विकासन्युज

नेपालद्वारा पपुवा न्युगिनी पराजित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले पपुवा न्युगिनीलाई तीन विकेटले पराजित गरेको छ । पपुवा न्युगिनीले जितका लागि दिएको एक सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा सात विकेट गुमाउँदै पुरा ग¥यो । नेपालको जितमा आसिफ शेखले सर्वाधिक अविजित ८६ रनको योगदान दिए । उनले एक सय ३० बलमा दुई चौका र एक छक्काको मद्दतमा उक्त रन बनाएका हुन् । त्यसैगरी सन्दीप लामिछानेले अविजित ३५ रन बनाए । कुशल मल्लले २६ बलमा २३ रन बनाए । पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले ज्ञानेन्द्र मल्ललाई छ रनमा गुमायो । त्यस्तै भीम सार्कीले आठ रन मात्र बनाउँदा कप्तान रोहित पौडेल र आरिफ शेखले समान एक र एक रन बनाए । दीपेन्द्रसिंह ऐरीले आठ रन बनाए भने कुशल मल्लले २३ रनमा बनाए । एक छेउबाट शीर्ष ब्याटरहरू एकपछि अर्को आउट हुँदै गर्दा आसिफ शेखलाई बलर सन्दीपले भरपर्दो साथ दिएका हुन् । यो जोडीले ३२ ओभरमा ७ विकेटको क्षतिमा १०७ रनको अवस्थाबाट नेपाललाई विजयी बनाएको हो । आसिफ र सन्दीपले १६ ओभरमा महत्त्वपूर्ण ७७ रन जोडे । पपुवा न्युगिनीका कप्तान असाद भाला, सेमो कमिया र सेसे बाउले समान २/२ विकेट लिए । त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवा न्युगिनीले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १७९ रनको योगफल बनाएको थियो । पपुवा न्युगिनीका लागि टोनी उराले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै हिरी हिरी २९ रनमा आउट हुँदा किप्लीन डोरीगाले २६ रन बनाए । गौडी टोकाले १५ रन बनाए भने नर्मन भानुवाले १४ रन बनाए । सेसे बाउ र कप्तान असद भालाले समान ११/११ बनाए । नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए भने कुशल मल्ल, सन्दीप लामिछाने र करण केसीले समान १/१ विकेट झारे । यस जितसँगै नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित छैटौँ स्थानमा छ । पपुवा न्यूगिनी ३१ खेलमा ७ अङ्कसहित तालिकाको पुछारमा रहेको छ ।

गरिब र धनीलाई एउटै बीमा प्रिमियम हुन सामाजिक न्याय होइन : डा. वन्त

काठमाडौं । जनस्वास्थ्य विज्ञ डा। शरद वन्तले स्वास्थ्य बीमा कार्यक्रम लोककल्याणकारी हुन नसकेको बताएका छन् । सोमबार काठमाडौंमा पब्लिक हेल्थ डिस्कसन ग्रुप नेपालले आयोजना गरेको छलफल कार्यक्रममा डा. वन्तले स्वास्थ्य बीमा कार्यक्रम आम नागरिकको पहुँचमा पुग्न नसकेको बताए । उनले स्वास्थ्य बीमाको प्रिमियम नागरिकको आर्थिक क्षमतामा आधारित हुनुपर्ने बताए । ‘केही नागरिकलाई त सरकारले पनि तिर्दिन्छ, बजारमा खरिद गरेजस्तो सबैलाई एउटै मूल्य राख्न भएन, गरिब र धनीलाई एउटै प्रिमियम रकम छ, सबै नागरिक एउटै तहका त छैनन् नि, यसलाई सामाजिक न्याय भनिँदैन,’ उनले भने । यस्तै, वन्तले स्वास्थ्यमा निजी क्षेत्रहरूको संलग्नता हाबी भएको बताए । ‘आधारभूत स्वास्थ्यमा निजी स्वास्थ्य संस्थाको हाबी छ, स्वास्थ्य बिमामा पनि निजी क्षेत्रको संलग्नता छ,’ उनले भने । निजी क्षेत्रको विरोधी नभए पनि सो क्षेत्रलाई जिम्मेवारी बनाउनुपर्ने उनी बताउँछन् । अरु वस्तुको बजार र स्वास्थ्य सेवाको बजार एउटै हुनै नसक्ने बताउँदै उनले बिरामी उपभोक्ता नभएर सेवाग्राही भएको बताए । ‘बिरामीको लागि निर्णय गरिदिने व्यक्ति जिम्मेवार र इमान्दार हुनुपर्छ, स्वास्थ्य नागरिकको हक रहेको र हकको दायित्व सुनिश्चित गर्ने जिम्मेवारी सरकारको हो,’ उनले भने ।

बैंकविरुद्ध अराजक गतिविधि गर्नेलाई तत्काल कारवाही गर्नु : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्था विरुद्धका गतिविधि रोक्न निर्देशन दिएको छ । मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई बैंक तथा वित्तीय संस्था विरुद्धका घटनाहरु रोक्न निर्देशन दिएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध देशभरी आन्दोलन चर्किएको छ । व्यवसायी दुर्गा प्रसाईं लगायतका समूहले विभिन्न सभाहरुमा गएर बैंक तथा वित्तीय संस्थाका विरुद्ध बोल्दै कर्मचारीलाई कालोमोसो दल्न समेत चेतावनी दिँदै आएका छन् । बैंक तथा वित्तीय संस्था विरुद्धका यस्ता अराजक गतिविधि रोक्न र आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले विकासन्युजसँग बताए । साथै, बैंक तथा वित्तीय संस्था, लघुवित्त र सहकारी संस्थाहरुमा अराजक गतिविधि गरेमा कारवाही गर्न पनि निर्देशन दिएको उनको भनाइ छ । ‘कानुनी राज्यमा सबै कामहरु नियमसंगत हुनुपर्छ, बैंक, वित्तीय संस्था, लघुवित्त र सहकारी संस्थाहरु विरुद्ध अराजक गतिविधि भइरहेका छन्, यसलाई रोक्न जिल्ला प्रशासनलाई निर्देशन दिइएको हो,’ उनले भने, ‘यदि संस्थाका कार्यालयहरुमा अराजक गतिविधि भए कारवाही गर्न भनिएको हो ।’

दुधको मूल्य बढ्यो, अब उपभोक्तालाई महँगो पर्ने

काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य बढाएको हो । सरकाले दुधको मूल्य ९.१ रूपैयाँ बढाउँदै प्रतिलिटर ६५.५ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ थियो । यो मूल्यवृद्धिको भार उपभोक्तालाई पर्नेछ । किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गर्दै आएका थिए । एक वर्षअघि पनि सरकारले दुधको मूल्य बढाएको थियो । सरकारी स्वामित्वको डीडीसीले हाल फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अब सो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ ।

मेस्सीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा गोली प्रहार

ब्यूनस आयर्स । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो शहर रोजारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार एक दर्जन गोली प्रहार गरेर आक्रमणकारीले छाडेको लिखित सन्देशमा मेस्सीलाई आक्रमणको धम्की दिइएको हो । ब्यूनस आयर्सबाट तीन सय किलोमिटर उत्तरपश्चिममा रोजारियो शहर अवस्थित छ । मेस्सीका ससुरालीको पसल बाहिर टाँसिएको सन्देशमा ‘मेस्सी १ हामी तिमीलाई पर्खिरहेका छौँ, जाभकिन पनि लागूऔषध तस्कर हो, उसले तिम्रो ख्याल गर्दैन,’ भनिएको छ । रोजारियोका शहरका प्रमुख पाब्लो जाभकिनले आक्रमण गरिएको पसलको अवलोकन गरेर लागुऔषध सम्बन्धी हिंसामा भएको वृद्धिलाई रोक्न असफल भएको भन्दै सङ्घीय अधिकारीहरूको आलोचना गरेका छन् । मेस्सीलाई धेरै अर्जेन्टिनीले महान् फुटबल खेलाडीका रूपमा सम्मान गर्छन् । छत्तीस वर्षपछि उनको नेतृत्वमा अर्टेन्टिनी राष्ट्रिय टोलीले गत डिसेम्बरमा विश्वकप प्रतियोगिता जितेपछि उनीप्रतिको सम्मान अझ बढेको छ । मेस्सी हाल पेरिस सेन्ट–जर्मेनबाट खेलिरहेका छन् । धेरै समय उनी विदेशमा नै बिताउँछन् । यद्यपि उनी रोजारियो पनि जाने गर्छन् । फ्युनेसको उपनगरमा उनो घर छ । फ्रान्सेली टोलीले बिहीबार बिहान मेस्सीको प्रशिक्षणको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । रोजारियोका अभियोजक फेडेरिको रेबोलाले सुरक्षा क्यामेरा फुटेजको समीक्षा सुरक्षा अधिकारीहरूले गरिरहेका तथा प्रारम्भिक अनुसन्धान प्रारम्भ भएको बताएका छन् । मेस्सीका ससुरालीले पनि यस प्रकारको धम्की पहिलोपटक पाएको बताएका छन् । सान्ता फे प्रान्तका न्याय मन्त्री सेलिया एरेनाले समाजमा आतङ्क मच्चाउन माफिया समूहले उक्त आक्रमण गरेको बताएका छन् । उनले यो आक्रमणको उद्देश्य आपराधिक हिंसाविरुद्ध लडिरहेकाहरूलाई निरुत्साहित गर्न भएको सामाजिक सञ्जालमा लेखेका छन् । रासस/ एपी

मोलुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट, ७ हजारको आवेदन रद्द

काठमाडौं । फागुन १९ गते, शुक्रबार मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा कुल १४ लाख २४ हजार ३५१ जनाले कुल १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १४ लाख १७ हजार ३४६ आवेदन स्वीकृत भएको छ भने ७ हजार ५ जना आवेदन रद्द भएको छ । गोलाप्रथा प्रणालीबाट सेयर बाँडफाँट गर्दा दुई लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । सोमध्ये ५ जनाले भने थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

३ होली इभेन्टको टिकट ‘आइएमई पे’ बाट खरिद गर्न सकिने

काठमाडौं । यस वर्षकाे तीन हाेली इभेन्टस्हरुकाे टिकट आइएमई पे बाट काट्न सकिने भएकाे छ । आइएमई पेबाट अन्नपूर्ण होटलमा हुने कलरेल्ला, द मल्ल होटलमा हुने कलर स्प्ल्यास र सिद्दार्थ बुटिक होटलमा हुने होली फिएस्ता २०२३ काे टिकट काट्न सकिने भएकाे हाे । ग्राहकवर्गले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मुल्य भन्दा थोरै मुल्यमा पाउने कम्पनीले बताएकाे छ । कम्पनीकाे अनुसार हाेली इभेन्टस्काे टिकट आइएमई पे एपको ‘इभेन्ट’ सेवा भित्र उपलब्ध छ । ग्राहकलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उदेश्यका साथ आइएमई पेले होली इभेन्ट टिकटिङ सुविधा प्रदान गरेको जनाएकाे छ ।   

दुई रेलमार्गबीच तादात्म्यता मिलाउने सरकारकाे योजना

काठमाडौं । सरकारले निर्माण सुरु गरेको पूर्व-पश्चिम रेलमार्ग र भारतीय सरकारको सहयोगमा अध्ययन भइरहेको रेलमार्गका बीचमा तादम्यता मिलाउने (सिङ्क्रोनाइज) गर्न तयारी अघि बढाइएको छ । रक्सौल–काठमाडौं रेलमार्ग पनि निजगढ खण्डमा मिल्ने हुँदा निर्माण सुरु हुनु अघि नै दुई लाइनबीच तादात्म्यता मिलाउन आवश्यक रहेको रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनियर) अमन चित्रकारले बताए । भारतीय पक्षले रक्सौल–काठमाडौंको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहेको छ । भारतीय पक्षलाई लिखितरूपमै निजगढ खण्डको केही सूचना दिनका लागि भनिएको समेत उनको भनाइ छ । उनले भने, ‘एउटा रेलबाट अर्को रेलमा यात्रु कसरी परिवर्तन गर्ने, कसरी चढाउने र झार्ने, कसरी सामान एउटाबाट अर्कोमा हाल्ने र कसरी मालसामान ढुवानी गर्ने भनी मिलाउनुपर्ने हुन्छ ।’ भारतीय कम्पनी कोंकण रेल्वे कम्पनी लिमिटेडले अध्ययनको काम गरिरहेकाले पहिले लिखितरूपमै पठाइएको प्रवक्ता चित्रकारले बताए । त्यहाँबाट जवाफ नआएपछि अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट परराष्ट्र मन्त्रालय हुँदै भारतीय पक्षलाई अनुरोध गरिएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत अहिले निजगढ–भरतपुर खण्डको डिपिआर अध्ययन भइरहेको छ । पहिले सबै खण्डको अध्ययन भइसकेको भए पनि यो खण्डमा रेखाङ्कन परिवर्तन गर्नुपर्ने भएकाले पुनः अध्ययन भइरहेको प्रवक्ता चित्रकारको भनाइ छ । पहिलेको रेखाङ्कन चितवन राष्ट्रिय निकुञ्जभित्रबाट रहेकाले अहिले त्यहाँबाट नलगेर निजगढबाट हेटौँडा हुँदै भरतपुर लैजाने गरी डिपिआर भइरहेको उनले बताए । सरकारसँग भारतीय पक्षले गरेको सम्झौता (एमओयु) अनुसार सो अध्ययन प्रतिवेदन सुरु भएको १८ महिनामा दिनुपर्ने उल्लेख छ । प्रारम्भिक अध्ययनका आधारमा काठमाडौं–रक्सौल रेलमार्गको लम्बाइ एक सय २६ किमी अनुमान गरिएको थियो । निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल वरपरबाट घुमाएर गर्दा लम्बाइ केही बढ्नसक्ने देखिएको छ । रक्सौल–काठमाडौं रेलमार्ग ब्रोड गेजमा अध्ययन भइरहेको छ भने पूर्व–पश्चिम रेलमार्ग अहिले पछिल्लो चरणमा स्ट्याण्डर्ड गेजमा अध्ययन भइरहेको छ । भारत सरकारले निर्माण गरिरहेको अरु रेलमार्ग पनि ब्रोड गेजका छन् । चीन सरकारले सुरु गरेको काठमाडौं–केरुङ रेलमार्ग भने स्ट्याण्डर्ड गेजमै छ । रासस