विकासन्युज

दमौली अस्पतालमा डायलायसिस सेवा लिन पालो पर्खिन बाध्य

तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा मिर्गौला उपचार केन्द्र सञ्चालनमा छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रमार्फत नौ वर्षदेखि सञ्चालित उक्त मिर्गौला केन्द्रमा हाल ५० जना पीडितले डायलायसिस सेवा लिइरहेका छन् । तर अझै ३०  मिर्गौला पीडित डायलायसिसका लागि पालो पर्खिँदै छन् । तनहुँका विभिन्न ठाउँका मिर्गौलापीडितले मिर्गौला उपचार केन्द्रमा डायलायसिसका लागि नाम टिपाएर पालो पर्खिरहेका छन् । नियमितरूपमा डायलायसिस गराउनुपर्ने उनीहरूले हाल पोखरामा डायलायसिस गरिरहेका हुन् । आफ्नै गृहजिल्लामा डायलायसिस सेवा लिनका लागि उनीहरू नाम टिपाएर कुरिरहेको उपचार केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए । “तीस जना तनहुँकै मिर्गौलापीडित अहिले बाहिरी जिल्लामा गएर डायलायसिस गराइरहनुभएको छ, यहीँ नै डायलायसिस गराउँदा उहाँहरूलाई सहज हुन्छ”, उनले भने, “तर अहिले डायलायसिसका लागि ठाउँ खाली छैन ।” उपचार केन्द्रमा डायलायसिस गराइरहेका मिर्गौलापीडितले मिर्गौला प्रत्यारोपण वा अन्यत्रै स्थानान्तरण भएर गएमात्रै नयाँले मौका पाउने अवस्था रहेको उनले बताए । “ठाउँ खाली भएमात्रै नयाँलाई मौका दिने हो, कि उहाँहरूले मिर्गौला प्रत्यारोपण गर्नुप¥यो कि अन्यत्रै जिल्लामा स्थानान्तरण भएर जानुप¥यो”, उनले भने, “ठाउँ खाली भएपछि नाम दर्ता गरेकाहरूलाई यहाँ डायलायसिसको व्यवस्था मिलाउँछौँ ।” नेपाल सरकारको नीतिबमोजिम उपचार केन्द्र औपचारिकरूपमा दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको भएता पनि हाल सोही केन्द्रले दमौली अस्पताल सूचीकृत नभएसम्मका लागि सञ्चालन गरिरहेको छ । हाल आठ मेसिनमार्फत ५० बिरामीले डायलायसिस सेवा लिइरहेका छन् । दमौली अस्पतालले आगामी दिनमा डायलायसिस केन्द्र सञ्चालन गरेता पनि शत्रुधन मन्जु डायलायसिस उपचार केन्द्रको रूपमा नै सञ्चालन हुने प्रतिबद्धता जनाएको छ । विसं २०७२ मङ्सिर ३ गते अस्पतालमा डायलायसिस युनिट सञ्चालनमा आएको थियो । उक्त युनिट गत कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको छ । युनिटमा हालसम्म दुई सय २८ ले डायलायसिस सेवा लिएका छन् । केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौलापीडितले पनि डायलायसिस सेवा लिइरहेका छन् । लमजुङ, गोरखा, स्याङ्जा, कास्की जिल्लाका मिर्गौला पीडितले केन्द्रबाट नियमितरूपमा डायलायसिस सेवा लिइरहेको जनाइएको छ । हेल्थ केयर फाउण्डेशन अफ नेपालले दमौली अस्पतालमा डायलायसिस केन्द्र स्थापना गरेको थियो । रासस

नेपाल विद्युत प्राधिकरणले ५० करोड रुपैयाँ र ५० लाख युएस डलर मुद्दतीमा लगानी गर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले ६ महिने मुद्दती खातामा नेपाली रुपैयाँ र अमेरिकी डलर निक्षेप राख्ने भएको हो । प्राधिकरणले वाणिज्य बैंकहरूमा ५० करोड रुपैयाँ र ५० लाख युएस डलर निक्षेप राख्ने भएको हो । प्राधिकरणको विभिन्न खाताहरूमा रहेको रकम ६ महिने मुद्दती खातामा राख्ने भएकाले सिलबन्दी प्रस्ताव आह्वान गरेको हो । उक्त रकम राख्न चाहने बैंकले ३ दिनभित्र प्राधिकरणमा बोलपत्र पेश गर्न आग्रह गरेको हो । नेपाली रुपैयाँ र युएस डलरमा के कति प्रतिशत व्याजदर दिन सकिन्छ प्रस्तावमा उल्लेख गर्नुपर्नेछ ।

नेपाल बैंकले ४१ लाखमा २०८० सालको क्यालेण्डर छाप्दै

काठमाडौं । नेपाल बैंकले २०८० सालको भित्तेपात्रो (क्यालेण्डर) छपाइको प्रक्रिया अघि बढाएको छ । बैंकले २०८० सालको क्यालेण्डर छपाइका लागि झण्डै ४१ लाख रुपैयाँ विनियोजन गरेको छ । बैंकले २०८० सालमा भित्ते क्यालेण्डर ६१ हजार थान र ८ हजार थान टेबल क्यालेण्डर छाप्ने भएको हो । बैंकले भित्तेपात्रो (क्यालेण्डर) छाप्ने जिम्मा एमएस बिटी सप्लायर्स एण्ड प्रिन्टिङ्ग प्रालिले पाएको छ । एमएस बिटी सप्लायर्स एण्ड प्रिन्टिङ्गले ४० लाख ७८ हजार १७० रुपैयाँ छाप्ने गरी बैंकले छनोट गरेको हो ।

बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिका लागि भर्ना खुला, कति जना भर्ना गर्ने ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको बूढानीलकण्ठ स्कुलले छात्रवृत्तिमा भर्ना खुला गरेको छ । बूढानीलकण्ठ स्कुल र साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरूमा कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययन गराउने भएकाले छात्रवृत्तिमा भर्ना खुला गरेको हो । विपन्न समुदायका जेहेनदार बालबालिकाहरू मध्येबाट छात्रवृत्तिमा छनोट गरिने भएकाले भर्नाका लागि दरखास्त आह्वान गरेको हो । उक्त छात्रवृत्तिका लागि वि.सं. २०६९ बैशाख १ तेदेखि २०७० चैत ३० गतेसम्म जन्मेर कक्षा ३ र कक्षा ४ मा सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरेको हुनुपर्नेछ । शैक्षिक सत्र २०७९ मा कक्षा ४ अध्ययन पूरा गरेका छात्र/छात्रामध्ये भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुनेगरी छनोट गरिने जनाएको छ । चैत ३० र चैत २८ गतेसम्म फाराम बुझाउनु पर्नेछ । लिखित परीक्षा चैत २८ गते मंगलबार बिहान ११ बजे हुनेछ । बूढानीलकण्ठ स्कुलका निमित्त खुला तथा आरक्षण सिटको सङ्ख्या ४२ जना रहेका छन् । खुला र आरक्षणतर्फ एक जिल्लाबाट एक जनाभन्दा बढी नहुने गरी ४० जना विद्यार्थी छनोट गरिनेछ । आरक्षण सिट २० जनाको रहेको छ । जसमा लोपोन्मुख २ जना, दलित ४ जना, मुस्लिम १ जना, मधेशी ४ जना, आदिवासी/जनजाति ५ जना, पिछडिएको क्षेत्र/द्वन्द्वपीडित २ जना छनोट गरिनेछ । विद्यालय रहेको स्थानीय तह बूढानीलकण्ठ नगरपालिका भित्रका एक छात्र र एक छात्रा गरी २ जना छनोट गरिनेछ । यस्तै, साझेदारी कार्यक्रम अन्तगर्तका साझेदारी स्कुलका निमित्त उपलब्ध भएसम्म जिल्ला नदोहोरिने गरी जम्मा ७७ जना विद्यार्थी छनोट गरिनेछ । जसमा आरक्षणतर्फ दलित ५ जना, मुस्लिम २ जना, मधेशी ६ जना, जनजाति ९ जना र छात्रा कम्तीमा २६ जना छनोट गरिनेछ ।

नेप्सेमा ४ कम्पनीको ८० लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ४ कम्पनीको सेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा सोल्टि होटल, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीको ८३ लाख २० हजार ६० कित्ता बोनस सेयर सूचीकृत भएको हो । सोल्टी होटलको ५ प्रतिशत बोनस वापतको ४२ लाख १३ हजार ५३३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र २१.३१५८ प्रतिशत नगद गरी कूल २६.३१५८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्तको १० प्रतिशत बोनस वापतको १२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो यस्तै, नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनस वापतको ११ लाख ५७ हजार ६९६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ०.४२११ प्रतिशत नगद गरी कूल ८.४२११ प्रतिशत लाभांश वितरण गरेको थियो यस्तै, प्रिमियर इन्स्योरेन्सको १४.२५ प्रतिशत बोनस वापतको १७ लाख ४९ हजार ४५१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो

आजसम्म लक्ष्मी लघुवित्तको सेयर खरिद गरे २० प्रतिशत लाभांश पाइने

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन १७ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५  प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले प्रस्ताव गरेको लाभांश पारित गर्न फागुन २९ गते अग्रवाल भवन, कमलपोखरी काठमांडौमा बिहान ११ बजे ११ औँ बार्षिक साधारणसभा बोलाएको छ ।

राष्ट्र बैंकले भन्यो- लघुवित्तले १५ प्रतिशत बढी ब्याज लिएको भए गुनासो गर्नुस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए गुनासो गर्न गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गरी यदि लघुवित्त वित्तीय संस्थाहरुले १५ प्रतिशतभन्दा बढी ब्याजदर लिएको गुनासो गर्न आग्रह गरेको हो । लघुवित्त वित्तीय संस्थाहरुलाई कर्जाको ब्याजदरमा १५ प्रतिशतको क्याप लगाएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार कुनै पनि लघुवित्तको ब्याजदर १५ प्रतिशत भन्दा माथि छैन । ‘लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको छ, हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी छैन, लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुनेछ,’ राष्ट्र बैंकले भनेको छ । साथै राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकलाई ‘क’ वर्ग, विकास बैंकलाई ‘ख’ वर्ग, फाइनान्स कम्पनीलाई ‘ग’ वर्ग र लघुवित्त वित्तीय संस्थालाई ‘घ’ वर्गका संस्था हुन् । यी संस्थाहरू नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र पाएका संस्था हुन् । सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था हुन् । यी संस्थाले दिने सेवा र ब्याजदर फरक रहेको बताएको छ ।

अस्पतालको फोहर बञ्चरेडाँडामा फाल्नेलाई महानगरद्धारा ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्तिम फोहर विसर्जन स्थल बञ्चरेडाँडामा अस्पतालजन्य हानिकारक फोहर पुर्याउनेलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । कामपा–५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्ज अस्पतालजन्य फोहर बञ्चरेडाँडा पुर्याएको भन्दै ५० हजार रुपैयाँ जरिवाना गरिएको कामपा वातावरण विभागका प्रमुख रबीनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार, कानुनले वर्जित गरेका फोहर साइटमा लैजाने जो सुकैलाई पनि कारबाही गर्छौँ । उक्त स्थानमा सबै किसिमका अस्पतालजन्य फोहरको व्यवस्थापनका लागि बन्देज गरिएको छ । उक्त फोहरहरू अन्य सामान्य फोहरभन्दा हानिकारक हुने भएकाले रोक लगाइएको विभागको भनाइ छ । विगत ७ महिनादेखि कामपासहित काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर बञ्चरेडाँडास्थित साइटमा व्यवस्थापन भइरहेको जहाँ सामान्य फोहर मात्र व्यवस्थापन गर्न मिल्छ । अस्पतालजन्य फोहर हानिकारक मानिने हुँदा उत्पादक आफैँले निर्मलीकरण गरेर सामान्य फोहरमा बदल्नु पर्छ । त्यसपछि सामान्य प्रक्रियाबाट लैजान सक्ने व्यवस्था रहेको छ । अस्पतालबाट निस्कने फोहर मात्र होइन कामपाले अन्य सबै किसिमको फोहरलाई पनि स्रोतमा नै वर्गीकरण गरेर लाने तयारी गरिरहेको छ । गत साउन १ गतेदेखि नै कामपाले उक्त व्यवस्था सुरु गरेको भए पनि प्रभावकारी रुपमा कार्यान्वयन भने हुन सकेको छैन । स्रोतमा फोहर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्ने भने पनि अहिले केही वडामा मात्रै फोहर वर्गीकरण गरिन्छ भने केही वडाबाट सबै फोहर एकै ठाउँमा राखेर व्यवस्थापन भइरहेको छ । महानगरको कूल ३२ मध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । वर्गीकरण योजना भने सबै वडामा लागू गरिएको छ तर कार्यान्वयन हुन सकेको छैन । हरेक दिन उपत्यकाबाट १ हजार २ सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । विसं २०६८ मा सरकारले जारी गरेको फोहरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ । ऐनमा फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । गत सातादेखि कामपाले कुहिने फोहरबाट टेकुस्थित ट्रान्फरस्टेसनमा कम्पोष्ट मल बनाउने काम सुरु गरेको छ । कुहिने फोहर उपत्यकामा नै व्यवस्थापन गर्ने लक्ष्य तत्कालको भने होइन । पछिल्लो समय उत्पादन हुने फोहरको मात्रा बढिरहेको र व्यवस्थापनमा समस्या आइरहेको अवस्थामा स्रोतमा नै फोहरको वर्गीकरण गरी मल उत्पादन गर्ने कार्यले ठूलो सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । फोहरको वर्गीकरण बिनै सबै फोहर एकै स्थानमा व्यवस्थापन गर्नुपर्दा स्थान अभावको कारण समय समयमा समस्या आउने गरेको छ । कामपाले यसरी मल बनाउने कामलाई ३२ वटै वडामा पनि थाल्ने जनाइएको छ ।