ती थियो । बस्तीतर्फ आउने बाटामा तेर्सिएका ढुङ्गा त्यसको प्रमाण हुन् । उक्त बाटोमा पाइने ढुङ्गे धारा, पोखरी, मन्दिर र काठका मूर्तिले किसिपिँढी एउटा मौलिक सभ्यता भएको राज्य थियो भन्ने कुराको प्रमाण दिन्छन् । किसिपिँढीबारे अध्ययन गरेका रवीन्द्र रिजालका अनुसार किसिपिँढीभित्र पाँच लिच्छविकालीन शिलालेख छन् । ती शिलालेखले तत्कालीन शासकले यहाँका जनतालाई जमिनको साधसीमा, जोतभोग र कर माफीमिनाहा गरेको तथा कुवा र देवल निर्माणबारे जानकारी पाइन्छ । ‘खासमा किचः प्रिचिङ किरातकालीन बस्ती हो । यो लिच्छविकालमा थप व्यवस्थित बनेको थियो’, उनले भने । मल्लकालमा जात्रा र पर्वको विकास भएको हो । राणाकालअघि घोडेजात्रालाई नयाँ वर्षको रूपमा मनाउने गरिन्थ्यो । किसिपिँढीमा घोडेजात्राको दिन कालिका भैरवको रथयात्रा हुने रिजाल बताउछन् । गढपर्खालले घेरिएको किसिपिँढी ब्यूउँताउने कामको सुरुआत गरिएको वडाध्यक्ष महर्जनले बताए । ऐतिहासिक पक्ष गर्विलो भए पनि आधुनिकताको प्रभावले यस गाउँलाई ओझेलमा पारेको छ । विसं २०७२ को भूकम्पपछि पुरानै शैलीमा रहेका घर भत्किएपछि यहाँको प्राचीन संरचना नासिएको छ । नयाँ बन्ने संरचना पुरानै शैलीमा निर्माण गर्न खर्च बढी लाग्ने भएकाले स्थानीयवासी आधुनिक घर बनाउन सहज मान्छन् । ‘पुराना घरको एउटा झ्याल बनाउने खर्चले अहिलेको साढे दुईतले घरका झ्याल किन्न पुग्छ’, उनले भने । कङ्क्रिटको सहारामा आधुनिक शैलीमा बनाइएका घरका अगाडिका भाग दाची इँटा लगाएर केही हदसम्म भए पनि परम्परागत शैलीका बनाउने प्रयास भएको महर्जनको भनाइ छ । पुराना शैलीमा घर बनाउनेलाई केही अनुदान दिने विषयमा छलफल भइरहेको उनले बताए । कालिका भैरव मन्दिर दाची इँटा र कलात्मक झ्यालसहित पुरानो शैलीमा निर्माण भएको छ । वडाध्यक्ष महर्जनका अनुसार एउटा निजी घर पनि पुरानो शैलीमा बनेको छ । ‘यहाँका सबै घरका अघिल्लो भाग पुरातात्विक शैलीको बनाउने विषयमा गृहकार्य गरिरहेका छौँ, रकम अभावका कारण रोकिएको छ’, उनले भने । रासस
ज्योति विकास बैंकको लाभांश पारित
काठमाडाैं । ज्योति विकास बैंकको लाभांश पारित भएकाे छ । बैंककाे १५ औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित ६.८ प्रतिशत लाभांश पारित भएकाे हाे । बैंकले ३ प्रतिशत बोनश सेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार पुगेको छ। सभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले बैंकको आ.व. २०७९/८० को लेखापरिक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
गुल्मीमा शिक्षकले पाएनन् पारिश्रमिक
गुल्मी। गुल्मीको कालीगण्डकी गाउँपालिकाका ३१ शिक्षकले कात्तिक महिनादेखि तलब पाउन सकेका छैनन् । आन्तरिक स्रोतमार्फत गाउँपालिकाले तलब उपलब्ध गराउनेगरी राखेका ३१ शिक्षकले कात्तिक महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् । गाउँपालिकाले आफै दरबन्दी सिर्जना गरी राखेका ती शिक्षकलाई बजेट अभावका कारण तलब खुवाउन नसकिएको त्यहाँका शिक्षा शाखाका प्रमुख अग्निधर पराजुलीले जानकारी दिए । कात्तिकदेखि पुस महिनासम्मको तीन महिनाको तलब उपलब्ध गराउन ३९ लाख आवश्यक पर्ने तर बजेट अभावका कारण शिक्षकलाई तलब दिन नसकिएको उनको भनाइ थियो । तलव नपाउनेमा बालशिक्षा कक्षादेखि माध्यमिक तहसम्मका शिक्षक रहेको प्रमुख पराजुलीले बताए । पालिकाको आन्तरिक स्रोत र कालीगण्डकी जलविद्युत् परियोजानको आर्थिक सहयोगमार्फत ती शिक्षकलाई तलब उपलब्ध गराउने गरी बजेट बजेटको व्यवस्था गरिएकामा परियोजनाबाट सहयोग उपलब्ध नभएका कारण तलब खुवाउन नसकिएको हो । कात्तिकदेखि तलब नआउँदा आफूहरुलाई दैनिक खर्च चलाउनसमेत समस्या हुँदै गएको सम्बद्ध शिक्षकको गुनासो थियो । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले आर्थिक सहयोग प्राप्त नभएकाले समस्या थपिएको बताए । परियोजानबाट सहयोग नपाए शिक्षकहरुलाई स–सम्मान बिदाइ गर्ने बाहेक पालिकासँग अन्य विकल्प नभएको र आफूहरुसँग स्रोत व्यवस्थापन गर्ने आधार नभएकाले उक्त सहयोग नपाए ती शिक्षकलाई भुक्तानी दिनुपर्ने रकमको अभिलेख राखि स–सम्मान बिदाइ गरिने उनले उल्लेख गरे । रासस
स्थानीय परिकार र दृश्यावलोकनका लागि ‘बनौँ लेक’
गलकोट । एक वर्षअघिसम्म गुमनाम रहेको बनौँ लेक अहिले चर्चामा छ । बनौँलाई आलु उत्पादनका हिसाबले मात्रै चिनेकाहरु अहिले पर्यटकीयस्थलका रुपमा चिन्न थालेका छन् । पर्यटकीय क्षेत्रको विकासका लागि अत्यावश्यक रहेको सडक पूर्वाधारको सहजताका कारण पछिल्लो एक वर्षमा सयौँ आन्तरिक पर्यटक बनौँ लेक पुगिसकेका छन् । अहिले बनौँँमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको पाइन्छ । बनौँमा आन्तरिक पर्यटक बढ्न थालेपछि पर्यटकलाई लक्षित घरी घरबास तथा विभिन्न होटलसमेत सञ्चालनमा आएका छन् । चिसो हावापानीसहित चिटिक्क परेको गाउँमा अहिले दृश्यावलोकन, जैविक परिकारको स्वाद तथा सूर्योदय हेर्नका लागि आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् । समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा रहेको बनौँमा एक वर्षअघि मात्रै कालोपत्र सडक पुगेपछि बागलुङ, पर्वत, म्याग्दी र काठमाडौँलगायतका क्षेत्रबाट आन्तरिक पर्यटक यहाँ आउन थालेका हुन् । बनौँमा आन्तरिक पर्यटक बढ्न थालेपछि भारतीय सेनाबाट अवकाश प्राप्त डम्मरबहादुर फगामीले ‘काकई सामइ घारबास’ समेत सञ्चालनमा ल्याएका छन् । बनौँमा सडकको सहजतासँगै बढ्दै गएका आन्तरिक पर्यटकलाई लक्षित गरी आफूले नौ महिनादेखि घरबास सञ्चालनमा ल्याएको बताए । ‘पर्यटकलाई आउन सडक नै चाहिँदो रहेछ, जब एक वर्षअघि सडक कालोपत्र भयो, त्यसपछि यहाँ आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भयो, सामाजिक सञ्जालको प्रभावका कारणसमेत यहाँ आउनेको सङ्ख्या बढी छ, राजमार्गसँग जोडिएका बागलुङ, पर्वत र म्याग्दीको सदरमुकामबाटै एक/डेढ घण्टाको यात्रामा बनौँ आउन सकिन्छ’, फगामीले भने, ‘५० लाख रुपैयाँको लगानीमा घरबास सञ्चालनमा ल्याएको हुँ, अहिले एक रातमा २० जनासम्म पाहुँना राख्ने क्षमता घरबासको छ ।’ चौबिस वर्ष भारतीय सेनामा कार्यरत भई नायब सुबेदारबाट छ वर्षअघि अवकाश प्राप्त गरी गाउँ आएका फगामीले आफूलाई सहरको मोह नभएका कारण गाउँमै घरबास सञ्चालनमा ल्याएको बताए । फगामीका अनुसार शुक्रबार र शनिबार आफ्नो घरबासमा पर्यटकको चाप हुने र अघिपछिको समयमा थोरै मात्र पाहुना आउने गर्दछन् । फगामीको काकई सामइ घरबास जैविक परिकारका पारखीका लागि निकै राम्रो गन्तव्य बनेको छ । उनको घरबासमा लोकल कुखुरा, सिस्नो, कोदोको ढिँडो, गुन्दु्रक, मकै, भट्ट, आलु, जौको ढिडो र खसीको मासुलगायतका परिकारको स्वाद लिन पाइन्छ । यहाँ आउने पर्यटक सहर बजारको कोलाहल छल्न, हल्जुरेडाँडाबाट दृश्यावलोकन गर्न र देवीथान मन्दिर दर्शनका लागि आउने गरेको पाइन्छ । जलजला गाउँपालिका–९ स्थित बनौँ लेकमा सबैभन्दा बढी पर्यटक बागलुङबाट आउने गरेको उनको भनाइ छ । बनौँ गाउँमा पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पछिल्लो समय घरबासका साथै अन्य होटलसमेत सञ्चालनमा आउन थालेका छन् । चिसो हावापानीमा जैविक स्वाद लिँदै घरबासमा रमाउन बागलुङ बजारबाट बनौँ आएका आन्तरिक पर्यटक नारायण रिजालले बताए । ‘सामाजिक सञ्जालमा अहिले बनौँ जाने लहडै चलेको देखे, बनौँका विषयमा धेरै चर्चा सुनेकाले छ जना साथीसहित बनौँ आएका हौँ’, उनले भने, ‘बेलुका घरबासमा जैविक परिकारको स्वाद लियौँ भने बिहानै देविथान रहेको डाँडामा पुगेर दृश्यावलोकनसँगै तीन जिल्लाको सदरमुकाम देख्यौ, निकै आनन्द आयो, अहिले गर्मी पलाईसकेको अवस्थामा यहाँ निकै चिसो हावापानी रहेछ ।’ बनौँँ लेक पुगका पर्यटकले देवीथानको डाँडामा बनाइएको वनभोजस्थलमा टेन्ट हालेरसमेत बस्ने गरेका स्थानीय अमबहादुर गर्बुजाले बताए । बनौँ लेकबाट धवलागिरिका तीन जिल्ला सदरमुकाम बागलुङ, बेनी र कुस्मा बजार एकैसाथ देख्न सकिन्छ । हल्जुरेडाँडाबाट देखिने सूर्योदयले दार्जलिङको झल्को दिने गरेको त्यहाँ पुग्ने पर्यटकले बताएका छन् । मध्यपहाडी पुष्पलाल लोकमार्ग बागलुङ–पर्वत खण्डको अर्मादीबाट एक घन्टामै पुग्न सक्ने स्थानमा रहेको बनौँ पुग्ने सडक कालोपत्र भएपछि चर्चामा आएको पर्यटकीय गन्तव्य हो । कला, संस्कृतिको धनी रहेको बनौँ गाउँमा मगर समुदायको बाहुल्यता छ । उनीहरुको मारुनी नाच र मगर बाजा यहाँको पहिचानसमेत हो । उच्च पहाडी भेगमा पर्ने बनौँ लेकमा उत्पादित आलु र निकै स्वादिष्ट हुने गरेको छ । बनौँ लेकबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरिलगायतका दर्जनौँ हिमशृङ्खलासमेत देख्न सकिन्छ । रासस
सहकारी संस्थाहरुमा समस्या आउनुमा सरकारको कमजोरी
काठमाडौं । पछिल्लो समय सहकारी संस्थाहरुमा समस्या आउनुमा सरकारको कमजोरी रहेको सरोकारवालाहरुले बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै अधिकांश सहकारी अभियानकर्मीहरुले सरकारको कमीकजोरीको कारण सहस्या आएको दाबी गरेका हुन् । उनीहरुले सहकारीलाई नियमन गर्ने निकायहरुले जथाभावी रुपमा सहकारी दर्ता गर्नाले समस्या बढ्दै गएको बताए । उनीहरुले सरकारले सहकारी संस्था दर्ता गर्ने र नियमन नगर्ने हुँदा समस्या आएको उल्लेख गरेका छन् । उनीहरुले सरकारले नियमनकारी निकायलाई मजबुत बनाएर कडाइका साथ नियमन गरे तत्कालको समस्या समाधान हुने बताए । कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सरकारले सहकारी संस्था दर्ता गर्ने र नियमन नगर्ने गर्दा समस्या आएको दाबी गरे । उनले सरकारले सहकारी दर्ता गरी कडाइका साथ नियमन गर्नसक्दा नै ओरियन्टल, सिभिल सहकारीको जन्म भएको बताए । उनले पछिल्लो समय समस्याग्रस्त देखिएका सहकारीलाई कडाइका साथ नियमन गरी समस्याको समाधान गर्न आवश्यक रहेको जानकारी दिए। अध्यक्ष कँडेलले सरकारलाई सहकारी कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधीकण गठन गर्न आग्रह गरे । उनले गैर कानूनी ढंगले आर्जन गरेको सम्पती सहकारीमा नआओस् भन्नेमा सहकारी अभियान सचेत रहेको उल्लेख गरे । कार्यक्रमा सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले ९० प्रतिशत सहकारीका सञ्चालक कम्पनीमा आवद्ध रहेकाले समस्या आएको बताए । उनले कम्पनीका सञ्चालक सहकारीका अध्यक्ष हुने र संस्थाको रकम बिना धितो कम्पनीमा लगानी गर्दा थप समस्या आएको बताए । उनले सहकारीको पैसा कम्पनीमा जान नहुने र कम्पनीमा भएको पैसा सहकारीमा जान नहुने ऐन भएपनि कार्यान्वयनमा नआएको बताए । उनले सहकारीमा भएका समस्या समाधान गर्न ऐन कानूनमा रहेका समस्याको सरकारले सम्बोधन गर्न आवश्यक रहेको जानकारी दिए। सहकारीको ब्याजदर स्वतन्त्र रुपमा चल्न दिनुपर्ने उनको भनाइ छ । अध्यक्ष उप्रेतीले सरकारले पहिला सहकारीलाई बचाउन आवश्यक रहेको भन्दै बचाएर मात्रै सुशासनमा ल्याउनुपर्ने बताए । उनले सहकारी ऐन संशोधन गर्दा २५ लाखको सीमा नहटे त्यसको विकल्पमा जाने बताए । उनले सरकारले सहकारीको तरलता कोषमा सरकारले १० अर्ब रुपैयाँ दिए बाँकी सहकारी जिम्मा लिन तयार रहेको बताए । त्यस्तै, नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले राष्ट्र बैंकले सहकारी संस्थाहरुलाई नियमन गर्नसक्ने बताए । उनीले राष्ट्र बैंकले कारबाही गर्ने अधिकार पाउने हो भने नियमन गर्न सकिने बताए । शिवाकोटीले सहकारीको नियमन गर्ने भनेर अनुसन्धान, अध्ययन र प्रतिवेदन बुझाउनका लागि मात्र केन्द्रिय बैंकले नियमनको जिम्मेवारी नलिने बताए । उनले सहरकारी ऐन नै संशोधन गरेर कारबाही गर्ने जिम्मेवारी दिए राष्ट्र बैंकले नियमन गर्नसक्ने बताए । उनीले राष्ट्र बैंककले नसके अर्को संस्था खोलेर भएपनि अनुगमन गराउन सक्ने बताए । उनले राष्ट्र बैंकले सहकारी नियमन महाशाखा खोलेर एक जना कार्यकारी निर्देशक, ४ जना निर्देशक, क्षमतावान कर्मचारी राखेर नियमन गर्नसक्ने दाबी गरे । उनीले सहकारीमा समस्या आएपछि मात्र राष्ट्र बैंक गुहार्ने प्रचलन बढेको बताए । सहकारी संस्थाहरु कसरी चाँडो पैसा कमाउने, घरजग्गामा लगानी गर्नेतर्फ लाग्दा अहिले समस्या देखिएको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरु जस्तै सहकारीहरु पनि मर्जरमा गएर पुँजी वृद्धि गरी प्रविधिको प्रयोग बढाउन आवश्यक रहेको उनको भनाइ छ ।
सामान्य अंकले बढ्यो नेप्से, साढे २ अर्बको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज तीव्र उतारचढावकाबीच सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज चार दशमलव ५५ अङ्कले बढेर दुई हजार २७ विन्दुमा कायम भएको छ । एक हजार नौ सय ६३ को न्यूनतम विन्दुसम्म झरेको परिसूचक सम्हालिएर बजार बन्द हुने बेला केही अङ्कले बढेको हो । नेप्सेका अनुसार आज दुई सय ६२ वटा कम्पनीको ६५ लाख १५ हजार आठ सय ५२ कित्ता शेयर ५० हजार पाँच सय ३२ पटक खरिदबिक्री हुँदा दुई अर्ब ५२ करोड ५० लाख ७१ हजार आठ सय बराबरको कारोबार भएको छ । आज बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक घटेको छ भने अरु समूहको उपसूचक बढेको छ । बैंकिङ समूह ११ दशमलव ९१, जीवन बीमा समूह १३ दशमलव ९६, उत्पादन समूह १४ दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव ०१ र व्यापार समूह ३० दशमलव ५० अङ्कले घटेको छ । आज लघुवित्त समूहको उपसूचक सबैभन्दा धेरै एक सय आठ दशमलव ४५ अङ्कले बढेको छ । त्यस्तै विकास बैंक समूह ३० दशमलव २०, वित्त समूह २३ दशमलव ९०, होटल तथा पर्यटन समूह ७२ दशमलव २१ र जलविद्युत् समूह १८ दशमलव ८८ अङ्कले बढेको छ । त्यस्तै, लगानी समूह शून्य दशमलव ३९, निर्जीवन बीमा समूह २७ दशमलव ५९ र अन्य समूहको उपसूचक आठ दशमलव ३४ अङ्कले बढेको छ । आज विजया लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता सात दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फन्ड–१ का लगानीकर्ताले प्रतिकित्ता सात दशमलव ८५ प्रतिशतका दरले गुमाएका छन् । आज हिमालय डिस्टिलरी लिमिटेडको सबैभन्दा धेरै १० करोड ५८ लाख ७० हजार बराबरको कारोबार भएको छ ।
रिद्धि सिद्धि सिमेन्टद्वारा मनहरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामाग्री हस्तान्तरण
मकवानपुर । रिद्धि सिद्धि सिमेन्टले मनहरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । नेपालमा पहिलो पटक अत्याधुनिक रोवोटिक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले मकवानपुर, मनहरी – ८, सिम्पानीमा अवस्थित मनहरी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्यूटर, प्रिन्ट, प्रोजेक्टर, सहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार आयोजित सो कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका प्रमुख कार्यकारी अधिकृत गुण बहादुर खनालले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लाकै विकट क्षेत्र (राक्सिराङ्ग कैलास, मनहरी) लगायतका क्षेत्रका आर्थिक रुपमा विपन्न विधार्थीहरुले लाभाम्वित हुने गरि हामीले यो शैक्षिक सामाग्रीहरु वितरण गरेका हौं ।’ उक्त कार्यक्रममा क्याम्पसका अध्यक्ष तथा पूर्वसांसद ओम बहादुर घलानले कम्पनीको सहयोग प्रति हार्दिक मन्तव्य तथा आभार व्यक्त गर्दै उद्योग सञ्चालन र विकाशका लागि सो भेगका जनताले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। आगामी दिनमा पनि कम्पनीले यस्तै सामाजिक कार्यक्रम गर्दै जाने जनाएको छ ।