विकासन्युज

साथीको विवाहमा जीवन बीमा उपहार !

काठमाडौं । धनुषा निवासी राजिव कुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिएका छन् । प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले साथी पण्डितको विवाहमा जीवन बीमा योजना उपहार दिएका हुन् । आफ्नो साथीको विवाहमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको शाखा प्रमुख राकेश कुमार सिंहले बताए । ‘विवाहमा अन्य जिन्सी उपहार दिनुभन्दा जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुन्छ,’ उनले भने । यसले विवाहकै दिन देखिनै निश्चिन्त भविष्य प्रदान गर्ने आशा लिएको उनी बताउँछन् ।  

डिजिटल बैंकिङलाई जोड दिइरहेको राष्ट्र बैंक किन छाप्दैछ बढी नोट ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वर्षको अवधिमा कागजी नोट झण्डै २ सय प्रतिशतले बढाएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार नोटको संख्या ह्वात्तै बढेकाे हो । गत असार मसान्तसम्म राष्ट्र बैंकले साढे ६ खर्ब रुपैयाँ बराबरका ३ अर्ब नोट बजारमा पठाएको थियाे । राष्ट्र बैंकको तथ्याङ्क अनुसार १० वर्ष अघि अर्थात् आर्थिक वर्ष २०६९/७० मा २ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँको १ अर्ब ११ करोड ३९ लाख नोट बजारमा पठाएको थियो । त्यसको १० पछि १७१ प्रतिशत बढाएर गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म ६ खर्ब ३२ अर्ब ४७ करोड रुपैयाँका ३ अर्ब ५ करोड ४६ लाख ८९ हजार नोट चलनचल्तिका लागि बजारमा पठाएको हो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/७१ मा २ खर्ब ७३ अर्ब २५ करोड रुपैयाँ बराबरका १ अर्ब ३६ करोड ८८ लाख नोट र आर्थिक वर्ष २०७१/७२ मा ३ खर्ब १९ अर्ब ८ करोड रुपैयाँ बराबरका विभिन्न दरका १ अर्ब ५२ करोड ९३ लाख नोट चलनचल्तिमा थिए । यस्तै, आर्थिक वर्ष २०७२/७३ मा ३ खर्ब ८६ अर्ब १६ करोड रुपैयाँ बराबरका विभिन्न दरका १ अर्ब ८४ करोड ८२ लाख र आर्थिक वर्ष २०७३/७४ मा ४ खर्ब ३० अर्ब ९९ करोड रुपैयाँ बराबरका विभिन्न दरका २ अर्ब १ करोड ९८ लाख नोट चलनचल्तिमा थिए । यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ४ खर्ब ९४ अर्ब ३८ करोड रुपैयाँ बराबरका विभिन्न दरका २ अर्ब २३ करोड २७ लाख र आर्थिक वर्ष २०७५/७६ मा ५ खर्ब ७ अर्ब ६ करोड रुपैयाँ बराबरका विभिन्न दरका २ अर्ब २५ करोड ७७ लाख नोट चलनचल्तिमा थिए । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ५ खर्ब ८८ अर्ब ६ करोड रुपैयाँ बराबरका विभिन्न दरका २ अर्ब ६९ करो ३२ लाख र आर्थिक वर्ष २०७७/७८ मा ६ खर्ब ८३ अर्ब ५० करोड रुपैयाँ बराबरका विभिन्न दरका २ अर्ब ७५ करोड ८४ लाख नोट चलनचल्तिमा थिए । तथ्याङ्क अनुसार बजारमा राष्ट्र बैंकले प्रत्येक वर्ष नोटको संख्या बढाउँदै आएको भएपनि गत वर्ष भने घटाएको देखिन्छ । २०७८ असार मसान्तसम्म ६ खर्ब ८३ अर्ब ५० करोड बराबरका विभिन्न दरका नोटहरू चलनचल्तीमा थिए । तर, २०७९ असार मसान्तसम्म ७.४६ प्रतिशत घटाएर ६ खर्ब ३२ अर्ब ४७ करोड रुपैयाँ बराबरका विभिन्न दरका नोट चलनचल्तीका लागि बजारमा पठाएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर श्रेत्री बजारको स्थिती हेरेर चलनचल्तिका लागि बजारमा नोट पठाइने गरेको बताउँछन् । व्यवहारमा खाँचो नपरोस् भनेर राट्र बैंकले नोटको सर्कुलर गर्ने गरेको उनको भनाइ छ । ‘१० वर्ष अघिको तलव भत्ता र अहिलेको तलवभत्ता, १० वर्ष अघिको बजेट र अहिलेको बजेटमा धेरै अन्तर छ, व्यवहारमा खाँचो नहोस् नोट चलनचल्तिमा ल्याउने हो, विदेशी मुद्रा जति धेरै आयो सोही अनुसार पनि नोटको चलनचल्ति बढ्छ,’ उनले भने । विदेशी मुद्राको फ्लो नेपालमा बढेपछि नेपाली मुद्रा बढी छापिने गरेको उनले बताए । नोटको संख्या बढ्दा विकास निर्माण पनि बढ्ने गरेको उनी बताउँछन् । साथै, राष्ट्र बैंकले मूल्य वृद्धिलाई पनि ध्यानमा राखेर बजारमा नोट पठाउने गरेको उनको भनाइ छ । ‘अहिले भिखारीलाई ५ रुपैयाँ दियो भने नाक खुम्च्याउँछन्, तरकारी लगायत सबै सामान महँगो छ, १० वर्ष अघि एक केजी आलुको ३० रुपैयाँ पथ्र्याे भने अहिले ९० रुपैयाँ पर्छ,’ उनले भने । राष्ट्र बैंकका निर्देशक निश्चल अधिकारी राष्ट्र बैंकले बजारको सबै पक्षलाई क्याल्कुलेसन गरेर नोटहरु पठाउने गरेको बताउँछन् । सरकारले आर्थिक वृद्धिदरको लक्ष्य पुरा गर्नका लागि पनि राष्ट्र बैंकले मनी सप्लाइ गर्ने गरेको उनको भनाइ छ । ‘सरकारको आर्थिक वृद्धि हासिल गर्न लक्ष्य तोकेको हुन्छ, राष्ट्र बैंकले उक्त लक्ष्य पुरा गर्न मनी सप्लाइको काम गर्छ, राष्ट्र बैंकले नोट पठाउँदा सबै पक्षको क्याल्कुलेसन गरेको हुन्छ,’ उनले भने, ‘अन्य देशमा जस्तो जथाभावी पैसा राष्ट्र बैंकले पठाउँदैन, क्षमता अनुसार पठाएको हुन्छ ।’ अर्थतन्त्र वृद्धि हुनु, बैंकको संख्यासँगै खाता संख्या, आर्थिक गतिविधि वृद्धि भएपछि पैसाको खाँचो हुने भएकाले नोटको संख्या बढेको उनले बताए । आगामी दिनमा डिजिटल कारोबार बढ्दै गएपछि नोटको संख्या घट्न सक्ने उनले बताए । ‘आर्थिक गतिविधि बढ्नु, मोनिटाइज हुनु, गाउँ गाउँमा शाखा कार्यालय पुग्नुले पैसाको आवश्यक पर्छ, धेरै भन्दा धेरै मोनिटाइज भएपछि नोट बढेको हो,’ उनले भने, ‘राज्यका हरेक निकाय डिजिटलमा सक्षम भएपछि मात्रै डिजिटल कारोबार बढ्छ, अनि नोटको कारोबार घट्छ ।’ उनका अनुसार स्वीजरल्याण्डमा १० प्रतिशत मात्रै नगद र ९० प्रतिशत डिजिटल कारोबार हुने गरेको छ । नेपालमा पनि यो अवस्था आउन सक्ने उनले बताए । ‘कुनै पनि देशको केन्द्रिय बैंकले नोट घटाउँछ भन्दैन तर, डिजिटललाई प्रमोट गरेको हुन्छ, नोट छाप्ने काम निरन्तर हुन्छ किनभने समाजको एउटा समूहले जहिले पनि नगद कारोबार गर्न चाहन्छ,’ उनले भने, ‘आवश्यक परेको मुद्रा छापेर बजारमा पठाउने हो, सबै मान्छे डिजिटल नहुन सक्छन्, समाजमा कोही मान्छे डिजिटल नचाहने हुन्छन्, नोटको पूर्ण विकल्प हुन सक्दैन ।’

भरतपुरमा धमाधम विकास निर्माणको काम हुँदै

चितवन । यतिबेला भरतपुर छिर्ने जो–कोहीलाई अनौठो लाग्न सक्छ, यहाँ अहिले जताततै निर्माणका काम भइरहेका छन् । बाहिरबाट आएका मानिसमात्रै होइन, महानगरवासीलाई पनि बाटो कता खुला छ र कता बन्द छ भन्ने थाहा पाउन मुस्किल छ । धेरै सडक बनिरहेका छन् भने ठूला पूर्वाधार आयोजनाका काम धमाधम भइरहेका छन् । सडकमा हिँड्नेहरूलाई समेत कठिन हुने गरी कामले तीव्रता पाएको छ । भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार र सङ्घीय सरकारका विभिन्न मन्त्रालयका बजेटमा यहाँ अर्बौँका काम भइरहेका छन् । महानगर प्रमुख रेनु दाहालको पहिलो कार्यकालमा सम्झौता भएका धेरै कामले अहिले तीव्रता पाएका छन् भने दोस्रो कार्यकालमा भएका सम्झौता अनुसारका काम पनि सुरु भएका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना, नारायणी नदी व्यवस्थापन आयोजना, डिभिजन सडक कार्यालय, डिभिजन खानेपानी कार्यालय, हुलाकी सडक आयोजना, पर्यटन मन्त्रालयका ठूला विकास निर्माण भइरहेका छन् भने प्रदेश र महानगरका विकास योजना पनि अघि बढेका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले पश्चिम चितवनमा पहिलो चरणअन्तर्गत ८८ करोड ठेक्कामध्येको महानगरका विभिन्न स्थानमा २६ किलोमिटर सडक निर्माण सम्पन्न भएको र १० किलोमिटर बन्ने क्रममा रहेको जानकारी दिए । ‘दोस्रो चरणको २६ किलोमिटर सडकमध्ये २० किलोमिटर सम्पन्न भइसकेको छ भने छ किलोमिटर निर्माण भइरहेको छ’, उनले भने । सोही आयोजनाअन्तर्गत २५ करोड लागतमा निर्माण सुरु गरिएको रानीपोखरी र लक्ष्मीणनारायण मन्दिरको ८० प्रतिशत काम सकिएको छ । साथै पाँच किलोमिटर सडक निर्माण भइसकेको छ भने केन्द्रीय बसपार्क मर्मत अन्तिम चरणमा पुगेको छ । यस्तै देवघाटमा १० करोड लागतमा निर्माण सुरु गरिएको शवदाहाको काम २५ प्रतिशत सम्पन्न भएको छ । महानगरमा बनाउन सुरु गरिएको अत्याधुनिक सिटीहलको आधा काम सकिएको छ । यसका लागि ८८ करोड विनियोजन गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले ४१ करोड लागतमा १८ किलोमिटर सडक, देवघाटमा बसपार्क र आरतीस्थल निर्माण थालिएको छ । सोही आयोजनाअन्तर्गत वडा नं ७ मा साइकल लेन तथा फुटपाथको काम ८० प्रतिशत सम्पन्न भएको छ । सोही क्षेत्रमा छ करोड लागतमा सडक निर्माण थालिएको छ । वडा नं १४ मा रू दुई करोडमा कालिका पार्क निर्माण भइरहेको छ । नारायणी नदी व्यवस्थापन आयोजनाअन्तर्गत नदी तटबन्धनको काम पनि सुरु भएको छ । नारायणगढ बजार नजिकै पुलको उत्तरतर्फ ‘रिभर बिच’ बनाइँदै छ भने दक्षिणतर्फ तटबन्ध गरिँदै छ । आयोजना प्रमुख गणेश मरासिनीका अनुसार दुई अर्ब ४३ करोड विनियोजन गरिएको छ । नदीलाई पाँच भागमा विभाजन गरेर काम भइरहेको छ । “नारायणी बिच १५ करोड ९२ लाखमा ठेक्का दिएर काम थालिएको छ भने अर्काे ठूलो खण्ड काभ्रेघाटबाट रामघाटसम्म एक अर्ब १५ करोडमा तटबन्धको काम थालिएको छ । अन्य तीन खण्डको काम सुरु गर्ने तयारी भइरहेको छ”, प्रमुख मरासिनीले जानकारी दिए । डिभिजन सडक कार्यालयअन्तर्गत नारायणढको पुल्चोकबाट गोन्द्राङसम्म छ लेन सडक निर्माणको ६० प्रतिशत काम पूरा भएको छ । एक अर्ब २३ करोड लागतमा सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले जानकारी दिए । यस्तै आँपटारीबाट केन्द्रीय बस टर्मिनलसम्म वाइपास सडकखण्ड निर्माण, ठूला सडकमा स्मार्ट बत्ती जडान तथा भूमिगत विद्युतीकरणको काम भइरहेको प्रमुख पौडेलले बताए । त्यस्तै हाकिमचोकदेखि जगतपुरसम्म दुई खण्डमा १३ किलोमिटर हुलाकी सडक विस्तार भइरहेको छ । सङ्घीय सरकारको खानेपानी मन्त्रालयअन्तर्गतका पाँच अर्ब हाराहारीका आयोजना केही सम्पन्न भएका छन् भने केही निर्माणका चरणमा छन् । महानगर, एसियाली विकास बैंकको सहलगानीमा खानेपानीको काम हुनाका साथै शारदानगर, दिव्यनगर, जखडीमाईलगायत आयोजनाका काम भइरहेका छन् । महानगरस्तरीय आयोजनाअन्तर्गत यस आर्थिक वर्षमा मात्रै एक सय किलोमिटर सडक कालोपत्र भएको महानगरका इञ्जिनियर साकार लामाले जानकारी दिए । उनका अनुसार अहिले सडकमा ग्राभेल, मर्मत तथा कालोपत्र गर्ने काम भइरहेका छन् । महानगरीय चक्रपथको ७८ किलोमिटरमध्ये डिभिजन सडक कार्यालयले १६ किलोमिटर, सघन सहरी तथा भवन निर्माण आयोजनाले ११ किलोमिटर, प्रदेश पूर्वाधारले १० किलोमिटर र महानगरले सात किलोमिटर निर्माण गरिसकेका छन् । बाँकी काम डिभिजन सडक कार्यालयले गर्ने गरी प्रक्रिया अघि बढेको छ । महानगरको प्रशासनिक भवन निर्माण थालिएको छ । ५३ करोडमा भवन निर्माणको काम सुरु गरिएको हो । नगरप्रमुख रेनु दाहालले महानगर, बागमती प्रदेश र सङ्घीय सरकारका योजनाहरूको काम भइरहेको जानकारी दिइन् । उनले भनिन्, ‘अघिल्लो कार्यकालमा सम्झौता भएका आयोजनाले गति लिएको छ । नयाँ काम पनि सुरु भएका छन् ।’ पालिका निर्माणको महाअभियानमा रहेकाले तत्कालका लागि नगरवासीले केही कठिनाइ भोग्नु परे पनि काम सम्पन्न भएपछि नमूना सहर बन्ने नगरप्रमुख दाहालले बताइन् । उनले महानगरलाई दक्षिण एसियाकै नमूना सहर बनाउने योजनाअनुरुप विकास, निर्माणका काम तीव्रगतिमा भइरहेको बताइन् । प्रमुख दाहालले भनिन्, ‘भरतपुर महानगर आगामी पाँच वर्षभित्र एसियाली मापदण्डअनुसारको भौतिक पूर्वाधारले भरिपूर्ण नमूना सहर बन्छ भन्ने मेरो दृढ विश्वास छ ।’ भरतपुर विमानस्थल विस्तार र क्रिकेट रङ्गशालाको रोकिएको काम तत्काल थाल्नका लागि आफूले केन्द्रीयस्तरमा सार्थक पहल गरिरहेको उनको भनाइ छ । नारायणी नदीमा सिग्नेचर पुलको ठेक्का भइसकेको उनले जानकारी दिइन् । दुई अर्बको लागतमा बन्ने पुलको प्राविधिक मूल्याङ्कन सम्पन्न भएर वित्तीय मूल्याङ्कन भइरहेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले देशका स्थानीय तहमध्ये सबैभन्दा धेरै विकासका काम भरतपुरमा भइरहेको बताए । ‘तत्कालका लागि महानगरवासीलाई समस्या देखिए पनि एक वर्षपछि सबैले विकासको अनुभूति गर्न सक्ने गरी काम भइरहेको छ’, उनले भने । महानगरलाई नमूना सहर बनाउने उद्देश्यले विकासका कामले तीव्रता पाएको उनको भनाइ थियो । रासस

लाभांश पारित गर्न कृषि विकास बैंकले बोलायो साधारण सभा

काठमाडाैं । कृषि विकास बैंकले लाभांश पारित गर्न साधारण सभा बाेलाएकाे छ । बैंकले गत वर्षकाे नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न चैत १४ गते साधारण सभा बाेलाएकाे हाे । सभाले हाल कायम चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले अविमोच्य असंचिति अग्राधिकार सेयरधनीहरुलाई ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, सर्वसाधारण सेयधरनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ बैंकले फागुन ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ । यसकाे अर्थ फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपालका १० चिया उत्पादक कम्पनी पुरस्कृत

कीर्तिपुर । नेपालका १० वटा चिया उत्पादन स्वाद र गुणस्तर परीक्षणमा पुरस्कृत भएका छन् । चीनमा गत २०२२ सेप्टेम्बर २० देखि २१ सम्म चाइना टि मार्केटिङ एसोसिएनद्वारा आयोजित दोस्रो चिया गुणस्तर प्रतिस्पर्धामा नेपाली चिया उत्पादक संस्थाले स्वर्ण तथा रजत पदक जितेका हुन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीबार आयोजना गरेको कार्यक्रममा यी पुरस्कार वितरण गरिएको थियो । प्रतिस्पर्धामा बोर्डले नेपाल भरका ४० वटा चियाका नमूना सङ्कलन गरी बोर्डमै भएको टेस्टिङ (चियाको स्वाद एव गुणस्तर परीक्षण)का आधारमा १६ वटा चियाका नमूना प्रतिस्पर्धाका लागि चीन पठाएको थियो । यसअनुसार एक तीनजुरे टी फार्मर सहकारी समाज लिमिटेडले पर्ल गोल्डेन ब्ल्याक टी अवार्ड प्राप्त गरेको छ । यसैगरी फार्मर टी प्रोसेसिङ उद्योगको एफटी हिमालय गोल्ड, हिमालयन साङ्ग्रिला टी प्रोड्युसरको साङ्ग्रिला गोल्ड, गोरखा टी स्टेट प्रालि जिटिइ गोल्डेन टि, सिद्धा डेभी टी इस्टेट प्रालिको सिल्भर विङ्स र कञ्चनजङ्गा अग्र्यानिक अर्थोडक्स चिया उद्योग प्रालिको गोल्डेन टिप्स चियाले स्वर्णपदक जितेका छन् । यसैगरी हिमालयन साङ्ग्रिला टी प्रोड्युसरको हिमालयन सन्राइज ब्यूटी, श्री बराह टी इन्डष्ट्रिको स्पेशल ब्ल्याक टी, तीनजुरे टी फार्मर सहकारी समाज लिमिटेडको नर्मल गोल्डेन ब्ल्याक टी र मैना पोखरी चिया प्रशोधन उद्योगको एमपी १० मिरमिरेले रजतपदक प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्कअनुसार नेपालमा १६ हजार नौ सय १७ हेक्टरमा चिया रोपिएको र त्यसबाट २३ हजार सात सय ४५ मेट्रिकटन चिया उत्पादन गरिएको छ । हाल १७ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक आबद्ध छन्। नेपालबाट गत आवमा रू तीन अर्ब ७९ करोड ७१ लाख बराबरको ११ हजार नौ सय २० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । नेपाली चिया गुणस्तरमा अब्बल रहँदारहँदै पनि उचित बजारीकरण हुन नसक्दा अति नै न्यून मूल्यमा बिक्री गर्नु परिरहेको कार्यक्रममा किसानले गुनासो गरे । नेपालबाट वार्षिक रू १० अर्बभन्दा बढीको चिया निर्यातको सम्भावना छ ।

नारी दिवसको अवसरमा विभिन्न सेवामा छुट दिँदै नर्भिक अस्पताल

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले यसपटकको नारी दिवसको अवसर पारेर विभिन्न उपचारसेवा र हेल्थ प्याकेजहरुमा भारी छुटको स्किम सार्वजनिक गरेको छ । निजी क्षेत्रबाट अन्तराष्टिय स्तरको गुणस्तरीय उपचार सेवा दिंदै आएको नर्भिक हस्पिटलले आगामी मार्च ८ (फागुन २४ गते) पर्ने नारी दिवसको अवसर विशेष छुटको स्किम सार्वजनिक गरेको हो । नर्भिकमा उपलब्ध फिमेल वेलनेसका प्याकेजहरुमा नर्भिकले ६ मार्चदेखि १३ मार्चसम्म(एक साता)का लागि १५ प्रतिशत छुट दिने जनाएकाे छ । अस्पतालकाे अनुसार सो अवधिमा महिलाहरुको स्तनको जाँचका लागि गरिने विशेष एक्सरे(म्यामोग्राफी) गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुने छ । यस्तै, नारी दिवसकै अवसर पारेर नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले हाइड्रा फेसियल तथा पर्मानेन्ट हेयर रिडक्सनका लागि गरिने लेजर उपचार सेवाको शुल्कमा २५ प्रतिशत छुट दिने गरी अर्को स्किम समेत सार्वजनिक गरेकाे छ । यो स्किम पनि मार्च ६ देखि १३ सम्म नै रहने बताइएकाे छ ।  

विमानस्थलको महाप्रबन्धकमा तिवारी, प्रशिक्षण प्रतिष्ठानमा कर्ण

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा प्रताप तिवारी र नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको जिम्मा देवचन्द्रलाल कर्णलाई दिईएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको प्रमुखको जिम्मेवारी तिवारीलाई दिएको हो । तिवारी हाल सिभिल एभिएसन एकाडेमीका प्रमुख हुन् । एकेडेमीमा जानुअघि त्रिभुवन विमानस्थल कार्यालयको महाप्रबन्धक थिए । विमानस्थ कार्यालयका महाप्रबन्धक प्रेम ठाकुर निलम्बनमा परेसँगै तिवारीलाई महाप्रबन्धक बनाइएको हो । यस्तै, एभियसन सेफ्टी तथा सेक्युरिटी रेगुलेसन निर्देशनालयका प्रमुख देव चन्द्रलाल कर्णलाई प्रशिक्षण प्रतिष्ठानको जिम्मा दिईएको छ । भैरहवा विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी पनि हंसराज पाण्डेलाई जिम्मेवारी दिइएको छ । उपमहानिर्देशक पाण्डे हवाइ सेवा निर्देशनालयको जिम्मेवारीमा रहेका थिए । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले एकैपटक धेरै कर्मचारीको सरुवा गरेका छन् ।

युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भने । राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनको संवाहक मानिने युवाको शक्तिलाई सकारात्मकरुपमा परिचालन गर्न परिषद्ले युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेको उनले बताए । प्रधामन्त्री दाहालले भनेका छन्, ‘परिषद्ले सरकारका विभिन्न निकायलाई आवश्यक नीति तथा कार्यक्रमको नमुना विकास गरी हस्तान्तरण गर्दै आएको छ ।’ उनले शुभकामना सन्देशमा सीमित बजेट र स्रोतसाधनका बाबजुद स्थापना भएको परिषद्ले छोटो अवधिमा युवाको जागरण, सशक्तीकरण र नेतृत्व विकासका क्षेत्रमा सकारात्मक अगुवाइ गरिरहेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले युवाको बृहत्तर विकासका लागि परिषद्ले गरिरहेको सकारात्मक पहलको उच्च प्रशंसासमेत गरेका छन् । ‘परिषद् सबै युवाको अभिभावकीय सरकारी संस्थाका युवाको बृहत्तरहित र राष्ट्र निर्माणको कार्यभारमा अझ प्रभावकारिताका साथ अगाडि बढ्नेछ’, उनले शुभाकामना सन्देशमा भनेका छन् । यसैगरी परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेतले समृद्ध राष्ट्र निर्माणको मेरुदण्डका रुपमा रहेका लागि युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउनुपर्ने बताए । उनले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग, सीपलाई उत्पादन, रोजगारी र उद्यमशीलतासँगै जोड्दै युवा शक्तिलाई विकास र समृद्धिको अभिन्न अङ्ग बनाएर समाजवादोन्मुख राज्य प्रणाली निर्माण गर्नु आवश्यक छ भने । युवाको हकहित, युवा नेतृत्वको विकास गर्नका लागि सरकारले २०७२ फागुन १९ गते परिषद् स्थापना गरेको हो । अहिले परिषद्को प्रदेश, जिल्ला र स्थानीय तहमा संरचना छ ।