विकासन्युज

चुरेमा कालिजपालन व्यवसाय फस्टाउँदै, महिनाको २ लाखसम्म आम्दानी

अत्तरिया । कैलालीको चुरे गाउँपलिका–५ निङ्लाडी सुन्दर क्षेत्र हो । यहाँको हरियाली जङ्गलबीचमा चारैतिर घेराबार गरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिर–चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन् । तराई क्षेत्रबाट चुरे खानीडाँडा पुग्ने धेरैजसोले कालिज फार्म अवलोकन गर्छन् । परिवारसहित भीमदत्त राजमार्गको छेउमै रहेको निङ्लाडीमा रहेको जङ्गलमा कालिजपालन गरेर बसेका कैलाली टीकापुरका ३२ वर्षीय विकास न्यौपाने फार्ममै व्यस्त हुन्छन् । उनी कालिजमात्र होइन, कुखुरा, लौकट र टर्की पाल्छन् । कालिजपालन गर्ने उद्देश्यले फार्ममा पुग्नेलाई सल्लाह दिन्छन् । कालिजपालनबाट घाटा नहुने उनको अनुभव छ । ‘कालिजपालनमा धैर्य चाहिन्छ, घाटा हुँदैन’, उनले भने, ‘मैलेमात्र महिनाको डेढदेखि दुई लाख आम्दानी गर्छु ।’ पछिल्लो समय ग्राहकको माग धान्न नसकिरहेको उनको भनाइ छ । सुप एकीकृत कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका उनले सुदूरपश्चिममै कृषि व्यवसायको सम्भावना देखेर काठमाडौंबाट यता आएको सुनाए । सुरुमा ३० लाख उनको फार्ममा लगानी भएको छ । अहिले लगानी ६० लाख पुग्यो । फार्ममा आफ्नो परिवार, भाइ र एक अर्का कामदारसहित चार जना व्यस्त हुन्छन् । ‘दानापानी खुवाउनेदेखि रेखदेखसम्म २४ घण्टा खटिन्छौँ’, विकासले भने, ‘त्यसको प्रतिफल राम्रै छ ।’ सो फार्ममा कालिजको माग देशभर र भारतबाट पनि आउँछ । ‘नेपालमा मात्र होइन भारतको केरालासमेतबाट माग आउँछ तर पु¥याउन सकेका छैनौँ’, उनले भने । कालिज चर्न कुखुरालाई भन्दा फराकिलो ठाउँ चाहिन्छ । त्यसैअनुसार यहाँ फराकिलो जङ्गल छ । कालिजलाई १८ देखि २२ डिग्री तापक्रम उपयुक्त मानिन्छ । आहारामा हरियो घाँस र कुखुरालाई दिने दाना दिइन्छ । दश वर्षको सम्झौतामा वार्षिक एक लाख २५ हजार भाडा तिर्ने गरी ३० रोपनी जग्गा भाडामा लिएर सो व्यवसाय सुरु गरिएको हो । साढे तीन सय कालिजका चल्लाबाट सुरु भएकोमा अहिले भाले–पोथी गरी तीन हजार पुगेको छ । बिक्री पछि अहिले छ सयमात्र कालिज फार्ममा छन् । सो फार्मबाट कालिज, कुखुरा, टर्की र लौकाटको ‘होम डेलिभरी’ हुन्छ । सुरुमा भिरालो जमिनमा बस्ने टहरादेखि तार जालीसम्म गर्दा सो फार्ममा धेरै लगानी भएको थियो । ‘फार्म हेर्नमात्र धेरै आउँछन्’, उनले भने, ‘ग्राहकका लागि त्यहीँ बनाएर खान मिल्ने व्यवस्था गरेका छौँ ।’ फार्ममा काम गर्ने कामदारसमेत नभेटिएको उनको गुनासो छ । ‘कालिज, खुकुरा बिरामी भए आफँै गएर औषधि ल्याउँछु । चार वर्ष अनुभव भयो’, उनले भने, ‘डेलिभरिदेखि चल्लाको रेखदेख गर्न आफैँ खटिनुपर्छ ।’ उनले कुखुराका लागि छुट्टै फार्म निर्माण गरेका छन् । फार्ममा एक हजार गिरिराज कुखुरा छ । सुरक्षा गर्न चारैतिर करेन्ट आपूर्ति, सिसी क्यामेरा र दुईवटा कुकुर राखिएको छ । कालिजपालन व्यवसाय नेपालमा नयाँ हो । यहाँ त्यसका अण्डा र चल्ला नेपालको सबै ठाउँमा पाइँदैन । विकासले ह्याचरिङसमेतको व्यवस्था गरेका छन् । अन्य पक्षीभन्दा कालिजको मूल्य महँगो पर्छ । नेपालमा जहाँ पनि तौलेर नभई प्रतिगोटाका हिसाबले बिक्री गर्दै आएकाले उनले पनि गोटाको हिसाबले मूल्य तोकेर बिक्री गर्ने गरेको बताए । उनका अनुसार तीन सय ५० देखि तीन हजार पाँच सयसम्ममा कालिज बिक्री हुन्छ । ‘दानापानी गरेर एउटा चल्लाकै लागत एक हजारसम्म पर्छ । छ महिना दानापानी खुवाएर हुर्काएको कालिजलाई रु तीन हजारसम्ममा बिक्री गछौँ’, व्यवसायी विकासले भने । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ अनुसार डाँफे, मुनाल, कालिजलगायतका वनजङ्गलमा पाइने पक्षी पाल्न तथा सिकार गर्न प्रतिबन्ध गरिएको छ । विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा सिकार गर्न पाइने भएकाले नेपालमा कालिज पाल्नेको लहर चलेको व्यवसायीको भनाइ छ । नेपाल सरकारले कालिजपालनलाई अनुमति दिएको लामो समय भइसकेको छैन । कालिजको मासु स्वादिष्ट र पोषणयुक्त हुने भएकाले माग हेरेर कालिजको सङ्ख्या बढाउने उनको लक्ष्य छ । कालिज बिक्रीका लागि बजारको कुनै अभाव नरहेको र सर्वसाधारणको भान्छामा सहजै पु¥याउने योजना उनको छ । ‘ठूला होटलदेखि सर्वसाधारणको भान्सामा कालिजको मासुको माग हुन्छ, उत्पादन हुनुप¥यो मासुको बजारको समस्या छैन’, उनले भने । कालिज छ महिनादेखि मासुका लागि तयार हुन्छ । भाले कालिजको तौल औसतमा डेढ किलोग्रामसम्म पुग्छ । पोथी भने नौ सय ग्रामदेखि एक किलोसम्म तौलको हुन्छ । यसले माघदेखि असारसम्म अण्डा दिने र वर्षको एक मौसममा एउटा पोथीले ५० देखि ५५ वटा अण्डा पार्छ । तीस हजार अण्डा ह्याचरिङ गर्दा २० हजारसम्म चल्ला हुर्काउन सकिए पनि चल्लाबाट राम्रो आम्दानी लिन सकिने उनको विश्वास छ । सानो बच्चामै एक–दुईवटा खोप दिएपछि कुनै रोग कालिजमा देखिएको छैन । विकासले कालिजमा अन्य पक्षीजस्तो रोग नदेखिने गरेको बताए । कालिजका लागि पहाडी क्षेत्रको भू–भाग र हावापानी राम्रो हुन्छ । ‘कुखुराभन्दा कालिजलाई प्रोटिनको मात्रा धेरै भएको दाना चाहिन्छ, घाँस पर्याप्त भए ५० प्रतिशत दाना र ५० प्रतिशत घाँस खुवाउन सकिन्छ, त्यो भयो भने लागत पनि घट्न जान्छ’, उनले भने । फार्ममा पालिएका कालिज एक–अर्कालाई ठुङ्ने, लड्ने भएकाले खेल्न र उड्न मिलोस् भनेर अग्लो गरी तार र जाली लगाएर घेरिएको छ । विकासले राजमार्गदेखि कालिज फार्मसम्म पुग्ने सडक नहुँदा सबैभन्दा बढी समस्या हुने गरेको सुनाए । विकासले मात्र होइन खानीडाँडामा कर्मचारीदेखि नेतासम्मले कालिजपालन गरेका छन् । रासस

विदेशी पर्यटक बिना गाइड पदयात्रामा जान नपाउने

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले बिना पथप्रदर्शक (गाइड) पदयात्रामा जान नपाउने निर्णय गरेको छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पदयात्रालाई सुरक्षित, भरपर्दो र व्यवस्थित गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो । यो निर्णय १ अप्रिल २०२३ देखि लागु हुनेछ । पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रमा आवद्ध मजदुरको संयुक्त सङ्गठनको मागअनुरुप बोर्डले पदयात्रामा जाने पर्यटकले अनिवार्यरुपमा गाइड लाने व्यवस्था गरेको हो । नेपालमा कोभिड–१९ भन्दा अगाडि सन् २०१९ मा ४६ हजार एक सय ४२ पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रुपमा आएका थिए । यस्तो सङ्ख्या सन् २०२२ मा १९ हजार चार सय २५ थियो । यसरी आउने पर्यटकले नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड विक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाने गरेका थिए । बोर्डले एफआईटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्नेछ । यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति एक हजार र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति दुई हजार तिरेर टिम्स कार्ड लिने गरेका थिए । सबै पर्यटकका लागि टिम्सकार्डको मूल्य रु दुई हजार कायम गरिएको निर्देशक लामिछानेले बताए ।

दुर्गा प्रसाईंको अराजकता विरुद्ध सरकारसँगै राष्ट्र बैंक पनि तात्यो, ‘अन दि स्पट’ कारवाहीको सर्कुलर

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायी दुर्गा प्रसाईंले अराजक अभिव्यक्ति दिन थालेका छन् । उनले कार्यक्रमको आयोजना नै गरेर सार्वजनिक रुपमै बैंक तथा वित्तीय संस्थाविरुद्ध विभिन्न किसिमका आपत्तिजनक र अराजक अभिव्यक्ति दिन थालेका छन् । उनले एउटा अभियान नै चलाएर बैंकको सावाँ ब्याज नतिर्न उद्योगी व्यवसायी र सर्वसाधारणलाई समेत आव्हान गरिरहेका छन् । त्यति मात्रै होइन उनले सार्वजनिक कार्यक्रममै बैंकरलाई ‘जहाँ भेट्यो त्यहीँ कालोमोसो दल्नु’ भन्दै समाज भड्काउने गलत अभिव्यक्ति दिइरहेका छन् । उनको अभिव्यक्तिको प्रशय पाउँदै बुधबार जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि अज्ञात समूहद्वारा कालोमासो पनि दलियो । पूर्वदेखि पश्चिमसम्म बैंकविरोधी अभिव्यक्ति दिइरहेका प्रसाईंले एउटा संयन्त्र नै खडा गरेर लागिरहेका छन् । उनले झापामा मात्रै २ सय जनालाई परिचालन गरेको बताउँदै आएका छन् । उनको यस्ता गलत अभिव्यक्ति र समाज भड्काउने गतिविधिप्रति सरकार चनाखो बनेको छ । शुक्रबार गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्था विरुद्धका घटनाहरु रोक्न निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बैंक तथा वित्तीय संस्था विरुद्धका यस्ता अराजक गतिविधि रोक्न र आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको बताए । उनले बैंक तथा वित्तीय संस्था, लघुवित्त र सहकारी संस्थाहरुमा अराजक गतिविधि गरेमा तत्काल कारवाही गर्न परिपत्र जारी गरेको बताए । ‘कानुनी राज्यमा सबै कामहरु नियमसंगत हुनुपर्छ, बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध अराजक गतिविधि भइरहेका छन्, यसलाई रोक्न जिल्ला प्रशासनहरुलाई निर्देशन दिएका छौं, गलत गर्नेलाई तत्काल पक्राउ गरेर कारवाही गर्न पनि भनेका छौं,’ उनले विकासन्युजसँग भने । बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरको विषयमा विभिन्न उद्योगी व्यवसायीहरुले पनि लामो समयदेखि विरोध तथा आन्दोलन गरिरहेका छन् । तर, ती आन्दोलनहरु शान्तिपूर्ण भइरहेका छन् । कतिपय ठाउँमा बैंकमा निक्षेप नराख्ने अभियान पनि सञ्चालन भइरहेका छन् । तर, व्यवसायी प्रसाईं अराजक किसिमले सडकमा उत्रिएपछि सरकार उनको यो अभियान रोक्न लागेको हो । ऋण नतिरेर सुख छैन : राष्ट्र बैंक व्यवसायी प्रसाईंले २० लाख भन्दा कमको ऋण मिनाहा हुनु पर्ने माग पनि राखेका छन् । जुन मागको राष्ट्र बैंकले समेत विरोध गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर, लघुवित्त संस्थाका कर्मचारी माथि कालोमोसो दल्न समूह बनाउने कामले समाज विभाजित हुने बताउँदै यस्ता अराजक मानसिकता भएका व्यक्तिलाई कारवाही गर्नु पर्ने धारणा राखे । ‘बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्दिन भनेर सुख नै छैन, त्यसको परिकल्पना नगर्न आग्रह छ,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा बैंकको होइन, त्यो नेपाली दाजुभाई दिदिबहिनीहरुले पैसा हो, कर्जा लिनेहरुले कर्जा दिँदिन भन्दा बैंकका निक्षेपकर्ताहरुले पैसा पाउन समस्या हुन्छ,’ उनले भने । यस्तै, उनले कर्जा ढिला हुनसक्ने र ब्याजदरका विषयमा राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग छलफल गरिरहेको बताए । ‘कर्जा दिन ढिला हुनसक्छ, त्यसको लागि राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग छलफल गरी लिलामी प्रक्रियामा नीतिगत परिवर्तन गरी रोक्न सक्छ, यो विषयमा ऋणीहरुलाई बुझाउँदै छौं,’ उनले भने । बिहीबार बैंक तथा वित्तीय संस्थामा कार्यरत सीईओहरुको चार संस्थाहरुले समेत बैंक तथा वित्तीय संस्थाविरुद्द अराजक किसिमका अभिव्यक्ति दिनेहरुलाई कारवाही गर्नु पर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेका थिए । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर एसोशिएसन, नेपाल वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्ता प्रवृतिको विरोध जनाएको थियो । व्यवसायीको पनि छैन साथ दुर्गा प्रसाईं र उनको समूहले गरेको काममा स्वंयम् उद्योगी व्यवसायीहरुले पनि साथ दिएका छैनन् । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले समेत ऋण लिएपछि तिर्नु पर्ने भन्दै सस्तो लोकप्रियताको लागि समाज भड्काउनेहरुबाट सजग बन्न आग्रह गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बैंकबाट ऋण लिएपछि तिर्नु पर्ने बताए । ढकालले व्यवसायीमाझ लोकप्रिय बन्न सस्ता र मिठा कुरा नगर्न समेत आग्रह गरेका हुन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६४औँ वार्षिक साधारण सभामा बोल्दै उनले केही व्यक्तिहरुले लोकप्रिय बन्ने होडबाजीमा सस्ता–मिठा कुरा नगरी जिम्मेवार भएर कुरा उठाउन आग्रह गरेका हुन् । ‘व्यवसायीहरुले सस्तो लोकप्रियताको लागि गैर जिम्मेवार भएर अभिव्यक्ति दिनु हुँदैन, जथाभावी बोल्नु हुँदैन, बैंकको ब्याज र सावाँ समेत तिर्दिन भन्न मिल्दैन, बैंकमा भएको पैसा पनि जनताकै हो,’ यस्ता अभिव्यक्ति दिएर समाज भड्काउने काम गर्नु हुँदैन,’ उनले भने ।

नेप्सेमा ९ बैंकको साढे ६ करोड कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ९ वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको छ । गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएका हुन् । हालसम्म सानिमा बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र साविकका सिभिल बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, नेपाल क्रेडिट एण्ड कमर्स बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यी सबैको बैंकको गरी कूल ६ करोड २९ लाख ९१ हजार ४४५.२४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सानिमा बैंकको १० प्रतिशत बोनस वापतको १ करोड १३ लाख २७ हजार ३७७.३३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.९८ प्रतिशत नगद गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, एभरेष्ट बैंकको १३ प्रतिशत बोनस वापतको १ करोड २३ लाख ७ हजार ५४२.२७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, हिमालयन बैंकको ८ प्रतिशत बोनस सेयर वापत १ करोड ३ लाख ७४ हजार ९८०.५८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ११.११ प्रतिशत नगद गरी कूल १९.११ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, ग्लोबल आइएमई बैंकको ३ प्रतिशत बोनस वापतको ७१ लाख ३८ हजार ७२६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ प्रतिशत बोनस वापतको ७३ लाख २३ हजार १६.५३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, साविकको सिभिल बैंकको ५ प्रतिशत बोनस वापतको ४५ लाख ३७ हजार ९२१.९५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरि कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, साविकको मेगा बैंकको ४ प्रतिशत बोनस सेयर वापतको ६४ लाख ४८ हजार १८४.५८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बानेस सेयर र कर प्रयोजनार्थ ३.७९ प्रतिशत नगद गरी कूल ७.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, साविकको बैंक अफ काठमाण्डूको ६ प्रतिशत बोनस वापतको ६३ लाख ७४ हजार ३९६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १४.९५ प्रतिशत नगद गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ३.३६६३ प्रतिशत बोनस वापतको ३७ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको होे । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ३.३६६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ७.६३३७ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपालद्वारा पपुवा न्युगिनी पराजित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले पपुवा न्युगिनीलाई तीन विकेटले पराजित गरेको छ । पपुवा न्युगिनीले जितका लागि दिएको एक सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा सात विकेट गुमाउँदै पुरा ग¥यो । नेपालको जितमा आसिफ शेखले सर्वाधिक अविजित ८६ रनको योगदान दिए । उनले एक सय ३० बलमा दुई चौका र एक छक्काको मद्दतमा उक्त रन बनाएका हुन् । त्यसैगरी सन्दीप लामिछानेले अविजित ३५ रन बनाए । कुशल मल्लले २६ बलमा २३ रन बनाए । पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले ज्ञानेन्द्र मल्ललाई छ रनमा गुमायो । त्यस्तै भीम सार्कीले आठ रन मात्र बनाउँदा कप्तान रोहित पौडेल र आरिफ शेखले समान एक र एक रन बनाए । दीपेन्द्रसिंह ऐरीले आठ रन बनाए भने कुशल मल्लले २३ रनमा बनाए । एक छेउबाट शीर्ष ब्याटरहरू एकपछि अर्को आउट हुँदै गर्दा आसिफ शेखलाई बलर सन्दीपले भरपर्दो साथ दिएका हुन् । यो जोडीले ३२ ओभरमा ७ विकेटको क्षतिमा १०७ रनको अवस्थाबाट नेपाललाई विजयी बनाएको हो । आसिफ र सन्दीपले १६ ओभरमा महत्त्वपूर्ण ७७ रन जोडे । पपुवा न्युगिनीका कप्तान असाद भाला, सेमो कमिया र सेसे बाउले समान २/२ विकेट लिए । त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवा न्युगिनीले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १७९ रनको योगफल बनाएको थियो । पपुवा न्युगिनीका लागि टोनी उराले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै हिरी हिरी २९ रनमा आउट हुँदा किप्लीन डोरीगाले २६ रन बनाए । गौडी टोकाले १५ रन बनाए भने नर्मन भानुवाले १४ रन बनाए । सेसे बाउ र कप्तान असद भालाले समान ११/११ बनाए । नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए भने कुशल मल्ल, सन्दीप लामिछाने र करण केसीले समान १/१ विकेट झारे । यस जितसँगै नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित छैटौँ स्थानमा छ । पपुवा न्यूगिनी ३१ खेलमा ७ अङ्कसहित तालिकाको पुछारमा रहेको छ ।

गरिब र धनीलाई एउटै बीमा प्रिमियम हुन सामाजिक न्याय होइन : डा. वन्त

काठमाडौं । जनस्वास्थ्य विज्ञ डा। शरद वन्तले स्वास्थ्य बीमा कार्यक्रम लोककल्याणकारी हुन नसकेको बताएका छन् । सोमबार काठमाडौंमा पब्लिक हेल्थ डिस्कसन ग्रुप नेपालले आयोजना गरेको छलफल कार्यक्रममा डा. वन्तले स्वास्थ्य बीमा कार्यक्रम आम नागरिकको पहुँचमा पुग्न नसकेको बताए । उनले स्वास्थ्य बीमाको प्रिमियम नागरिकको आर्थिक क्षमतामा आधारित हुनुपर्ने बताए । ‘केही नागरिकलाई त सरकारले पनि तिर्दिन्छ, बजारमा खरिद गरेजस्तो सबैलाई एउटै मूल्य राख्न भएन, गरिब र धनीलाई एउटै प्रिमियम रकम छ, सबै नागरिक एउटै तहका त छैनन् नि, यसलाई सामाजिक न्याय भनिँदैन,’ उनले भने । यस्तै, वन्तले स्वास्थ्यमा निजी क्षेत्रहरूको संलग्नता हाबी भएको बताए । ‘आधारभूत स्वास्थ्यमा निजी स्वास्थ्य संस्थाको हाबी छ, स्वास्थ्य बिमामा पनि निजी क्षेत्रको संलग्नता छ,’ उनले भने । निजी क्षेत्रको विरोधी नभए पनि सो क्षेत्रलाई जिम्मेवारी बनाउनुपर्ने उनी बताउँछन् । अरु वस्तुको बजार र स्वास्थ्य सेवाको बजार एउटै हुनै नसक्ने बताउँदै उनले बिरामी उपभोक्ता नभएर सेवाग्राही भएको बताए । ‘बिरामीको लागि निर्णय गरिदिने व्यक्ति जिम्मेवार र इमान्दार हुनुपर्छ, स्वास्थ्य नागरिकको हक रहेको र हकको दायित्व सुनिश्चित गर्ने जिम्मेवारी सरकारको हो,’ उनले भने ।

बैंकविरुद्ध अराजक गतिविधि गर्नेलाई तत्काल कारवाही गर्नु : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्था विरुद्धका गतिविधि रोक्न निर्देशन दिएको छ । मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई बैंक तथा वित्तीय संस्था विरुद्धका घटनाहरु रोक्न निर्देशन दिएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध देशभरी आन्दोलन चर्किएको छ । व्यवसायी दुर्गा प्रसाईं लगायतका समूहले विभिन्न सभाहरुमा गएर बैंक तथा वित्तीय संस्थाका विरुद्ध बोल्दै कर्मचारीलाई कालोमोसो दल्न समेत चेतावनी दिँदै आएका छन् । बैंक तथा वित्तीय संस्था विरुद्धका यस्ता अराजक गतिविधि रोक्न र आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले विकासन्युजसँग बताए । साथै, बैंक तथा वित्तीय संस्था, लघुवित्त र सहकारी संस्थाहरुमा अराजक गतिविधि गरेमा कारवाही गर्न पनि निर्देशन दिएको उनको भनाइ छ । ‘कानुनी राज्यमा सबै कामहरु नियमसंगत हुनुपर्छ, बैंक, वित्तीय संस्था, लघुवित्त र सहकारी संस्थाहरु विरुद्ध अराजक गतिविधि भइरहेका छन्, यसलाई रोक्न जिल्ला प्रशासनलाई निर्देशन दिइएको हो,’ उनले भने, ‘यदि संस्थाका कार्यालयहरुमा अराजक गतिविधि भए कारवाही गर्न भनिएको हो ।’

दुधको मूल्य बढ्यो, अब उपभोक्तालाई महँगो पर्ने

काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य बढाएको हो । सरकाले दुधको मूल्य ९.१ रूपैयाँ बढाउँदै प्रतिलिटर ६५.५ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ थियो । यो मूल्यवृद्धिको भार उपभोक्तालाई पर्नेछ । किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गर्दै आएका थिए । एक वर्षअघि पनि सरकारले दुधको मूल्य बढाएको थियो । सरकारी स्वामित्वको डीडीसीले हाल फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अब सो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ ।