आर्थिक सहायताका नाममा सरकारले बाँड्यो साढे ५ करोड, पूर्व राष्ट्रपतिदेखि भुटानी शरणार्थीसम्मले पाए
काठमाडौं । चालू आर्थिक वर्षको सात महिनाको अबधिमा सरकारले आर्थिक सहायताका नाममा पूर्व राष्ट्रपतिदेखि पूर्व प्रधानमन्त्री लगायत लाई साढे ५ करोड रुपैयाँ बाडेको पाइएको छ । गत साउनदेखि माघ मसान्तसम्म सरकारले १३९ जनालाई आर्थिक सहायता स्वरुप ५ करोड ४६ लाख ३४ हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको हो । सोमबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको ७ महिनाको तथ्यांक अनुसार सबैभन्दा धेरै आर्थिक सहायता पूर्वराष्ट्रपति रामवरण यादवलाई दिईएको छ । २०७९ को कात्तिक ३ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार पूर्व राष्ट्रपति डा यादवलाई औषधि उपचार खर्च बापत २५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको उल्लेख छ । त्यस्तै मंसिरमा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई २० लाख रुपैयाँ दिईएको छ । भदौ ३१ गते तथा असोज ७ गतेको निर्णय अनुसार उक्त रकम वितरण गरिएको उल्लेख भएतापनि खनाललाई कुन प्रयोजनका लागि रकम उपलब्ध गराइएको उल्लेख गरिएको छैन् । यस्तै, भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई सरकारले दुई चरणमा गरी २७ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराईएको छ । अर्थले सार्वजनिक गरेको आर्थिक सहायता वितरणको तथ्यांक अनुसार सबैभन्दा धेरै रकम भदौ महिनामा वितरण गरिएको छ । भदौ महिनामा मात्रै ३१ जनालाई १ करोड ४१ लाख ७७ हजार रुपैयाँ वितरण गरिएको छ । यस्तैगरी, साउन महिनामा मन्त्रालयले १९ जनालाई ९५ लाख, असोज महिनामा १ जनालाई २५ लाख रुपैयाँ र कात्तिक महिनामा ७ जनालाई ४४ लाख रुपैयाँ वितरण गरिएको छ । यस्तैगरी, मंसिर महिनामा ५८ जनालाई १ करोड ३० लाख ८४ हजार रुपैयाँ, पुस महिनामा २१ जनालाई ८८ लाख ७२ हजार रुपैयाँ र माघ महिनामा २ जनालाई २४ लाख रुपैयाँ आर्थिक सहायत मार्फत वितरण गरिएको उल्लेख छ । [pdf id=391670]
नवलपरासीमा विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन बन्द
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को परासीस्थित आदर्श माविका छात्राहरु अचानक बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ । हिजो र आज लगातार विद्यार्थी बेहोस हुने क्रम बढेकाले दुई दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक दीपक भट्टराईले जानकारी दिए। विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत छात्रामा बेहोस हुने समस्या देखिएको उनको भनाइ थियो । ‘आइतबार विद्यालयमा प्रार्थनाको समयमा छ छात्रा बेहोस भएका थिए’, उनले भने, ‘आज विद्यालय सुरु हुन लाग्दा थप दश छात्रा बेहोस भएपछि पृथ्वीचन्द्र अस्पतालमा उपचारका लागि उनीहरुलाई पठाइएको छ ।’ रोग पत्ता नलागेकाले अन्य विद्यार्थीलाई सङ्क्रमण नहोस् भनेर नगरपालिकाको समन्वयमा आज र भोलि विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालयले जनाएको छ । अस्पतालमा हाल दश छात्रा उपचाररत रहेका र सङ्ख्या बढ्दै जानसक्ने पृथ्वीचन्द्र अस्पतालका मेसु डा मोहम्मद नुरुल होदाले बताए । हिजो आएका तीन जनालाई उपचारपछि घर पठाइएको र आज दश जनाको उपचार भइरहेको उनको भनाइ थियो । ‘यो मास हिस्टेरिया हुनसक्ने भएकोले विद्यालयमै पुगेर अध्ययन गरिने छ’ मेसु होदाले भने, ‘मानसिक समस्याका कारण यस किसिमको रोग देखिने भएकाले स्वास्थ्यकर्मी परिचालन गरेर विद्यालयका शिक्षक तथा अभिभावकलाई काउन्सिलिङ गर्न लागिएको छ । रासस
बीमा गरिएको सम्पत्ति नोक्सानी भए कति पाइन्छ क्षतिपूर्ति ? यस्ता छन् दावी दिँदा चाहिने कागजातहरु
अचानक भवितव्यबाट हुने कुनैपनि क्षतिलाई आर्थिक सुरक्षाको माध्यमबाट उक्त हानी नोक्सानीको पूर्ति गर्दै सामान्य जिवनयापन गर्ने पारस्परिक सहयोग एवं समझदारीबाट अघि बढ्ने कानुनी प्रक्रिया नै बीमा हो । यसलाई जोखिम हस्तान्तरण गरिने माध्यम पनि भनिन्छ । लण्डनको लियोड्स कफी हाउसबाट जोखिम परेकाहरु एकजुट भई आफ्नो सदस्यहरुको पानी जहाजबाट आउने जाने सामानको दुर्घटनाबाट हुने हानी नोक्सानीको क्षतिपूर्ति स्वरुप भएको सामुन्द्रिक बीमा आजको आधुनिक समाजमा दिनानुदिन लोकप्रिय बन्दै मानिसको जीवनको आर्थिक सुरक्षाको अभिन्न अंग बन्दै गइरहेको छ । आज निर्जीवन बीमामा दुर्घटना, औषधो उपचार, अग्नि, भूकम्प, प्राकृतिक प्रकोप, हुलदंगा हडताल, आतंकवाद, मोटरसाइकल, हवाइजहाज, कृषि पैदावार, पशुधन, निक्षेप तथा ऋण सुरक्षण आदीको बीमालेखले जोखिम बहन गर्दै आएको छ । बीमा कम्पनीको दुई प्रमुख कार्य हुन्छन् । पहिलो कार्य : सम्भावित जोखिम विभिन्न शर्त पालन गर्ने गरि बीमालेख जारी गर्नु । दोस्रो कार्य : बीमालेख जारी गरे पश्चात सम्भावीत दुर्घटना क्षति भए पछि दावी भुत्तानी फर्छ्यौट गर्नु । जब कुनै पनि दावी सम्बन्धी घटना घट्न जान्छ तबमात्र बीमितको लागी बीमालेख अर्थपूर्ण हुन्छ । निर्जीवन बीमाको मुख्य उद्देश्य बीमितले बीमाशुल्क भुक्तानी गरिसकेपछि बीमा गरिएको सम्पत्ति हानी नोक्सानी भएमा सोको क्षतिपूर्ति गर्नु बीमा कम्पनीको दायित्व हो । बीमाशुल्क भनेको बीमा कम्पनीले बीमा प्राधिकरणबाट निर्दिष्ट गरेबमोजिम जोखिम ग्रहण गरेबापत लिने शुल्कलाई बुझिन्छ । जो सम्पत्तिको मूल्य बीमांक रकम (सम इन्स्योर्ड) को आधारमा बीमाशुल्क निर्धारण गरिन्छ । तर्सथ बीमितले बीमा सम्पत्तिको बजार मूल्यको आधारमा सहि मूल्य निर्धारण गरि बीमांक रकम तोक्नु पर्छ । त्यसैगरी बीमितले दावी परेको बखत दावीको उल्लेखित क्षतिपूर्ति पाउन पनि सहि बीमांक तोकिन आवश्यक हुन्छ । निर्जीवन बीमा नाफा नभई क्षतिपूर्तिको सिद्धान्तमा आधारित बीमा हो जस बमोजिम दावी परेको बखत बीमीतलाई दावी भुत्तानी गरि बीमितलाई सकभर दावी पर्नभन्दा अगाडिको यथास्थितिमा पुर्याई दिनु हो तर यदि पछि बीमितले बीमा गर्दा सम्पत्तिको बीमांक रकम मूल्यभन्दा कम तोकेको भएमा न्यून बीमा (अन्डर इन्स्योरेन्स) भएको मानिन्छ । बीमितले आफ्नो सम्पूर्ण सम्पत्तिको कम बीमांक तोकेर बीमाशुल्क पनि कम मात्र भुक्तानी गरेको हुन्छ । तसर्थ दावी पर्दा सम्पूर्ण नोक्सानीको क्षतिपूर्ति गरी दिनु बीमा कम्पनीको दायित्व हुँदैन । क्षतिपूर्तिको सिद्धान्त बमोजिम बीमांक रकम कम तोकिएको अवस्थामा जति प्रतिशतले न्यून बीमा हुन्छ सोही अनुपातमा क्षतिपूर्ति रकम पनि कम पाइन्छ । यसको सानो उदाहरण यस प्रकार छः बीमितको वास्तविक क्षति ५ लाख भएता पनि बीमितले क्षति भएको सम्पत्तिको बजार मूल्यभन्दा कम्तिमा बीमांक भएको हुँदा बीमकले २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गर्दछ । अर्थात् बीमकले समानुपातिक रुपमा क्षतिपूर्ति प्रदान गर्दछ । दावी परेको सम्पत्तिको मूल्य नाफा बाहेकको मूल्य भन्ने बुझ्नु पर्दछ । अतः आफ्नो सम्पत्तिको बीमा गर्दा सही बीमांक रकम तोकी बीमालेख खरिद गर्नुपर्छ । जसले गर्दा भविष्यमा हुने हानी नोक्सानीको वास्तविक क्षतिपूर्ति पाइन्छ । यदि बीमांक रकम वा दोहोरो बीमालेख जारी गरि बीमा भएको खण्डमा दावी पर्दा बढि क्षतिपूर्ति नदिई नोक्सानीको सहि मूल्याङ्कन गरेर मात्र भुक्तानी दिइने हुनाले बढि बीमांक वा दोहोरो बीमालेख जारी गर्दा बीमाशुल्क मात्र बढी तिर्नु पर्ने हुन्छ डबल फाइदा पाइँदैन । निर्जीवन बीमामा बीमालेखले क्षतिपूर्ति गर्ने अधिकतम सीमा बीमांक रकम नै हुन्छ, कुनै पनि बीमालेखले बीमांक रकमभन्दा बढी क्षतिपूर्ति प्रदान गर्ने छैन । सम्पत्तिको वास्तविक मूल्य निर्धारण गर्ने आधारहरु १) खरिद मूल्य- सुरुमा सामान खरिद गर्दा परेको वास्तविक मूल्य २) ह्रासकट्टी पछिको मूल्य- डिप्रिसिएटेड भ्याल्यु तोकिएको दरमा खरिद मूल्यमा नियम बमोजिम ह्रासकट्टी गरि कायम हुन आउने मूल्य ३) बजार मूल्य- दुई पक्ष समझदारीको आधारमा किनबेच हुने मूल्य ४) मूल्यांकित वस्तुहरु- बहुमूल्य धातु तथा कलात्मक वस्तुहरु तपाईंले आफ्नो भवन वा फ्याक्ट्रीको बीमा गर्नु पर्यो भने भवन वा फ्याक्ट्रीमा भएका मेसिन तथा उपकरणको बीमांक रकम तोक्दा नयाँ भवन तथा फ्याक्ट्रीमा भएका मेसिन तथा उपकरण नयाँ बनाउन लाग्ने खर्चमा भवन तथा मेसिन कति पुरानो छ त्यो बापत ह्रासकट्टी गर्दा आउने मूल्य बराबर बीमांक रकम राख्दा न्यून बीमा हुने सम्भावना कम हुन्छ । अन्य सम्पत्तिमा पनि यहि नियम लागू हुने गर्दछ । साथै, त्यसमा हालको बजार मूल्यको आधार मानेर पनि ह्रासकट्टी गरि बीमांक रकम तोक्न सकिन्छ । साधारणतया मोटर बीमा बाहेक ह्रासकट्टी पछिको मूल्यको आधारमा बीमांक निर्धारण गरि दावी पर्दा सोही आधारमानी क्षति मूल्याङ्कन गरि दावी भुक्तानी गरिन्छ । सवारी साधनको बीमा दावी गर्दा चाहिने आवश्यक कागजातहरु : – दुर्घटनाको लिखितम जानकारी – सवारी साधनको सम्पूर्ण प्रमाण पत्रहरु – चालक अनुमति पत्र – सवारी मर्मत गर्न लाग्ने अनुमानित खर्च – सवारी मर्मतको नगद बील – चालकको बयान – दावी फारम – प्रहरी प्रतिवेदन – बीमालेखको प्रतिलिपी – मिला पत्र – औषधि उपचारको बील तथा रिपोर्टहरू – अन्य कागजातहरु सम्पत्ति बीमा दावी गर्दा चाहिने आवश्यक कागजातहरू : – दुर्घटनाको लिखित जानकारी – बीमालेखको प्रतिलिपी – दावी फारम – अनुमानित खर्च – नगद बील – सरकारी निकायबाट दुर्घटना भएको प्रमाणपत्र – अन्य कागजातहरु कृषि, पशुपंक्षी, बाली तथा जडिबुटी दावी गर्दा चाहिने कागजातहरु : – दुर्घटनाको लिखित जानकारी – दावी फारम – बीमालेखको प्रतिलिपी – सरकारी निकायबाट दुर्घटना भएको प्रमाणपत्र – सर्जमिन मुचुल्का – अन्य कागजातहरु (लेखक खनाल हाल आईएमई जनरल इन्स्योरेन्समा कार्यरत छन् । उनी सो इन्स्यारेन्सको प्रवर्द्धक हुन् ।)
ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार १४८ चालक कारबाहीमा
काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौँ उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार चलाएको विशेष कारबाहीमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सङ्ख्यामा चालकलाई कारबाही गरेको हो । कार्यालयले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने एक सय १४, लेन अनुशासन पालना नगर्ने ९४, रातो बत्ती नमान्ने ५९, हर्न बजाउने ५१, नम्बर प्लेट मेटिएका २८ र अन्य दुई हजार आठ सय दुई जनालाई कारबाही गरिएको कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकाभित्र ट्राफिक नियम उलङ्घन गरी सवारीसाधन चलाउने चालकमाथि विशेष कारबाही गर्दै आएको प्रवक्ता भट्टले बताए ।
विद्यार्थीलाई संस्कार सिकाउने अभियान
झापा। धर्म, संस्कृति, नैतिकता र संस्कार पढाउन यहाँका २५ स्थानमा संस्थागतरुपमै अनौपचारिक कक्षा सञ्चालन भइरहेका छन् । जनकल्याण प्रतिष्ठान एकल अभियान नेपालले जिल्लाको भद्रपुर, शिवसताक्षी नगरपालिका, अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिका र हल्दीबारी गाउँपालिकामा एकल विद्यालय अभियानअन्तर्गत विद्यालय जाने उमेरका बालबालिकालाई त्यस्तो कक्षामा सहभागी गराउँदै आएको छ । विद्यालयमा औपचारिक शिक्षा पाइरहेका विद्यार्थीलाई उनीहरुको बिहान र बेलुकाको उपयुक्त समय मिलाएर संस्कारयुक्त शिक्षा प्रदान गर्न एकल विद्यालय अभियान सञ्चालन गरिएको जनकल्याण प्रतिष्ठान एकल अभियानका जिल्ला अध्यक्ष शङ्कर भट्टराईले बताए । जिल्लाका २५ वटै कक्षाका लागि अध्ययन गर्ने स्थान, कापी, किताब र शिक्षकको व्ययभार प्रतिष्ठानले बेहोर्दै आएको उनले जानकारी दिए । प्रतिष्ठानले शिक्षकलाई मासिक पारिश्रमिक दिँदै आएको छ । एकल विद्यालयमा विद्यार्थीलाई ध्यान र योग सिकाउनुका साथै मातापिता र अग्रजलाई गरिने आदर व्यवहारका बारेमा संस्कारयुक्त ज्ञान दिइने गरिएको अभियानका शिवसताक्षी प्रमुख पीताम्बर बरालले बताए। नैतिकता, संस्कार, भाषा, गणित, सामान्य ज्ञान, विज्ञान, हस्तशिल्प, स्वास्थ्य र शारीरिक शिक्षासमेत एकल विद्यालयमा पढाइने उनले जानकारी दिए । प्रतिष्ठानका जिल्ला अध्यक्ष भट्टराईका अनुसार २७ वर्ष पहिले धादिङको एउटा गाउँमा २८ विद्यार्थी पढाएर नेपालमा एकल विद्यालय अभियान प्रारम्भ भएको थियो । अहिले देशभर ४६ जिल्लाका पाँच सय एक गाउँमा यस्तो संस्कार सिकाउने कक्षा सञ्चालन भइरहेका छन् । एकल विद्यालयमा अध्यापन गर्ने शिक्षकलाई आर्थिक स्रोतको अभावमा पर्याप्त पारिश्रमिक दिन नसकिएको उनले बताए । एउटा कक्षा सञ्चालन गर्न वार्षिक न्यूनतम ३६ हजार अतिरिक्त खर्च हुने गरेको बताइएको छ । शिवसताक्षीको वडा नं ४ का वडाध्यक्ष विष्णु प्रसाईंले एकल अभियानको कक्षामा नियमित जाने विद्यार्थी नैतिक अनुशासन र संस्कार पालनामा उदाहरणीय हुने गरेकामा प्रशन्नता प्रकट गरे । ‘मातापिता र अग्रजप्रति कसरी राम्रो व्यवहार गर्ने कुरा नानीबाबुले एकल विद्यालयमा सिक्न पाएका छन्’, वडाध्यक्ष प्रसाइँले भने, ‘योग र धर्मको आधारभूत ज्ञान पाउँदा उनीहरुमा विनम्रताको विकास हुँदोरहेछ भन्ने अभिभावकले पनि बुझेका छन् ।’ रासस
फागुन २५ गतेदेखि आइपीओ निष्कासन गर्दै माई खोला हाइड्रोपावर
काठमाडौं । माई खोला हाइड्रोपावरले यही फागुन २५ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार आठ सयको १० प्रतिशत अर्थात् तीन करोड ९२ लाख १५ हजार सात सय बराबरका एक सय दरका तीन लाख ९२ हजार एक सय ५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाका लागि निष्कासन गर्न लागेको हो । त्यस्तै एक लाख ५२ हजार नौ ४१ कित्ता सेयर सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरिने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ । निष्कासन गरिने सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिदका लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीले अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । त्यसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन बन्द छिटोमा आगामी चैत ९ गते हुनेछ भने ढिलोमा चैत २४ मा हुने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेभित्र आवेदन दिनुपर्नेछ । स्थानीय बासिन्दाले हाइड्रोपावरको कार्यालय, प्रभु बैंक, सेञ्चुरी बैंक, प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयका साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइन व्यवस्थाबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनमार्फत ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्युअर बिबी प्लस’ रेटिङ प्रदान गरेको छ । कम्पनीले इलाममा तीन मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरी विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान भई बिक्रीसमेत गरिरहेको छ ।
रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने, राष्ट्रपतिमा भने अनिर्णित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रिय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । उनले बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली काँग्रेस दुवै दलले सहयोग मागेपनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय लिइ नसकेको स्पष्ट पारे । सहमहामन्त्री बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गरेको बताए ।
सानिमा मिडिल तमोर हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै
काठमाडौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही फागुन २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन आइपिओको निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले एक सय दरका ४२ लाख ४८ हजार नौ सय ३८ रुपैयाँ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने भएको छ । यसअघि कम्पनीले आफ्नो जारी पुँजी तीन अर्ब ३३ करोड २४ लाख रुपैयाँको १० प्रतिशतले हुने रकमको ३३ लाख ३२ हजार पाँच सय कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दामा निष्कासन र बाँडफाँट भएको छ । त्यस्तै चार लाख ९९ हजार आठ सय ७५ कित्ता विदेशमा रोजगारमा रहेका नेपालीका लागि तथा दुई लाख ४९ हजार नौ सय ३७ कित्ता सामूहिक लगानी कोषलाईसमेत प्राथमिक शेयरको निष्कासन तथा बाँडफाँट भइसकेको छ । निष्कासित शेयरमा लगानीकर्ताले यही फागुन ३० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् । त्यस अवधिमा मागबमोजिम आवेदन नपरेमा आगामी चैत १० गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै ‘मेरो शेयर’मार्फत अनलाइन प्रणालीबाट समेत शेयर खरिदको आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले ताप्लेजुङको फक्तङलुङ र मिक्वाखोला गाउँपालिका तथा फुङ्लिङको सिमाना भएर बग्ने तमोर नदीको बहाव सदुपयोग गरी ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।