विदेशमा रोजगारीका क्रममा उनी कफी कम्पनीमा काम गर्थे । त्यहाँ बस्ने क्रममा कफी उत्पादन, प्रशोधन र बजारीकरणका सीप सिकेपछि अहिले स्वदेशमा बसेर व्यवसाय गर्न सजिलो भएको बताउँछन् । वैदेशिक रोजगारीका क्रममा गुल्मीमा उत्पादन भएको कफी आफू कार्यरत कम्पनी सञ्चालकले खरिद गरी हिमालयको गिफ्ट नामले प्रशोधन गरी बजारमा बिक्री गरेको देखेपछि सिंले गाउँ फर्केर आफ्नो देशको उत्पादन आफैँले बिक्री गर्ने अठोट लिए ।
‘हाम्रो देशमा उत्पादन भएको कफी विदेशीले महँगो मूल्यमा ब्राण्ड बनाएर बजारमा बिक्री गरिरहेको छ’, उनले भने, ‘सीप र प्रविधि नहुँदा नेपाली उत्पादन विदेशीले प्रशोधन गरी बजार पठाएका छन्, आफ्नो उत्पादन आफैँ प्रशोधन गरी बजार पठाउने मनसायले विदेशबाट फर्केर यस व्यवसायमा लागेको हुँ ।’
नेपालमा उत्पादन भएको कफीको स्वाद बेग्लै पाएपछि नेपाल फर्केलगत्तै व्यवसायमा लागेको सिं बताउछन् । उनले कफी उत्पादन, खरिद बिक्रीमात्र नभई ग्राहकको मागअनुसार बिरुवा उपलब्ध गराउँदै आएका छन् । बरमुन अर्मिलो, बरमुन भर्बिलो, गेइसिया जातका कफी खरिद बिक्री गर्छन् । स्थानीय उत्पादन भएकाले ग्राहकले धेरै मन पराएका छन् ।
उनी भन्छन्, ‘घरका आँगन, डिल वरिपरि सौखमा रूपमा लगाइएका पाँच–सात कफीका बोट आमाले लगाउने गर्नुहुन्थ्यो, दाना फल्ने आफैँ भुइँमा झर्ने गथ्र्यो, कुनै उपयोगमा ल्याइएन, विदेशमा गएपछि मात्रै कफी कम्पनीमा काम गर्न थालेपछि यसको महत्व र फाइदाबारे जानकारी पाएँ ।’
विदेशमा बटुलेको अनुभवले सिंले स्वदेशमा सोही सीप लगानी गरेका छन् । आफूले उत्पादनदेखि प्रशोधनका प्रविधिको ज्ञान सीप जानेपछि काम गर्न धेरै सजिलो परेको उनको भनाइ छ । उनले गुल्मीबाट बीउ ल्याएर खेती सुरु गरेका हुन् । स्याङ्जाको चापाकोट नगरपालिका–४ लग्दाहामा आजभन्दा करिब सात वर्षअघि पाँच सय बोट बिरुवा लगाए । सो बिरुवाले हाल उत्पादन दिइरहेको छ । व्यावसायिक तवरबाट खेती गरेका उनले बिरुवा लगाएको दुई वर्षमा फुल्न थालेको बताए ।
स्याङ्जाको वालिङ, जगत्भन्ज्याङमा उत्पादन भएका कफी खरिद गरेर पाल्पा रामपुरमा प्रशोधन गरी बाहिर पठाउछन् । ‘अग्र्यानिक चिया तथा कफी’ नाममा गत वर्ष घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा दर्ता गरी आफैँ उत्पादन, खरिद, प्रशोधन गरी बजारीकरण गरिरहेका छन् । आफ्नै घरमा प्रशोधन मेसिन जडान गरी बजारीकरण गरेपछि राम्रै आम्दानी हुन थालेको सिंले बताए ।
गत वर्षमात्रै आफूले लगाएको एक हजार आठ सय किलो कफी उत्पादन गरेका छन् भने करिब २८ टन कफी खरिद बिक्री गरेको उनले बताए । गत वर्ष एक हजार छ सय किलो कफी जापान, २५ किलो जर्मनी, सात किलो भारत, छ किलो कोरियालगायत देशमा खपत गरेका छन् । गत वर्ष करिब आठ लाख बराबरको कारोबार गरेका यस वर्ष १० लाख रुपेयाँ बढी कारोबार हुने बताउछन् । छहारी, भिरालो जनिनमा बिरुवा लगाएका छन् । कफीखेतीलाई व्यवसायीकरण गर्न उनले आफैँ उत्पादन गरेको एक हजार बिरुवा स्थानीयलाई निःशुल्क वितरण गरेका छन् । यस वर्ष पाल्पा रामपुरमा कफीका बिरुवा लगाउने तयारी गरिरहेका छन्।
‘यसै व्यवसायबाट परिवारको जीविका चलेको छ, अर्काको देशमा काम गर्न सजिलो छैन, आफ्नै देशमा बसेर व्यवसाय गर्दाको आनन्द नै बेग्लै छ’, उनले भने।
कफी प्रशोधनका लागि घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले प्रशोधन गर्ने मेसिन अनुदानमा उपलब्ध गराएपछि सहज भएको छ । आफ्नै देशमा घरपरिवारका साथमा व्यवसाय गर्न पाउँदा मन आनन्दित भएको अनुभव सुनाउँछन् । आफ्नो देशमा उत्पादन भएको वस्तु यहीँ प्रशोधन गरी उपभोक्तामाझ पुर्याउन पाउँदा खुसीको क्षण सम्झन्छन् । उनले रामपुर क्षेत्रलाई कफी उत्पादन प्रशोधन केन्द्रका रूपमा चिनाउने अठोट लिएका छन् । जापानबाट माग धेरै आएकाले पुर्याउन नसकिएको उनी बताउँछन् । प्रशोधन गरिएको कफी हाल सिंले प्रतिकिलो एक हजार आठ सय रुपैयाँमा बजारमा बिक्री गरिरहेका छन् ।
कफी उत्पादनका लागि सातवटा प्रशोधन मेसिनको व्यवस्थापन गरेका छन् । यस व्यवसायमा करिब १० लाख रुपैयाँ बराबरको लगानी परेको छ । अहिले उनको नर्सरीमा करिब आठ हजार कफीका बिरुवा बिक्री गर्न लायकका छन् । मध्यपहाडका ४० जिल्लामा कफीखेती गरिएको तथ्याङ्क छ । केही जिल्लामा भने व्यावसायिकरूपमा खेती गरेको पाइन्छ । पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोरखा, ललितपुर, धादिङ, मकवानपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत जिल्लामा कफीखेतीको विस्तार गरिँदै छ । रासस