सिचुवान एयरलाइन्सको हवाईसेवा पुनः सुचारु, काठमाडौंदेखि मेलबर्नसम्मको भाडा ८० हजार
काठमाडौं । चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निर्धारित उडानहरू पुनः सुचारु गर्ने भएको छ । सिचुवान एयरलाइन्सले चैत ६ देखि चेङ्दुबाट साताको ४ उडान गर्नेछ । सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सोमबार, बुधबार, शुक्रबार र आइतबार स्थानीय समय अनुसार १५ः३५ बजे उडान भर्नेछ भने चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार रात्रिको २१ः०० बजे अवतरण गर्नेछ । नेपाली बजारमा अस्ट्रेलिया र जापान भ्रमणका लागि हालको उच्च मागलाई ध्यानमा राख्दै सिचुवान एयरलाइन्सले काठमाडौंदेखि मेलबर्नसम्म एकतर्फी भाडा ७९ हजार ९९९ रुपैयाँ र काठमाडौंदेखि नारितासम्म एकतर्फी भाडा ६५ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । त्यस्तै, उडानमा ४६ केजी चेक–इन लगेज र ७ केजी ह्यान्ड क्यारी लान मिल्ने पनि कम्पनीले जनाएको छ । यो हवाईसेवाको शुरुवातसँगै मेलवर्नसम्म यात्रा गर्ने यात्रुहरुले अब चेङ्दुमा ४ घण्टा ३० मिनेट मात्रको छोटो समय ट्रान्जिट रहेकोले, लामो समय ट्रान्जिटमा बस्नुनपर्ने भएको छ । नेपालमा सिचुवान एयरलाइन्सको प्रतिनिधित्व सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले जनरल सेल्स एजेन्टको रूपमा गर्दै आएको छ ।
एनआईसी एशिया बैंकले बचत खाता अन्तर्गत रहेको बीमा वापत दियो १० लाख रुपैयाँ
काठमाडौं । यस एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको १० लाख उपलब्ध गराएको छ । बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्की चेक हस्तान्तरण गरेका हुन् । बैंकले हालसम्म २०७९ जना ग्राहकलाई बीमा दाबी गरे वापतको ७ करोड ८८ लाखभन्दा बढी रकम प्रदान गरिसकेको छ । जसमध्ये घातक रोग बीमा वापत २७ जनाले २ करोड ९० लाख, दुर्घटना बीमा वापत १३ जनाले १ करोड ३० लाख र मेडिकल बीमा वापत २ हजार ३९ जनाले ३ करोड ६७ लाख बीमा रकम प्राप्त गरिसकेका छन् । यस बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ । जस अन्तर्गत ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र रु। ४ लाखसम्मको औषधि उपचार बीमा प्राप्त गर्नेछन् । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि ८० हजारसम्म प्राप्त गर्न सक्नेछन् । ।
कृषि विकास बैंकमा नागरिक लगानी कोषको रकम सङ्कलन गर्ने सम्झौता
काठमाडौं । नागरिक लगानी कोषमा रकम दाखिला गर्ने संस्थाहरुको दाखिला रकम सङ्कलन गर्ने सम्बन्धमा कृषि विकास बैंक र नागरिक लगानी कोषबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् । नागरिक लगानी कोषले संचालन गरेको अनलाइन सेवा संचालन गर्ने प्रणाली र कृषि विकास बैंकको बैंकिङ प्रणालीबीच स्वचालित रुपमा एपिआई एप्लिकेसन प्रोग्रामि एन्टरफेस मार्फत् कारोवार गरी सेवा प्रदान गर्ने विषयमा दुवै पक्षबीच सम्झौता भएको हो । यस सम्झौतापश्चात नागरिक लगानी कोषमा रकम जम्मा गर्ने संस्थाले तलब भुक्तानी गर्दाकाे समयमा नै कृषि विकास बैंकको खाता छनौट गरी नागरिक लगानी कोषमा रकम जम्मा गर्न सक्नेछन् । यो सेवाको सुरुवात भएपछि नागरिक लगानी कोषमा रकम जम्मा गरी फाँटवारी पठाउनु पर्ने झन्झट नरहने कुरा नागरिक लगानी कोषका निर्देशक गोपाल घिमिरेले बताए । यस्तै, कोषका ८ लाखभन्दा बढी जम्माकर्ताहरुको विवरण बैंक र कोषको सफ्टवयरबीच स्वचालित प्रणालीबाट सम्वन्ध स्थापित भई फाँटवारी कायम हुने र हिसाब समायोजन तथा फाँटवारी व्यवस्थापनमा सहजीकरण भई दैनिक रुपमा कारोबार रिकन्सिलेशन हुन जाने कुरा समेत उनले बताए । संघ, प्रदेश र स्थानीय निकाय तथा अन्य संगठित संस्थाले आफ्ना कर्मचारीको कोष कट्टी वापतको रकम जम्मा कर्ताको बैंक खाताबाटै कृषि विकास बैंकमा रहेकोे नागरिक लगानी कोषको खातामा रकम जम्मा गर्न सक्ने भएकोले यो सम्झौतापश्चात कोषको खातामा रकम जम्मा गर्न बैंकसम्म जानु नपर्ने कुरा बैंकका उप–महाप्रबन्धक प्रताप सुवेदीले बताए ।
व्यवसाय विस्तारमा ग्लोबल आइएमई बैंक आक्रामक, नबिल र एनआइएमबिले पछ्याउँदै
काठमाडौं । पछिल्लो समय मर्जरमा गएका वाणिज्य बैंकहरुबीच व्यवसाय विस्तारमा रोचक प्रतिस्पर्धा भएको छ । मर्जरमा गएका नबिल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि), कुमारी बैंक, प्रभु बैंक र हिमालयन बैंकबीच व्यवसाय विस्तारमा रोचक प्रतिस्पर्धा हुने गरेको हो । मर्जरमा गएका यी बैंकबीच नम्बर वान बन्न ठूलै अभ्यास भइरहँदा निक्षेप संकलन र कर्जा विस्तार रोचक प्रतिस्पर्धा भएको नेपाल बैंकर्स संघको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरुले ४७ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन र ४२ खर्ब ९० अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । जसमा मर्जरमा गएका यी ६ बैंकले माघ मसान्तसम्ममा १९ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन र १८ खर्ब १७ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । हाल सञ्चालनमा रहेका बैंकहरुमध्ये निक्षेप संकलन र कर्जा प्रवाहमा यी ६ बैंकको हिस्सा धेरै देखिन्छ । सबैभन्दा धेरै निक्षेप ग्लोबल आइएमई बैंकले संकलन गरेको छ । बैंकले ७ महिनाको अवधिमा १८ अर्बभन्दा बढी निक्षेप भित्र्याएको हाे । जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा धेरै निक्षेप संकलन गर्ने बैंकमा पर्छ । माघसम्मको तथ्याङ्क अनुसार बैंककाे निक्षेप ४ खर्ब १५ अर्ब रुपैयाँ पुगेकाे हाे । गत असार मसान्तसम्म बैंकसँग ३ खर्ब ९७ अर्ब ५९ करोड रुपैयाँ निक्षेप थियो । यस्तै, नबिल बैंकले ७ महिनामा ३० अर्ब ८८ करोड रुपैयाँ निक्षेप वृद्धि गरेर ३ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप पुर्याएकाे छ । गत असार मसान्तसम्ममा बैंकले ३ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ९ अर्ब रुपैयाँ निक्षेप बढाएर ३ खर्ब ५१ अर्ब रुपैयाँ संकलन गरेको छ । गत असारमा बैंकसँग ३ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप थियो । यस्तै, हिमालयन बैंकले माघसम्म ३ अर्ब ९२ करोड रुपैयाँ बढाएर २ खर्ब ७१ अर्ब रुपैयाँ संकलन गरेको छ । गत असारसम्ममा बैंकसँग २ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप थियो । ७ महिनाको अवधिमा २ बैंकको निक्षेप संकलन भने घटेको छ । कुमारी बैंकको १८ अर्ब रुपैयाँ घटेर ३ खर्ब ५ अर्ब रुपैयाँ र प्रभु बैंकको ९ अर्ब रुपैयाँ घटेर २ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप पुगेकाे छ । गत असारमा कुमारी बैंकसँग ४ खर्ब २४ अर्ब रुपैयाँ र प्रभु बैंकसँग २ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप थियो । कर्जा विस्तारमा ग्लोबल आइएमई बैंक आक्रामक बनेकाे छ । माघसम्म बैंकले ३ खर्ब ७८ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको तथ्याङ्कले देखाएको छ । गत असारमा बैंकले ३ खर्ब ७८ अर्ब ९३ करोड रुपैयाँ कर्जा दिएको थियो । बैंकले सबैभन्दा धेर कर्जा प्रवाह गरेपनि ७ महिनाकाे अवधिमा भने ३४ करोड रुपैयाँ कर्जा घटेको छ । यस्तै, नबिल बैंकले १४ अर्ब वृद्धि गरेर ३ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत असार मसान्सतम्म बैंकले ३ खर्ब ९ अर्ब कर्जा प्रवाह गरेको थियो । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले १० अर्ब वृद्धि गरेर ३ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसअघि गत असारमा बैंकले ३ खर्ब १८ अर्ब रुपैयाँ कर्जा वितरण गरेको थियो । यस्तै, कुमारी बैंकको १ अर्ब रुपैयाँ कर्जा घटेको छ । बैंकले माघसम्म २ खर्ब ८४ अर्ब रुपैयाँ प्रवाह गरेको थियो । गत असार मसान्तसम्म बैंकले २ खर्ब ८६ अर्ब रुपैयाँ प्रवाह गरेको थियो । यस्तै, प्रभु बैंकले ७ अर्ब ९७ करोड बढाएर २ खर्ब ४९ अर्ब रुपैयाँ र हिमालयन बैंकले ७ अर्ब ९४ करोड बढाएर २ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत असारसम्म प्रभु बैंकले २ खर्ब ४१ अर्ब रुपैयाँ र हिमालयन बैंकले २ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
प्रभु इन्स्योरेन्सको ७.०५ प्रतिशत लाभांश पारित
काठमाडौं । प्रभु इन्स्योरेन्सको ७.०५ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको २७ औं वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरिएको ६.७० प्रतिशत बोनश सेयर र ०.३५ प्रतिशत नगद लाभांश पारित गरेको हो । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन पारित गरेको छ । यसका साथै सभाले पेश भएका सामान्य तथा विशेष प्रस्तावहरु अत्याधिक बहुमतले पारित गरेको छ ।
सरकारका वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित छैनन् : अर्थविद् वाग्ले
काठमाडौं । अर्थविद् तथा काठमाडौं विश्वविद्यालयका प्रा.डा. अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित नभएको बताएका छन् । मंगलबार काठमाडौं विश्वविद्यालय र विश्व व्यापार संगठनले आयोजना गरेको व्यापार खुलापनले ल्याउने आर्थिक विकास र व्यवसायको दिगोपन सम्बन्धि पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा उत्पादन भएका वस्तुहरुको विदेशमा निर्यात बनाउनको लागि वाणिज्य नीति तथ्य तथ्याङ्कमा आधारित भएर बनाउन आवश्यक रहेको बताए । ‘तथ्य तथ्याङ्कमा आधारित भएको नीति बनाए नेपालबाट विदेशमा कति वस्तुहरु निर्यातको सम्भावना छ र अहिलेसम्म कति निर्यात भएको छ भन्ने विषयमा जानकारी हुन्छ,’ उनले भने । सम्मेलनमा सरकारले बनाएका वाणिज्य नीतिहरु किन प्रभावकारी नभएको भन्ने बारेमा कार्यपत्र प्रस्तुत गरिने उनले बताए । ‘अहिलेसम्म सरकारले बनाएका नीतिहरु के भएर फेल भए भन्ने बारेमा भारत र नेपालमा गरिएको कार्यपत्र प्रश्तुत हुन्छ,’ उनले भने । उनले नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत पुग्न लागेको र त्याे आर्थिक दिगोपनका दृष्टिले जोखिम पूर्ण रहेको बताए । मंगलबार र बुधबार गरी दुई दिनसम्म चल्ने सम्मेलनमा भारत र पोल्याण्डका प्रोफेसरहरुको सहभागिता रहेको छ ।
१४ अंकले बढ्यो नेप्से, साल्ट ट्रेडिङको सबैभन्दा बढी कारोबार
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेकाे छ । आजको भएको कारोबारमा नेप्से परिसूचक १४ दशमलव ४१ अङ्कले बढेर १९६३.६६ अङ्कमा कायम भएको हो । आज दुई सय ५९ वटा कम्पनीका ४० लाख बढी कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै साल्ट ट्रेडिङ काेर्पाेरेशनकाे १२ करोड ७ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, सबैभन्दा कमाउनेमा शिवम् पावर कम्पनीका सेयरधनी रहेका छन् । कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ ।
आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जरको लागि धितोपत्र बोर्डबाट पायो स्वीकृति
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्जरको लागि पुर्व स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई मर्जरको लागि पुर्व स्वीकृति दिएको हो । बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपासमा मर्जर हुने सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफ (४) बमोजिम अन्तिम स्वीकृति दिएको हो । दुई कम्पनीबीच सेयर अनुपात क्रमशः १ः१ कायम रहने गरी माघ २९ गते मर्जर सम्बन्धी सम्झौता भएको थियो । सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात् बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने बताइएको छ । हाल आईएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सको एक अर्ब १८ करोड रुपैयाँ छ । जसमा आईएमई जनरलले ६ प्रतिशत बोनस वितरण गरिसकेको छ भने प्रुडेन्सियलले ६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । घोषित बोनसपश्चात् प्रुडेन्सियलको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । यससँगै मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५ करोड रुपैयाँ नाघ्ने छ ।