फनपार्क भाडा प्रकरण : २ पूर्वमन्त्रीसहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

<p>काठमाडौं । विशेष अदालतले भृकुटीमण्डपको फनपार्क भाडा प्रकरणमा दुई पूर्वमन्त्रीसमेत ९ जनालाई दोषी ठहर गरेको छ । अदालतले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र टेकबहादुर गुरुङलाई दोषी ठहर गरेको हो । नेपाली कांग्रेसका निलम्बित सांसद तथा पूर्व मन्त्री टेकबहादुर गुरुङ मनाङबाट निर्वाचित भएका थिए । यस्तै, सोही प्रकरणमा जोडिएका तत्कालीन मन्त्री बद्री न्यौपानेलाई पनि अदालतले दोषी ठहर [&hellip;]</p>

काठमाडौं । विशेष अदालतले भृकुटीमण्डपको फनपार्क भाडा प्रकरणमा दुई पूर्वमन्त्रीसमेत ९ जनालाई दोषी ठहर गरेको छ । अदालतले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र टेकबहादुर गुरुङलाई दोषी ठहर गरेको हो ।

नेपाली कांग्रेसका निलम्बित सांसद तथा पूर्व मन्त्री टेकबहादुर गुरुङ मनाङबाट निर्वाचित भएका थिए । यस्तै, सोही प्रकरणमा जोडिएका तत्कालीन मन्त्री बद्री न्यौपानेलाई पनि अदालतले दोषी ठहर गरेको हो । न्यौपाने फनपार्क भाडा प्रकरणका विभागीय मन्त्री थिए भने गुरुङलाई मुद्दामा मेला सञ्चालकका रूपमा विपक्षी बनाइएको थियो ।

गुरुङलाई मतियारका रुपमा दोषी ठहर गरेपनि सजाय निर्धारणका लागि भने फागुन २५ गते पेशी तोकिएको छ । दोषी ठहर हुनेमा तत्कालीन समाजकल्याण परिषदका उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुन्जविहारी प्रसाद चौधरी, सदस्य सचिव रविन्द्र कुमार यादव, सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने छन् । त्यस्तै रमाइलो मेला सञ्चालन गर्ने रविन्द्र गुरुङ र परिषदका निर्देशक मदन प्रसाद रिमाल पनि दोषी ठहर भएका छन् ।

फैसलामा चित्त नबुझ्ने पक्षले सर्वोच्चमा पुनरावेदनको सुविधा पाउनेछन् । विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले १४ प्रतिवादीमध्ये ९ जनालाई दोषी ठहर र ५ जनालाई सफाइ दिएको बताए । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले कसुर ठहर गरेको हो ।

अदालतले तत्कालीन कोषाध्यक्ष रत्नबहादुर गाहामगर, तत्कालीन निर्देशक मदनप्रसाद रिमाल, उपनिर्देशक बलबहादुर स्वाँर, परिषद्का तत्कालीन कानुनी सल्लाहकारद्वय प्रेमसिंह धामी र जगदेव चौधरीलाई सफाइ दिएको हो ।

फनपार्कको मेला क्षेत्र भाडामा लगाउँदा अनियमितता गरेको अभियोगमा अख्तियारले १४ जनाविरुद्ध २०७५ माघ २१ गते मुद्दा दायर गरेको थियो ।

Share News