विकासन्युज

जहाज देखेर पाइलट बन्ने सपना बुनेकी आङपेमीको आकाश यात्रा

काठमाडौं । सबै आमाबुवाको चाहना हुन्छ, आफ्ना सन्तानले प्रगति गरुन् । समाजमा प्रतिष्ठित पेशा अपनाउन् । नाम र दाम दुबै कमाउन् । त्यसैले त बालबालिका तथा छोराछोरीलाई आशीर्वाद दिँदा भन्ने गरिन्छ डाक्टर, इन्जिनियर, पाइलट बन्नु । तर, लुक्लाकी आङपेमी शेर्पाको जीवन भने फरक किसिमले उनको पाइलट बन्ने सपना पुरा भयाे । ३३ वर्ष अगाडि अर्थात् वि.स २०४६ सालमा काठमाडौंमा जन्मिएकी शेर्पाको घर तेञ्जिङ हिलारी विमानस्थलको छेउमै पर्छ । काठमाडौंमा जन्मिएर काठमाडौंमै हुर्किए पनि आङपेमीका बुबाआमा भने लुक्लामा नै होटल चलाउँथे । विदाको समयमा लुक्ला जाँदा तेञ्जिङ हिलारी विमानस्थलमा उड्ने जहाज देख्दा उनलाई लाग्थ्यो, ठूलोे भएपछि जहाज उडाउन पाए । बाल्यकालमा जहाज उडाउने सपना बुनेकी उनले ठूलो भएपछि त्यो सपनालाई पूरा गर्न तल्लीन भइन् । १२ कक्षाको पढाई पूरा गरेर उनी परिवारका सदस्यको सल्लाहमा पाइलट कोर्स पढ्नका लागि साउथ अफ्रिका गइन् । ‘परिवारका सबै सदस्य लुक्लामा नै पर्यटन क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो तर मलाई पर्यटन क्षेत्रभन्दा एभिएसन क्षेत्र मन पर्याे, मेरो सानैदेखिको जहाज उडाउने सपना ठूलो भएपछि पूरा गर्ने अठोट लिएँ र आमालाई सुनाएँ’, उनले विगत स्मरण गर्दै भनिन्, ‘सानैदेखि नै मैले जहाज उडाउँछुु भनेको सुनेर मेरो बुबाआमा र दाई दिदीले हुँदैन भन्नुभएन, मेरो सोच अनुसार नै १२ कक्षा पूरा गरेर पाइटल पढ्न म साउथ अर्फिका गएँ ।’ उनले सन् २०१३ मा पाइलट कोर्स पूरा गरेर नेपाल फर्किएको बताउँछिन् । ९ महिनादेखि डेढ वर्ष लाग्ने कोर्ष उनले दुई वर्षमा पुरा गरिन् । सानैदेखि चन्चले स्वभावकी उनी घुम्दै बस्दा कोर्ष पूरा गर्न २ वर्ष लागेको बताउँछिन् । सन् २०१३ मा नेपाल फर्किएकी उनले जागिर पाउन साढे ३ वर्ष पर्खर्नु पर्याे । ‘अध्ययनको क्रममा घुम्दै पढ्दा कोर्ष सकिन २ वर्ष लाग्यो, पढाई पूरा गरेर नेपाल फर्किए पनि साढे ३ वर्ष बेरोजगार बसे, उनले सुनाइन, ‘मेलै सबै एयरलाइन्स कम्पनीमा जागिरका लागि अप्पलाइ गरेँ, तर कुनैमा पनि खाली नभएपछि बेरोजगार बसेँ ।’ ‘हामी पढ्न जाने बेला कन्सल्टेन्सी पढेर आएपछि जागिर पाइहाल्छ भनेको थियो, तर मलाई पढ्दा नै नेपाल गएपछि तत्काल जागिर पाइँदैन भन्ने जानकारी थियो, उनले भनिन्, ‘साउथ अफ्रिकामा म पढेकै कलेजमा १६ जना नेपाली थियौँ, यता आएपछि जागिर नपाइने भनेर अधिकांश साथीहरु उतै बसे तर म नेपाल फर्किएँ ।’ उनले साढे ३ वर्षको समयमा इन्टेरियर डिजाइनको डिप्लोमा कोर्स पूरा गरिन् । खाली समयमा आफ्नो रोजाइ अनुसार डिजाइनको कोर्स पूरा गरेपछि यति एयरबाट जागिरको अफर आएको सुनाउँछिन् । ‘खाली समयमा यत्तिकै बस्नुभन्दा डिजाइनको कोर्स गरौं भनेर डिप्लोेमा कोर्स पूरा गरेँ, त्यही समय यतीबाट जागिरको अफर आयो, त्षसैले डिजाइनका लागि फिल्डमा जान पाइनँ,’ उनले भनिन । पढाई सकेर आएको साढे ३ वर्षपछि सन् २०१६ को अप्रिलदेखि यति एयरलाइन्समा आवद्ध भएकी उनी जेटस्टीम जहाज हुँदै एटिआर जहाजको क्यापटेन भएकी छन् । सुरुवाती चरणमा यती एयरलाइन्सले सञ्चालन गरेको जेटस्टिम जहाजको कोपाइलट बनेकी शेर्पा सन् २०१९ मा एटिआर जहाजमा कोपाइटल बनेको बताउँछिन् । यतीले सञ्चालन गरेको ७२ सिट क्षमताको एटीआर जहाजको कोपाइल हुँदै उनी हाल एटीआर जहाजकै क्याप्टेन छिन् । जहाज उडाउन थालेको ७ वर्ष भयो । तर, सन् २०२२ देखि उनी क्यापटेन बनेकी हुन् । पर्यटन क्षेत्रमा रमेको परिवारबाट एभियसन सेक्टरमा छिरेकी शेर्पा आफूमात्र नभएर छोरीलाई पनि यति क्षेत्रमा ल्याउन लागेको बताउँछिन् । ‘मेरो परिवारमा एभिएसन क्षेत्रमा म मात्र आवद्ध थिएँ, महिलाका लागि राम्रो अवसरको क्षेत्र भएपछि मैले मेरो दिदीको छोरीलाई पनि ल्याउन लागेको छु, उनी हाल पाइलट कोर्ष अध्ययनका लागि साउथ अर्फिकामा छिन्’, उनले भनिन् । ७ वर्षको अवधिमा ४६ सय घण्टा आकाशमा उडान भरिसकेकी उनलाई अब एटीआर जहाजको प्रशिक्षक पाइलट बन्ने चाहना छ । ट्रंक रुटमा महिला क्यापटेन भएकै कारण अहिलेसम्म कुनै दुःख नपाएको बताउँछिन् । हामीहरु उडान गर्ने अहिले ट्रंक रुट हो, अहिलेसम्म महिला र पुरुष पाइटल भनेर कुनै भेदभाव नभएको उनी बताउँछिन् । ‘महिला भएर गाह्रो हुन्छ भन्ने गरिन्छ, तर एभियसन सेक्टरमा महिला पुरुष दुबै बराबर हो, केही गाह्रो हुँदैन्, आँट गर्याे भने गर्न सकिन्छ, नयाँ आउन चाहने महिलाहरु ढुक्क भएर आउन सक्नुहुन्छ, उनले भनिन ।’ बेला–बेलामा हुने हवाई दुर्घटनाका कारण पेशा नै छोड्न परिवारबाट अहिलेसम्म कुनै दबाब नभएको बताउँछिन् । ‘सडकमा पनि दुर्घटना हुन्छ, दुर्घटना भयो भन्दैमा हामी गाडी नै नचली बस्न सकिँदैन, हवाई दुर्घटना पनि यस्तै हो, मेरो परिवारबाट अहिलेसम्म कुनै दबाब आएको छैन्’, उनले भनिन । विगतदेखि वर्तमानसम्म समाजमा प्रतिष्ठित पेशा हो पाइलट । त्यसमा पनि महिलाका लागि पाइलट हुनु सान, मान र प्रतिष्ठा सँगसँगै जोडिएको हुन्छ । नेपाली समाजमा महिला पाइलट पेशामा स्थापित हुन जति गाह्रो छ, त्यसमा टिकि राख्न चुनौती पनि त्यति नै धेरै छ । तर, विविध बाधा, व्यवधान र चुनौतीलाई पन्छ्याउँदै विगत ७ वर्षदेखि ककपिटलाई साथी बनाउँदै आएकी छन् आङपेमी । निलो आकाशमाथि उडान गर्दै सयौं यात्रीको यात्रा सफल बनाउने जिम्मेवारी छ उनको हातमा । ७२ सिटे जहाजमा रहेका सबै यात्रुको जीवन उनको हातमा छ । ड्याफोडिल पब्लिक स्कूलमा १० कक्षासम्म पढेकी उनले युनाइटेड एकेडेमीमा फिजिक्स र गणित लिएर कक्षा १२ पढेकी हुन् । स्कूल तथा कलेज लेभलमा अध्ययन गरेका साथीमध्ये आफूमात्र एभिएसन क्षेत्रमा आवद्ध भएको उनी बताउँछिन् । ‘एभिएसन क्षेत्रमा मेरो साथीहरु कोही पनि छैनन्, तिमी यो क्षेत्रमा लागेर धेरै राम्रो गर्याैं भन्छन्, हामी दैनिक ९ बजेदेखि ५ बजेसम्म काम गर्नुपर्छ, विदा लिन समेत गाह्रो छ, तिमीलाई त फ्रिडम छ, तिम्रो क्षेत्र राम्रो रैछ, हामीले गल्ती गरेछौँ भन्छन्,’ उनले साथीहरुले गर्ने कुराहरु स्मरण गर्दै उनले भनिन् । अझै पनि आङतेमी अविवाहित छिन् । ‘मेरो विवाह भैसकेको छैन, इङगेजमेन्ट भैसक्यो, तर विवाह भएको छैन, उहाँ एभिएसन क्षेत्रमा आवद्ध नभएर पर्यटनसँग सम्बन्धित हुनुहुन्छ ।’ उनले चार कक्षासम्म होस्टलमा बसेर पढिन् । बुबा बितेपछि लुक्लाको होटल भाडामा दिएर हाल उनी आमासँगै काठमाडौंमा बस्छिन् । उनले ८५ लाख रुपैयाँ खर्चेर साउथ अफ्रिकामा गएर पाइटल कोर्स पुरा गरेकाे बताइन् । ‘आजभन्दा १०/११ वर्ष अगाडिको तुलनामा हाल डलरको रेट र हवाई इन्धनको मूल्य बढ्दा १ करोड रुपैयाँभन्दा बढी खर्च लाग्छ, १ करोडभन्दा बढी खर्च गरेर पढ्दा पनि तत्काल जागिर पाइने सम्भावना न्यून छ’, उनले भनिन, ‘मेरो छोरी पढ्ने कलेजमा २० जना अध्ययनरत रहेको मैले जानकारी पाएको छु, अरु देशमा पनि अध्ययनकै क्रममा होलान् तर पढाइ सक्नासाथ जागिर पाइने सम्भावना न्यून छ ।’

महिलाको कमाण्डमा निगमको जहाज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को इतिहासमै महिला पाइलटले जहाजको कमाण्ड सम्हालेका छन् । आइतबार युएई गएको निगमको एयरबस ३२० (न्यारोवडी) जहाज बुधबार बिहान काठमाडौं फर्कदा जहाजको कमाण्ड महिलाले सम्हालेको निगमले जनाएको छ । नेपाल एयरलाइन्सको इतिहासमा नै पहिलो पटक महिला चालह दलका सदस्यले जहाजको कमाण्ड सम्हालेको जनाईएको छ । क्यापटेन भावना पन्त र कोपाइटल श्रृजना राउतसँगै उक्त जहाजमा आइएफएस बास्ना राना, फ्लाईट पर्सर अन्जक महर्जन, एयर होस्टेस संगीता के.सी, र अनिशा प्रजापति रहेका थिए । यूएईबाट काठमाडौंका लागि आज बिहान ४ बजेर ५५ मिनेट जाँदा उडेको उक्त जहाज बुधबार बिहान ९.५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा अवतरण गरेको हो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर निगमले एउटा उडान महिलाको जिम्मामा दिएको हो । हाल निगममा ९ जना महिला क्यापटेन कार्यरत रहेका छन् । ९ जना महिला क्यापटेन भएपनि हालसम्म महिलाले मात्रै कुनै पनि उडान भरेका थिएनन् । जसमा एयरबस ३३० (वाईडबडी) मा १ जना, न्यारोवडीमा ४ जना र ४ जना आन्तरिक उडानका विमानमा कार्यरत रहेका छन् । यसैगरी निगममा कार्यरत १४५ क्याविन क्रू मध्ये ९६ जना महिला क्याविन क्रू रहेका छन् । निगमका प्रवक्ता अर्चना खड्का निगमको इतिहासमै पहिलो पटक महिलाले जहाजको नेतृत्व लिएको बताउँछिन् । मन्त्रीको बधाई संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले एयरबस २२० जहाज उडान गर्ने चालक दलका महिला सदस्यलाई विमानस्थलमै पुगेर बधाई दिएका छन् । ‘संयोग मात्र होइन, महिलाहरूले अवसर पाउँदा गर्न सक्छन् भन्ने प्रमाण पनि हो, बधाई छ दिदीबहिनी पाइलटहरू भावना पन्त गिरी र सृजना रावललाई, नेपालकै इतिहासमा महिलाहरुमात्रै रहेको चालक दलले पहिलो पटक राष्ट्रिय ध्वजाबाहक एअरबस ३२० नेपाल–दुबई र दुबई–नेपालको सफल उडान भरेका छन्’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेवानीमा अरू ९ जना महिला पाइलटहरू पनि रहेको सगौरव जानकारी गराउन चाहन्छु ।’ को हुन क्यापटेन पन्त ? सन् १९९१ मा रुसमा अध्ययन सकेर नेपाल फर्किएर हवाई सेवामा प्रवेश गरेकी ४५ वर्षीय पन्त विगत २५ वर्षदेखि नेपालको हवाई क्षेत्रमा आवद्ध छिन् । रुसबाट फर्किदा तत्कालीन नेपाल एयरवेजमा काम गर्ने तयारी गरेतापनि नेपाल एयरवेज बन्द भएपछि तीन वर्षसम्म बेरोजगार बनेकी उनले तत्कालीन नेकोन एयरबाट एभियसन क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी देशकै तेस्रो महिला पाइटल समेत हुन । उनले निकोन एयरमा काठमाडौं–पटना उडान गरेका थिइन् भने बुद्ध एयरबाट भारतको बनारसमा समेत उडान गरेकी थिइन् । उनी निगममा करार कर्मचारीका रुपमा कार्यरत छिन् । सौर्य एयरमा उनले पहिलो महिला जेट एयर चालकको रुपमा समेत आफ्नो नाम राख्न सफल भएकी छिन् । उनले ६ वर्ष नेकोन एयर, ९ वर्ष बुद्ध एयर र २ वर्ष सौर्य एयरमा काम गरिसकेकी छन् । उनी तत्कालीन राज परिवारका निजी क्याप्टेन बलराम पन्तकी माहिली छोरी हुन् । क्यापटेन पन्तका तीन छोरी र एक छोरामध्ये छोरा र पन्त एभियसन क्षेत्रमै कार्यरत छन् ।

अन्नपूर्ण केवलकारमा यात्रुलाई ५० प्रतिशत छुट

पोखरा । पोखराको अन्नपूर्ण केवलकारले होलीको अवसर पारेर सोमबारदेखि पोखरा वरिपरिको दृश्यावलोकन सहज बनाउँदै केवलकारमा ५० प्रतिशत छुटको घोषणा गरेको छ । यो योजना होलीको दिनदेखि पोखरा घुम्ने नेपाली पर्यटकका लागि ल्याइएको केवलकारले जनाएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कम्पनीले यस्तो व्यवस्था गरेको केवलकारका प्रशासन प्रमुख दामोदर तिमिल्सिनाले बताए । कम्पनीका अनुसार बिहान ५ देखि साढे ७ बजेसम्म सराङकोटबाट सूर्योदय अवलोकनका लागि जान चाहने पर्यटकले दुईतर्फी भाडा ४ सयमात्रै तिरे पुग्नेछ । यसअघि सो समयमा ७ सय रुपैयाँ भाडा रहेको थियो । त्यस्तै अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै दुईतर्फी भाडा ३५० रुपैयाँ मात्रै कायम गरिएको कम्पनीले जनाएको छ । केबलकारले विद्यार्थी र बालबालिकाका लागि बिहान ५ बजेदेखि साढे ७ बजेसम्म दुईतर्फी ४ सय र एकतर्फी यात्राका लागि २ सय रुपैयाँ शुल्क तय गरेकाे छ । केबलकारले साढे ७ देखि ८ बजेसम्मको समय ‘ब्रेक’ राखिएको छ भने बिहान ८ बजेदेखि साढे १ बजेसम्मका लागि भने पहिलेकै भाडादर तय गरेकाे छ ।  

राष्ट्रपति निर्वाचनबारे रास्वपाले बिहीबार निर्णय लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । राष्ट्रपतिको निर्वाचनको मतदान भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ । राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

सहकारी क्षेत्र सञ्चालनका लागि छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सहकारी क्षेत्र सञ्चालनका लागि छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । बुधबार सहकारी तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको दुई दिने सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभामुख घिमिरेले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले वचत तथा ऋण सहकारीसँग सम्बन्धित ऐन ल्याउन जरुरी रहेको बताए । ‘सम्बन्धित सरोकारवालाहरुले यस सम्बन्धी छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक परामर्श र छलफल गरिरहेका छौं,  यस सम्बन्धी ऐनलाई संसदबाट पास गर्न म निष्पक्ष रुपमा सहयोग गर्नेछु,’ उनले भने । सहकारीमा वर्तमान अवस्थामा देखिएका समस्या र विगतका अनुभवहरु समेटेर ऐन निर्माण हुनुपर्ने सभामुख घिमिरेले बताउँछन् । ‘सहकारी ऐनमा २५ लाख सीमा तोकिएपनि संसदमा धेरै संशोधन प्रस्ताव आइरहेकाले थप सहयोग गरेर अघि बढ्न म तयार छु,’ उनले भने । सभामुख घिमिरेले नयाँ ऐन बनाउन कुरा सरकारले प्रश्ताव गरी संसदमा छलफल हुने विषय भएकाले ऐनको प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिए ।

आज एक हजार रूपैयाँले सस्तियो सुन

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य घटेर तोलाको एक लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सनको मूल्य घटेर तोलाको एक लाख १ हजार रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुन तोलाको एक लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज चाँदीको मूल्यअघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रुपैयाँले घटेर तोलाको एक हजार २२५ रुपैयाँ कायम भएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का संयोजक पक्राउ

काठमाडाैं । प्रहरीले व्यवसायी दुर्गा प्रसाईंले बनाएको ‘कालोमोसो’ दस्ताका संयोजक शम्भु थापालाई भरतपुरबाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले मालपोत कार्यालय नजिकै रहेको चिया पसलबाट मंगलबार उनलाई नियन्त्रणमा लिएको हो । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको चितवनका प्रहरीले बताएकाे छ । धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा गत फागुन १३ गते चितवनमा दुर्गा प्रसाईंले गरेको कार्यक्रममा थापालाई कालोमोसो दस्ताको केन्द्रीय संयोजक घोषणा गरिएको थियो ।

काठमाडौं उपत्यकामा हल्का वर्षा

काठमाडौं । आज बिहानदेखि काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । अहिले देशभरकै मौसम बदली भएको मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज काठमाडौंमा बिहान ८ः४५ मिनेटसम्ममा ०.२ मिलिमिटर वर्षा भएको छ । डोल्पा, हुम्लामा हिमपात भइरहेको, सर्लाहीलगायतका जिल्लामा अहिले हल्का वर्षा भइरहेको र देशका धेरै ठाउँमा बादल लागेको मौसमविद् पौडेलले बताए । पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको र काठमाडों उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी आज पहाडी क्षेत्रका केही ठाउँमा आज मेघगर्जनसहित चट्याङ पर्ने अनुमान गरिएको छ । आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । राति कोसी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । भोलि पनि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने र हिमाली क्षेत्रका एक दुई ठाउँमा हिमपात हुने सम्भावना छ । मेघगर्जन र चट्याङको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि उनले आग्रह गरेका छन् ।