विकासन्युज

सानिमा रिलायन्सको नामबाट एकीकृत कारोबार गर्दै दुई बीमा कम्पनी

फाइल फोटो : प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गर्दै दुई कम्पनीका सञ्चालक काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले आगामी चैत ९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । एकीकृत कारोबार गर्न यी दुई कम्पनीले गत फागुन १८ गते नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका थिए । रिलायन्स लाइफ इन्स्योरेन्सका अध्यक्ष तारा चन्द केडियाका अनुसार दुई कम्पनी बराबर हैसियतमा मर्जरमा जान लागेका हुन् । तर मर्जपछि बन्ने कम्पनी सञ्चालक समितिको अध्यक्ष, सीईओ, डीसीईओ लगायतको विषयमा भने हाल टुंगो लागि नसकेको अध्यक्ष केडियाले बताए । ‘यस विषयमा अब बस्ने बोर्ड बैठकले निर्णय गर्ने छ,’ उनले विकासन्युजसँग भने । मर्जरमा जानको लागि यी दुई कम्पनीले गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । उक्त प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका थिए । दुई कम्पनी एक आपसमा मर्ज हुने प्रस्तावलाई फागुन १२ गते सम्पन्न दुबै कम्पनीको साधारण सभाले पारित पनि गरिसकेको छ । हाल सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ छ । १ः१ को अनुपातमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ । जुन नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति) ले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ ।

स्माटच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच रेमिट्याप वालेटको लागि सम्झौता

काठमाडाैं । स्मार्टच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच बैंकद्वारा संचालित रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले हस्ताक्षर गरेका थिए । विगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय रेमिट्याप वालेटबीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ । यस सम्झौतापछि रेमिट्याप प्रयोगकर्ताले रेमिट्याप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्क्तानी गर्न सक्नेछन ।  

हिमालयन ब्रुअरीको प्रिमियम बियर बजारमा

काठमाडौं । सिजी होल्डिङ्स अन्तर्गतको अल्को-वेभ डिभिजन हिमालयन ब्रुअरीले प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा ल्याएको छ । होलीलाई लक्षित गर्दै बियर बजारमा ल्याएको कम्पनीले बताएको छ । गोदावरीस्थित मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको कम्पनी बताउँछ । कम्पनीका अनुसार उत्कृष्ट युरोपेलीहप्स र टु(रो माल्टबाट बनेको यो बियरको स्वाद अरू बियरभन्दा रिफ्रेसिङ रहेको छ । यस बियरमा ६ प्रतिशत अल्कोहल रहेको कम्पनीले बताएको छ । यस बियरको प्रिमियम फिचर र स्वादलाई युवा पुस्ताले मन पराउने बिश्वास कम्पनीले लिएको जनाएको छ । कम्पनीले ३३० मिलिलिटर (एमएल) र ६५० एमएल बोतलमा उपलब्ध छ । ६५० एमएलको मूल्य ३१० रुपैयाँ र ३३० एमएलको १६५ रुपैयाँ कायम गरेको छ ।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको स्काई भोड्का सार्वजनिक

काठमाडौं– उच्च गुणस्तरको स्पिरिट उत्पादन गर्दै आएको नेपालकै एक प्रतिष्ठित र अग्रणी उत्पादक कम्पनी जावलाखेल गु्रप अफ इन्डस्ट्रिजले नयाँ ‘स्काई भोड्का’ सार्वजनिक गरेको छ । सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का गुणस्तर र स्वादको लागि एक नयाँ स्टान्डर्ड भएको कम्पनीले बताएको छ । नेपाली बजारमा विशेष एवं फरक स्वाद पस्किन प्रिमियम भोड्का ब्राण्ड बजारमा ल्याइएको कम्पनीले बताएको छ । ५ पटक डिस्टिल गरी तयार भएको स्काई भोड्कामा फलफूल र टोस्ट गरिएको अन्नको स्मूथ रिफ्रेसिङ टेस्ट रहेकाे र यसलाई निट वा ककटेलसँग पिउँदा अझ उत्कृष्ट एवं मनमोहक स्वाद आउने कम्पनीले जनाएको छ । उत्कृष्ट तथा रिफ्रेसिङ टेस्टेको विशेषता रहेको स्काई भोड्का आकर्षक कोबाल्ट ब्लु प्रिमियम बोतलमा ७५० मिलि र १८० मिलि बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

माया खोला हाईड्रोपावरको सेयर रजिष्ट्रारमा सिटिजन्स् क्यापिटल

काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनीले आफ्नो सेयर रजिष्ट्रार र सम्बन्धित परामर्श सेवा प्रदायकमा सिटिजन्स् क्यापिटललाई नियुक्त गरेको छ । शुक्रबार कम्पनी र क्यापिटल बिच सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागु हुने जनाइएको छ । उक्त सम्झौतामा मायाखोला हाईड्रोपावर कम्पनीकातर्फबाट प्रबन्ध संचालक दिनेश प्रसाद श्रेष्ठ र सिटिजन्स् क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । माया खोला हाईड्रोपावर कम्पनीले फाल्गुनको पहिलो साताबाट विद्युत उत्पादन परिक्षण गरिरहेको छ भने सिटिजन्स् क्यापिटलले धितोपत्र निष्काशन, सामूहिक लगानी कोष तथा पोर्टफोलियो लगानी व्यवस्थापन साथै अन्य मर्चेन्ट तथा इन्भेष्टमेन्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

नेपाल फार्मास्युटिकल्स एसोसिएशनको अध्यक्षमा ललितमोहन पन्त निर्वाचित

काठमाडौं । नेपाल फार्मास्युटिकल्स एसोसिएशनको अध्यक्षमा ललितमोहन पन्त निर्वाचित भएका छन् । एसोसिएशनको २३औं कार्यसमिति चयनको लागि शनिबार भएको निर्वाचनमा पन्त निर्वाचित भएका हुन् । त्यस्तै कार्यसमितिको उपाध्यक्षमा अमृत गैरे, देवानन्द शाह र रोनक श्रेष्ठ निर्वाचित भएका छन् । संजिब शर्मा महासचिव, केदारप्रसाद शाह र विवेक श्रेष्ठ सचिव, गोपीनी राई कोशाध्यक्ष, निर्मलराज मरासैनी सहकोशाध्यक्ष र प्रचार सचिवमा अनिष श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा श्रृष्टी प्रजापति, मनोज भट्टराई र शौभाग्य डंगोल निर्वाचित भएका छन् ।

‘अराजक तत्वले वित्तीय अराजकता ल्याउन खोजे, आयोग गठन गरेर पनि समस्याको समाधान गर्छु’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् । आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धि बैठकमा प्रधानमन्त्रीले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताएका हुन्। ‘बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासो देखिएको छ, लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेका छन्, व्यवसायीहरूले विभिन्न ढंगले चासो र चिन्ता राखेका छन्। यही मौकामा अराजक तत्वले वित्तीय अराजकता निम्त्याउने कोशिस गरिरहेका छन्। यी सबै परिघटनालाई मैले गम्भीर रूपमा लिएको छु,’ उनले भने । उनले बैंक र लघुवित्तका क्षेत्रमा जनताका गुनासोलाई कसरी समाधान गर्नोरे सुझावको अपेक्षा गरेको बताउँदै समस्या समाधानका निम्ति उच्चस्तरीय आयोग नै बनाउनुपर्ने पनि हुनसक्ने बताए । बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वर्तमानमा अर्थतन्त्रको अवस्थाबारे संक्षिप्त विषय राख्दै अर्थतन्त्रका सुचकहरू सकारात्मक दिशातर्फ अग्रसर भइरहेको बताए । बैठकमा नेपाल सरकारका मुख्यसचिव, अर्थमन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू, विभिन्न व्यवसायिक संगठनका प्रतिनिधिहरू, बैंकर एसोसिएसन लगायत वित्तीय क्षेत्रका प्रतिनिधिहरू उपस्थित थिए ।

आइतबार ३० अंकले घट्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको भएको कारोबारमा नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ३५ अङ्कमा कायम भएको हो । आज दुई सय ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार चार सय ५९ कित्ता सेयर ३० हजार नौ सय तीन पटक खरिदबिक्री हुँदा एक अर्ब ३९ करोड २३ लाख ५४ हजार आठ सय बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ७३ दशमलव ३४ र उत्पादन समूहको उपसूचक एक सय ४२ दशमलव ४५ अङ्कले घटेको छ । आज बैंकिङ समूह १२ दशमलव ०८, विकास बैंक समूह २९ दशमलव ४०, वित्त समूह २९ दशमलव ६९, होटल तथा पर्यटन समूह ६८ दशमलव १० र जलविद्युत् समूह ५३ दशमलव ०४ अङ्कले घटेको छ । त्यस्तै, लगानी समूह एक दशमलव ०८, लघुवित्त समूह ८८ दशमलव ९०, म्युचुअल फण्ड शून्य दशमलव ०८, निर्जीवन बीमा समूह ६३ दशमलव ९५, व्यापार समूह सात दशमलव ८२ र अन्य समूह २७ दशमलव ७५ अङ्कले घटेको छ । आज सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामलिङ्ग पावर कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै हिमालय डिस्टिलरीको आठ करोड ४४ लाख १८ हजार चार सय ५२ बराबरको कारोबार भएको छ ।