इन्टरनेट र मोबाइल नेटवर्कमा समस्या भए क्षतिपूर्ति पाइने
काठमाडौं । अब इन्टरनेट तथा मोबाइल नेटवर्कमा समस्या भए क्षतिपूर्ति पाइने भएको छ । प्राधिकरणले तोकेको गुणस्तर कायम नभए मोबाइल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले ग्राहकलाई क्षतिपूर्ति दिनुपर्नेछ । नियामक निकायको रुपमा रहेको प्राधिकरयाले दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली २०७९ पारित गरेसँगै क्षतिपूर्ति मागदाबी गर्न पाईने भएको हो । आगामी वैशाख १ गतेदेखि लागू हुने उक्त विनियमावली अनुसार तोकिएकोभन्दा बढी समय नेटवर्क नचलेर सेवा प्रदान गर्न नसकेको अवस्थामा सम्बन्धित ग्राहकले आफूलाई परेको असुविधा वापत सेवा प्रदायकबाट क्षतिपूर्ति माग दाबी गर्न सक्नेछन् । यसरी माग दाबी गरेको खण्डमा सम्बन्धित सेवाप्रदायकले ग्राहकबाट दूरसञ्चार सेवा शुल्क वापतको उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेछ । विनियमावली अनुसार इन्टरनेट डाउनलोड वा अपलोड हुने दर ८० प्रतिशतभन्दा बढी हुनुपर्नेछ । यस्तै, फोरजीको प्रयोगकर्ताको डाउनलोड १५ एमबीपीएस, अपलोड ७.५ एमबीपीएस, थ्रिजी प्रयोगकर्ता डाउनलोड ३ एमबीपीएस र अपलोड १.५ एमबीपीएस हुनुपर्नछ । प्राधिकरणले अन्तर्राष्ट्रिय रुपमा प्रचलित मापदण्ड सार्वजिनक गरिएको भन्दै प्रविधिमा भएको विकासक्रम तथा विद्यमान सेवाको गुणस्तर समबन्धी समस्याहरुलाई समेत सम्बोधन हुने जनाएको छ । ग्राहकले मोबाइल डाटा/भ्वाईस प्याकेज सेवा खरिद गरेको तर उक्त प्याकेजको अवधिमा सेवा प्रदायकको नेटवर्क डाउन भई ग्राहकले सेवा प्राप्त गर्न नसक्दा, फिक्स ब्रोडब्याण्ड इन्टरनेट सेवा तोकिएको भन्दा बढि समय नेटवर्क नचलेर सेवा प्रदान गर्न नसक्दा सेवा प्रदायक कम्पनीले ग्राहकको दावी अनुसार सेवा शुल्क वापतको क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेछ । यस्तै, प्रदायकले फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवा अवरुद्ध भएको तथा सेवा पुनः सञ्चालनमा आएको जानकारी तथा सूचना ग्राहकलाई एसएमएस, मोबाइल एप आदि माध्यमबाट उपलब्ध गराउनु पर्नेछ । प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली २०७९ जारी गरेसँगै यसअघिको दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली २०७३ खारेज भएको जनाएको छ ।
आन्तरिक र बाह्य पर्यटकको रोजाइमा ‘चन्द्रागिरि डाँडा’
काठमाडौं । नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट, मकवानपुरलगायतका स्थलको मनोरम दृश्य देखिने र यहाँ विकास भएको एकीकृत पर्यटकीय संरचनामा रमाउन पाउने भएपछि यो डाँडा स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बनेको हो । स्वदेशी तथा विदेशी पर्यटकहरू चन्द्रागिरि डाँडाबाट देखिने हिमाल र काठमाडौँ उपत्यकाको मनोरम दृश्यमा रमाउन, आफ्नो दैनिकीबाट विश्राम लिई आराम गर्न, सभा–समारोह र बैठक आयोजना गर्न, विदेश तथा उपत्यका बाहिरबाट आएका पाहुनालाई भ्रमण गराउन त्यहाँ जाने गरेका छन् । साथै धार्मिक तथा ऐतिहासिक चासो राख्ने व्यक्तिहरू पनि दर्शन तथा अध्ययनका लागि चन्द्रागिरि पुग्ने गरेका छन् । शाहवंशीय राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानमा यही चन्द्रागिरि डाँडाबाट अवलोकन गरी काठमाडौँ उपत्यका तत्कालीन नेपाल खाल्डोको एकीकरणको सोच बनाएका थिए भन्ने ऐतिहासिक तथ्य नेपाल राज्य निर्माणको इतिहासमा भेटिन्छ । त्यसैले यही डाँडामा पृथ्वीनारायण शाहको सालिक पनि निर्माण गरिएको छ । उक्त इतिहाससँग जोडिएको सो सालिक त्यहाँ पुग्ने जो–कोहीको पनि मुख्य आकर्षण बन्ने गरेको छ र उनीहरू यो सालिकसँगै तस्बिर लिने गरेका छन् । त्यसैगरी उक्त स्थानमा भालेश्वर महादेवको मन्दिर रहेको छ । यहाँ साक्षात् महादेव उत्पत्ति भएको किंवदन्ती रहेकाले पनि यसको धार्मिक महत्वका कारण धेरै नेपाली तथा भारतीय नागरिक यहाँ पुग्ने गरेका छन् । यसरी आन्तरिक तथा बाह्य पर्यटकका अतिरिक्त यहाँको ऐतिहासिक र धार्मिक अध्ययन गर्नेहरूको पनि यो डाँडा आकर्षक गन्तव्य बन्न पुगेको देखिएको छ । विसं २०७३ पुस १ देखि चन्द्रागिरि हिल्स लिमिटेडले व्यावसायिकरूपमा केबलकार सञ्चालनमा ल्याएसँगै केबलकारमार्फत चन्द्रागिरि डाँडामा उक्लिने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । यस्तै पर्यटकहरू पैदलमार्गबाट समेत चन्द्रागिरि डाँडा जाने गरेका छन् । यो विगत लामो समयदेखिको ‘ट्रेकिङ रुट’ हो र अहिले पनि यसको महत्व घटेको छैन । चन्द्रागिरि हिल्स लिमिटेडका फाइनान्स प्रमुख विनायक पोखरेल बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने केबलकारमार्फत गएको पुस महिनामा मात्र ७१ हजार एक सय ४५ जनाले केबलकारमार्फत चन्द्रागिरिको भ्रमण गरेको बताए । केबलकारमार्फत चन्द्रागिरि डाँडामा जान नेपाली नागरिकका लागि रु सात सय ९९, नेपाली विद्यार्थीका लागि रु छ सय र विदेशी नागरिकका लागि २२ अमेरिकी डलर शुल्क लाग्ने गरेको छ । चन्द्रागिरि डाँडामा अहिले दैनिक दुई हजार व्यक्ति केबलकारबाट जाने गरेका छन् । बिदाका दिन चार हजार पाँच सयदेखि पाँच हजार व्यक्ति चन्द्रागिरि डाँडा पुग्ने गरेका छन् । चन्द्रागिरि डाँडामा भालेश्वर मन्दिर, पृथ्वीनारायण शाहको सालिक, जिपलाइन, बालउद्यान, घोडाचढी, चन्द्रागिरि हिल्स रिसोर्टलगायत हेर्नलायक र घुम्नलायक ठाउँहरू छन् । चन्द्रागिरि हिल्समा आर्थिक वर्ष २०७८/७९ मा पाँच लाख सात हजार चार सय ११ नेपाली र ६३ हजार तीन सय ४४ सार्कसहित विदेशी मुलुकका पर्यटकले भ्रमण गरेको हिल्सका फाइनान्स प्रमुख पोखरेल बताए । चन्द्रागिरि डाँडामा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटक बढ्न थालेका छन् । चन्द्रागिरि हिल्स प्रालिले गत वर्षदेखि जिपलाइन सञ्चालनमा ल्याएको थियो । जिपलाइन सञ्चालनमा ल्याएसँगै चन्द्रागिरीमा जिपलाइनको मज्जा लिने पर्यटकसमेत बढेका हुन् । ७० लाख रुपैयाँ लगानीमा निर्माण गरिएको जिपलाइनको लम्बाइ एक सय मिटर छ भने अर्को दुई सय मिटर लम्बाइ भएको जिपलाइन समेत सञ्चालनमा आइसकेको छ । चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक सञ्जीव थापा स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यस्थलका रूपमा चन्द्रागिरिलाई विकास गर्नका लागि जिपलाइन सञ्चालनमा ल्याएको बताए । भालेश्वर मन्दिर नजिकदेखि बाल खेल बगैँचासम्म एक सय मिटर लामो निर्माण गरिएको उक्त जिपलाइनको मज्जा लिनका लागि चार सय रुपैयाँ लाग्नेछ भने दुई सय मिटर लामो जिपलाईनको मज्जा लिन आठ सय रुपैयाँ लाग्नेछ । ‘आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्ने नीतिअनुसार चन्द्रागिरिमा विभिन्न भौतिक पूर्वाधार निर्माण गरेका हौँ’, महाप्रबन्धक थापा भने । अष्ट्रियाली ‘डोब्बलमेयर’ कम्पनीले निर्माण गरेको चन्द्रागिरि केबलकारको लम्बाइ कुल दुई किलोमिटर चार सय ६० मिटर छ । यसका मार्गमा ११ टावर छन् र यात्रु बोक्ने ३८ र सामान बोक्ने तीन गरी कुल ४१ गोण्डला छन् । चन्द्रागिरि डाँडामा पुग्न थानकोट स्टेशनबाट नौदेखि १४ मिनेट लाग्ने गर्दछ । केबलकारको एक डिब्बामा आठ व्यक्ति ओहोरदोहोर गर्न मिल्छ । गत वर्षहरूमा कोरोनाका कारण आन्तरिक तथा बाह्य पर्यटक घटे पनि यस वर्ष भने पर्यटक आवागमनको सङ्ख्यामा वृद्धि भएको चन्द्रागिरि हिल्सले जनाएको छ । चन्द्रागिरि हिल्स प्रालिले चन्द्रागिरिमा रिसोर्टसमेत सञ्चालनमा ल्याएको छ । अहिले काठमाडौंको व्यस्त दैनिकबाट केही समय आराम लिन र हप्ताभरको थकान मेट्न शुक्रबार या शनिबार आन्तरिक तथा बाह्य पर्यटक रिसोर्ट पुग्ने गरेका छन् । कुनै राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरूका सभा, सम्मेलन या सेमिनार आयोजनाका लागि पनि यहाँ हलको व्यवस्था छ । नेपाल सरकार एवं गैरसरकारी सङ्घसंस्था एवं कम्पनीहरूले यहाँ कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको पर्यटकीय यस गन्तव्य नेपाल सरकारको आमन्त्रणमा एवं आफैँ नेपाल आउने विभिन्न विदेशी विशिष्ठ पाहुनाहरूको पनि आकर्षण बन्ने गरेको छ । प्रालिले यहाँ एकीकृत पर्यटकीय संरचना निर्माण गरी पर्यटन गन्तव्यको विकास गरेकाले यसको अध्ययनका लागि पर्यटन क्षेत्रका व्यक्तिहरू पुग्ने गरेका छन् । रासस
चितवन मेडिकल कलेजले गर्यो ३५ दिनकी शिशुको मुटुको जटिल शल्यक्रिया
चितवन । नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी शिशु महिमा प्रजाको मुटुको डि–टिजिए (डेस्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज)को शल्यक्रिया सफल भएको हो । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा डा अनिल आचार्य नेतृत्वको टोलीले शिशुको शल्यक्रिया गरेको हो । डिटिजिए शल्यक्रिया नेपालमा सफल भएको यो तेस्रो घटना भएको प्रा डा आचार्यले बताए । उनले भने, ‘मलाई थाहा भएसम्म नेपालमा यस्तो प्रकृतिको शल्यक्रिया सफल भएको यो तेस्रो हो । यस्ता प्रकृतिको शल्यक्रिया गर्दा मृत्युदर ९० प्रतिशतसम्म हुन्छ ।’ उनका अनुसार मानिसको मुटुको तल्लो दाहिने कोठाबाट फोक्सोमा रगत जाने रक्तनली हुने र देब्रेतिरको तल्लो कोठाबाट शरीरमा रगत जाने रक्तनली हुन्छन् । दाहिनेतर्फ फोक्सोमा गएको रगत शुद्ध भएपछि देब्रे कोठामा आएर देब्रे कोठाले शुद्ध रगत शरीरमा पठाउनुपर्नेमा महिलाको रक्तनली ठीक उल्टो भएको उनले बताए । यस्तो प्रकृतिको शल्यक्रियामा कोरोनरी आर्टरिजका नलीहरूको समेत ठाउँ बदल्नुपर्ने जनाउँदै प्रा डा आचार्यले भने, ‘त्यो पनि हामीले ठाउँ बदल्यौँ ।’ महिमामा अब कुनै समस्या नरहेको उनको भनाइ छ । नवजात शिशुलाई बेहोस बनाएर शल्यक्रिया गर्न निकै जटिल हुने भन्दै उनले त्यसमाथि मुटुजस्तो संवेदनशील अङ्गको शल्यक्रिया झनै जटिल हुने बताए । गत माघ २३ अस्पताल भर्ना भएकी महिमाको २५ गते शल्यक्रिया गरिएको हो । शल्यक्रियामा प्रा डा आचार्यसहित डा अल्का सिंह, एनेस्थेसियोलोजिष्ट डा प्रवेश ज्ञवाली, परफूजनिस्ट (शल्यक्रिया गर्दा मुटु र फोक्सो चलाउने मेसिन सञ्चालन गर्ने) गोविन्द बधनगरिया, बालरोग विशेषज्ञ डा विराज पराजुली नर्सहरूको टोली संलग्न थिए । भरतपुर अस्पतालका चिकित्सकले निमोनियाको शङ्का गरेर महिमालाई सिफारिस गरेका थिए । बीस दिन एनआइसीयूमा राखेर उपचारपछि महिलामा अहिले पूर्णरूपमा निको भएकी छिन् । उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ । यसैबीच खेती किसानी र ज्याला मजदुरी गर्ने मिलनलाई छोरीको उपचार गर्न आर्थिक अभाव भएको छ । हालसम्म पाँच लाखभन्दा बढी खर्च भइसकेको जनाउँदै उनले सरसापट गरेर उपचार गर्दै आएको बताए । काठमाडौँका सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा १५ वर्षमुनि र ७५ वर्षमाथिकालाई मुटुको उपचार निःशुल्क हुने भए पनि उपत्यका बाहिर यो सुविधा सरकारले दिएको छैन । रासस
फागुन २५ गतेदेखि आइपीओ निष्कासन गर्दै मोदी इनर्जी
काठमाडौं । मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन आइपीओको बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी दुई अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ७२ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर रु एक सय दरका ७२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ । यसमा जारी पुँजीको १० प्रतिशत अर्थात् २९ करोडको एक सय रुपैयाँ अङ्कित दरका २९ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र पर्वतको कुश्मा नगरपालिका–३ र ८ तथा मोदी गाउँपालिका–२, ५, र ६ का स्थानीय बासिन्दाका लागि निष्कासन गरिने भएको छ । त्यस्तै सार्वजनिक निष्कासन गरिने सेयरमध्ये चार लाख ३५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृतिप्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरिने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ । निष्कासन गरिने सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीले अधिकतम एक लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा आगामी चैत ९ गते हुनेछ भने ढिलोमा आगामी चैत २४ मा हुने कम्पनीले जनाएको छ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेभित्रै आवेदन दिनुपर्ने छ । स्थानीय बासिन्दाले सेयर खरिदको आवेदन सन्राइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक तथा कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनमार्फत ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन बिबी प्लस इस्यूअर’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले पर्वतमा २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादनसमेत सुरु गरिसकेको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’को निजी चिकित्सकमा प्रा.डा. शर्मा नियुक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । फागुन ११ गतेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रधानमन्त्रीको निजी चिकित्सकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । प्रा.डा. शर्मा हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत छन् । इन्टरनल मेडिसिन, पेट तथा कलेजो विषयमा विशेषज्ञता हासिल गरेका उनी नेपालको अब्बल डाक्टर मध्येमा पर्छन् ।
करोडौंको लगानीमा कुसुन्तीमा लिफ्टसहितको ओभरहेड ब्रिज बन्दै, देशकै नमुना
फाइल तस्वीर काठमाडौं । ललितपुर महानगरपालिकाले सुविधा सम्पन्न आधुनिक प्रविधिको आभरहेड ब्रिज (आकाशे पुल) को निर्माण गर्ने भएको छ । महानगरपालिकाले चक्रपथ कुसुन्तीमा उक्त ब्रिज निर्माण गर्ने योजना बनाएको हो । महानगरपालिकाले कुसुन्तीमा पहिलो चरणमा एउटा ओभरहेड ब्रिज निर्माण गर्न लागेको महानगरपालिको पूर्वाधार विकास महाशाखाका प्रमुख तथा बरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले बताए । महानगरले ब्रिजको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार पारिसकेको छ । डीपीआर तयार पारेसँगै महानगरले निर्माण स्वीकृति लिन सडक विभाग अन्तर्गतको पुल महाशाखालाई प्रतिवेदन पठाएको पनि महर्जनले जानकारी दिए । ‘ब्रिज निर्माण गर्ने भनिएको ठाउँ सडक विभागको क्षेत्रभित्र पर्छ, त्यसैले अहिले हामीले पुल महाशाखामा ब्रिज निर्माण गर्न पाउँ भनेर स्वीकृति मागेका छौं,’ उनले भने । महानगरपालिकाले सडकमा सवारीसाधनको चाप पढ्दै गएको पैदल यात्रीलाई सडक पार गर्ने समस्यालाई मध्यनजर गर्दै सो योजना अघि सारेको उनले बताए । महानगरपालिकाले सुविधा सम्पन देशकै नमुना ब्रिज बनाउने लक्ष्य लिएको छ । यो आयोजनामा पुल महाशाखाले पनि बजेटको विनियोजन गर्ने सक्ने महर्जनले बताए । उनका अनुसार सडक विभाग र महानगरबिच सहकार्य गरेर नै उक्त ब्रिजको निर्माण कार्य सुरु हुनेछ । ललितपुर महानगरपालिकाले पनि चालू आर्थिक वर्ष २०७९/८० मा चक्रपथ कुसुन्ती लगायतका सडकमा आभरहेड ब्रिज गर्ने कार्यक्रम राखेको छ । त्यसको लागि महानगरपालिकाले ५ करोड ५ हजार रुपैयाँ बजेट पनि छुट्याएको छ । महानगर र पुल महाशाखा बिच सहकार्य भई बजेट सुनिश्चित हुन सक्यो भने चालू आर्थिक वर्षभित्रै ब्रिज निर्माण हुन सक्ने महर्जनको भनाइ छ । महर्जनका अनुसार ब्रिज लिफ्ट सहितको हुनेछ । डिपीआरमा ब्रिज ६ वटा सटरलाई पनि समावेश गरेर तयार गरिएको छ । ब्रिजमा शौचालय, कफीसफ लगायतका सेवा सुविधाहरु हुनेछन् । तर, डीपीआरमा समावेश गरिएका पूर्वाधारहरु केही फेरबदल हुन सक्ने पनि महर्जनले बताए । केही समय अघि ब्रिज निर्माणको विषयलाई लिएर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र प्रधानमन्त्री पुष्पकमल दाहालबिच पनि छलफल भएको थियो । ब्रिज अपाङ्गमैत्री हुनेछ ।
अवैध रुपमा ल्याइएको १० लाख बढीको औषधि बरामद
कञ्चनपुर । भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले भारतबाट अवैध रुपमा लुकाई–छिपाई ल्याउँदै गरेको १० लाख २१ हजार चार सय रुपैयाँ मूल्य बराबरको औषधि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार विशेष सुराकीका आधारमा बेवारिसे अवस्थामा औषधि बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको सादा पोसाकको प्रहरीको टोलीले सेगोप्लेक्स आठ सय १० थान, बोनभिटा एक हजार थान र न्युरोक्याक्स एक हजार ८० थान औषधिको पत्ता बरामद गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । बरामद औषधिलाई भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।
समीट लघुवित्तको लाभांश घोषणा
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले १४.८२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.५६२७ प्रतिशत बोनस सेयर र ०.७१३८ प्रतिशत नगद गरी कूल १४.८२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।