ग्रीनसिटी हस्पिटलले गर्यो ३० किलो तौल भएको ट्युमरको सफल अप्रेशन
काठमाडाैं । ग्रीनसिटी हस्पिटलले तिस किलो भन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन गरेको छ । अस्पताले माघ ५ गते ताप्लेजुङ स्थायी घर भइएकी हाल भत्तपुरमा बस्ने ४९ वर्षीया रिता शेर्पाको तिस किलो भन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन गरेको हो । अस्पातलले आर्थिक रुपमा कमजोर रहेकी शेर्पालाई निःशुल्क अप्रेशन गरिदिएकाे हाे । अस्पतालले टयुमरको अप्रेशनको लागि पाँच लाख बढी खर्च गरेको र बाहिर अप्रेशन गर्नपरे आठ लाख बढी खर्च लाग्ने बताएको छ । अस्पतालले शेर्पाकाे जस्ताे जटिल प्रकृतिका रोगको अप्रेशनहरु निःशुल्क रुपमा गर्दै आएको छ । शेर्पाको अप्रेशन गर्ने अस्पतालकी डा. रुपा झाले बिरामीको तत्काल अप्रेशन गर्दा स्वास्थ्यमा अन्य धेरै जटिल समस्या आउन सक्ने सम्भावनालाई ख्याल गरी अन्य विभिन्न चेकजाँच गरी अप्रेशन सफलतापूर्वक गर्न सफल भएको बताइन् । ‘अप्रेशन अघि शेर्पाको पेटमा तीस केजीको भारीले हिँड्न नमिल्ने,खाना बस्न समेत अफ्ठ्यारो रहेकोमा अहिले सफल अप्रेशनपछि सामान्य अवस्थामा आएको छ,’ उनले भनिन् । अस्पतालले जटिल प्रकृतिका रोगको निःशुल्क उपचार गर्नको लागि लाखौं रुपैयाँ खर्च गर्ने गरेको पनि बताएको छ ।
मस्तिष्क मृत्यु भएकी १७ वर्षकी युवतीबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण
काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एक व्यक्तिबाट प्राप्त अङ्गलाई तीन जनामा सफल प्रत्यारोपण भएको जानकारी दिएका हुन् । उनले भने, ‘गत मङ्गलबार सवारी दुर्घटनाबाट परी मस्तिष्क मृत्यु भएकी १७ वर्षीय युवतीबाट केन्द्र र भारतीय चिकित्सकको टोलीले तीन जनामा मृगौला र कलेजोको सफल प्रत्यारोपण गर्न सफल भएको छ ।’ दुर्घटनामा परी मस्तिष्क मृत्यु भएकी ती युवतीबाट रुपन्देही मायादेवी गाउँपालिका–४ पविका ४७ वर्षीय पुरुष र सिराहा जिल्ला सिराहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । साथै ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषलाई कलेजो प्रत्यारोपण गरिएको थियो । केन्द्रले २०७४ वैशाख २८ गतेदेखि पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु गरेको थियो । हालसम्म केन्द्रमा पाँच जना व्यक्तिबाट अङ्ग प्राप्त गरी १३ जनामा प्रत्यारोपण भएको डा श्रेष्ठले जानकारी दिए । डा श्रेष्ठका अनुसार हरेक वर्ष एक हजार जनाको मस्तिष्क मृत्यु हुने गर्छ तर अत्यन्त न्यून सङ्ख्यामा अङ्ग दान हुने गरेको छ । मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐनको पहिलो संशोधन २०७२ अनुसार अस्पतालले समन्वय इकाइमार्फत केन्द्रलाई जानकारी दिनुपर्ने प्रावधान भए पनि अस्पतालले जानकारी दिन हिचकिचाहट गर्ने गरेको डा श्रेष्ठले बताए । ‘विश्वमा ८० प्रतिशत प्रत्यारोपण दुर्घटनामा परी मस्तिष्क मृत्यु भएकाबाट प्राप्त हुने गर्छ । तर नेपालमा अस्पतालले केन्द्रलाई जानकारी दिन हिचकिचाउने र सर्वसाधरणमा यससम्बन्धी चेतनाको अभावका कारण दान गर्नेको सङ्ख्या न्यून रहेको छ’, उनले भने । मन्त्रालयका सचिव डा रोशन पोखरेलले जनचेतनाको अभावका कारण अङ्ग प्रत्यारोपणका लागि अङ्ग दान गर्नेको सङ्ख्या बढ्न नसकेको बताए । उनले भने, ‘मस्तिष्क मृत्युपश्चात् अङ्गदान गर्नसके अन्य रोग लागेका धेरै बिरामीको ज्यान बचाउन सकिन्छ । तर जनचेतना अभावका कारण अङ्गदान गर्नेको सङ्ख्या बढ्न नसक्नु दुःखद कुरा हो ।’ कलेजो प्रत्यारोपणमा डा रोशन घिमिरे, डा ललितकुमार दास र भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सकको सहभागिता थियो । मिर्गौला प्रत्यारोपण कार्यमा प्रा डा राकेशकुमार वर्मा, प्रा डा पवन चालिसे, डा दिपेश श्रेष्ठ, डा रविकिरण गौतम, डा हरि बराल र डा रोजन अधिकारीलगायत सर्जरीमा कार्यरत चिकित्सकको सहभागिता थियो । एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा आरती राई, डा निभा श्रेष्ठ, डा शोभित थापा र डा रश्मित श्रेष्ठको सहभागिता थियो । रासस
स्वावलम्बन लघुवित्तको २१ प्रतिशत लाभांश पारित
काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाकाे २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएकाे छ । संस्थाकाे शुक्रबार काठमाडाैंमा सम्पन्न २१ औं वार्षिक साधारण सभाले प्रस्ताव पारित गरेकाे हाे । उक्त साधारण सभाले संस्थाको आ.व.२०७९/८० को लेखापरीक्षण गर्नको लागि सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेकाे छ । सभाले अन्य इजाजतपत्र प्राप्त एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर/प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्ताव समेत पारित गरेको छ । यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ मा २९ करोड ५ लाख १४ हजार १ सय १० रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०७८/७९ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ । सभाले संस्थाको अधिकृत पूँजी २ अर्ब रुपैयाँ र जारी तथा चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५ सय कायम गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । चालु आ.व.को पौष मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालय मार्फत २ लाख ६३ हजार ७० महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम २० अर्व ७० करोड ५० लाख पुगेको छ भने सदस्यको बचत यस अवधिसम्ममा १२ अर्व ६९ करोड ७ लाख रहेको छ ।
बैंकले दिएकाे ऋण जनताको हो, तिर्दिन भन्ने परिकल्पना नगर्नु : डेपुटी गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर,लघुवित्तको संस्थाका कर्मचारी माथि कालोमोसो दल्ने समूह बनाउने कामले समाज विभाजित गर्ने बताएका हुन् । ‘बैंक वित्तीय संस्थाबाट लिएको कर्जा तिर्दिन भनेर सुख नै छैन, त्यसको परिकल्पना नगर्न आग्रह छ,’ उनले भने, ‘बैंक वित्तीय संस्था लगाएको कर्जा बैंक तथा वित्तीय संस्थाहरुको होइन, त्यो नेपाली दाजुभाई दिदिबहिनीहरुले बैंकमा राखेको पैसा हो, कर्जा लिनेहरुले कर्जा दिँदिन भन्दा बैंकका निक्षेपकर्ताहरुले पैसा पाउन समस्या हुन्छ,’ उनले भने । यस्तै, उनले कर्जा ढिला हुनसक्ने र ब्याजदरका विषयमा राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग छलफल गरिरहेको बताए । ‘कर्जा दिन ढिला हुनसक्छ, त्यसको लागि राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग छलफल गरी लिलामी नीतिगत परिवर्तन गरी रोक्न सक्छ, यो विषयमा ऋणीहरुलाई बुझाउँदै छौं,’ उनले भने ।
साथीको विवाहमा जीवन बीमा उपहार !
काठमाडौं । धनुषा निवासी राजिव कुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिएका छन् । प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले साथी पण्डितको विवाहमा जीवन बीमा योजना उपहार दिएका हुन् । आफ्नो साथीको विवाहमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको शाखा प्रमुख राकेश कुमार सिंहले बताए । ‘विवाहमा अन्य जिन्सी उपहार दिनुभन्दा जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुन्छ,’ उनले भने । यसले विवाहकै दिन देखिनै निश्चिन्त भविष्य प्रदान गर्ने आशा लिएको उनी बताउँछन् ।
डिजिटल बैंकिङलाई जोड दिइरहेको राष्ट्र बैंक किन छाप्दैछ बढी नोट ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वर्षको अवधिमा कागजी नोट झण्डै २ सय प्रतिशतले बढाएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार नोटको संख्या ह्वात्तै बढेकाे हो । गत असार मसान्तसम्म राष्ट्र बैंकले साढे ६ खर्ब रुपैयाँ बराबरका ३ अर्ब नोट बजारमा पठाएको थियाे । राष्ट्र बैंकको तथ्याङ्क अनुसार १० वर्ष अघि अर्थात् आर्थिक वर्ष २०६९/७० मा २ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँको १ अर्ब ११ करोड ३९ लाख नोट बजारमा पठाएको थियो । त्यसको १० पछि १७१ प्रतिशत बढाएर गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म ६ खर्ब ३२ अर्ब ४७ करोड रुपैयाँका ३ अर्ब ५ करोड ४६ लाख ८९ हजार नोट चलनचल्तिका लागि बजारमा पठाएको हो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/७१ मा २ खर्ब ७३ अर्ब २५ करोड रुपैयाँ बराबरका १ अर्ब ३६ करोड ८८ लाख नोट र आर्थिक वर्ष २०७१/७२ मा ३ खर्ब १९ अर्ब ८ करोड रुपैयाँ बराबरका विभिन्न दरका १ अर्ब ५२ करोड ९३ लाख नोट चलनचल्तिमा थिए । यस्तै, आर्थिक वर्ष २०७२/७३ मा ३ खर्ब ८६ अर्ब १६ करोड रुपैयाँ बराबरका विभिन्न दरका १ अर्ब ८४ करोड ८२ लाख र आर्थिक वर्ष २०७३/७४ मा ४ खर्ब ३० अर्ब ९९ करोड रुपैयाँ बराबरका विभिन्न दरका २ अर्ब १ करोड ९८ लाख नोट चलनचल्तिमा थिए । यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ४ खर्ब ९४ अर्ब ३८ करोड रुपैयाँ बराबरका विभिन्न दरका २ अर्ब २३ करोड २७ लाख र आर्थिक वर्ष २०७५/७६ मा ५ खर्ब ७ अर्ब ६ करोड रुपैयाँ बराबरका विभिन्न दरका २ अर्ब २५ करोड ७७ लाख नोट चलनचल्तिमा थिए । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ५ खर्ब ८८ अर्ब ६ करोड रुपैयाँ बराबरका विभिन्न दरका २ अर्ब ६९ करो ३२ लाख र आर्थिक वर्ष २०७७/७८ मा ६ खर्ब ८३ अर्ब ५० करोड रुपैयाँ बराबरका विभिन्न दरका २ अर्ब ७५ करोड ८४ लाख नोट चलनचल्तिमा थिए । तथ्याङ्क अनुसार बजारमा राष्ट्र बैंकले प्रत्येक वर्ष नोटको संख्या बढाउँदै आएको भएपनि गत वर्ष भने घटाएको देखिन्छ । २०७८ असार मसान्तसम्म ६ खर्ब ८३ अर्ब ५० करोड बराबरका विभिन्न दरका नोटहरू चलनचल्तीमा थिए । तर, २०७९ असार मसान्तसम्म ७.४६ प्रतिशत घटाएर ६ खर्ब ३२ अर्ब ४७ करोड रुपैयाँ बराबरका विभिन्न दरका नोट चलनचल्तीका लागि बजारमा पठाएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर श्रेत्री बजारको स्थिती हेरेर चलनचल्तिका लागि बजारमा नोट पठाइने गरेको बताउँछन् । व्यवहारमा खाँचो नपरोस् भनेर राट्र बैंकले नोटको सर्कुलर गर्ने गरेको उनको भनाइ छ । ‘१० वर्ष अघिको तलव भत्ता र अहिलेको तलवभत्ता, १० वर्ष अघिको बजेट र अहिलेको बजेटमा धेरै अन्तर छ, व्यवहारमा खाँचो नहोस् नोट चलनचल्तिमा ल्याउने हो, विदेशी मुद्रा जति धेरै आयो सोही अनुसार पनि नोटको चलनचल्ति बढ्छ,’ उनले भने । विदेशी मुद्राको फ्लो नेपालमा बढेपछि नेपाली मुद्रा बढी छापिने गरेको उनले बताए । नोटको संख्या बढ्दा विकास निर्माण पनि बढ्ने गरेको उनी बताउँछन् । साथै, राष्ट्र बैंकले मूल्य वृद्धिलाई पनि ध्यानमा राखेर बजारमा नोट पठाउने गरेको उनको भनाइ छ । ‘अहिले भिखारीलाई ५ रुपैयाँ दियो भने नाक खुम्च्याउँछन्, तरकारी लगायत सबै सामान महँगो छ, १० वर्ष अघि एक केजी आलुको ३० रुपैयाँ पथ्र्याे भने अहिले ९० रुपैयाँ पर्छ,’ उनले भने । राष्ट्र बैंकका निर्देशक निश्चल अधिकारी राष्ट्र बैंकले बजारको सबै पक्षलाई क्याल्कुलेसन गरेर नोटहरु पठाउने गरेको बताउँछन् । सरकारले आर्थिक वृद्धिदरको लक्ष्य पुरा गर्नका लागि पनि राष्ट्र बैंकले मनी सप्लाइ गर्ने गरेको उनको भनाइ छ । ‘सरकारको आर्थिक वृद्धि हासिल गर्न लक्ष्य तोकेको हुन्छ, राष्ट्र बैंकले उक्त लक्ष्य पुरा गर्न मनी सप्लाइको काम गर्छ, राष्ट्र बैंकले नोट पठाउँदा सबै पक्षको क्याल्कुलेसन गरेको हुन्छ,’ उनले भने, ‘अन्य देशमा जस्तो जथाभावी पैसा राष्ट्र बैंकले पठाउँदैन, क्षमता अनुसार पठाएको हुन्छ ।’ अर्थतन्त्र वृद्धि हुनु, बैंकको संख्यासँगै खाता संख्या, आर्थिक गतिविधि वृद्धि भएपछि पैसाको खाँचो हुने भएकाले नोटको संख्या बढेको उनले बताए । आगामी दिनमा डिजिटल कारोबार बढ्दै गएपछि नोटको संख्या घट्न सक्ने उनले बताए । ‘आर्थिक गतिविधि बढ्नु, मोनिटाइज हुनु, गाउँ गाउँमा शाखा कार्यालय पुग्नुले पैसाको आवश्यक पर्छ, धेरै भन्दा धेरै मोनिटाइज भएपछि नोट बढेको हो,’ उनले भने, ‘राज्यका हरेक निकाय डिजिटलमा सक्षम भएपछि मात्रै डिजिटल कारोबार बढ्छ, अनि नोटको कारोबार घट्छ ।’ उनका अनुसार स्वीजरल्याण्डमा १० प्रतिशत मात्रै नगद र ९० प्रतिशत डिजिटल कारोबार हुने गरेको छ । नेपालमा पनि यो अवस्था आउन सक्ने उनले बताए । ‘कुनै पनि देशको केन्द्रिय बैंकले नोट घटाउँछ भन्दैन तर, डिजिटललाई प्रमोट गरेको हुन्छ, नोट छाप्ने काम निरन्तर हुन्छ किनभने समाजको एउटा समूहले जहिले पनि नगद कारोबार गर्न चाहन्छ,’ उनले भने, ‘आवश्यक परेको मुद्रा छापेर बजारमा पठाउने हो, सबै मान्छे डिजिटल नहुन सक्छन्, समाजमा कोही मान्छे डिजिटल नचाहने हुन्छन्, नोटको पूर्ण विकल्प हुन सक्दैन ।’
भरतपुरमा धमाधम विकास निर्माणको काम हुँदै
चितवन । यतिबेला भरतपुर छिर्ने जो–कोहीलाई अनौठो लाग्न सक्छ, यहाँ अहिले जताततै निर्माणका काम भइरहेका छन् । बाहिरबाट आएका मानिसमात्रै होइन, महानगरवासीलाई पनि बाटो कता खुला छ र कता बन्द छ भन्ने थाहा पाउन मुस्किल छ । धेरै सडक बनिरहेका छन् भने ठूला पूर्वाधार आयोजनाका काम धमाधम भइरहेका छन् । सडकमा हिँड्नेहरूलाई समेत कठिन हुने गरी कामले तीव्रता पाएको छ । भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार र सङ्घीय सरकारका विभिन्न मन्त्रालयका बजेटमा यहाँ अर्बौँका काम भइरहेका छन् । महानगर प्रमुख रेनु दाहालको पहिलो कार्यकालमा सम्झौता भएका धेरै कामले अहिले तीव्रता पाएका छन् भने दोस्रो कार्यकालमा भएका सम्झौता अनुसारका काम पनि सुरु भएका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना, नारायणी नदी व्यवस्थापन आयोजना, डिभिजन सडक कार्यालय, डिभिजन खानेपानी कार्यालय, हुलाकी सडक आयोजना, पर्यटन मन्त्रालयका ठूला विकास निर्माण भइरहेका छन् भने प्रदेश र महानगरका विकास योजना पनि अघि बढेका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले पश्चिम चितवनमा पहिलो चरणअन्तर्गत ८८ करोड ठेक्कामध्येको महानगरका विभिन्न स्थानमा २६ किलोमिटर सडक निर्माण सम्पन्न भएको र १० किलोमिटर बन्ने क्रममा रहेको जानकारी दिए । ‘दोस्रो चरणको २६ किलोमिटर सडकमध्ये २० किलोमिटर सम्पन्न भइसकेको छ भने छ किलोमिटर निर्माण भइरहेको छ’, उनले भने । सोही आयोजनाअन्तर्गत २५ करोड लागतमा निर्माण सुरु गरिएको रानीपोखरी र लक्ष्मीणनारायण मन्दिरको ८० प्रतिशत काम सकिएको छ । साथै पाँच किलोमिटर सडक निर्माण भइसकेको छ भने केन्द्रीय बसपार्क मर्मत अन्तिम चरणमा पुगेको छ । यस्तै देवघाटमा १० करोड लागतमा निर्माण सुरु गरिएको शवदाहाको काम २५ प्रतिशत सम्पन्न भएको छ । महानगरमा बनाउन सुरु गरिएको अत्याधुनिक सिटीहलको आधा काम सकिएको छ । यसका लागि ८८ करोड विनियोजन गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले ४१ करोड लागतमा १८ किलोमिटर सडक, देवघाटमा बसपार्क र आरतीस्थल निर्माण थालिएको छ । सोही आयोजनाअन्तर्गत वडा नं ७ मा साइकल लेन तथा फुटपाथको काम ८० प्रतिशत सम्पन्न भएको छ । सोही क्षेत्रमा छ करोड लागतमा सडक निर्माण थालिएको छ । वडा नं १४ मा रू दुई करोडमा कालिका पार्क निर्माण भइरहेको छ । नारायणी नदी व्यवस्थापन आयोजनाअन्तर्गत नदी तटबन्धनको काम पनि सुरु भएको छ । नारायणगढ बजार नजिकै पुलको उत्तरतर्फ ‘रिभर बिच’ बनाइँदै छ भने दक्षिणतर्फ तटबन्ध गरिँदै छ । आयोजना प्रमुख गणेश मरासिनीका अनुसार दुई अर्ब ४३ करोड विनियोजन गरिएको छ । नदीलाई पाँच भागमा विभाजन गरेर काम भइरहेको छ । “नारायणी बिच १५ करोड ९२ लाखमा ठेक्का दिएर काम थालिएको छ भने अर्काे ठूलो खण्ड काभ्रेघाटबाट रामघाटसम्म एक अर्ब १५ करोडमा तटबन्धको काम थालिएको छ । अन्य तीन खण्डको काम सुरु गर्ने तयारी भइरहेको छ”, प्रमुख मरासिनीले जानकारी दिए । डिभिजन सडक कार्यालयअन्तर्गत नारायणढको पुल्चोकबाट गोन्द्राङसम्म छ लेन सडक निर्माणको ६० प्रतिशत काम पूरा भएको छ । एक अर्ब २३ करोड लागतमा सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले जानकारी दिए । यस्तै आँपटारीबाट केन्द्रीय बस टर्मिनलसम्म वाइपास सडकखण्ड निर्माण, ठूला सडकमा स्मार्ट बत्ती जडान तथा भूमिगत विद्युतीकरणको काम भइरहेको प्रमुख पौडेलले बताए । त्यस्तै हाकिमचोकदेखि जगतपुरसम्म दुई खण्डमा १३ किलोमिटर हुलाकी सडक विस्तार भइरहेको छ । सङ्घीय सरकारको खानेपानी मन्त्रालयअन्तर्गतका पाँच अर्ब हाराहारीका आयोजना केही सम्पन्न भएका छन् भने केही निर्माणका चरणमा छन् । महानगर, एसियाली विकास बैंकको सहलगानीमा खानेपानीको काम हुनाका साथै शारदानगर, दिव्यनगर, जखडीमाईलगायत आयोजनाका काम भइरहेका छन् । महानगरस्तरीय आयोजनाअन्तर्गत यस आर्थिक वर्षमा मात्रै एक सय किलोमिटर सडक कालोपत्र भएको महानगरका इञ्जिनियर साकार लामाले जानकारी दिए । उनका अनुसार अहिले सडकमा ग्राभेल, मर्मत तथा कालोपत्र गर्ने काम भइरहेका छन् । महानगरीय चक्रपथको ७८ किलोमिटरमध्ये डिभिजन सडक कार्यालयले १६ किलोमिटर, सघन सहरी तथा भवन निर्माण आयोजनाले ११ किलोमिटर, प्रदेश पूर्वाधारले १० किलोमिटर र महानगरले सात किलोमिटर निर्माण गरिसकेका छन् । बाँकी काम डिभिजन सडक कार्यालयले गर्ने गरी प्रक्रिया अघि बढेको छ । महानगरको प्रशासनिक भवन निर्माण थालिएको छ । ५३ करोडमा भवन निर्माणको काम सुरु गरिएको हो । नगरप्रमुख रेनु दाहालले महानगर, बागमती प्रदेश र सङ्घीय सरकारका योजनाहरूको काम भइरहेको जानकारी दिइन् । उनले भनिन्, ‘अघिल्लो कार्यकालमा सम्झौता भएका आयोजनाले गति लिएको छ । नयाँ काम पनि सुरु भएका छन् ।’ पालिका निर्माणको महाअभियानमा रहेकाले तत्कालका लागि नगरवासीले केही कठिनाइ भोग्नु परे पनि काम सम्पन्न भएपछि नमूना सहर बन्ने नगरप्रमुख दाहालले बताइन् । उनले महानगरलाई दक्षिण एसियाकै नमूना सहर बनाउने योजनाअनुरुप विकास, निर्माणका काम तीव्रगतिमा भइरहेको बताइन् । प्रमुख दाहालले भनिन्, ‘भरतपुर महानगर आगामी पाँच वर्षभित्र एसियाली मापदण्डअनुसारको भौतिक पूर्वाधारले भरिपूर्ण नमूना सहर बन्छ भन्ने मेरो दृढ विश्वास छ ।’ भरतपुर विमानस्थल विस्तार र क्रिकेट रङ्गशालाको रोकिएको काम तत्काल थाल्नका लागि आफूले केन्द्रीयस्तरमा सार्थक पहल गरिरहेको उनको भनाइ छ । नारायणी नदीमा सिग्नेचर पुलको ठेक्का भइसकेको उनले जानकारी दिइन् । दुई अर्बको लागतमा बन्ने पुलको प्राविधिक मूल्याङ्कन सम्पन्न भएर वित्तीय मूल्याङ्कन भइरहेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले देशका स्थानीय तहमध्ये सबैभन्दा धेरै विकासका काम भरतपुरमा भइरहेको बताए । ‘तत्कालका लागि महानगरवासीलाई समस्या देखिए पनि एक वर्षपछि सबैले विकासको अनुभूति गर्न सक्ने गरी काम भइरहेको छ’, उनले भने । महानगरलाई नमूना सहर बनाउने उद्देश्यले विकासका कामले तीव्रता पाएको उनको भनाइ थियो । रासस
लाभांश पारित गर्न कृषि विकास बैंकले बोलायो साधारण सभा
काठमाडाैं । कृषि विकास बैंकले लाभांश पारित गर्न साधारण सभा बाेलाएकाे छ । बैंकले गत वर्षकाे नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न चैत १४ गते साधारण सभा बाेलाएकाे हाे । सभाले हाल कायम चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले अविमोच्य असंचिति अग्राधिकार सेयरधनीहरुलाई ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, सर्वसाधारण सेयधरनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ बैंकले फागुन ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ । यसकाे अर्थ फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।