विकासन्युज

माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच सम्झौता

काठमाडाैं । माछापुच्छ्रे बैंक र सेलवेज क्यास एण्ड क्यारीबीच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सेल्सबेरीको तर्फबाट अध्यक्ष शुसिलमान प्रधानाङ्ग तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकका ग्राहकले सेलवेज क्यास एण्ड क्यारीसँग आवद्ध सेल्सबेरी एण्ड सेलवेजका आउटलेटहरुबाट सामान खरिद गर्दा बैंकका ग्राहकहरुले विभन्न डिजिटल माध्यमबाट जस्तै क्युआर वा पिओएसमार्फत डेबिट/क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्न सक्नेछन् । यसै बीच बैंकले हरेक हप्ताको सोमबारका लागि मनडे म्याडनेस योजना सञ्चालन गरि रहेको छ । जस अन्तर्गत हरेक सोमबार बैकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएस वा इकमर्शबाट पेमेन्ट गर्दा २३ प्रतिशत वा १२३ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा २२३ सम्म छुट पाइनेछ । यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजे सम्म कार्डबाट गरिएका कारोबारमा मात्र लागु हुने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

अब हाइड्रोजनबाट चल्ने गाडी चढ्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाइड्रोजन सवारी साधन चढ्ने तयारीमा रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले डिजेल र पेट्रोलको सवारी साधन छाडेर आफूलाई हाइड्रोजन सवारी साधन चढ्न  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुझाव दिएको र त्यसको तयारीमा रहेको बताए । यस्तै, उनले ऊर्जा क्षेत्रमा भएको विकासले ग्रीन हाइड्रोजनमा फड्को मार्ने उपयुक्त अवसर आएको बताएका छन् । विकसित देशमा हाइड्रोजनको प्रयोगको मात्रामा गुणात्मक वृद्धि हुँदै गरेको बताउँदै उनले नेपाल पनि क्रमशः त्यसतर्फ अग्रसर हुने उल्लेख गरे । उनले ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजनतर्फ जाने सोचका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत छलफल भएको जानकारी दिए ।  

सानिमा नारी बचत खाता खोल्दा निःशुल्क डेबिट कार्डका साथै क्यासब्याक पनि

काठमाडौं । सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ । योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिनेछ बैंकले जनाएको छ । बैंकको अनुसार उक्त योजना चैत्र १ गतेसम्म लागू हुनेछ । यसका साथै उक्त ग्राहकहरुलाई कार्ड वा क्युआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा ५०० रुपेयाँसम्मको क्यासब्याक पाउने बैंकले जानकारी दिएको छ । यो क्यासब्याक योजना चैत्र १७ गतेसम्म गरिने कारोबारमा लागू हुने बैंकल जनाएको छ । सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ वटा एटिएम सञ्जालहरु संचालनमा रहेका छन् ।

ईपिएस कोरियाको शुल्क ‘आइएमई पे’मार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । आइएमई पे र वैदेशिक रोजगर विभाग अन्तर्गत ईपिएस कोरिया शाखाबीच सम्झौता भएको छ । सम्झौता अनुसार ईपिएस कोरिया शाखा मार्फत नेपाली श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवद्र्धन आइएमई पे ले गर्नेछ । नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखाले नेपाली श्रमिकहरुलाई कोरिया पठाउँदै आएको छ । सोहि प्रक्रिया सम्पन्न गर्नका लागि आवेदनको दस्तुर तथा अन्य दस्तुरहरु आइएमई पे बाट भुक्तानी गर्न सक्ने छ ।

शैलेश्वरी पावर नेपालको संस्थागत परामर्शदातामा लक्ष्मी क्यापिटल मार्केट

काठमाडाैं । संस्थागत परामर्शदाता रुपमा कार्य गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट र शैलेश्वरी पावर नेपालबीच सम्झौता भएकोे छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र शैलेश्वरी पावर नेपालको तर्फबाट प्रबन्ध निर्देशक जगदिश बहादुर पालले हस्ताक्षर गरेका छन् । शैलेश्वरी पावर नेपाल पब्लिक कम्पनीमा परिवर्तन भए पश्चात लक्ष्मी क्यापिटल मार्केटले प्राथमिक सेयर निष्काशनको कार्य समेत गर्नेछ । डोटी जिल्ला पूर्वीचौकी गाउँपालिकास्थित शैलेश्वरी पावर नेपाल प्रवद्र्धक निर्माणाधिन माथिल्लो गड्डीगाड जलविद्युत आयोजना १.५५ मेगावाट क्षमताको ७० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।

बैंकविरुद्धको अराजक समूहलाई कठघरामा उभ्याउन सिबिफिनको माग

काठमाडौं । बैंक तथा वित्तीय संस्था विरुद्धका गतिविधि गर्ने अराजक समूहलाई तत्काल कारवाही गर्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले माग गरेको छ । सिबिफिनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै कानुन हातमा लिएर आफ्ना अभिष्ट पुरा गर्न खोज्नेहरुलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारवाही गर्न माग गरेको हो । ‘वर्तमान जटिल अवस्थामा ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई मात्रै निशाना बनाएर ब्याज र साँवा समेत नतिर्ने धम्की र कर्मचारीमाथि आक्रमण तथा लुटपाट गर्ने जस्ता नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित र तरंगित बनेको छ,’ सिबिफिनले विज्ञप्तिमा भनेको छ, ‘संवेदनशील क्षेत्रमाथि भएका उछृंखल, अव्यवहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण जस्ता निन्दनीय कार्यहरु सदाका लागि रोक्नुपर्ने र कानुन हातमा लिएर आफ्ना अभिष्ट पुरा गर्न खोज्नेहरुलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारवाही गर्न नेपाल सरकार तथा मातहतका निकायहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।’ बैंकिङ्ग क्षेत्र अत्यन्तै पारदर्शी र संवेदनशील भएकाले नियामकमार्फत जारी नीति निर्देशनको कार्यान्वयन, राष्ट्र बैंकको स्थलगत तथा गैरस्थलगत निरीक्षणका आधारमा दिइएका सुझाव र बजारको वस्तुगत अवस्थालाई मध्यनजर गर्दै अपनाएका सजगतापूर्ण कार्यहरुको कारण आर्थिक क्षेत्र सकारात्मक दिशातर्फ उन्मूख हुँदै गरेको सिबिफिनले बताएको छ । देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको बैंकिङ क्षेत्रले आम जीवनस्तर, आर्थिक तथा सामाजिक क्षेत्रको विकास एवं विस्तार, रुपान्तरण र समग्र देशको दिगो आर्थिक विकासमा योगदान पुर्याएको सिबिफिनले जनाएको छ । पवित्र मनसायसहित दशकौंदेखि बैंकिङ क्षेत्रको विकासमा जीवन अर्पेका र बैंकिङ क्षेत्रबाटै सुनौलो भविष्यको जीवनरेखा कोरिरहेका लाखौ संस्थापक र सर्वसाधारण लगानीकर्ता, कर्मचारीहरुको योगदानलाई नजरअन्दाज गर्न नहुने सिबिफिनको भनाइ छ । ‘देशको अर्थव्यवस्था नै धरासायी बनाउने गरी अवाञ्छित क्रियाकलापहरु अगाडि बढ्ने हो भने स्वयं राज्य र आम जनताले व्यहोर्नुपर्ने क्षति आंकलन सकिँदैन, यसप्रति सचेत रहदै देशको अर्थतन्त्रको रक्तसंचारकोरुपमा रहेको बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालन हुने अवस्थाको सृजना गर्न सम्पूर्ण पक्षहरुमा हार्दिक अपिल गर्दछौं,’ सिबिफिनको विज्ञप्तिमा उल्लेख छ ।

आमाका नामबाट नागरिकता नपाउने समस्या समाधान गर्न लागि पर्छु : उपाध्यक्ष अर्याल

काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले आमाका नामबाट नागरिकता नपाउनेलगायत नागरिकता समस्या समाधान गर्न लागि पर्ने प्रतिबद्धता जनाएकी छिन् । एक सय १३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला, कानून र विकास मञ्च एवं इक्वालिटी नाउले आज यहाँ आयोजना गरेको ‘मबाट महिलावाद’ विषयक कार्यक्रममा उनले संविधानमा व्यवस्था गरेर पनि आमाका नामबाट नागरिकता नपाएको विषयलाई आफूले गम्भीररूपमा लिएको बताइन् । साइबर अपराधका उजुरी काठमाडौंमा मात्र दर्ता हुँदा समस्या आएको गुनासा धेरै जिल्लाबाट आएको उल्लेख गर्दै उनले गृहमन्त्रालयको ध्यानाकर्षण गराउँदै सहजताको व्यवस्था गराउन लागिपर्ने बताइन् । प्रविधिको प्रयोगले महिला नै बढी पीडित भएका घटना आएकाले यसमा सजगता अपनाउन पनि उनले आग्रह गरिन् । महिला हिंसाका घटनामा महिला द¥हो भए कसैको केही नचल्ने अनुभव सुनाउँदै उपाध्यक्ष अर्यालले महिलाबाट पुरुषलाई पनि हिंसा भएका घटना आउन थालेकाले कसैप्रति पनि हिंसा नहुने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा मञ्चका अधिवक्ता नेहा गुरुङले महिलाले आफू सुरक्षित हुन कानूनी ज्ञान राख्नुपर्नेमा जोड दिइन् । कानूनकी विद्यार्थी यशोदा चन्दले प्रविधिले निम्त्याएको विकृति विषयमा कविता पाठ गरेकी थिइन् । प्रविधिले महिला, किशोरी र बालिकामा पारेको नकारात्मक प्रभावका विषयमा सचेतनामूलक नाटक पनि सो अवसरमा प्रस्तुत गरिएको थियो । आठ मार्चका अवसरमा बुधबार विश्वभर ‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै छ । यस अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलगायतले विभिन्न कार्यक्रम आयोजना गरेको जनाइएको छ ।

सर्लाहीमा पहिलो चार्जिङ स्टेशन सञ्चालन

काठमाडौं । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै पहिलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । ऊर्जा मन्त्रालयको स्वीकृतिमा विद्युत् प्राधिकरणले एक सय ४२ किलोवाट क्षमताको दुई प्रकारका चार्जिङ उपकरण जडान गरिएको हो । दिगो कम्पनीका इञ्जिनियर सुजित पौडेलले चार्जिङ स्टेशनमा जिबीटी र सिसीएम चार्जिङ उपकरण जडान गरिएको भन्दै पहिलो मेसिनबाट ठूला र व्यावसायिक गाडी र दोस्रो उपकरणबाट जीप, कारजस्ता साना सवारी चार्ज गर्न मिल्ने जानकारी दिए । नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रअन्तर्गत हरिवन केन्द्रका प्रमुख जागेश्वर रामले दुई वटा उपकरणबाट एकैपटक छ वटा सवारी साधन चार्ज गर्न मिल्ने जानकारी दिए । उपकरणमा राखिएको क्यूआर कोडमा ग्राहकले एनइए मोबाइल एपमार्फत स्क्यान गरेपछि उपकरणले चार्ज सुरु गर्ने उनको भनाइ छ । समयानुसार एपमार्फत ग्राहकले सञ्चित गरेको रकमबाट सिधैँ प्राधिकरणको खातामा पैसा जम्मा हुने प्रविधि मिलाइएको केन्द्रका प्रमुख रामले जानकारी दिए । ‘साँझ ५ देखि ११ बजेसम्मको पिकआवरमा प्रतियुनिट १० दशमलव ५० र राति ११ बजेदेखि बिहान ५ बजेसम्म छ दशमलव ६० महसुल निर्धारण गरेको छ’, विद्युत् प्राधिकरण लालबन्दीका सूचना अधिकारी विशाल श्रेष्ठले भने, ‘बिहान ५ देखि बेलुकी ५ बजेसम्मको समयमा सवारीसाधन चार्ज गर्दा प्रतियुनिट आठ दशमलव ५० विद्युत् महसुल निर्धारण गरिएको छ ।’ ‘चार्जिङ स्टेशन स्थापनापछि विद्युतीय सवारीसाधन सञ्चालन गर्न सजिलो र सस्तो भएको छ’, चालक मोहन थापाले भने, ‘डिजेल गाडीमा सर्लाहीबाट काठमाडाैं पुगेर आउँदा कम्तीमा १० हजारको तेल मात्रै खर्च हुन्थ्यो’, उनले थपे, ‘विद्युतीय सवारीले त्यति नै दूरी एक हजार खर्च गरे पुग्छ ।’ रासस