विकासन्युज

सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु

काठमाडौं । सत्ता साझेदार आठ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलसहित ८ दलका नेताहरू सहभागी छन् । कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चा राष्ट्रपति चुनावपछि सरकारमा पनि एक साथ अगाडि बढ्ने तयारीमा छन् । बैठकले पछिल्ला राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल गर्ने बताइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

पूर्वपश्चिम राजमार्ग स्तरोन्नति कामले पायो तीव्रता

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको कामले तीव्रता पाएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत सडक चौँडा बनाउने काम गरिरहेको हो । डिभिजन कार्यालयले पूर्वपश्चिम राजमार्ग स्तरोन्नति गर्नको लागि आठ करोड रुपैयाँमा मा ठेक्का लगाएको थियो । राजमार्ग चौँडा गर्न माटो भरान गर्ने, कल्भर्ट बनाउनेलगायत काम भइरहेको कार्यालयमा सूचना अधिकारी पियुस चटौटले बताए । उनका अनुसार महेन्द्रनगर बजार क्षेत्रको शिवमन्दिर अगाडिको क्षेत्रमा तीन किलोमिटर र झलारी क्षेत्रमा एक हजार दुई सय मिटर सडक स्तरोन्नतिको काम भइरहेको छ । डिभिजन कार्यालयको सडक स्तरोन्नति पश्चात् कालोपत्र गर्ने योजना छ । ‘दश वटा पाइप कल्भर्ट चौँडा गर्ने काम अन्तिम चरणमा पुगेको छ, सडक मर्मत गरी चार लेनको बनाइँदैछ, ट्राफिकको चाप बढी भएका ठाउँमा सडकमा एक/एक लेन थप्न लागेका हौं,’ उनले भने । गत आर्थिक वर्ष २०७८/७९ मा सडक बोर्डमार्फत राजमार्गको भाँसी सडक खण्ड चौँडा गरिएको थियो । गड्डाचौकी, दैजी, सिसैयालगायतका क्षेत्रमा यसअघि नै सडक चौँडा गरिएको छ । सडक निर्माणका लागि मुमताज कन्ट्रक्सन, जसलिङ जेभी कम्पनीले र कल्भर्ट निर्माणका लागिमैनाचुली जेभिसँग ठेक्का सम्झौता गरिएको थियो । पुराना ठेक्काबाट बचेको रकमबाट पुनः बोलपत्र आह्वान गरी सडक स्तरोन्नतिको अगाडि बढाइँदै आएको छ । चालु आर्थिक वर्ष २०७९/८० को असारमसान्तसम्म सडक र कल्भर्ट चौँडा गर्ने काम सम्पन्न गरिसक्ने गरी समय सीमा निर्धारण गरिएको छ । यसै गरी सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरका आठ निर्वाचन क्षेत्रमध्ये सातमा सडक निर्माण गरिरहेको छ । ‘जग्गा प्राप्ति नहुँदा एक निर्वाचन क्षेत्रमा सडक स्तरोन्नति अगाडि बढ्न सकेको छैन, बाँकी सातमा कार्य अगाडि बढिरहेको छ, लगभग हालसम्म १५ प्रतिशत काम सम्पन्न भएको छ,’ उनले भने । पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको काम सुरु भएको दुई वर्षभित्र सक्नु पर्ने गरी ठेक्दार कम्पनीसँग सम्झौता भएका पनि चटौटले जानकारी दिए । सातवटै सडक स्तरोन्नतिका लागि तीन करोड २० लाख बजेट विनियोजन गरिएको छ । निर्माण थालिएका सातवटै सडक आठदेखि १० किलोमिटरका हुनेछन् । रासस

सरकारले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक कार्यक्रममा उनले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन । सरकारले सो आर्थिक वर्षमा सम्पादन गरेका काम कारबाही समेटिएको प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गरिएको हो । संवैधानिक व्यवस्थाअनुसार सरकारले सम्पादन गरेका काम कारबाहीको फेहरिस्त राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्नुपर्ने हुन्छ । सो अवसरमा मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलगायतको सहभागिता रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

सानिमा रिलायन्सको नामबाट एकीकृत कारोबार गर्दै दुई बीमा कम्पनी

फाइल फोटो : प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गर्दै दुई कम्पनीका सञ्चालक काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले आगामी चैत ९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । एकीकृत कारोबार गर्न यी दुई कम्पनीले गत फागुन १८ गते नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका थिए । रिलायन्स लाइफ इन्स्योरेन्सका अध्यक्ष तारा चन्द केडियाका अनुसार दुई कम्पनी बराबर हैसियतमा मर्जरमा जान लागेका हुन् । तर मर्जपछि बन्ने कम्पनी सञ्चालक समितिको अध्यक्ष, सीईओ, डीसीईओ लगायतको विषयमा भने हाल टुंगो लागि नसकेको अध्यक्ष केडियाले बताए । ‘यस विषयमा अब बस्ने बोर्ड बैठकले निर्णय गर्ने छ,’ उनले विकासन्युजसँग भने । मर्जरमा जानको लागि यी दुई कम्पनीले गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । उक्त प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका थिए । दुई कम्पनी एक आपसमा मर्ज हुने प्रस्तावलाई फागुन १२ गते सम्पन्न दुबै कम्पनीको साधारण सभाले पारित पनि गरिसकेको छ । हाल सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ छ । १ः१ को अनुपातमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ । जुन नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति) ले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ ।

स्माटच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच रेमिट्याप वालेटको लागि सम्झौता

काठमाडाैं । स्मार्टच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच बैंकद्वारा संचालित रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले हस्ताक्षर गरेका थिए । विगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय रेमिट्याप वालेटबीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ । यस सम्झौतापछि रेमिट्याप प्रयोगकर्ताले रेमिट्याप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्क्तानी गर्न सक्नेछन ।  

हिमालयन ब्रुअरीको प्रिमियम बियर बजारमा

काठमाडौं । सिजी होल्डिङ्स अन्तर्गतको अल्को-वेभ डिभिजन हिमालयन ब्रुअरीले प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा ल्याएको छ । होलीलाई लक्षित गर्दै बियर बजारमा ल्याएको कम्पनीले बताएको छ । गोदावरीस्थित मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको कम्पनी बताउँछ । कम्पनीका अनुसार उत्कृष्ट युरोपेलीहप्स र टु(रो माल्टबाट बनेको यो बियरको स्वाद अरू बियरभन्दा रिफ्रेसिङ रहेको छ । यस बियरमा ६ प्रतिशत अल्कोहल रहेको कम्पनीले बताएको छ । यस बियरको प्रिमियम फिचर र स्वादलाई युवा पुस्ताले मन पराउने बिश्वास कम्पनीले लिएको जनाएको छ । कम्पनीले ३३० मिलिलिटर (एमएल) र ६५० एमएल बोतलमा उपलब्ध छ । ६५० एमएलको मूल्य ३१० रुपैयाँ र ३३० एमएलको १६५ रुपैयाँ कायम गरेको छ ।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको स्काई भोड्का सार्वजनिक

काठमाडौं– उच्च गुणस्तरको स्पिरिट उत्पादन गर्दै आएको नेपालकै एक प्रतिष्ठित र अग्रणी उत्पादक कम्पनी जावलाखेल गु्रप अफ इन्डस्ट्रिजले नयाँ ‘स्काई भोड्का’ सार्वजनिक गरेको छ । सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का गुणस्तर र स्वादको लागि एक नयाँ स्टान्डर्ड भएको कम्पनीले बताएको छ । नेपाली बजारमा विशेष एवं फरक स्वाद पस्किन प्रिमियम भोड्का ब्राण्ड बजारमा ल्याइएको कम्पनीले बताएको छ । ५ पटक डिस्टिल गरी तयार भएको स्काई भोड्कामा फलफूल र टोस्ट गरिएको अन्नको स्मूथ रिफ्रेसिङ टेस्ट रहेकाे र यसलाई निट वा ककटेलसँग पिउँदा अझ उत्कृष्ट एवं मनमोहक स्वाद आउने कम्पनीले जनाएको छ । उत्कृष्ट तथा रिफ्रेसिङ टेस्टेको विशेषता रहेको स्काई भोड्का आकर्षक कोबाल्ट ब्लु प्रिमियम बोतलमा ७५० मिलि र १८० मिलि बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

माया खोला हाईड्रोपावरको सेयर रजिष्ट्रारमा सिटिजन्स् क्यापिटल

काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनीले आफ्नो सेयर रजिष्ट्रार र सम्बन्धित परामर्श सेवा प्रदायकमा सिटिजन्स् क्यापिटललाई नियुक्त गरेको छ । शुक्रबार कम्पनी र क्यापिटल बिच सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागु हुने जनाइएको छ । उक्त सम्झौतामा मायाखोला हाईड्रोपावर कम्पनीकातर्फबाट प्रबन्ध संचालक दिनेश प्रसाद श्रेष्ठ र सिटिजन्स् क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । माया खोला हाईड्रोपावर कम्पनीले फाल्गुनको पहिलो साताबाट विद्युत उत्पादन परिक्षण गरिरहेको छ भने सिटिजन्स् क्यापिटलले धितोपत्र निष्काशन, सामूहिक लगानी कोष तथा पोर्टफोलियो लगानी व्यवस्थापन साथै अन्य मर्चेन्ट तथा इन्भेष्टमेन्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।