विकासन्युज

आइतबार ३० अंकले घट्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको भएको कारोबारमा नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ३५ अङ्कमा कायम भएको हो । आज दुई सय ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार चार सय ५९ कित्ता सेयर ३० हजार नौ सय तीन पटक खरिदबिक्री हुँदा एक अर्ब ३९ करोड २३ लाख ५४ हजार आठ सय बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ७३ दशमलव ३४ र उत्पादन समूहको उपसूचक एक सय ४२ दशमलव ४५ अङ्कले घटेको छ । आज बैंकिङ समूह १२ दशमलव ०८, विकास बैंक समूह २९ दशमलव ४०, वित्त समूह २९ दशमलव ६९, होटल तथा पर्यटन समूह ६८ दशमलव १० र जलविद्युत् समूह ५३ दशमलव ०४ अङ्कले घटेको छ । त्यस्तै, लगानी समूह एक दशमलव ०८, लघुवित्त समूह ८८ दशमलव ९०, म्युचुअल फण्ड शून्य दशमलव ०८, निर्जीवन बीमा समूह ६३ दशमलव ९५, व्यापार समूह सात दशमलव ८२ र अन्य समूह २७ दशमलव ७५ अङ्कले घटेको छ । आज सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामलिङ्ग पावर कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै हिमालय डिस्टिलरीको आठ करोड ४४ लाख १८ हजार चार सय ५२ बराबरको कारोबार भएको छ ।

बीमा नगरी चल्दै जनकपुर–जयनगर रेल

धनुषा । जनकपुर–जयनगर रेल सेवा सरकारको नीति विपरीत बीमा बिना नै सञ्चालन भइरहेको छ । नियमित सञ्चालनमा आएको झण्डै एक वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बीमा नगरी रेल सञ्चालन गरेको पाइएको छ । विसं २०७८ चैत १२ गतेदेखि नियमित रुपमा रेल सेवा सञ्चालन हुँदै आएको छ । भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दुरीमा दैनिक दुई पटक रेल सेवा सञ्चालनमा छन् । सो मार्गमा सञ्चालित दुईवटा रेल बजेट अभावका कारण बीमा नगरीकनै सञ्चालन गर्नुपरेको नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिए । उनले भने, ‘रकम अपुग भएपछि बीमा गराउन सकिएको छैन ।’ दुवै रेलको बीमाका लागि चालु आर्थिक वर्ष २०७९/८० मा १५ लाख र गत आवमा ३० लाख विनियोजन गरिएको थियो । एउटा बोगिसहितको रेलको बीमाका लागि ९० लाख आवश्यक पर्छ । रकम अभाव भएपछि बीमा गर्न नसकिएको साहको भनाइ छ । ‘दुवै रेलको बीमाका लागि एक करोड ८० लाख आवश्यक पर्छ’, रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भने । बीमा नगरिए पनि रेल दुघर्टना भएर कोहीले ज्यान गुमाएमा उनीहरुका परिवारजनलाई नेपाल रेल्वेको ऐनअनुसार प्रति व्यक्ति सात लाख क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको उनले बताए । झाले भने, ‘एकातिर यहाँका बीमा कम्पनी रेलको बीमा गर्न तयार छैनन् भने अर्कोतिर बीमा गर्न बजेट अभाव छ । यात्रुको मात्रै बीमा गर्ने प्रक्रिया जटिल भएकाले हालसम्म रेल र यात्रु दुवैको बीमा गराउन सकेका छैनौँ ।’ जयनगर–कुर्था रेल नेपाल रेल्वे कम्पनीले सञ्चालन गरे पनि हालसम्म दुवै रेल रेल्वे विभागको नाममा छन् । विभागले रेलको स्वामित्व कम्पनीलाई हस्तान्तरण नगरेको महाप्रबन्धक झाले जानकारी दिए । गत पुसमा वैदेही स्टेशनमा नेपाली रेलले किचेर एक यात्रुको मृत्यु भएको थियो । रेल खुल्न लागेको समयमा टिकट नलिइ चढ्ने क्रममा लड्दा किचिएर धनुषाको नगराइन नगरपालिकाका पूर्ण सदाको ज्यान गएको थियो । उक्त घटनाको छानबिन गरी मृतकका परिवारजनलाई क्षतिपूर्ति दिनका लागि छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले कम्पनी दैनिक लाखाैं रुपैयाँ घाटामा सञ्चालन भइरहेको, रेल तथा यात्रुको बीमा नभएको तथा मृतकले टिकट नलिएको कारण उल्लेख गर्दै क्षतिपूर्तिका लागि सिफारिस नगरेका कारण क्षतिपूर्ति दिइएको थिएन । रासस

ग्लोबल आईएमई होली योजना : डिजिटल कारोबार गर्दा १५० रुपैयाँसम्म क्यासब्याक

काठमाडाैं । ग्लोबल आइएमई बैंकले डिजिटल होली योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ । यस योजनाअन्तर्गत यस वर्षकाे होलीपर्व अर्थात् फाल्गुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरुले ‘जीआईबीएल– आफ्नो मनपर्ने रङको नाम’ लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (१५० रपैयाँसम्म) क्यासब्याक पाउनेछन् । ग्लोबल आइएमई बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

बैकर्स, व्यवसायी र राष्ट्र बैंकलाई एकैठाउँ राखेर प्रधानमन्त्रीले गरे अर्थतन्त्रको विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रका उद्योगी व्यवसायीका प्रतिनिधिहरुसँग वित्तीय अवस्थाको संकटका विषयमा छलफल सुरु गरेका छन् । प्रधानमन्त्री भएपछि पहिलो पटक प्रचण्डले आइतबार सरोकारवाला निकायका प्रतिनिधिलाई बोलाएर मुलुकको पछिल्लो वित्तीय अवस्था, चुनौती र संकटबारे छलफल सुरु गरेका हुन । बैठकमा मुलुकको पछिल्लो वित्तीय अवस्थाबारे छलफल हुने र समस्या पहिचान गरेर समाधानका लागि एकीकृत पहल गर्नेबारेमा केन्द्रित रहने प्रधनमन्त्रीको सचिवालयले जनाएको छ । प्रधनमन्त्री प्रचण्डले अध्यक्षता गरेको बैठकमा मुख्य सचिव शंकरदास बैरागी, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र अर्थ मन्त्रलयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बरआर्फ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल लागायतका व्यत्तिहरुको सहभागिता रहेको छ ।

बेकोको एसी किन्दा २० प्रतिशतसम्म छुट, नि:शुल्क सर्भिसिङ पनि

काठमाडाैं । युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले सम्पूर्ण एसीका ग्राहकवर्गहरुलाई लक्षित गरी निस्शुल्क ए।सी। सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकवर्गहरुले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क एसी सर्भिसिङ पाउनेछन् । यसका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, ग्राहकले पुरानो एसीको उचित मूल्याङकनका साथ बेकोको एसीसँग साट्न सक्ने कम्पनीले बताएकाे छ । कम्पनीकाे अनुसार नयाँ बेको एसीहरुमा १० वर्षको कम्प्रेसर वारेण्टी रहेको छ । साथै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ बेको एसी खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिरहेकाे जनाएकाे छ । नेपाल अधिराज्यभर बेको ब्राण्डको आधिकारीक विक्रेता सिजी। इलेक्ट्रोनिक्स रहेको छ । सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन ।

भावना पन्त : तेस्रो महिला चालकदेखि निगमको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने क्यापटेन

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को इतिहासमै महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमले हाल सञ्चालन गरेको एयरबस २२० (न्यारेवडी) का क्यापटेन भावना पन्त र कोपाइलट श्रृजना राउतले इतिहासमै पहिलो अन्तर्राष्ट्रिय उडान गरेका हुन् । उनीहरुले आइतबार बिहान काठमाडौं–युएईको उडान गर्दै पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने महिला टोली बनेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । ‘अहिलेसम्म महिलाले अन्तर्राष्ट्रिय उडान गरेको रेकर्ड हाम्रोमा थिएन, आईतबार उहाँहरुले उडान गरेसँगै निगमको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने महिना पाइटल बन्नुभएको छ’, उनले भनिन । सन् १९९१ मा रुसमा अध्ययन सकेर नेपाल फर्किएर हवाई सेवामा प्रवेश गरेकी ४५ वर्षीय पन्त विगत २५ वर्षदेखि नेपालको हवाई क्षेत्रमा आवद्ध छिन् । रुसबाट फर्किदा तत्कालीन नेपाल एयरवेजमा काम गर्ने तयारी गरेतापनि नेपाल एयरवेज बन्द भएपछि तीन वर्षसम्म बेरोजगार बनेकी उनले तत्कालीन नेकोन एयरबाट एभियसन क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी देशकै तेस्रो महिला पाइटल समेत हुन । उनले निकोन एयरमा काठमाडौं–पटना उडान गरेका थिइन् भने बुद्ध एयरबाट भारतको बनारसमा समेत उडान गरेकी थिइन् । उनी निगममा करार कर्मचारीका रुपमा कार्यरत छिन् । सौर्य एयरमा उनले पहिलो महिला जेट एयर चालकको रुपमा समेत आफ्नो नाम राख्न सफल भएकी छिन् । उनले ६ वर्ष नेकोन एयर, ९ वर्ष बुद्ध एयर र २ वर्ष सौर्य एयरमा काम गरिसकेकी छन् । उनी तत्कालीन राज परिवारका निजी क्याप्टेन बलराम पन्तकी माहिली छोरी हुन् । क्यापटेन पन्तका तीन छोरी र एक छोरामध्ये छोरा र पन्त एभियसन क्षेत्रमै कार्यरत छन् ।

काठ बिक्री हुन नसकेपछि ७ महिनादेखि वन पैदावार समितिका कर्मचारीले पाएनन् तलब

काठमाडौं । वन तथा वातावरण मन्त्रालयअन्तर्गको वन पैदावार विकास समितिका कर्मचारीले गत भदौदेखिको तलब पाउन सकेका छैनन् । आफ्नो उत्पादित वन पैदावार बिक्री गरी कर्मचारीको तलबभत्ता व्यहोर्दै आएको समितिले गत असार १६ मा ल्याइएको नयाँ वन नियमावलीको परिभाषाअनुसार काठ, दाउरा बिक्री गर्न नसकेपछि समस्या उत्पन्न भएको जनाएको छ । समितिअन्तर्गतका सागरनाथ वन विकास परियोजना र रतुवामाई वृक्षरोपण आयोजनाबाट उत्पादन हुने टिक, सिसौँ, कर्मा, जामुन, अस्ना, टुनी, शिरिष, भुडकुल, गुटेल, बाँझीआदि प्रजातिका बल्लाबल्लीको राजस्व दर नयाँ वन नियमावलीमा उल्लेख गर्न छुट भएकाले बिक्री वितरणमा समस्या आएको समितिको भनाइ छ । समितिका आयोजना र परियोजनाबाट उत्पादन हुने लगभग ६० प्रतिशत काठ बल्लाबल्ली साइजका नै हुने र यिनै काठको बिक्रीवितरणबाट समितिको मुख्य खर्च चल्ने गरेको छ । नयाँ वन नियमावलीअनुसार उक्त प्रजातिका बल्लाबल्ली काठको राजस्व दरसमेत ठूला आकारका गोलिया काठकै रुपमा बुझाउनुपरेमा समितिले कुनै ‘ओभरहेड’ खर्च नपाउने भएकाले समितिको दैनिक काम चलाउन गाह्रो भएको शाखा अधिकृत अमरबहादुर चन्दले जानकारी दिए । नियमावलीले व्यवस्था गरेको बिक्रीको ‘नयाँ सूत्र’को प्रवधानका कारण एकातिर २७ दशमलव ३० प्रतिशत मूल्यवृद्धि भएको र अर्काेतिर बल्लबल्लीको राजस्व दर उल्लेख नहुँदा गोलिया काठकै राजस्व दरमा कटान मुछान खर्च मात्र जोडी बिक्रीका लागि पटकपटक सूचना प्रकाशित गर्दासमेत बिक्री नभएको उनले बताए । उत्पादित काठका सम्बन्धमा १८ इञ्चभन्दा कम गोलाइका काठलाई दाउरा, १८ देखि ३१ इञ्च गोलाइसम्मका काठलाई बल्लाबल्ली, ३१ देखि ४८ इञ्चसम्म गोलाइका काठलाई ‘बि’ वर्गको गोलिया र ४८ इञ्चभन्दा बढी गोलाइ भएको काठलाई ‘ए’ वर्गको गोलिया काठमा वर्गीकरण गरिएको छ । समस्या समाधानका लागि मन्त्रालयमा पटकपटक आग्रह गर्दासमेत हालसम्म कुनै ठोस पहल हुन नसकेको समितिको गुनासो छ । हाल समितिको केन्द्रीय कार्यालयमा स्थायी आठ, करार पाँच र कार्यकारी अध्यक्ष एक जना, रतुवामाई आयोजनामा स्थायी १४, करार चार र दैनिक ज्यालादारीमा ३० जना तथा सागरनाथ परियोजनामा ३६ स्थायी, करार १० र दैनिक ज्यालादारीमा एकसय जना कार्यरत छन् । सबै कर्मचारीलाई तलब प्रदान गर्न मासिक करिब ७६ लाख खर्च हुँदै आएको छ । यसबाहेक करिब डेढ वर्षदेखि उमेरहदका कारण विभिन्न मितिमा अनिवार्य अवकाश लिएका १३ कर्मचारीले हालसम्म उपदान रकम प्राप्त गर्न नसकेको उनले जानकारी दिए । विकास समिति ऐन, २०१३ अन्तर्गत गठित समिति आफ्नो मातहतका वृक्षरोपण आयोजना/परियोजनामा छिटो हुर्किने प्रजातिका बोट, बिरुवाको वृक्षरोपण गरी हुर्किएका वयस्क रुखको कटान गरेर उत्पादित काठ दाउरा नेपाल सरकारलाई प्रचलित राजस्व बुझाई खुला प्रतिस्पर्धात्मक तरिकाबाट बिक्री गरी प्राप्त आम्दानीबाट सञ्चालन हुँदै आएको छ । रासस

एफवान सफ्ट २० औं वर्षमा, थप परिस्कृत प्रविधि निर्माणमा जोड दिने

काठमाडौं । डिजिटल वित्तीय सेवा प्रदान गर्दै आएको फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल २० औं वर्षमा प्रवेश गरेको छ । डिजिटल वित्तीय सेवा पुर्याउने उदेश्यले सन् २००४ को मार्च ६ तारेखबाट कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो । १९ वर्षको अवधिमा कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गर्दै आएको छ । सुरूमा एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता निकै रूचाइएका प्रविधिहरू निर्माण गरिसकेको छ । यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाइल मार्फत हुने भुक्तानीको समेत विकास गरेको छ । कम्पनीमा हाल एक हजार २०० भन्दा बढि दक्ष जनशक्तिले रोजगारी पाएका छन् । २० वर्षको अवधिमा कम्पनीले नेपालको डिजिटल फाइनान्सियल क्षेत्रमा टेवा पुर्याउन ठुलो भूमिका खेलेको छ । ‘एफवान सफ्टले निर्माण गर्ने प्रविधिले आम मानिसको दैनिकी सहज बनाओस् र त्यसको फाइदा मुलुको अर्थतन्त्रलाई पुगोस् भन्ने दृष्टिकोण राखेर बनाउने गरिएकाे प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए । ‘हामीले डिजिटल नेपाल बनाउँदै इकोनोमीलाइ नै डिजिटलाइज गरि देशको जिडिपीमा ठुलो योगदान दिन सकौँ भन्ने उदेश्य राखेका छौँ, यसका लागि हामीले आगामी दिनमा अझ मिहिनेतका साथ अत्याधुनिक प्रविधि निर्माणमा सशक्त रूपमा लाग्नेछौँ,’ उनले भने । एफवान सफ्ट ग्रुप अन्तरगत हाल एक दर्जन बढी कम्पनी सञ्चालनमा छन् । एफवान सफ्ट ग्रुप अन्तरगत इसेवा, फोनपे, इसेवा मनि ट्रान्सफर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका जस्ता प्रविधिमा अग्रणी कम्पनी सञ्चालित छन् । यी कम्पनीले वित्तीय क्षेत्र बाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उदेश्यले सफ्टवेयर निर्माण गर्ने गर्दछन् । नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थाले एफवान सफ्टले विकास गरेका प्रविधि प्रयोग गर्दै सेवा दिइरहेका छन् । कम्पनीले विकास गरेको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता नेपालमा एक करोड ५० लाख भन्दा धेरै रहेका छन् ।