मार्जिन कारोबार सुविधाका लागि ८७ कम्पनी योग्य
काठमाडौं । धितोपत्र लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत संस्थाहरूमध्ये ८७ वटामात्रै योग्य देखिएका छन् । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले मार्जिक कारोबारका लागि योग्य कम्पनीहरूको सूची सार्वजनिक गर्दै हाल सूचीकृत कम्पनीहरूमध्ये ८७ वटा मात्रै योग्य रहेको जनाएको हो । नेप्सेका अनुसार १७ वटा वाणिज्य बैंक, आठवटा विकास बैंक, चारवटा वित्त कम्पनी, १३ वटा जलविद्युत् कम्पनी, चारवटा जीवन बीमा कम्पनी, पाँचवटा निर्जीवन बीमा कम्पनी र ३० वटा लघुवित्त कम्पनी मार्जिक कारोबारका लागि योग्य देखिएका छन् । त्यस्तै तारागाउँ होटल रिजेन्सी, नेपाल पुनबीमा कम्पनी लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी र शिवम् सिमेन्ट पनि मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको सूचीमा रहेका छन् । सामान्य अर्थमा पुँजीबजारका लगानीकर्ताले आफूसँग भएको रकमभन्दा बढी रकमको सेयर खरिद गर्न पाउने व्यवस्था मार्जिन कारोबार हो । यसका लागि धितोपत्र दलालले सुविधा उपलब्ध गराउँछन् । मार्जिन कारोबारलाई व्यवस्थित गर्नका लागि नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०७४’ जारी गरेको छ । सोही निर्देशनानुसार मार्जिन कारोबारका लागि तोकिएका योग्य कम्पनीहरूको सेयर कारोबार गर्ने लगानीकर्ताहरूले मात्रै यस्तो सुविधा पाउँछन् । पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको कम्पनीहरूमा मात्रै मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सकिनेलगायतका व्यवस्था निर्देशनले तोकेको छ । रासस
३ वर्षदेखि प्रसारण लाइन निर्माणमा अवरोध, घिसिङसहितको टोली स्थलगत निरीक्षणमा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर दुई सय २० केभी प्रसारण लाइन आयोजना निर्माणमा पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको छ । देवीस्थानस्थित विद्यालय र रङ्गशालामा क्षति पुग्ने भन्दै स्थानीय बासिन्दाले विगत तीन वर्षदेखि प्रसारण लाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका छन् । स्थानीयको अवरोधका कारण फलेवासमा प्रसारण लाइनका चारवटा टावर निर्माण हुन सकिरहेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजना प्रमुख चन्दन घोष सम्मिलित उच्चस्तरीय टोलीले निर्माणमा अवरोध भइरहेको फलेवास–६ देवीस्थानको स्थलगत निरीक्षण गरेको छ । टोलीमा पर्वतका जिल्ला समन्वय प्रमुख विष्णुराम विक, फलेवासका नगरप्रमुख गङ्गाधर तिवारी, उपप्रमुख शोभाकुमारी क्षेत्री, प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, निवर्तमान नगरप्रमुख पदमपाणि शर्मा, प्रहरी नायब उपरीक्षक मधुसोधन न्यौपाने, वडाध्यक्ष नवीन श्रेष्ठलगायतको सहभागिता थियो । टोलीले प्रसारण लाइन निर्माणस्थलको स्थलगत निरीक्षण गरी स्थानीय बासिन्दासँग छलफल गरेको थियो । टोलीले कालीगण्डकी र यसका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि यो लाइन महत्वपूर्ण रहेकाले निर्माणमा अवरोध नगरिदिन आग्रह गरेको थियो । लाइन अभावमा जलविद्युत् आयोजनाको विद्युत् मुख्यरूपमा वर्षायाममा प्रवाह गर्न नसकिएको भन्दै टोलीले यसबाट राष्ट्रलाई ठूलो क्षति भइरहेकाले निर्माणमा सहयोग गरिदिन अनुरोध गरेको थियो । प्रसारण लाइनको टावर सार्न सम्भव भए/नभएको विषयमा प्राविधिक टोलीले चार–पाँच दिनभित्रमा सर्वेक्षण सम्पन्न गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । ‘प्रसारण लाइनमुनि विद्यालय पर्छ भन्ने स्थानीयको कुरा थियो तर स्थलगत निरीक्षणबाट मार्गधिकारमा विद्यालय नपर्ने देखिएको छ’, घिसिङले भने । सर्वेक्षण सम्पन्न भएपछि विद्यालयलाई प्राथमिकतामा राखी प्राविधिकरूपमा सम्भव भएसम्म टावरलाई रङ्गशालाको डिलतर्फ च्यापेर टावर निर्माण गर्ने सहमति भएको छ । रङ्गशालाभन्दा तल भिर रहेकाले टावर धेरै तलसम्म लैजाने सम्भावना छैन । उनले विद्यालयलाई जोगाएर प्राविधिकरूपमा सम्भव भएसम्म रङ्गशालालाई पनि कम असर पर्ने गरी टावर निर्माण गरिने बताए । कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९ दशमलव ६ किलोमिटर पहिलो खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा छ । खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण गरिएको छ । करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित (नयाँ बुटवल सबस्टेसन)सम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डमा पर्ने दुई सय ३५ वटा टावरमध्ये फलेवासमा पर्ने चारवटाको निर्माण बाँकी रहेको छ । प्रसारण लाइन निर्माण असारभित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको आयोजना प्रमुख चन्दन घोषले बताए ।
डा. सन्दुक रुइत जन्मभूमि फर्किँदा…
ताप्लेजुङ । आफू जन्मे–हुर्केको गाउँको माया सबैलाई हुन्छ । त्यही भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ । जहाँ उनीहरूले परिचित र सान्त्वनाको महसुस गर्छन् । गृहनगरको प्रेम शक्तिशाली र स्थायी हुन्छ भन्ने कुरा आफ्नो जन्मिएको, हुर्किएको गाउँमा फर्किएकाहरूले प्रष्टै झल्काउँछन् । ‘आफू जन्मे–हुर्केको ठाउँको माया सबैलाई लाग्छ, मलाई पनि त्यो मायाले तानेर बेला–बेलामा जन्मेहुर्केको आफ्नो गाउँमा ल्याउँछ’, गृहजिल्ला ताप्लेजुङ आएका डा सन्दुक रुइतले भने । जन्मगाउँ ओलाङ्चुङगोला प्रस्थान गर्नुअघि फक्ताङलुङ गाउँपालिकाको तापेथोकमा आयोजित आँखा शिविरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जन्मभूमिप्रति आफ्नो छुट्टै दायित्वसमेत रहेको बताए । सानो छँदै मनभरि गाउँको माया र सम्झनाको भारी बोकेर उज्यालो भविष्यका लागि गाउँ छाडेका डा रुइत जिम्मेवारी र दायित्वका भारी बोकेर यतिबेला गृहजिल्ला आइपुगेका हुन् । आँखारोग विशेषज्ञ भएपछि विभिन्न समयमा यहाँ आएका डा रुइत हालै विश्व प्रतिष्ठित ‘इशा अवार्ड’ प्राप्त गरेपछि पहिलोपटक सोमबार आफ्नो जन्मथलो ओलाङचुङगोलामा पुगेका छन् । उनी लेलेपको इलाडाँडाबाट पैदल हिँडेरै आफ्नो गाउँमा पुगेका हुन् । हजारौँको आँखामा ज्योति दिएका डा रुइतलाई राज्यको नजर आफ्नो जिल्लाको भिरपाखा, दूरदराजका गाउँमा नपुग्दा भने दुःख लागेको छ । सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले भने, ‘सुदूरपूर्वी यस क्षेत्रका नागरिकलाई धेरै दुःख छ, यो ठाउँमा राज्यको पनि आँखा पुगेको छैन, विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, तमोर काबेलीजस्ता नदीनाला, प्रसिद्ध तीर्थस्थल पाथीभरा, करिब चार सय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा रहेको यो जिल्ला जैविक विविधताले भरिपूर्ण छ, यसको प्रवद्र्धन हुनुपर्छ, नागरिकको जीवनस्तर उकास्नुपर्छ ।’ यहाँका नागरिकमा उसबेला देखिएको कठिनाइ आज पनि झण्डै उस्तै देखिएको भन्दै उनीहरूको जीवनस्तरलाई कसरी उकास्न सकिन्छ भन्ने आफूलाई चिन्ता भएको उनको भनाइ थियो । हरेक हिसाबले सम्भावना बोकेको जिल्ला भएकाले यहाँको विकास र समृद्धिका लागि सबै जना मिलेर अघि बढ्नुपर्ने आवश्यकतामा उनले जोड दिए । ओलाङचुङगोलाप्रति मात्रै नभई समग्र जिल्लाप्रति नै आफ्नो केही दायित्व भएकाले भित्रैबाट केही गरौँ–गरौँ लाग्ने उनको भनाइ थियो । यस्तै संसारभरका पर्यटकको मुख्य आकर्षण र गन्तव्यका रूपमा यस जिल्लालाई चिनाउने र विकसित गर्ने आफ्नो इच्छा रहेको समेत बताएका छन् । यसले यहाँको आर्थिक गतिविधि बढ्नुका साथै नागरिकहरू गुणस्तरीय स्वास्थ्य, शिक्षाको पहुँचमा पुग्ने र आत्मनिर्भर हुने बाटो खुल्ने उनको भनाइ छ । यसका लागि पर्यटन र अन्तरदेशीय व्यापार प्रवद्र्धनका लागि मुख्यरूपमा तमोर करिडोरको चाँडो निर्माण सम्पन्न हुनुपर्ने उनले प्रष्ट पारे । यस सडक संरचना छिटो सम्पन्न भएमा टिपताला नाका हुँदै आयात–निर्यात हुने र यसले यहाँका जनतालाई फाइदा पुग्ने उनले बताए । तमोर करिडोर ओलाङचुङगोलासँग जोडिन करिब तीन किलोमिटर बाँकी रहेको छ । उता टिपतालाबाट ओलाङचुङगोला बस्ती तीन वर्षअघि नै सडक सञ्जालले जोडिएको छ । कुनै समय उत्तरी चीनसँगका विभिन्न नाकाहरूलाई तिब्बतसँग जोडिएको टिपताला नाकाले लिड गर्ने गरेको तर हाल बन्द अवस्थामा रहेको सुनाउँदै उनले यसलाई खोल्न सरकारले कूटनीतिकरूपमा पहल गर्नुपर्ने बताएका छन् । निर्माणाधीन तमोर करिडोरले छिमेकी मुलुक चीन र भारतलाई सबैभन्दा छोटो मार्गबाट जोड्ने भएकाले सडक पूर्वाधारको निर्माण चाँडो सम्पन्न गरेर टिपताला नाका सञ्चालनमा ल्याउन आवश्यक भएको बताए । छिमेकी मुलुक चीनसँग व्यापारिक सम्बन्ध राखेर मुलुक र जनताको आर्थिक समृद्धिका लागि सरकारले कूटनीतिक पहलकदमी चाल्नुपर्ने उनको भनाइ छ । टिपताला नाका हाल बन्द रहेको छ । कोभिड सङ्क्रमणकालमा चीनले बन्द गराएको नाका हालसम्म नखुल्दा सीमावर्ती क्षेत्रका नागरिकलाई समस्या छ । झण्डै तीन वर्षदेखि नाका बन्द रहँदा टिपताला नाका हुँदै आयात–निर्यात पनि ठप्प छ । सीमावर्ती गाउँ ओलाङ्चुङगोला, घुन्सा, याङ्माका बासिन्दाले तिब्बतबाट खाद्यान्नलगायतका सामान आयात गर्ने गर्थे भने यहाँ उत्पादित गलैँचा, घ्यू, छुर्पी र जडीबुटी निर्यात गर्थे । सपनाझैँ लाग्छन् गाउँघरका पहाड र विगत सात वर्षको हुँदा उनका बुवाले डा सन्दुकलाई पढाउन १५ दिन लगाएर दार्जिलिङ पुर्याएका थिए । उनलाई त्यो बेला लेलेप, तापेथोक, मित्लुङ, ताप्लेजुङ बजार, पाँचथर हुँदै दार्जिलिङ जाँदाको क्षण अलिअलि याद छ । बाटोमा हिँड्दै गर्दा उनका बुवाले माथि–माथिका डाँडा हेर्दै विभिन्न नाम लिएर देखाएका गाउँ सम्झिँदा मनमनै सपनामा बसेका ठाउँहरूजस्तो लाग्ने उनले सुनाए । आँखा शिविरमा आँखा जाँच गराउन तापेथोकमा आएकाहरूलाई घर गाउँ सोधीसोधी जाँच गरिरहेका देखिन्थिए । ‘आँखा उपचारमा आएकाले आफ्नो गाउँको नाम सुनाउँदा सानैमा आफ्ना बुवाले सुनाएको गाउँको नाम याद आयो, पहिले ती ठाउँहरू विकट थिए, मुस्किलले हिँड्नपथ्र्यो, अहिले केही ठाउँमा गाडी गुड्ने सडक पुगेको छ, कतिपय बिरामी मुस्किलले हिँडेर टाढा–टाढाबाट आउनुभएको पाएँ’, डा रुइतले भने । उसबेला गाउँमा जाने पैदल बाटो पनि त्यति सहज थिएन । गाउँमा बिजुली, टेलिफोन कुरै भएन । याक, चौँरीपालन, जडीबुटी सङ्कलन मुख्य पेसा थियो । गोलावासीले तिब्बतमा आफ्ना उत्पादन बेचेर नुन, तेल र खाद्यान्नलगायत अन्य सामान ल्याउने गर्थे । त्यो बेला यहाँका नागरिकको दुःख सम्झिँदा गाउँमा अझै पनि त्यति सहज र सुविधा नहोला भन्ने उहाँलाई लाग्ने गरेको छ । त्यसैले पनि आफू जहाँ पुगे पनि आफ्नो गाउँघर, आफन्त र यहाँका बासिन्दाको सम्झना उनलाई आइरहन्छ । गाउँका अग्ला पहाड र भिरपाखामा बसोबास गरिरहेका नागरिकको दुःखमा राज्यको नजर पुगोस् भन्ने उनलाई लाग्छ । अझै पनि यहाँका दूरदराजका गाउँका नागरिक गुणस्तरीय शिक्षा स्वास्थ्यको पहुँचमा छैनन् । राम्रो पठनपाठन, स्वास्थ्योपचारका लागि कम्तीमा सदरमुकाम फुङलिङसम्म नै आउनुपर्छ । ओलाङचुङगोला, याङ्मा, घुन्साजस्ता गाउँबाट दुई–तीन दिनको समय लगाएर सदरमुकाम आउनुपर्छ । डा रुइत जन्मे–हुर्केको गाउँ ओलाङचुङगोला पुग्न सदरमुकाम फुङलिङबाट अहिले दुई दिनको समय लाग्छ । यहाँबाट १५ दिनको समय लगाएर सात वर्षको उमेरमा पढाइका लागि दार्जिलिङ पुगेर शिक्षा आर्जन सुरु गरेका डा रुइतले विस्तारै आफूलाई चिकित्सा विज्ञानमा समर्पित गरे । विभिन्न ठाउँमा अध्ययन र सेवासँगै पछिल्लोपटक अष्ट्रेलियामा रहेर एक वर्षको अध्ययनपछि नेपाल फर्किएर काठमाडौँमा आँखा चिकित्सालयको स्थापना गरे । उनी अहिले तिलगङ्गा आँखा प्रतिष्ठानको संस्थापक एवं नेत्ररोग विशेषज्ञका रूपमा विश्वभर परिचित छन् । उनलाई विश्वका गरिबहरूका लागि आँखाका देवताका रूपमा लिने गर्दछन् । उनले एक लाखभन्दा बढी मानिसको आँखाको ज्योति पुनःस्थापित गरेकाे बताइन्छ । विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत उनी पछिल्लोपटक प्रतिष्ठित इशा अवार्डबाट सम्मानित भएका छन् । झण्डै तीन दशकदेखि मानवताका लागि सेवा गरेवापत बहराइन सरकारका तर्फबाट राजा हमादबिन इसा अल खालिफाले सो पुरस्कार प्रदान गरेका थिए । यसैबीच सोमबार गाउँमा पुग्दा उहाँलाई आफ्नो भूगोल र समुदायको शिर उच्च राखेकामा खुसी व्यक्त गर्दै आफन्त तथा गाउँलेले भव्य स्वागत गरेका छन् । विश्वमाझ आफ्नो छुट्टै पहिचान बनाएका डा रुइतलाई लामो समयपछि जन्मेको गाउँमा पुग्दा जति खुसी र उत्साह थियो उति नै आफन्तलाई पनि । उहाँलाई स्वागत गर्न गाउँभरका आफन्त एकै ठाउँमा जम्मा भएका थिए । तिलगङ्गा आँखा प्रतिष्ठान र फक्ताङ्लुङ गाउँपालिकाको आयोजनामा फक्ताङ्लुङ गाउँपालिकामा सञ्चालित शिविर सम्पन्नपछि उनी आफ्नो गाउँमा पुगेका हुन् । शिविरमा उनले आफ्ना गाउँठाउँका ७० जना मोतियाबिन्दुको समस्यामा परेका बिरामीको शल्यक्रिया गरेका छन् । गाउँमा फर्किएर ज्योति दिएकामा उनीप्रति गाउँलेले खुसी व्यक्त गरे । यस्तै शिविरमा दुई हजार चार सय बढीले आँखाको जाँच तथा उपचार सेवा लिएका थिए । चार जनाको भने जटिल समस्या देखिएकाले तिलगङ्गा आँखा अस्पतालमा उपचारका लागि सिफारिस गरिएको बताइएको छ । बिरामीलाई शल्यक्रिया गरिने स्थान तापेथोकसम्म आउन–जान गाडीको व्यवस्था गाउँपालिकाले मिलाएको थियो । आफ्नै गाउँठाउँमा जन्मे–हुर्केको छोराकै हातबाट उपचार गर्न पाउँदा स्थानीयवासी हर्षित देखिन्छन् । दूरदराजका गाउँमा निःशुल्क नेत्र शिविर सञ्चालन हुँदा यहाँका धेरै नागरिकले आँखा देख्न पाउँदा नयाँ जीवन पाएको बताएका छन् । रासस
नेपालगञ्जका सिकिस्त बिरामीलाई काठमाडौं पुर्याउनुपर्ने बाध्यता हट्दै
राँझा । नेपालगञ्जमा सिकिस्त बिरामीलाई उपचारका लागि काठमाडौं वा भारतको लखनउ पुर्याउनुपर्ने बाध्यता हट्दै गएको छ । सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन नेपालगञ्जस्थित वेस्टर्न अस्पतालले अत्याधुनिक सुविधासहित आठ शय्याको सघन उपचार कक्ष (आइसीयू) सेवा सुरु गरेपछि अब सिकिस्त बिरामीको उपचार पनि नेपालगञ्जमै सम्भव भएको अस्पतालका प्रबन्ध निर्देशक डा राहुल थापाले जानकारी दिए । उनका अनुसार यसअघि भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा सीमित सघन उपचारकक्ष रहे पनि सिकिस्त बिरामीको सङ्ख्या धेरै हुने हुँदा थप उपचारका लागि काठमाडौँ वा भारतको लखनउ प्रेषण गर्नुपर्ने बाध्यता थियो । आइसीयू सञ्चालन नहुँदा वेष्टर्न अस्पतालले मात्रै दैनिक करिब पाँच सिकिस्त बिरामीलाई थप उपचारका लागि काठमाडौं वा भारतको लखनउ प्रेषण गर्दै आएको थियो । अब नेपालगञ्जमै आइसीयूकक्ष भएपछि बिरामीले आफ्नै ठाउँमा सहजरूपमा उपचार पाउने डा थापाको भनाइ छ । आइसीयूमा भर्ना हुने हरेक बिरामीका लागि एक–एक जना तालिमप्राप्त नर्सका साथै २४सै घण्टा ‘क्रिटिकल केयर कन्सल्टेन्ट’ चिकित्सकको निगरानी रहने व्यवस्था मिलाइएको छ । यस्तो सुविधा भएको आइसीयू सञ्चालन गर्ने वेष्टर्न अस्पताल काठमाडौँ उपत्यका बाहिरको पहिलो निजी अस्पताल हो । विगत १९ वर्षदेखि सञ्चालित वेष्टर्न अस्पतालले छ शय्याको एचडीयू सेवा पनि सुरु गरेको छ । केही दिनमै छ शय्याको एनआइसीयू पनि सञ्चालन गर्ने तयारी गरेको अस्पतालका प्रबन्ध निर्देशक थापाले जानकारी दिए । आइसीयूमा भर्ना हुने बिरामीको स्वास्थ्य सूचकहरूका बारेमा जानकारी दिनका लागि डब्लुएचओको मापदण्डअनुसार बिरामीको स्वास्थ्य सूचक सूचना प्रणाली मिलाइएको छ । आइसीयूमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाहरूबाट उच्च शिक्षा र तालिमप्राप्त अनुभवी चिकित्सक र नर्सहरू कार्यरत रहेको प्रबन्ध निर्देशक थापाको भनाइ छ । अत्याधुनिक उपकरण र दक्ष स्टाफ नर्ससहित चिकित्सकहरूको टिम बनाएर वेष्टर्न अस्पतालले नेपालगञ्जमै काठमाडौँ र लखनउका ठूला र सुविधासम्पन्न अस्पतालकै हाराहारीमा उपचार सेवा दिने प्रयास गरिरहेको अस्पतालको क्रिटिकल केयर विभागका प्रमुख डा पारस पाण्डेले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरूले दाहालविरुद्ध दिएका २ वटा रिट मंगलबार सर्वोच्च प्रशासनमा दर्ता भएको हो । प्रचण्डले ३ वर्षअघि सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने दिएको अभिव्यक्तिलाई लिएर छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै कानुन व्यवसायीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । दाहालले ०७६ को माघीका अवसरमा काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिनसक्ने बताएका थिए । दाहालविरुद्धको रिटको पेसी बुधबारका लागि तोकिएको छ ।
नेपालमा पहिलोपटक महिला स्वास्थ्य सम्मेलन हुँदै
काठमाडौं । नेपालमा पहिलोपटक महिला स्वास्थ्य सम्मेलन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको महिला स्वास्थ्य सम्मेलन हुने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार फागुन २५ र २६ गते काठमाडौंमा उक्त सम्मेलन हुँदैछ । उक्ता सम्मेलनमा महिला स्वास्थ्य अन्तर्गत १) यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, २) नसर्ने रोग, ३) बालबालिका, किशोर किशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, ४) मानवीय सहायता आवश्यक पर्ने अवस्थामा महिला स्वास्थ्य र ५) पोषणको विषयमा आधारित प्रस्तुत हुने महाशाखाले जनाएको छ । सम्मेलनमा ८५ वटा कार्यपत्र र महिला स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका सरकारी, गैह्र सरकारी संस्था, विभिन्न देशका राजदुत, लगायत विज्ञ तथा सम्बन्धित व्यक्तिहरु मध्येबाट तीन सय जना सहभागीहरुको सहभागीता रहने जनाइएको छ । महिला स्वास्थ्यका विभिन्न आयामहरुमा हासिल भएका सफलता, चुनौति एवम् अवसर, अन्वेषण, विकसित घट्नाक्रम र तथ्यांकहरुमाथि छलफल गर्नु उक्त सम्मेलनको उद्देश्य रहेको परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
चांगन एक्सचेन्ज कार्निभल सुरु, २.५ लाखसम्मको नगद छुट
काठमाडाैं । चांगन अटो नेपालले फाल्गु पुर्णिमा तथा होलीलाई लक्षित गरी ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले आफ्नो कुनै पनि कम्पनिको सवारी साधनको उचित मुल्यांकन पाउनुको साथै चांगनको प्रिमियम सेडान अल्सिभिन र यसै चांगनको प्रिमियम पिकअप हन्टरसँग साट्न सक्नेछन् । ग्राहकहरुलाई यस अफर अन्तर्गत २.५ लाखसम्मको नगद छुट, २ लाख सम्मको एक्सचेन्ज बोनस, १ वर्षको सवारी मर्मत, कर तथा बिमाको फाइदा उठाउनु सक्ने कम्पनीले बताएकाे छ ।
महामूर्ख सावित हुन धनुषामा तँछाडमछाड
धनुषा । होली पर्वको अवसरमा मिथिला ना्ययकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत आज महामूर्ख सम्मेलनको आयोजना हुँदैछ । जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा मिनापले फागुन २२ र २३ गते होली महोत्सवको आयोजना गरेको हो । महोत्सवअन्तर्गत होलीको जोगिरा प्रतियोगिता सम्पन्न भइसकेको छ भने आज महामूर्ख सम्मेलन हुँदैछ । महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । यसअन्तर्गत महत्वपूर्ण व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ । मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष छनोट गरेर महामूर्खसहित विभिन्न व्यङ्गात्मक पदवीबाट सम्मान गर्ने चलन छ । महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीहरूको माला बनाएर लगाउने प्रचलन रहेको छ । यो सम्मेलनको परिकल्पनाकारमध्ये एक रहेका मैथिली साहित्य परिषद्का पूर्वमहासचिव एवं चर्चित पत्रकार चन्द्रकिशोर झा भन्छन्, ‘नेपालमा २०४६ सालमा बहुदल आएको थियो । राजनीतिकरूपमा परिवर्तनको समय थियो । यो परिवर्तनमा समाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरूको योगदानको आवश्यकता थियो, यस्तो अवस्थामा यो अवधारणा आएको थियो ।’ ‘समाजमा रहेको विकृति विसङ्गतिलाई समाप्त गर्न व्यङ्ग्यले निकै ठूलो भूमिका खेल्ने गर्छ’, उनले थपे । वीरगञ्जमा अब होरी मिलन समारोह महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ । महामूर्ख सम्मेलनजस्तै कार्यक्रम भारतमा पनि पहिलेदेखि नै हुँदै आएको छ । महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरमा यो निकै चर्चित मानिन्छ । यस सम्मेलनको प्रारम्भ वीरगञ्जबाट भएको हो । मैथिली साहित्य परिषद् वीरगञ्ज २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो । पहिलोपटकको महामूर्ख लाला माधवेन्द्रजी भएका थिए । अहिलेसम्म को–को भए महामूर्ख ? विसं २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो । विसं २०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, २०६२ मा तत्कालीन नेकपा ९एमाले०का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ सालमा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा र २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाललाई प्रदान गरिएको थियो । यस्तै २०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० सालमा तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, २०७१ सालमा नेता शत्रुधन महतो, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिङ्घानीयाले पनि सो उपाधि प्राप्त गरिसकेका छन् । विसं २०७३ मा सप्तरीको मलेठमा नेकपा (एमाले)ले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगित गरेको थियो । विसं २०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र २०७५ सालमा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो । त्यस्तै २०७६ सालमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा २०७८ सालमा अर्थविद् डा भोगेन्द्र झालाई पनि महामूर्खको उपाधि प्रदान गरिएको थियो । यसरी छनोट गरिन्छ महामूर्ख ? महामूर्खको छनोट कसरी हुन्छ धेरैको उत्सुकताको विषय हुनसक्छ । महामूर्ख बन्न धेरै दिमाग खियाउनुपर्ने परिषद्का पूर्वअध्यक्ष मदन ठाकुर बताउँछन् । महामूर्खको छनोटका लागि तयारी आयोजनासँग खोजी सुरु भइहाल्छ । यसका लागि एक समिति गठन गरिन्छ । त्यसैले निर्णय गर्दै आएको छ । महामूर्ख बन्नका लागि धेरैको चाहना रहन्छ । जनकपुरधामको स्थानीय पत्रिकाहरूमा एक हप्ता पहिलादेखि नै को महामूर्ख बन्ने त्यसको नाममा चर्चा चलाइएको हुन्छ । नेपाल पत्रकार महासङ्घ पूर्व केन्द्रीय सदस्य शैलेन्द्र झा भन्छन्, ‘महामूर्ख जनकपुरधामको एउटा लोकप्रिय कार्यक्रम हो । यसलाई मिडियाले महत्व नदिने कुरै आउँदैन । मिडियामा चर्चा भएपछि कार्यक्रको आकर्षण अझ बढने गर्छ ।’ समान्यतया धेरैलाई लाग्न सक्छ महामूर्ख को बन्छ, तर आश्चर्यको कुरो यो रहेको छ धेरैको इच्छा रहन्छ यसपालि म महामूर्ख बन्न सकूँ । विसं २०६५ का महामूर्ख उपाधि प्राप्तकर्ता एवं मैथिलीका वरिष्ठ साहित्यकार डा राजेन्द्रप्रसाद विमल भन्छन्, ‘उपाधि प्राप्त गर्नु आफैँमा ठूलो उपलब्धि रहेको छ, यस्तोमा महामूर्ख पाउनु ठूलो कुरो हो ।’ फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुईदिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । मिनापका महासचिव शैलेन्द्र मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको बताए । रासस