राष्ट्र बैंकले घटाएर पठायो जीवन विकास लघुवित्तको लाभांश
काठमाडौं । नेपाल राष्ट्र बैंकले जीवन विकास लघुवित्तको संशोधन गरेर पठाएको छ । बैंकले लघुवित्तको लाभांश ४.२१ प्रतिशतले घटाएर पठाएको हो । योसँगै लघुवित्तको सेयरधनीले २६ प्रतिशत बोनस सेयर र ७.१५ प्रतिशत नगद लाभांश गरेर कुल ३३।१५ प्रतिशत लाभांश पाउनेछन् । यसअघि लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर र ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
लघुवित्त वित्तिय संस्था : बैंकिङ्ग क्षेत्रमा क्रान्तिकारी परिवर्तन
नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरुलाई ४ वर्गमा विभाजन गरेको छ । जसमा, ‘क’ वर्गका वाणिज्य बैंकहरु, ‘ख’ वर्गका बिकास बैंकहरु, ‘ग’ वर्गका फाईनान्स कम्पनीहरु र ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरु रहेका छन् । नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था ऐन २०६३ अन्तर्गत नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त भएको वित्तिय संस्था लघुवित्त वित्तिय संस्था हो । हाल नेपालमा ६५ भन्दा बढी लघुवित्त वित्तिय संस्थाहरु रहेका छन् । लघुवित्त वित्तिय संस्थाले विपन्न तथा न्यून आयस्तर भएका व्यक्ति तथा महिलाहरुलाई सदस्य बनाई नियमित बचत संकलन गरी सामुहिक जमानीमा कृषि तथा लघुउद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा प्रवाह गर्ने गरेका छन् । सामुहिक सदस्य तथा ब्यक्तिगत सदस्यहरुलाई स्वीकारयोग्य धितो लिई लघुउघम तथा लघु व्यवसाय संचालन गर्न धितो कर्जा प्रवाह गर्ने गर्छन् । लघुवित्त वित्तिय संस्थाले बिशेष गरी विनाधितो कर्जा उपलब्ध गराउने गर्दछन । लघुवित्त वित्तिय संस्थाहरुले नेपालको विभिन्न भु-भागमा तथा गाँउघरमा गई वित्तिय साक्षरता प्रदान गर्ने, वित्तिय शिक्षा प्रदान गर्ने, वचत संकलन गर्ने, विनाधितो कर्जा दिने, धितोमा कर्जा दिने कार्य गर्दै आईरहेका छन् । नेपालमा गरिबी न्यूनिकरणको पहलका लागि धेरै कार्यक्रमहरु लागु भएतापनि लघुवित्तका कार्यक्रमहरु गरिब र ग्रमिण क्षेत्रमा मात्र आधारित छन् । लघुवित्त बैंकिङ्ग सेवाले ग्रामीण तथा अर्धशहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई वित्तीय सेवा तथा कृषि उत्पादन गर्नमा सहज र सुरक्षित गर्नका लागि मार्गदर्शन प्रदान गर्दछ । नेपालमा लघुवित्त बैंकिङ्ग सेवाको सुरुवातले औपचारिक बैंकिङ्ग सेवाहरूमा पहुँच नभएकाहरूलाई नयाँ वित्तीय समाधान प्रदान गर्न मद्दत गरेको छ । साथै, ग्रामीण क्षेत्रका लागि भरपर्दो, सुरक्षित र सुविधाजनक बैंकिङ्ग सेवाहरु प्रदान गर्दछ । विभिन्न उत्पादन र सेवाहरू प्रदान गर्दै लघुवित्त बैंकिङ्गले नेपालको बैंकिङ्ग क्षेत्रमा क्रान्तिकारी परिवर्तन गर्दै यसलाई थप समावेशी बनाएको छ । लघुवित्त वित्तिय संस्थाले नेपालको ग्रामीण क्षेत्रको विकासलाई बढावा दिएको छ । लघु कर्जा र वित्तीय सेवामा पहुँच प्रदान गरेर लघुवित्तले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । लघुवित्तलाई विशेष गरी प्रभावकारी विकास पूर्वाधारका रुपमा मान्यता प्रदान गरिएको छ । जसमा, लघुवित्त वित्तिय संस्थाहरुमार्फत उपलब्ध गराईने सेवाहरुलाई विशेष गरी गरिब र अति गरिबलाई लक्षित गर्ने, लक्षित समुदायको सामाजिक, आर्थिक स्थितिमा महत्वपूर्ण योगदान पुर्याउने र लघुवित्त बैंकिङ्ग सेवाहरु प्रदान गर्ने संस्थाहरु केही बर्षभित्रै, निरन्तर बढ्दो पहुँचको साथ दिगो संस्थाहरुमा विकास गर्न सकिन्छ । लघुवित्त वित्तिय संस्थाहको उद्देश्यहरु : १. लक्षित क्षेत्रका महिलाहरुको आवश्यकता र तिनिहरुको सशक्तिकरण प्रक्रियामा संवेदनशील बनाउन, २. सदस्यहरु माझ सामुहिक भावना पैदा गर्न, ३. सदस्यहरुको आत्मविश्वास र क्षमता अभिवृदि गर्न, ४. सदस्यहरुमा सामुहिक निर्णय क्षमताको विकास गर्न, ५. महिलाहरुमा बचत गर्ने बानीलाई प्रोत्साहित गर्ने र उनीहरुको आफ्नै पूँजी स्रोतको आधार सञ्चय गर्न सहजीकरण गर्न, ६. महिलाहरुलाई विशेष गरी महिला विकाससँग सम्बन्धित सामाजिक जिम्मेवारीहरु लिन उत्पे्ररित गर्न, ७. कर्जालाई सहि कार्यका लागि उपयोग गरी आयस्तर अभिवृद्धि गर्न, ८. भविष्यमा पर्नसक्ने जोखिमलाई सामना तथा आत्मविश्वास बढाउन उत्प्रेरित गर्न, ९. कर्जाको सहि सदुपयोग गराई आत्मसम्मान तथा आत्मनिर्भरता पुरा गर्नका लागि मद्धत गर्न, १०. नेपालको ग्रामीण तथा पिछडीएको क्षेत्रको गरिवी निवारणमा महत्वपुर्ण योगदान गर्न, लघुवित्त क्षेत्रका चुनौतीहरु : १. नेपालको भौगोलिक अवस्थाहरु, २. कर्मचारीहरुको सुरक्षाको कमी, ३. वित्त कम्पनीहरुसगंको प्रतिस्पर्धा, ४. कर्मचारीहरुलाई आवश्यक तालिम र तथा दक्ष कर्मचारीको अभाव, ५. लघुवित्त वित्तिय संस्था सेवामुखी भन्दा नाफामुखी हुनु, ६. सदस्यहरुमा कर्जाको दोहोरोपना हुनु, ७. कर्जा लगानी पश्चात कर्जाको सदुपयोगिता निरक्षण नहुनु, ८. लघुवित्त संस्थाहरु बिरुद्ध संघर्ष समितिहरुको उदय हुनु, लघुवित्त क्षेत्रका चुनौतीहरु समाधानका उपायहरु : १. उचित नियमन २. फिल्डको सुपरिबेक्षण ३. व्याजदरको पारदर्शिता ४. दक्ष कर्मचारी तथा उचित तालिमको व्यवस्था ५. नाफामुखी नभई सेवामुखी हुनुपर्ने, ६. लघुवित्त संस्थाहरु बिरुद्ध संघर्ष समितिहरुलाई कानुनी सजाय, कर्जाहरुको वर्गीकरण : लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जा/सापटको साँवा वा ब्याज भुक्तानी हुनु पर्ने भाखा नाघेको अवधिका आधारमा सम्पूर्ण कर्जा सापटलाई देहाय बमोजिम वर्गीकरण गरिएको छ । असल र सूक्ष्म निगरानी मा रहेका कर्जालाई ‘सक्रिय कर्जा’ र कमसल, शंकास्पद तथा खराब कर्जालाई ‘निष्क्रिय कर्जा’ भनिन्छ । (लामिछाने हाल लघुवित्त वित्तिय संस्थामा कार्यरत छन् ।)
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला तीन सयले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार ५ सय कायम भएकोमा आज एक लाख दुई हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ३ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार दुई सय ७५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
स्मार्टको लाइसेन्स खोसेर सिजीलाई दिइँदै, सम्पत्तिको मूल्यांकन गरी ओभरटेक गरिने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको लाइसेन्स खाेसेर सो लाइसेन्स सिजी टेलिकमलाई दिने तयारी गरेको छ । प्राधिकरणले मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमलाई लाइसेन्स नवीकरणका लागि आव्हान गरेपनि नवीकरण गर्ने इच्छा नदेखाएपछि सो लाइसेन्स खाेसेर सिजी टेलिकमलाई दिने तयारी गरेको हो । लाइसेन्स जोगाउन स्मार्टले फागुन मसान्तअघि नवीकरण दस्तुर र बक्यौता भुक्तानी गरी प्राधिकरण समक्ष नवीकरणका लागि निवेदन दिनुपर्ने थियो । तर, सो प्रक्रिया अगाडि नबढाएपछि प्राधिकरणले स्मार्टको लाइसेन्स खारेज गर्ने तयारी गरेको हो । स्मार्ट टेलिकमले नवीकरणको २० अर्ब रुपैयाँ र त्यसको १५ प्रतिशत अर्थात तीन अर्ब रुपैयाँ जरिवाना बुझाउनु पर्ने हुन्छ । तर, त्यो रकम तिर्न स्मार्ट टेलिकम अनिच्छुक देखिएको हो । लाइसेन्सकाे भ्याद भने बैशाख १ गते सकिँदैछ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले स्मार्टको लाइसेन्स खारेज गरेर सीजीलाई लिने तयारी भइरहेको बताए । ‘अहिलेसम्म लाइसेन्स नवीकरणका लागि स्मार्ट टेलिकम आएको छैन, हामीलाई तेस्रो प्रतिस्पर्धी चाहिन्छ, हामीले यसअघि नै सम्पत्ति व्यवस्थापन नियमावली ल्याएका छौँ, त्यसपछि अन्डरटेक गर्न सक्छौँ, त्यसको भ्यालुएसन गरेर कानुन अनुसार तेस्रो कम्पनीलाई जिम्मा लगाउँछौं, कम्पनी चलाउन अनिच्छुक रहेको देखिएको छ, हामीले कानुन बमोजिम कब्जामा लिएर अध्ययन गरेर उहाँहरुलाई मर्का नपर्ने गरी अक्सनमा लान्छौं, अर्काे सक्षम कम्पनीलाई जिम्मा दिन्छौं,’ अध्यक्ष खनालले भने । उनले तत्काल तेस्रो सेवा प्रदायक कम्पनीको आवश्यक रहेको बताउँदै सिजीलाई लाइसेन्स दिने तयारी भइरहेको बताए । ‘जसले गुणस्तरीय सेवा दिन्छन्, त्यसमा उपभोक्ता आकर्षित हुन्छन भन्ने मेरो बुझाइ हो, स्मार्ट टेलिकमलाई अन्डरटेक गरेर तेस्रो कम्पनीलाई मोबाइल सेवाकोे अनुमति दिन हामी तयार छौं,’ उनले भने । प्राधिकरणले २०६० को कात्तिक २७ गते एसटीएम टेलिकम सञ्चार प्रालि (हालको सीजी कम्युनिकेसन प्रालि) लाई ग्रामीण दूरसञ्चार, अन्तर्राष्ट्रिय ट्रंक टेलिफोन सेवा, लिमिटेड मोबिलिटी सेवा, इमेल तथा इन्टरनेट सेवा सञ्चालनका लागि लाइसेन्स दिएको थियो । १ जेठ ०६९ मा राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले निश्चित क्षेत्रभित्र मात्र सीमित रहने ताररहित टेलिसञ्चारमा आधारित लिमिटेड मोबिलिटी सेवा, ग्रामीण दूरसञ्चार सेवा र आधारभूत दूरसञ्चार सेवा प्रदान गर्ने अनुमति पाएकाहरूमध्ये कुनै एकलाई आधारभूत टेलिकमको लाइसेन्स दिने उल्लेख गरेको थियो । सम्बन्धित सामग्री : अर्थमन्त्री नबन्दै विनोद चौधरीले पाउँदैछन् टेलिकम लाइसेन्स
ओखलढुङ्गामा बोलेरो दुर्घटनामा दुईको मृत्यु, ११ घाइते
ओखलढुङ्गा । ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपनिरीक्षक दीपक केसीले जानकारी दिनुभयो । दुर्घटनामा परी ११ घाइते भएका छन् । तीमध्ये केहीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको चिशङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । पाँच जना यात्रु बोक्ने क्षमता भएको बोलेरोमा १३ सवार थिए । क्षमताभन्दा बढी यात्रु बोकेका कारण बालेरो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।
वडा कार्यालय बनाउन बजेटको समस्या, भाडाकै घरबाट सेवा प्रवाह
वालिङ । वालिङ नगरपालिकाका १४ वडामध्ये ५ वडा कार्यालयले अझै पनि भाडाकै घरबाट आफ्नो सेवा प्रवाह गरिरहेका छन् । आफ्नै भवन र स्वास्थ्य चौकीको भवनबाट विभिन्न नौ वडा कार्यालयहरु सञ्चालनमा रहेका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए । ‘नगरपालिकासित भवन बनाउनका लागि बजेट नहुने समस्या छ,’ उनले भने, ‘संघीय तथा प्रदेश सरकारले पनि भवन निर्माणका लागि त्यति धेरै महत्व नदिने भएकाले वडा कार्यालयका भवन निर्माण गर्न नसकिएको हो ।’ वडा नं. १३ को कार्यालय भवन निर्माण सम्पन्न हुन लागेको उनले जानकारी दिए । हाल स्वास्थ्य चौकीको भवनबाट सेवा दिइरहेको वडा नं. ४ को भवन निर्माणका लागि प्रक्रिया पूरा भई निर्माण थालनी भएको छ । वडा नं. ९ को लागि पनि साविकको पशु सेवा केन्द्र रहेको भवनबाट सेवा दिने तयारी भइरहेता पनि निर्णय हुन बाँकी रहेको जनाइएको छ । आफ्नै वडा कार्यालयको भवन नभएका वडाका लागि जग्गा प्राप्तिका लागि प्रक्रियामा रहेको तर उपयुक्त जग्गा नपाइएको उनले बताए । भाडामा रहेका वडामा वडा नं. ८, ९, १०, ११ र १३ छन् । नगरपालिकाले मासिक घर भाडावापत ४९ हजार पाँच सय १० रुपैयाँ बुझाउने गरेको नगरपालिकाका लेखा सहायक ईश्वरीप्रसाद तिवारीले बताए । उनका अनुसार वडा नं. ८ को मासिक सात हजार सात सय, वडा नं. ९ को १२ हजार, वडा नं. १० को ११ हजार, वडा नं. ११ को आठ हजार आठ सय र वडा नं. १३ को १० हजार १० रकम घरभाडा वापत बुझाउने गरेको छ । नगरपालिकाले पाँच वडाको कार्यालय सञ्चालन गरेवापत वार्षिक रु पाँच लाख ९४ हजार एक सय २० घरभाडा बुझाउने गरेको जनाइएको छ । रासस
नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने
चितवन । दिउँसोका समयमा बन्द गरिँदै आइएको नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । सो सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम बन्द गर्न लागिएसँगै सडक बन्द नहुने भएको हो । भित्तो काट्न कठिन भएपछि गत पुष ५ गतेबाट दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ बजेबाट ४ बजेसम्म सडक बन्द गरिएको थियो । नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार सवारी रोकेर पाँच ठाउँको पहाड काट्न सुरु गरिएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाड बाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ । तुइन खोलाको भित्तोलाई विष्फोट गराउन लागिएको जनाइएको छ । तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानको डाँडो रहेको थियो । सो डाँडोलाई काट्न कठिन भएको हो । सो पहाडको अझै ४० मिटर काट्न बाँकी रहेको छ । यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टीको भित्तो काट्ने काम अन्तिम चरणमा छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ । यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन् । यसअघि नै सो सडकका पाँच पुल बनिसकेका थिए । पाँच पुल निर्माणाधीन रहेका छन् । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउमा अर्को पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो । आचार्यका अनुसार तुइन खोलाको भित्तो काट्नका लागि विष्फोट गराउन अनुमति लिने प्रक्रियामा रहेको छ । अनुमति पाएसँगै एक महिनामा विष्फोटक पदार्थ झिकाएर विष्फोट गराउने तयारी आयोजनाले गरेको सूचना अधिकारी आचार्यले जानकारी दिए । रासस
लक्ष्मी बैंकले धितोमा रहेको स्कोरपियो बेच्दै
काठमाडौं । लक्ष्मी बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । ऋणी सन्देश डि.सि ढुङ्गेलले कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । ऋणी सन्देश डि.सि ढुङ्गेलले ऋण लिएवापत धितोमा राखेको बा १५ च ४५१७ नम्बरको महिन्द्रा स्कोरपियो सवारी बिक्रीमा राखिएको हो ।