विकासन्युज

हल्का हिमपातको सम्भावना

काठमाडौं । आज देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । आइतबार पनि देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ ।

अस्मिताको सङ्घर्ष : जीवन धान्न बालुवा बोक्नेदेखि ‘कटन क्यान्डी’ मेसिन चलाउनेसम्म

काठमाडौं । सैतीस वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्धार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिन्छिन् । अस्मिताको जीवनमा उमेरको मात्र सङ्ख्या बढेको छैन, सहज जीवनयापनका लागि गरेका सङ्घर्षको चाङ पनि थपिँदो छ । विसं २०४२ मा म्याग्दीको राखु भगवतीमा जन्मिएकी अस्मिताको म्याग्दीकै मङ्गला गाउँपालिका–३ बराङ्जाका गणेश विकसँग विवाह भयो । विवाहलगत्तै विसं २०६३ मा सुनौलो भविष्यको सपना देखेर गरेर खानका लागि बागलुङ बजार छिरेका विक दम्पतीको सङ्घर्षका दिन सुरु भयाे । सुरुआती दिनमा अस्मिताले बागलुङ बजारको हल्लनचोकमा तरकारी बेचिन्थिन् । उनका जेठा छोरा यतिबेला रुद्रेपिपल माध्यमिक विद्यालयमा कक्षा १० र कान्छा छोरा कक्षा ५ मा पढ्छन् । विद्यालय जान नपाएकी अस्मितालाई छोराहरूले धेरै पढुन् भन्ने चाहना छ । छोरालाई पढाउनकै लागि उनले कालिका मन्दिर प्रवेशद्धारमा फूल–प्रसाद पनि बेचिन् । सोचेजस्तो आम्दानी नभएपछि अस्मिताले कालीगण्डकी नदीबाट बालुवा निकाल्ने काम गरिन् । अस्मिताका श्रीमान् गणेश वैदेशिक रोजगारीका लागि साउदीसमेत पुगिन् । विदेशमै बिरामी परेर दुःख पाएपछि छ वर्ष अघि गणेश स्वदेश फर्किन् । धन कमाउन विदेशिएको श्रीमान् बिरामी परेर फर्किएपछि छोरालाई पढाउन र दुई छाक खुवाउन समस्या हुने देखेर अस्मिताले ५० हजार ऋण लिएर कटन क्यान्डी बनाउने मेसिन किनेकी हुन् । छ वर्षयता सोही मेसिन अस्मिताको सुख, दुःखको साथी बनेको छ । बिरामी निको भएपछि घर निर्माणको काम सुरु गरेका गणेशले डेढ वर्षदेखि आफ्नै अटोरिक्सा चलाउन सुरु गरे । छोराहरूको भविष्य उज्ज्वल बनाउने अठोटसहित अगाडि बढेका विक दम्पतीले एक जनाको कमाईले घर खर्च चलाउने र अर्काको कमाइले अटोको किस्ता तिर्ने गर्छन् । केही रकम सहकारीमा बचत गर्ने गर्छन् । ‘कुनै कुनै दिन एउटा क्यान्डी बिक्री हुँदैन, कहिलेकाहीँ चार–पाँच हजार पनि हुन्छ, कमाएर सम्पत्ति जोड्ने रहर छैन, छोराले दुःख नपाउन्, धेरै पढुन् भन्ने चाहना छ’, अस्मिता भन्छिन् । अप्ठ्यारोमा पनि आँट, साहस र परिवारको मायाले हरेक चुनौतीसँग लड्न सहज भएको उनको भनाइ छ । सुरुका दिनमा निकै दुःख पाएको सुनाउने अस्मिताले अहिले दैनिकीमा थोरै परिवर्तन आएको बताइन् । सङ्घर्षलाई निरन्तरता दिए सफलता मिल्ने उनी बताउँछिन् । ‘खुसी जीवन जिउन श्रीमान्–श्रीमती एकअर्काको मुख ताकेर हुँदैन, परिवारमा सकेको काम सबैले गर्नुपर्छ, हामीजस्तो सामान्य परिवारका मान्छेले अवसर पाउन गाह्रो नै हुन्छ र पनि अवसर आफैँ खोजेर लागे सफलता मिल्छजस्तो लाग्छ, हामीलाई दुःखले सङ्घर्ष सिकायो ।’ रासस

संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ : नेता पौडेल

काठमाडौं ।  आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन् । यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको उम्मेदवारीका सन्दर्भमा कुराकानी गर्दै उनले आफू प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य र जिम्मेवारी हुने उल्लेख गरे । पूर्वसभामुख पौडेलले भने, ‘संविधान र लोकतन्त्रसहित परिवर्तनका उपलब्धिको रक्षा गर्ने सन्दर्भमा राष्ट्रपतिको महत्वपूर्ण भूमिका हुन्छ । राष्ट्रपतिको उम्मेदवारीका लागि भएका छलफलमा सबै दल र साथीहरूको सहमतिपछि म उम्मेदवार भएँ, जनताले अपेक्षा गरेअनुसारको यदि मैले आचरण र संविधानको परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् ।’ पूर्वउपप्रधानमन्त्री पौडेलले अर्काे प्रसङ्गमा लोकतन्त्रप्रतिको निष्ठा र विगतका जिम्मेवारीले आफ्नो निष्ठा र तटस्थताको परीक्षण भइसकेको जिकिर गर्दै राष्ट्रपति पद संविधान र लोकतन्त्रको रक्षा गर्ने महत्वपूर्ण ठाउँ भएको स्पष्ट गरे । प्रस्तुत छ, मुलुकको संसदीय अभ्यास र प्रक्रियामा अनुभवी र परिपक्व राजनीतिकर्मीको छवि बनाउनुभएका पौडेलसँग राष्ट्रपति निर्वाचन, उम्मेदवारी र राष्ट्राध्यक्षको भूमिकालगायत विषयमा राससका उपप्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र वरिष्ठ समाचारदाता भीष्मराज ओझाले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंश : आगामी नयाँ राष्ट्रपतिको उम्मेदवार भइरहँदा यहाँको तयारी के छ, मतदातासमक्ष कसरी जाँदै हुनुहुन्छ ? राष्ट्रपतिका लागि यही फागुन २५ गते हुने निर्वाचनमा कांग्रेससहित आठदलीय गठनबन्धनका तर्फबाट म सर्वसम्मत उम्मेदवार बनेको छु । मेरो उम्मेदवारीले मुलुकमा राष्ट्रिय एकताको सन्देश प्रवाह भएको छ । निर्वाचनको तयारीका क्रममा जनताबाट निर्वाचित भएका प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यसँग निर्वाचन केन्द्रित भेटघाट, छलफल र कुराकानी भइरहेको छ । पत्र तथा एसएमएसका माध्यमद्वारा पनि उहाँहरूसँग भोटका लागि अनुरोध गरेको छु । विभिन्न दलका नेतृत्वसँग भेटेरै कुराकानी भएको छ । मतदाता सबैसँग सम्पर्कमा पुग्ने र विश्वास दिलाउने काम भइरहेको छ । आठदलीय गठबन्धन र नेपाली कांग्रेसका तर्फबाट यहाँलाई नै किन राष्ट्रपति पदको उम्मेदवार छानियो भन्ने लाग्छ ? राष्ट्रपति निर्वाचनका सन्दर्भमा सबै दलहरूबीच भएको छलफलमा मलाई नै उम्मेदवार बनाउने ठहर भएर सहमति जुट्यो । नेपालको अहिलेको राजनीतिमा संयोग नै भन्नुपर्छ सबै किसिमले अरुभन्दा वरिष्ठ भएको र सबैको सहमति मेरै नाममा जुटेकाले यो अवसर प्राप्त भएको छ । अहिलेको व्यवस्था र लोकतन्त्र प्राप्तिका क्रममा सबैभन्दा बढी सङ्घर्ष र मेहनत गरेको छु । लोकतन्त्र स्थापना, संविधान निर्माणमा पनि मेरो भूमिका र योगदान देखेर सबै साथीहरूले मलाई नै उययुक्त ठान्नुभयो । राष्ट्रपति संंवैधानिक पद हो, यहाँ कांग्रेसेको क्रियाशील र वरिष्ठ नेता हुनुहुन्छ, निर्वाचित भएमा पदको गरिमा जोगाउन कसरी सन्तुलन कायम गर्नुहुन्छ ? मेरो जीवन दर्शन र जीवनभरको क्रियाशीलता तथा सङ्घर्ष भनेको लोकतन्त्र, देशको उन्नति र जनताको अधिकार प्राप्तिका लागि हो । यसका लागि जीवन बिताएर म यहाँसम्म आइपुगेको छु । मेरो सबैभन्दा ठूलो प्राथमिकता भनेको लोकतन्त्र र जनताको अधिकार हो । अहिलेको संविधान र व्यवस्था ७० वर्षसम्म लडेर ल्याइएको हो । त्यसैले संविधानको रक्षा नै पहिलो कर्तव्य हो । लोकतन्त्रका लागि मैदानबाटै लड्दै आएको मान्छे हुँ । परिवर्तनका यी उपलब्धिको रक्षा राष्ट्रपति पदबाट हुन्छ भन्ने मलाई लाग्छ । संविधान र लोकतन्त्रको रक्षा गर्न यो ठाउँ पनि महत्वपूर्ण छ । दल र अरु साथीहरूका बीच यही कुरामा सहमति भएर नै म उम्मेदवार बनेको छु । जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा तथा परिपालनाको विषयलाई मैले महत्वपूर्ण ठानेको छु । राष्ट्रपतिमा यहाँको निर्वाचन जित्ने आधार के–के हुन् ? कांग्रेससहित आठ दलको तर्फबाट म साझा उम्मेदवार भएपछि देशभर मेरो पक्षमा जनलहर पनि छ । मेरो सङ्घर्षको इतिहास देखेका, मेरा बारेमा थाहा पाएका जनतामा मप्रति अपेक्षा र भरोसा छ । राष्ट्र र प्रजातन्त्रप्रतिको सङ्घर्षमा भएको योगदानका कारण मलाई यो जिम्मेवारी दिँदा संविधान र परिवर्तनका उपलब्धि सुरक्षित रहन्छ भन्ने जनमत पाएको छु । अर्काे कुरा दलको पनि समर्थन मलाई मिलेको छ । नेकपा (एमाले)बाट मेरो साथी सुवासजी उम्मेदवार हुनुहुन्छ, त्यही दलबाट पनि मप्रतिको सद्भाव र विश्वासको अनुभव गरेको छु । यो चुनावमा मलाई विजयी हुनका लागि त्यो जनमत नै सहयोगी हुन्छ भन्ने मेरो विश्वास छ । यहाँलाई आगामी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने अवसर मिल्यो भने विगतभन्दा फरक अनुभूति र सन्देश जनताले के प्राप्त गर्लान् ? समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन् । अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती र विचलनको अवस्थाप्रति सजग रही कुनै पनि तलमाथि हुन नदिई प्रभावकारी ढङ्गबाट काम गर्नुपर्छ । अहिले हामीसँग संविधान र गणतन्त्रलाई संस्थागत गर्ने अभिभारा र चुनौती छ । गणतन्त्रको राष्ट्रपति र हिजोको राजतन्त्रको राष्ट्रध्यक्षको चरित्रमा मौलिक भिन्नता हुन्छ । त्यो पृथकता देखाउने प्रयास मबाट हुन्छ । हिजो र आजको राष्ट्राध्यक्षका व्यवहार र आचरणमा के–के भिन्नता हुनुपर्छ भन्नेमा प्रष्ट छु । राष्ट्रपति वा प्रधानमन्त्री भनेको मुलुकको भिन्नै विशिष्ट नभई सबै जनताका बीचमा पदीय जिम्मेवारीका कारण अग्रज मात्र हो । यो विषयलाई म यही रूपमा नै लिन्छु । असली अनि पूर्ण लोकतन्त्र र गणतन्त्र यही हो । समाजका सबै मानिस समान र स्वतन्त्र हुन् । हामी त्यही खोजीमा छौँ । त्यही आचरण गर्नुपर्छ । राष्ट्रपतिमा निर्वाचित भएमा संविधानको संरक्षण, पालना र प्रवद्र्धनमा यहाँको भूमिका के रहन्छ ? मेरो एउटै कुरा हो, मैले जीवनमा जुन ‘मिसन’लाई अगाडि राखेर सङ्घर्ष गरेँ, त्यो मिसनलाई पूरा गर्न संविधानसभाबाट संविधान जारी गर्न र लोकतन्त्रलाई स्थापित गर्न पूर्णरूपमा क्रियाशील भएँ । त्यसमा भिजेको तथा संविधानको सम्पूर्ण अक्षर, मर्म एवं भावनासँग जानकार र परिचित भएको तथा आत्मसात गरेको व्यक्तिका नाताले आउनसक्ने कुनै पनि चुनौतीबाट जोगाएर लैजान सक्छु भन्ने मेरो अठोट छ । राष्ट्रपतिमा राजनीतिक दलहरूको आकर्षण बढेको देखिन्छ, यसलाई यहाँले कसरी नियाल्नुभएको छ ? राष्ट्रपति संविधानको पालक र संरक्षक तथा संवैधानिक सर्वाेच्च र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने पद हो । यो पदको विशेष महत्व छ । तर यसका आफ्नै मर्यादा छन् । संसदीय प्रणालीको मान्यताअनुसारको पद हो । यसको अर्थ राष्ट्रप्रमुखबाट गल्ती हुँदैन भन्ने मान्यता राखिन्छ । हाम्रो राजनीतिक प्रणालीमा कार्यकारी अधिकार प्रधानमन्त्रीमा हुन्छ, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले काम गर्ने हो । राष्ट्रपतिको काम, कर्तव्य र अधिकार र संविधानले तोकेको छ । तर, राष्ट्रपतिको भूमिका राष्ट्राध्यक्ष, संविधानको संरक्षकको नाताले सजग भएर राष्ट्रहितबारे सोचिरहेको हुनुपर्छ । नेपाल संवेदनशील भू–राजनीतिक अवस्थामा छ, दुवै छिमेकी र वैदेशिक सम्बन्धलाई ठीक ढङ्गबाट अघि लैजान राष्ट्रपतिको के–कस्तो भूमिका हुनसक्छ ? नेपाल एकीकरणका बेला तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनेका थिए । यसले कसरी जोगिएर र सन्तुलन मिलाएर अघि बढ्नुपर्छ भन्ने कुरालाई इङ्गित गर्छ । हामीले असंग्लनताको परराष्ट्र नीति र तटस्थताको महत्व बुझेर अघि बढ्नु पर्छ । नेपालले त्यही कूटनीति अवलम्बन गर्नुपर्छ । राष्ट्राध्यक्षले त्यसैका लागि आवश्यक वातावरण बनाउने र राय–सुझाव दिने काम गर्न सक्छ । अन्त्यमा, राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनतालाई यहाँ त्यो पदमा पुग्ने भएको खण्डमा शीतलनिवासबाट कस्तो शीतलता प्रदान होला ? आठदलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार भएपछि नेपालको राजनीतिक वायुमण्डलमा सन्तोष र न्यायको अनुभूतिजस्तो मैले देखिरहेको छु । मलाई लाग्छ, त्यो पदमा पुगेपछि जनताले अपेक्षा गरेअनुसार यदि मैले आचरण परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउँनेछन् । रासस

ठमेलमा पर्यटकको चहलपहलले व्यवसायी उत्साहित, होटल बुकिङ ७० प्रतिशत

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकको चहलपहल र आगमन बढ्न थालेको छ । कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो । अहिले काठमाडौंको ठमेल क्षेत्रमा विस्तारै विदेशी पर्यटक देखिन थालेका छन् । ठमेल क्षेत्रका सडकमा व्यवसायी देखिन थालेसँगै लामो समयदेखि तनावमा रहेका पर्यटन व्यवसायीमा आशा जाग्न थालेको छ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोला पर्यटन आवागमनसँगै नेपालको पर्यटन उद्योगमा केही आशा पलाएको बताउँछन् । ‘लामो समय कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रमा पर्यटक आएसँगै खुसी छाएको छ’, उहाँ भन् । विश्व सम्पदा सूचीमा रहेका नेपालका पर्यटकीय क्षेत्रलाई व्यवस्थित गरेर जतिसक्दो पर्यटक भित्र्याएर राज्यले फाइदा लिनुपर्ने उनको भनाइ छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा अहिले ठमेलमा विदेशी पर्यटक बढ्न थालेको बताउँछन् । ‘ठमेलका भित्री गल्लीमा विस्तारै विदेशी पर्यटक देख्न थालिएको छ’, उनी भन्छन् । ठमेलमा ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुने गरेको छ । ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन् । ठमेलको चारतारे होटल रमदा इन्कोरका सञ्चालक गोपाल पङ्गेनी पर्यटन मौसम सुरु भएसँगै आफ्नो होटलमा बुकिङ गर्ने पर्यटकको स¬ङ्ख्या बढेको बताउँछन् । अङ्ग्रेजी पात्रोअनुसार मार्च, अप्रिल र मे महिनालाई नेपालमा पर्यटकीय मौसमका रूपमा लिने गरिन्छ । काठमाडौं महानगरपालिका–१६ ठमेलमा ९२ कोठासहित सञ्चालनमा रहेको रमदा होटलमा मार्चमा ७० प्रतिशत, अप्रिल र मेमा ९० प्रतिशत कोठा बुकिङ भएका छन् । सोही होटलका महाप्रबन्धक महेश फुँयाल ठमेलमा पर्यटकीय गतिविधि विस्तारै बढ्दै गएको बताउँछन् । ‘एक महिना पहिलेभन्दा अहिले होटलमा आउने स्वदेशी तथा विदेशी पाहुना बढेका छन्’, उनी भन्छन् । अब विस्तारै नेपालको पर्यटन क्षेत्रले गति लिने उनको अपेक्षा छ । ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने पाहुना खचाखच हुन थालेका छन् । शुक्रबार र शनिबार भने ठमेलमा थप चहलपहल हुँदै आएको छ । व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनः व्यावसायिक बाटोमा फर्किन थालेका छन् । ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्दै आउनुभएका द सर्ट स्टेशन रेष्टुराँ एन्ड बारका सञ्चालक धर्मराज पनेरु रातिको समयमा ठमेलमा मनोरञ्जन गर्न आउने विदेशी पाहुनाको सङ्ख्या बढेको बताउँछन् । ‘पछिल्लो १५ दिनदेखि रात्रिकालीन व्यवसाय क्रमशः राम्रो हुँदै गएको छ, यसले हामी व्यवसायीमा खुसी छाएको छ’, उनी भन्छन् । ठमेल क्षेत्रमा छ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को फ्रेबुअरीमा हवाईमार्ग भएर ७३ हजार दुई सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जनवरीमा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । अघिल्लो वर्ष सन् २०२२ को फ्रेबुअरीमा १९ हजार सात सय ६६ पर्यटकको नेपाल आगमन भएको थियो । सन् २०२१ को सोही महिनामा नौ हजार एक सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । पछिल्ला दिनमा विदेशी पर्यटक आगमन उत्साहवद्र्धक रहेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउनुहुन्छ । फ्रेबुअरीमा भारतबाट १८ हजार चार सय एक पर्यटक आए । अमेरिकाबाट सात हजार आठ सय ८७ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै थाइल्यान्डबाट चार हजार आठ सय दुई, दक्षिण कोरियाबाट तीन हजार दुई सय ४६, अष्ट्रेलियाबाट दुई हजार नौ सय ६९, चीनबाट दुई हजार दुई सय ६६, म्यानमारबाट दुई हजार दुई सय ३२, श्रीलङ्काबाट दुई हजार एक सय १७ र जर्मनीबाट दुई हजार एक सय आठ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो तथ्याङ्कले महामारीपछि फ्रेबुअरीमा हालसम्मकै उल्लेख्य सङ्ख्यामा पर्यटक आएको देखिन्छ । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए । सन् २०२० मा दुई लाख ३० हजार ८५ पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । रासस

६ लेन सडकले फेरियो धनगढीको मुहार

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मुहार फेरिएको छ । धनगढीलाई जोड्ने ६ लेन सडक निर्माण भएसँगै यहाँको मुहार फेरिएको हो । धनगढी सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम पनि हो। ६ लेन सडकमा सडकबत्ती जडान भएसँगै धनगढीको सुन्दरता अझ थपिएको छ। धनगढीमा प्रवेश गर्ने मुख्य सडक रहेको ६ लेन राति पनि झलमल्ल हुने गरेको छ । ६ लेन सडकमा पहिलो चरणमा ६.६ किलोमिटरमा धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत तथा नेपाल विद्युत् प्राधिकरण र राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको ४० प्रतिशत लागत साझेदारीमा बत्ती जडान गरिएको हो । उपमहानगरपालिका इन्जिनियर दिजराज भट्टका अनुसार सडकबत्ती जडानका लागि दुई करोड ६९ लाख ५८ हजार चार सय १० रूपैयाँ खर्च भएको छ । उपमहानगरको एक करोड ६१ लाख ७५ हजार ४६ रूपैयाँ र नेपाल विद्युत् प्राधिकरणको एक करोड सात लाख ८३ हजार तीन सय ६४ रूपैयाँ लगानीमा बत्ती जडान भएको हो । छोटो समयमा धनगढीको बत्ती जडान भएको नेपाल विद्युत् प्राधिकरणको ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाका प्रमुख श्रीराम पोखरेलले बताए । ‘धनगढीमा नगरप्रमुखको सक्रियताले बत्ती बलेको छ,’ उनले भने, ‘नमूनाका रूपमा काम भएको छ। अन्य ठाउँका लागि पनि सिकाइ हुनसक्छ ।’ सम्झौता भएको ६ देखि ७ महिनामा बत्ती बाल्न सकिएको उनले बताए । ‘उज्यालो बढी, महसुल पनि कम आउँछ,’ उनले भने, ‘रात कम बेलुका एकदम चम्किलो र हेर्दा पनि राम्रो हुन्छ। त्यसले गर्दा विभागले स्मार्ट फिचर राखेको हो । धनगढीमा पहिलो चरणको सडक बत्ती जडानको काम पूरा भएको हो । धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पहिलो चरणमा धनगढी चौराहदेखि मोहनपुर विमानस्थल जाने चोकसम्म स्मार्ट सडकबत्ती जडानको काम पूरा गरेको नगरप्रमुख गोपाल हमालले बताए । ‘धनगढी प्रदेशको राजधानी हो । यहाँ प्रवेश गर्ने बित्तिकै नागरिकलाई केही नयाँपनको अनुभूति होस् भन्ने हेतुले ६ लेन सडकमा सुरूआत भएको छ,’ उनले भने, ‘उपमहानरगरको १९ वटै वडालाई उज्यालो बनाउनु छ ।’ उनले सडकमा बत्ती मात्र नभई हरियाली समेत बनाउने उद्देश्य रहेको बताए । उपमहानगरभित्रको क्षेत्रमा रातको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न हरेक २८ मिटरको दूरीमा स्मार्ट सडकबत्ती जडान गरिएको नगरप्रमुख हमालले जानकारी दिए। सडकमा पहिलो चरणमा दुई सय १६ पोलमा चार सय ३२ वटा लाइट जडान गरिएको छ । स्मार्ट सडकबत्ती रात पर्दै गएपछि आफैं बल्दै जाने र उज्यालो भएपछि आफैं निभ्ने ‘सेन्सर’ जडान गरिएको छ । दोस्रो चरणमा भने उपमहानगरको एकल लगानीमा बत्ती जडान गर्ने भएको छ । दोस्रो चरणमा धनगढी उपमहानगरपालिकाले १० वटा हाइमास्ट लाइट जडान गर्नेछ भने तेस्रो चरणमा उपमहानगरकै लगानीमा भन्सारदेखि धनगढी चौराह हुँदै मोहनपुरको बाँकी क्षेत्रमा बत्ती जडान गर्ने लक्ष्य छ । ६ लेन सकडलाई हरियाली बनाउने उद्देश्यका साथ बोटबिरूवा तथा फूलहरू रोप्ने काम पनि तीव्र पारिएको छ । सडक निर्माणका साथै सडक बत्तीले सहरको सौन्दर्य बढेको धनगढी–३ का जयराज भट्टले बताए । ‘धनगढी ठूलो सहर भइसक्यो,’ उनले भने, ‘सडक पूर्वाधार निर्माण हुँदै छन् ।’ केही महिना अगाडि धनगढीका सडकमा यत्रतत्र देखिने फोहोरसमेत अहिले देखिन छाडेको उनले बताए । धनगढीको ६ लेन सडक केही फिनिसिङबाहेक काम सम्पन्न भएको छ । यस सडकअन्तर्गत पर्ने सुनिखोला पुल, मनहरा खोला र मोहनामा पुल निर्माण कार्य जारी छ । सुदूरपश्चिम प्रदेशको राजधानी सहर धनगढी प्रवेश गर्ने एक मात्र मुख्य अत्तरिया–धनगढी सडकखण्डमा दैनिक सानाठूला चार हजारभन्दा बढी यातायातका साधनको आवागमन हुने गर्छ । ६ लेन सडक निर्माणाधीन हुँदा धनगढी उपमहानगरपालिका क्षेत्रमा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत १० किलोमिटर सडकको निर्माण एवं स्तरोन्नति गर्ने काम भइरहेको छ । धनगढी उपमहानगरपालिकाको मुख्य सडक ट्राफिक चोकदेखि कैलाली खोलासम्म, सहिद गेटदेखि क्याम्पस रोडसम्म, गुल्मदेखि चर्च पुग्ने सडक र मालपोत सडकसमेत गरी झण्डै दस किलोमिटरको सडक स्तरोन्नति भइरहेको हो । कालिका कन्स्ट्रक्सनसँग धनगढीका सात वटा सडक कालोपत्रका लागि सन २०२० जुलाई १२ मा सम्झौता गरिएको थियो। सम्झौताको समयावधि आगामी जेठसम्मका लागि थप गरिएको छ । क्षेत्रीय सहरी विकास आयोजनामार्फत निर्माण थालिएका सात वटा सडकको भौतिक प्रगति ७० प्रतिशतभन्दा माथि छ । चार महिनाको अवधिमा सडक निमार्णको सबै काम सक्ने दाबी निर्माण कम्पनीको छ । कालिका कन्स्ट्रक्सनका प्रतिनिधि प्रकाश खरेलले जेठभित्र धनगढीका सडक निर्माणको काम सक्ने बताए । उनले भने, ‘धनगढीको मुख्य सडकको काम पनि सुरू भएको छ। जेठसम्म समय छ। जेठभित्र सबै काम सकेर हामी फर्किन्छौं। जेठसम्म मज्जाले काम सक्छौं ।’ धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको १.३८ किलोमिटर, २.७ सात किलोमिटरको गुल्म–चर्च सडक, सात सय मिटर लम्बाइको हुलाकी सडक–जाखोर ताल सडक, ३.६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, आठ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, चार सय ३० मिटरको मालपोत सडक र १.१५ किलोमिटरको हसनपुर सडक कालोपत्रका लागि कालिका कन्स्ट्रक्सनसँग सम्झौता गरिएको थियो । डेढ लाखभन्दा बढी जनसंख्या रहेको धनगढी उपमहानगरपालिकाका अधिकांश ग्रामीण वडामा समेत सडक निर्माण कार्य तीव्र पारिएको छ । धनगढीको क्याम्पस चोकदेखि फूलबारीसम्म समेत चार लेनको सडक निर्माण कार्य तीव्र छ । यस सडकमा समेत स्ट्रिट सडकबत्ती जडान गर्ने उपमहानगरपालिकाको योजना रहेको छ। धनगढीको मुख्य सडक कैलाली नालादेखि क्याम्पस चोकसम्म पनि स्तरोन्नति गर्ने भन्दै सडकको क्षेत्राधिकार खाली गरिएको छ । यो सडकको अहिले ठेक्का प्रक्रियामा छ ।

नेपालगञ्जमा सेयर बजारप्रतिको रुचि बढ्दै, दोस्रो बजारमा कारोबार गर्ने भने कम

नेपालगंज । पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको नेपालगञ्जमा सेयर बजारप्रतिको रुचि बढ्दै गएको छ । स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीदेखि वैदेशिक रोजगारीमा संलग्न युवा र गृहिणीले यहाँ सेयर कारोबार गरेको ब्रोकर कार्यालयले जनाएको छ । ‘सुरु–सुरुमा हामीले शाखा स्थापना गर्दा नेपालगञ्जमा पनि सेयर बजार हुन्छ भन्ने कुराको विश्वास थिएन तर अहिले २५ हजारको हाराहारीमा सेयर कारोबार गर्ने छन्’, इम्पेरियल सेक्युरिटीज कम्पनी प्रालि नेपालगञ्जका प्रमुख उदय अधिकारी भन्छन् । उनले स्थापनाकालमा घर–घरमा पुगेर बैंक र डिम्याट खाता खोल्न प्रोत्साहित गरेको र त्यसबाट प्रभावित भएर आठ हजार हाराहारीमा खाता खोलिएको जानकारी दिँदै प्राथमिक निष्कासन (आइपिओ)परेर त्यसलाई बजारमा बेच्न खोज्नेको बाहुल्य रहेको तर दोस्रो बजारमा कारोबार गर्नेको सङ्ख्या कम भएको बताए । सेयर कारोबारका विषयमा एउटा घरमा एक जनालाई जानकारी भएपछि उसकै आधारमा सबै सदस्यले र आफन्तको समेत गरेर २५ जनासम्मको सेयर कारोबार गर्ने प्रवृत्ति रहेको उनको भनाइ छ । अधिकारीले खासगरी विद्यार्थीले आफ्नो आइपिओमार्फत परेको सेयरबाट कलेजको शुल्क तिर्ने र खाजा खर्च चलाउने गरेको बताए । सेयर कारोबारबाट केही विद्यार्थीले यस्तो लाभ लिन थालेपछि अन्यले पनि यसको सिको गरेको पाइएको छ । यसमा स्नातक तहका व्यस्थापन पढ्ने विद्यार्थी सेयर कारोबारमा बढिरहेका छन् । यसबाहेक, शिक्षा, मानविकी, वाणिज्य सङ्कायका विद्यार्थीले समेत सो कारोबार गरेका छन् । उनले कोरिया, कुवेत, जापान र खाडी मुलुकमा वैदेशिक रोजागारीमा गएकाले नेपालगञ्जको सेयर बजारमा उत्साहजनक लगानी गरेको उल्लेख गर्दै सबैभन्दा बढी खाडी मुलुकमा गएकाको सेयर लगानी बढी भएको बताए । यस्तो लगानी गर्नेमा पुरुषसँगै महिलाको सङ्ख्या पनि कम नभएको बताइएको छ । वैदेशिक रोजगारीमा गएकाले अनलाइनमार्फत धेरै कारोबार गर्ने गरेको पाइएको छ । ब्रोकरमार्फत विभिन्न स्कुल र कलेजमा गएर वित्तीय साक्षरताका कार्यक्रम अघि बढाएको उल्लेख गर्दै अधिकारीले यस वर्ष बाँकेका पाँच र बर्दियाका चार कलेजमा वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरेको बताए । त्यसबाट सेयर बजारको दोस्रो बजारमा कारोबार गर्ने विषय थाहा नभएकाले त्यसबारमो पनि चर्चा चलाइएको छ । ‘अहिले पछिल्लो समय दोस्रो बजारमा कारोबार गर्नेको सङ्ख्या पनि बढेको छ’, उनले भने । बजार घट्दा कारोबार तथा सङ्ख्या कम हुन्छ र सूचक घटेकाले मनोबल पनि घट्छ यस्तो बेला लगानीकर्तालाई आत्तिन नहुनेमा जोड दिँदै राजनीतिक अस्थितरताको अन्त्य हुनेबित्तिकै बजारले लय समात्ने अधिकारीले विश्वास व्यक्त गरे । उनले बजारको ‘इन्डेक्स’ न्यूनतम अवस्थामा रहेको औल्याउँदै दीर्घकालीन लगानीकर्तालाई अहिले पनि लगानीको अवसर भएको बताए । ‘मेरो विचारमा अहिले लगानी गर्ने राम्रोसँग लाभान्वित हुन्छन्’, अधिकारी भन्छन् । सेयर लगानीकर्ता शिव सुवेदीले राष्ट्र बैंकको गलत नीतिका कारण सेयर बजार उकालो लाग्न नसकेको आरोप लगाउँदै ठूला लगानीकर्ताले बजारमा चलखेल गरेको बताए । उनले एक दिन बजार बढाउने र त्यसमा साना लगानीकर्ता फस्ने गरेको अनुभव सुनाए । ‘राजनीतिक स्थायित्वमात्रै भए पनि बजार बढ्नमा सहयोग हुन्छ’, उनले भने । विस २०७३ मा नेपालगञ्जमा इम्पेरियल सेक्युरिटीज प्रालि पहिलोपटक स्थापना भएको थियो । त्यसपछि कालिका सेक्युरिटीज प्रालिसहित दुई ब्रोकर कार्यालय रहेका छन् । यहाँ बाँके, बर्दिया, दाङ, कैलाली, कालिकोट, जुम्लालगायतका जिल्लाबाट सेयर कारोबार गर्न लगानीकर्ता आउँछन् । कुनै बेला २७ करोडसम्म कारोबार गरेको इम्पेरियल सेक्युरिटीजले अहिले पनि एक करोडदेखि एक करोड ५० लाखसम्म दैनिक कारोबार भएको दाबी गरेको छ । रासस

यात्रुबाट बढी भाडा असुल्ने ५ जना पक्राउ

फाइल फोटो काठमाडाैं । निर्धारित भन्दाबढी भाडा यात्रुबाट असुल्ने ५ जनालाई शनिबार बिहान काठमाडौंको बल्खुबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता इकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले आज बिहानै बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएको भन्दाबढी भाडा असुल गरेको पाएपछि उनीहरूलाई पक्राउ गरेकाे हो । पक्राउ पर्नेमा सुविधा काउण्टरका कामदार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ का २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउण्टरका कामदार काठमाडौँको चन्द्रागिरी नगरपालिका ९ का ३६ वर्षीय सुनिल नगरकोटी, गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराको सिम्रौनगढ नगरपालिका ८ का २४ वर्षीय ओजिर अन्सारी र लालिगुराँस काउण्टरबाट सञ्चालित सुमोका चालक रौतहटको चन्द्रपुर ४ का २४ वर्षीय कृष्ण बहादुर योञ्जन रहेका छन् । चाडपर्व  (होली) को अवसर पारेर काठमाडौंबाट बाहिरी जिल्ला जाने यात्रुहरूसँग चालक तथा काउण्टरबाट निर्धारित भन्दाबढी भाडा लिने गरेको जनगुनासो आए पश्चात यस कार्यालयबाट सादा पोशाकमा समेत जनशक्ति परिचालित हुँदै आएको छ । निर्धारण गरिएको भन्दाबढी असुल गरेको भाडा यात्रुलाई फिर्ता गरिएको र नियन्त्रणमा आएका पाँचै जनालाई आवश्यक कार्वाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

वर्षा नहुँदा उदयपुरका किसानलाई समयमा मकैखेती गर्न कठिनाइ

उदयपुर । यसपटक अहिले मकैखेती गर्ने बेलामा एकपटक पनि वर्षा हुन सकेको छैन । वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ हुन थालेपछि उदयपुर जिल्लाका पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बनेका छन् । माघ महिनाको वसन्तपञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा खेतबारी जोत्ने र फागुनको सुरुको हप्तादेखि मकैखेती सुरु गरिन्छ । तर अहिलेसम्म एकपटक पनि वर्षा नहुँदा खडेरीले मकै लाउन समस्या भएको छ । मकैखेतीको मौसम सुरु भए पनि एकपटक पनि वर्षा नभएपछि समस्या भएको गुनासो गर्दै रौतामाई गाउँपालिका–२ भुटारका कृषक गोपाल मगर भन्छन्, ‘माघको दोस्रो हप्ताबाट नै खेतबारी जोतियो, मकै छर्ने समयमा पानी आएन ।’ अहिलेसम्म एकपटक पनि सामान्य वर्षा नहुँदा र सुक्खा बारी तथा खेतमा मकै छर्न पर्दा मकैको बिरुवा नै उम्रन कठिन हुने र परिश्रम मात्र खेर गएको उनको भनाइ छ । उदयपुरगढी गाउँपालिका भलायाडाँडाका कृषक अम्बरबहादुर अधिकारीले समयमा मकैखेती गर्न नपाएको गुनासो गर्दै भन्छन्, ‘खडेरीले मर्क छर्न समस्या भएको छ ।’ विगत वर्षमा पुस वा माघदेखि वसन्त पञ्चमीभित्र दुई–चारपटक वर्षा हुने गरेको कारण जमिन भिज्ने गरेकाले मकैखेती गर्न सहज हुने गरे पनि यसपटक अहिलेसम्म वर्षा भएको छैन । सुक्खा बढ्दै गएकाले खेतीपाती गर्न कठिनाइ भएको लिम्चुङबुङ गाउँपालिका–३ जाँतेका खम्बरराज राईको भनाइ छ । फागुन लाग्नासाथ मकै छर्न आकाशे पानी कुरेर बसे पनि त्यसो नहुँदा यस क्षेत्रका किसान चिन्तित बनेको उनको भनाइ छ । खडेरी बढ्दै गएकाले मकै छर्न ढिलाइ भएको त्रियुगा नगरपालिका–१४ साउनेका कृषक वीन्द्रबहादुर मगर बताउँछन् । त्रियुगा नगरपालिका–१६ चिलाउनेका जीतबहादुर राईले छ वर्षअघि पनि अहिलेको जस्तै समस्या आएको स्मरण गरे । उनी भन्छन्, ‘त्यो बेला पुसदेखि एकपटक पनि वर्षा भएन, जबर्जस्ती फागुन सुक्खामा मकैखेती ग¥यौँ । जबर्जस्ती उम्रेका बिरुवा सबै मरे, विसं २०७४ मा पुसदेखि २०७५ भदौसम्म सुक्खा हुँदा जिल्लाको पहाडी क्षेत्रमा मकैखेती नै रहेन ।’ दुई वर्षअघि पनि यसरी नै लामो खडेरी हुँदा जिल्लाको पहाडी भेगमा मकै उत्पादन शून्य भयो । बीउ नै नरहेपछि गत वर्ष मकैखेती गर्ने जिल्लाका पहाडी क्षेत्रका कृषकले छिमेकी जिल्ला धनकुटा, सङ्खुवासभा, भोजपुर र इलामबाट बीउ ल्याउनुपरेको बताउँछन् । यहाँका पहाडी क्षेत्रका चार पालिकामा झण्डै ६० प्रतिशत कृषक मकैखेतीमा निर्भर हुँदै आएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाइएको छ । उदयपुरमा १८ हजार चार सय हेक्टर जग्गामा मकैखेती हुँदै आएको कृषि ज्ञान केन्द्र उदयपुरका सूचना अधिकारी तथा सहायक अधिकृत महेश चौधरी बताउँछन् । रौतामाई गाउँपालिका, उदयपुरगढी, लिम्चुङबुङ र ताप्ली गाउँपालिकासहित त्रियुगा नगरपालिका कटारी बेलका र चौदण्डीगढी नगरपालिकाका पहाडी क्षेत्रमा अधिकांश कृषक मकैखेतीमा निर्भर हुँदै आएका छन् । रासस