नेपालमा स्टिल र सिमेन्ट क्षेत्रको छलफल गर्न ट्रेड समिट सुरु हुदैँ
काठमाडौं । दोस्रो नेपाल ट्रेड समिट सुरु हुने भएको छ । फागुन १७ र १८ गते काठमाडौंमा नेपाल ट्रेड समिट हुने भएको हो । नेपालमा स्टिल, सिमेन्ट र कोइला क्षेत्रको सम्भावना र चुनौतीबारे छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले समिट आयोजना गरेको हो । काठमाडौंको सोल्टी होटलमा हुने उक्त सम्मेलन नेपाली स्टिल उद्योगको वर्तमान अवस्थाको सूक्ष्म र बृहत् मापन; स्टिल र सिमेन्ट उद्योगसँग सम्बन्धित प्रमुख सरकारी नीतिमाथि छलफल, स्पन्ज आइरनको भावी परिदृश्य, नेपाली सिमेन्ट उद्योगका लागि अवसर, गुणस्तरीय स्टिल उत्पादनको बढ्दो महत्व, स्टिल उद्योगले सामना गरिरहेका प्रमुख चुनौती, मार्जिन व्यवस्थापनका उपायका रुपमा गरिने ब्याकवार्ड इन्टेग्रेसन, नेपालमा कोइला आयातको अवस्था, चुनौती र अवसरमा केन्द्रित हुनेछ । यसपालि नेपाल ट्रेड समिटको दोस्रो संस्करण हुन लागेको हो । स्टिलमिन्ट ग्रुपले यसअघि सन् २०१८ मा नेपाल ट्रेड समिट गरेको थियो । स्टिलमिन्ट ग्रुपले नेपाल भारत, बंगलादेश, युएई र थाइल्यान्डमा गरी झन्डै डेढ दर्जन सेमिनार र सम्मेलन गरिसकेको छ । सम्मेलनको उद्घाटन सत्रमा नेपाल सरकारको नीति र अर्थतन्त्रमा त्यसको प्रभावबारे छलफल हुने कार्यक्रम छ । उद्घाटन सत्रमै विश्वव्यापी स्टिल बजारको बदलिँदो गतिशीलता, नेपाली स्टिल र सिमेन्ट उद्योगको परिदृश्य, नेपाली स्टिल र सिमेन्ट उद्योगको लागि कच्चा पदार्थ स्रोतको विकल्प, स्टिल उत्पादनका लागि आवश्यक पर्ने प्रमुख कच्चा पदार्थको मूल्य परिदृश्यबारे पनि छलफल हुनेछ । प्राविधिक सत्रमा नेपालको दृष्टिकोणबाट स्टिल मेल्टिङमा फिडस्टकको सही मिश्रण, स्टिल मेल्टिङ प्रविधि र कार्यदक्षता सुधारबारे छलफल हुनेछ । समिटमा २५० भन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन् । प्लाटिनम पार्टनर इलेक्ट्रोथर्म रहेको समिटमा गोल्ड पार्टनरको रुपमा विजय स्टिल, जीवानी फ्युल्स प्रालि र अशोक स्टिल रहेका छन् । त्यसैगरी, सिल्भर पार्टनरमा मेगाथर्म र इन्डक्टोथर्म ग्रुप रहेका छन् । समिटलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल सिमेन्ट उत्पादक संघ, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र नेपाल उद्योग परिसंघको सहयोग रहेका छ ।
नेपाल एयरलाइन्सको टिकटको रकम आइएमई पे मार्फत भुक्तानी गर्न सकिने
काठमाडौं । ‘आइएमई पे’ नेपाल एयरलाइन्सकाे विधुतिय भुक्तानी सेवा प्रधानकर्ताको रुपमा रहने भएको छ । सो सम्झौता अन्तर्गत ग्राहकवर्गहरुले नेपाल एयरलाइनसको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न सक्नेछन् । ग्राहकले नेपाल एयरलाइनसको वेबसाईटमा गइ आफ्नो आवश्यकता अनुरुपको गन्तव्य र मिति छानी, मागिएको विवरण भरेर चेकआउट गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सक्नेछन् ।
सरकारले गर्याे २३ अर्ब रकमान्तर, कुन शीर्षकमा कति ?
काठमाडौं । सरकारले विभिन्न शीर्षकमा विनियोजन गरिएको करिब २३ अर्ब रुपैयाँ रकमान्तर गरेको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको तथ्यांक विभिन्न १२ शीर्षकमा विनियोजन गरिएको २२ अर्ब ७४ करोड ९० लाख रुपैयाँ रकमान्तर गरेको हो । अर्थ मन्त्रालयका अनुसार पूँजीगत बजेटतर्फ १ करोड रुपैयाँ भन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को उपशीर्षकमा उक्त रकम बराबरको रकमान्तर भएको हो । कुनमा कति ?
नेपाल इन्स्योरेन्सका सञ्चालकहरुको समायावधि नथप्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्सका सञ्चालकहरुको समायावधि नथप्न निर्देशन दिएको छ । प्राधिकरणले सोमबार एक पत्र काट्दै इन्स्योरेन्सका अध्यक्ष अर्जुन पौडेल शर्मा र सञ्चालक विष्णु खेतान अग्रवालको कार्यकाल नथप्न सञ्चालक समितिलाई निर्देशन दिएको हो । इन्स्योरेन्स सञ्चालक समितिले गत जेठ ३० गते दुबै सञ्चालकको कार्यकाल थप्ने निर्णय गरेको थियो । यता बीमा प्राधिकरणले पनि मर्जरमा जाने सहमति अनुसार उनीहरुको नियुक्तिलाई स्वीकृति दिएको थियो । तर अब कम्पनी मर्जरमा नजाने भएसँगै प्राधिकरणले उक्त नियुक्तिलाई पुनर्विचार गर्न सञ्चालक समितिलाई पत्राचार गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘मर्जरमा जानको लागि सुविधा दिएका थियौं, अब मर्जरमा नजाने भएसँगै सञ्चालक समितिलाई नै निर्णय गर्न पत्र काटेका हौं,’ कार्यकारी निर्देशक पौडेलले भने । यसअघि नेपाल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने तयारीमा थिए । तर नेपाल इन्स्योरेन्स भने उक्त निर्णयबाट पछि हट्यो भने आईएमई लाइफ इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्जरमा जान प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । बीमा ऐन २०७९ अनुसार कम्पनीका अध्यक्ष तथा सञ्चालकको कार्यकाल ४ वर्षको हुने र आवश्यक परेमा थप एक कार्यकालको लागि पुनः नियुक्त गर्न सकिने व्यवस्था छ । इन्स्योरेन्सका अध्यक्ष शर्मा २०७३ साल साउन १४ गते कम्पनीको अध्यक्ष पदमा नियुक्त भएका थिए । त्यस्तै, सञ्चालक अग्रवाल २०७४ साल कार्त्तिक ६ गते इन्स्योरेन्सको सञ्चालक पदमा नियुक्त भएका हुन् ।
रुकुममा टर्कीबाट ल्याइयो १६ हजार ओखरका बिरुवा
रुकुम । रुकुम (पूर्व)मा टर्कीबाट १६ हजार दाँते ओखरको बिरुवा ल्याइएका छन् । डिभिजन वन कार्यालयले किसानको मागअनुसार टर्कीबाट १६ हजार फरनर जातको दाँते ओखरको बिरुवा ल्याएको हो । ती बिरुवा जिल्लाको विभिन्न ठाउँमा भोलि १६ गते एकै साथ लगाइँदै छ । लुम्बिनी प्रदेश वन मन्त्रीको उपस्थितिमा बिरुवा रोपिने वन कार्यालयका डिभिजनल वन अधिकृत जीतेन्द्रसिंह खड्काले जानकारी दिए । उनकाअनुसार ओखरका बिरुवा माग गर्दै परेको आवेदनमाथि हेरफेर गरेर एक सय ३८ किसानलाई ओखरको बिरुवा वितरण गरिएको छ । प्रत्येक किसानले न्यूनतम १० बोटदेखि ६६ सम्म ओखरको बिरुवा लिएका छन् । समग्रमा सिस्ने गाउँपालिकामा ७० घरधुरीलाई आठ हजार तीन सय ८५ बोट, भूमे गाउँपालिकामा ४० घरधुरीलाई छ हजार पाँच सय ४५ र पुथा उत्तरगङ्गा गाउँपालिकामा २८ घरधुरीलाई दुई हजार छ सय १४ बोट दाँते ओखरको बिरुवा वितरण गरिएको डिभिजनल वन अधिकृत खड्काले बताए । भोलि सिस्ने गाउँपालिका–५स्थित रुमाल बारामा लुम्बिनी प्रदेशका वन मन्त्री दुर्गाप्रसाद चौधरी, भूमे गाउँपालिका– ३ झुङ्लाबाङमा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ र पुथा उत्तरगङ्गा गाउँपालिकाको १३ पिपलतुङमा प्रदेश सांसद सुरुल पुन, दिलकुमारी बुढा र सरिता पुनले एकैसाथ ओखरको बिरुवा रोपेर उद्घाटन गर्ने कार्यक्रम छ । यी कार्यक्रममा तीन वटै पालिकाका अध्यक्ष तथा उपाध्यक्ष उपस्थित आ–आफ्नै क्षेत्रमा खटिने छन् । अन्य ठाउँमा वन कार्यालयका कर्मचारीको निगरानीमा ओखरका बिरुवा लगाइने भएको छ । वन कार्यालयका अनुसार सिस्ने गाउँपालिकाको १ देखि ८ सम्मका सबै वडा, भूमे गाउँपालिकाको १, ३, ६, ७, ८ र ९ नम्बर वडा तथा पुथा उत्तरगङ्गा गाउँपालिकाको १, २, ६, ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडामा ती बिरुवा रोपिने भएको छ । यी वडाको ४० हेक्टर जमिनमा भोलि एकै साथ १६ हजार बिरुवा रोपिने डिभिजन वन कार्यालयले जानकारी दिएको छ । गत वर्ष पनि वन कार्यालयले फरनर जातकै दश हजार ओखरको बिरुवा कसानलाई वितरण गरेकामा २५ हेक्टर जमिनमा ती बिरुवा लगाइएको थियो । यसै वर्ष पनि उक्त कार्यालयले जुम्लाबाट हाड्ले जातको एक हजार सात सय दाँते ओखरको बिरुवा ल्याएर वितरण गरेको थियो । हाडे ओखर प्रशस्त मात्रामा पाइने रुकुम(पूर्व) मा दाँते ओखरबाट राम्रो आयआर्जनको सम्भावना भए पनि लगाइएका बिरुवालाई हुर्काउन भने चुनौती छ । सिँचाइको सुविधा नभएको र किसानसँग आवश्यक ज्ञान नहुँदा पनि ओखर खेतीबाट सफलता हात पार्न सकिँदैन कि भन्नेमा किसानमा चिन्ता छाएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रुकुम (पूर्व) रोल्पा कार्यालयले पनि जिल्लाको विभिन्न ठाउँमा दाँते ओखरको बिरुवा वितरण गर्दै आइरहेको छ । रासस
रुपे इन्टरनेसनल कार्डहरु एससीटीमा आवद्ध संस्थाका एटीएममा प्रयोग गर्न सकिने
काठमाडौँ । डिस्कबर फाइनन्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआई अन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्डहरु एससीटीसँग आवद्ध फाइनान्स कम्पनी, सहकारी तथा बैंकका एटीएमहरुमा चलाउन मिल्ने भएका छन् । यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाद्वारा जारी गरिएका एक करोडभन्दा बढी रुपे इन्टरनेसनल कार्डहरु एससीटी नेटवर्क अन्तर्गतका एटीएम हरुमा प्रयोग गर्न सकिने भएको छ । यसका साथै डाईनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकहरुलाई पनि एटीएम मार्फत सहजै कारोबार गर्न सक्नेछन् । कम्पनीले यो सुविधा छिट्टै नै एनएमबी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुले संचालन गरेका एटीएमहरुमा पनि विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ । हाल भारतमा लोकप्रिय बन्दै गएको रुपे कार्ड भारतमा कार्यरत नेपालीहरु तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुलाई नेपालमा चलाउन निकै समस्या थियो ।
कुनै पनि देशले नेपालबाट मौसमी कामदार मागेका छैनन्, भ्रममा नपर्नु : विभाग
काठमाडौं । नेपालमा अहिलेसम्म कुनै पनि देशले मौसमी कामदार नमागेको वैदेशिक रोजगार विभागले जनाएको छ । सोमबार एक सूचना जारी गर्दै विभागले अहिलेसम्म कामदार माग गर्ने सम्बन्धमा सम्बन्धित नियोग र विभागमा कुनै डकुमेन्ट पेश नभएको जनाएको हो । विभागले पछिल्लो समयमा मौसमी कामदार पठाउने भनी विभिन्न अनलाइन माध्यमहरुमा भ्रामक सूचना प्रकाशन गरी श्रमिकहरुलाई खास गरी दक्षिण कोरिया पठाउने भनी विभागको जानकारीमा आएको र विभागमा उजुरी समेत परेको जनाएको छ । मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ को दफा ४ अनुसार मौसमी कामदारको रुपमा जाँदा शुल्क तिर्नु नपर्ने भन्दै कतिपय व्यक्तिहरुले भ्रामक सूचना फैलाएर पैसा उठाएको जानकारी विभागमा आएको जनाएको छ । विभागले दक्षिण कोरिया लगायत कुनै पनि मुलुकमा मौसमी कामदारको रुपमा जाने बारेमा भ्रममा नपर्न र रकम नबुझाउन सूचित गरेको छ । हेर्नुहोस विभागको सूचना
कम्बोडियाको बर्डफ्लुको जोखिम मानव समुदायमा कम रहेको डब्लुएचओको भनाइ
नोमपेन । कम्बोडियामा मानव समुदायमा बर्डफ्लुको जोखिम कम रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै डब्लुएचओले कम्बोडियामा एभियन इन्फ्लुएन्जाबाट सर्वसाधारणमा जोखिम कम रहेको जनाएको छ । यसअघि, गत हप्ता दक्षिणपूर्वी एसियाली राष्ट्रले बर्ड फ्लुबाट दुई जना मानिसमा सङ्क्रमण भएको पुष्टि गरेको थियो । दक्षिणपूर्वी प्रि वेङ प्रान्तकी ११ वर्षीया बालिका पहिलो सङ्क्रमित व्यक्ति रहेको र उनको फेब्रुअरी २२ मा भाइरसका कारण मृत्यु भएको थियो । उनका ४९ वर्षीय बुबालाई एक दिनपछि भाइरसको लागि सकारात्मक परीक्षण गरिएको थियो र हाल उनी प्रे वेंग प्रान्तीय रेफरल अस्पतालमा आइसोलेसनमा छन् । मृतक बालिकाको सम्पर्कमा रहेका अन्य ११ जनाको बर्ड फ्लु भाइरसको परीक्षणमा सङ्क्रमण पुष्टि नभएको विज्ञप्तिमा उल्लेख छ । ‘अहिलेसम्मका प्रमाणका आधारमा यो भाइरसले मानिसलाई सजिलै सङ्क्रमित गर्दैन र एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिनु असामान्य देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ । ‘अहिलेसम्म उपलब्ध सूचनाका आधारमा डब्लुएचओले यो भाइरसबाट उत्पन्न हुने जोखिम कम भएको आँकलन गरेको छ,’ उनले भने । कम्बोडियाका लागि डब्लुएचओका प्रतिनिधि ली आइलानले प्रकोपविरुद्ध द्रुत प्रतिक्रियाका लागि साउदी अरबको पनि प्रशंसा गरेका छन् । रासस