जहाज देखेर पाइलट बन्ने सपना बुनेकी आङपेमीको आकाश यात्रा

<p>काठमाडौं । सबै आमाबुवाको चाहना हुन्छ, आफ्ना सन्तानले प्रगति गरुन् । समाजमा प्रतिष्ठित पेशा अपनाउन् । नाम र दाम दुबै कमाउन् । त्यसैले त बालबालिका तथा छोराछोरीलाई आशीर्वाद दिँदा भन्ने गरिन्छ डाक्टर, इन्जिनियर, पाइलट बन्नु । तर, लुक्लाकी आङपेमी शेर्पाको जीवन भने फरक किसिमले उनको पाइलट बन्ने सपना पुरा भयाे । ३३ वर्ष अगाडि अर्थात् वि.स २०४६ सालमा [&hellip;]</p>

काठमाडौं । सबै आमाबुवाको चाहना हुन्छ, आफ्ना सन्तानले प्रगति गरुन् । समाजमा प्रतिष्ठित पेशा अपनाउन् । नाम र दाम दुबै कमाउन् । त्यसैले त बालबालिका तथा छोराछोरीलाई आशीर्वाद दिँदा भन्ने गरिन्छ डाक्टर, इन्जिनियर, पाइलट बन्नु ।

तर, लुक्लाकी आङपेमी शेर्पाको जीवन भने फरक किसिमले उनको पाइलट बन्ने सपना पुरा भयाे । ३३ वर्ष अगाडि अर्थात् वि.स २०४६ सालमा काठमाडौंमा जन्मिएकी शेर्पाको घर तेञ्जिङ हिलारी विमानस्थलको छेउमै पर्छ ।

काठमाडौंमा जन्मिएर काठमाडौंमै हुर्किए पनि आङपेमीका बुबाआमा भने लुक्लामा नै होटल चलाउँथे । विदाको समयमा लुक्ला जाँदा तेञ्जिङ हिलारी विमानस्थलमा उड्ने जहाज देख्दा उनलाई लाग्थ्यो, ठूलोे भएपछि जहाज उडाउन पाए ।

बाल्यकालमा जहाज उडाउने सपना बुनेकी उनले ठूलो भएपछि त्यो सपनालाई पूरा गर्न तल्लीन भइन् । १२ कक्षाको पढाई पूरा गरेर उनी परिवारका सदस्यको सल्लाहमा पाइलट कोर्स पढ्नका लागि साउथ अफ्रिका गइन् ।

‘परिवारका सबै सदस्य लुक्लामा नै पर्यटन क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो तर मलाई पर्यटन क्षेत्रभन्दा एभिएसन क्षेत्र मन पर्याे, मेरो सानैदेखिको जहाज उडाउने सपना ठूलो भएपछि पूरा गर्ने अठोट लिएँ र आमालाई सुनाएँ’, उनले विगत स्मरण गर्दै भनिन्, ‘सानैदेखि नै मैले जहाज उडाउँछुु भनेको सुनेर मेरो बुबाआमा र दाई दिदीले हुँदैन भन्नुभएन, मेरो सोच अनुसार नै १२ कक्षा पूरा गरेर पाइटल पढ्न म साउथ अर्फिका गएँ ।’

उनले सन् २०१३ मा पाइलट कोर्स पूरा गरेर नेपाल फर्किएको बताउँछिन् । ९ महिनादेखि डेढ वर्ष लाग्ने कोर्ष उनले दुई वर्षमा पुरा गरिन् । सानैदेखि चन्चले स्वभावकी उनी घुम्दै बस्दा कोर्ष पूरा गर्न २ वर्ष लागेको बताउँछिन् ।

सन् २०१३ मा नेपाल फर्किएकी उनले जागिर पाउन साढे ३ वर्ष पर्खर्नु पर्याे । ‘अध्ययनको क्रममा घुम्दै पढ्दा कोर्ष सकिन २ वर्ष लाग्यो, पढाई पूरा गरेर नेपाल फर्किए पनि साढे ३ वर्ष बेरोजगार बसे, उनले सुनाइन, ‘मेलै सबै एयरलाइन्स कम्पनीमा जागिरका लागि अप्पलाइ गरेँ, तर कुनैमा पनि खाली नभएपछि बेरोजगार बसेँ ।’

‘हामी पढ्न जाने बेला कन्सल्टेन्सी पढेर आएपछि जागिर पाइहाल्छ भनेको थियो, तर मलाई पढ्दा नै नेपाल गएपछि तत्काल जागिर पाइँदैन भन्ने जानकारी थियो, उनले भनिन्, ‘साउथ अफ्रिकामा म पढेकै कलेजमा १६ जना नेपाली थियौँ, यता आएपछि जागिर नपाइने भनेर अधिकांश साथीहरु उतै बसे तर म नेपाल फर्किएँ ।’

उनले साढे ३ वर्षको समयमा इन्टेरियर डिजाइनको डिप्लोमा कोर्स पूरा गरिन् । खाली समयमा आफ्नो रोजाइ अनुसार डिजाइनको कोर्स पूरा गरेपछि यति एयरबाट जागिरको अफर आएको सुनाउँछिन् । ‘खाली समयमा यत्तिकै बस्नुभन्दा डिजाइनको कोर्स गरौं भनेर डिप्लोेमा कोर्स पूरा गरेँ, त्यही समय यतीबाट जागिरको अफर आयो, त्षसैले डिजाइनका लागि फिल्डमा जान पाइनँ,’ उनले भनिन ।

पढाई सकेर आएको साढे ३ वर्षपछि सन् २०१६ को अप्रिलदेखि यति एयरलाइन्समा आवद्ध भएकी उनी जेटस्टीम जहाज हुँदै एटिआर जहाजको क्यापटेन भएकी छन् । सुरुवाती चरणमा यती एयरलाइन्सले सञ्चालन गरेको जेटस्टिम जहाजको कोपाइलट बनेकी शेर्पा सन् २०१९ मा एटिआर जहाजमा कोपाइटल बनेको बताउँछिन् ।

यतीले सञ्चालन गरेको ७२ सिट क्षमताको एटीआर जहाजको कोपाइल हुँदै उनी हाल एटीआर जहाजकै क्याप्टेन छिन् । जहाज उडाउन थालेको ७ वर्ष भयो । तर, सन् २०२२ देखि उनी क्यापटेन बनेकी हुन् ।

पर्यटन क्षेत्रमा रमेको परिवारबाट एभियसन सेक्टरमा छिरेकी शेर्पा आफूमात्र नभएर छोरीलाई पनि यति क्षेत्रमा ल्याउन लागेको बताउँछिन् । ‘मेरो परिवारमा एभिएसन क्षेत्रमा म मात्र आवद्ध थिएँ, महिलाका लागि राम्रो अवसरको क्षेत्र भएपछि मैले मेरो दिदीको छोरीलाई पनि ल्याउन लागेको छु, उनी हाल पाइलट कोर्ष अध्ययनका लागि साउथ अर्फिकामा छिन्’, उनले भनिन् ।

७ वर्षको अवधिमा ४६ सय घण्टा आकाशमा उडान भरिसकेकी उनलाई अब एटीआर जहाजको प्रशिक्षक पाइलट बन्ने चाहना छ । ट्रंक रुटमा महिला क्यापटेन भएकै कारण अहिलेसम्म कुनै दुःख नपाएको बताउँछिन् । हामीहरु उडान गर्ने अहिले ट्रंक रुट हो, अहिलेसम्म महिला र पुरुष पाइटल भनेर कुनै भेदभाव नभएको उनी बताउँछिन् ।

‘महिला भएर गाह्रो हुन्छ भन्ने गरिन्छ, तर एभियसन सेक्टरमा महिला पुरुष दुबै बराबर हो, केही गाह्रो हुँदैन्, आँट गर्याे भने गर्न सकिन्छ, नयाँ आउन चाहने महिलाहरु ढुक्क भएर आउन सक्नुहुन्छ, उनले भनिन ।’

बेला–बेलामा हुने हवाई दुर्घटनाका कारण पेशा नै छोड्न परिवारबाट अहिलेसम्म कुनै दबाब नभएको बताउँछिन् । ‘सडकमा पनि दुर्घटना हुन्छ, दुर्घटना भयो भन्दैमा हामी गाडी नै नचली बस्न सकिँदैन, हवाई दुर्घटना पनि यस्तै हो, मेरो परिवारबाट अहिलेसम्म कुनै दबाब आएको छैन्’, उनले भनिन ।

विगतदेखि वर्तमानसम्म समाजमा प्रतिष्ठित पेशा हो पाइलट । त्यसमा पनि महिलाका लागि पाइलट हुनु सान, मान र प्रतिष्ठा सँगसँगै जोडिएको हुन्छ । नेपाली समाजमा महिला पाइलट पेशामा स्थापित हुन जति गाह्रो छ, त्यसमा टिकि राख्न चुनौती पनि त्यति नै धेरै छ । तर, विविध बाधा, व्यवधान र चुनौतीलाई पन्छ्याउँदै विगत ७ वर्षदेखि ककपिटलाई साथी बनाउँदै आएकी छन् आङपेमी ।

निलो आकाशमाथि उडान गर्दै सयौं यात्रीको यात्रा सफल बनाउने जिम्मेवारी छ उनको हातमा । ७२ सिटे जहाजमा रहेका सबै यात्रुको जीवन उनको हातमा छ । ड्याफोडिल पब्लिक स्कूलमा १० कक्षासम्म पढेकी उनले युनाइटेड एकेडेमीमा फिजिक्स र गणित लिएर कक्षा १२ पढेकी हुन् ।

स्कूल तथा कलेज लेभलमा अध्ययन गरेका साथीमध्ये आफूमात्र एभिएसन क्षेत्रमा आवद्ध भएको उनी बताउँछिन् । ‘एभिएसन क्षेत्रमा मेरो साथीहरु कोही पनि छैनन्, तिमी यो क्षेत्रमा लागेर धेरै राम्रो गर्याैं भन्छन्, हामी दैनिक ९ बजेदेखि ५ बजेसम्म काम गर्नुपर्छ, विदा लिन समेत गाह्रो छ, तिमीलाई त फ्रिडम छ, तिम्रो क्षेत्र राम्रो रैछ, हामीले गल्ती गरेछौँ भन्छन्,’ उनले साथीहरुले गर्ने कुराहरु स्मरण गर्दै उनले भनिन् ।

अझै पनि आङतेमी अविवाहित छिन् । ‘मेरो विवाह भैसकेको छैन, इङगेजमेन्ट भैसक्यो, तर विवाह भएको छैन, उहाँ एभिएसन क्षेत्रमा आवद्ध नभएर पर्यटनसँग सम्बन्धित हुनुहुन्छ ।’

उनले चार कक्षासम्म होस्टलमा बसेर पढिन् । बुबा बितेपछि लुक्लाको होटल भाडामा दिएर हाल उनी आमासँगै काठमाडौंमा बस्छिन् । उनले ८५ लाख रुपैयाँ खर्चेर साउथ अफ्रिकामा गएर पाइटल कोर्स पुरा गरेकाे बताइन् ।

‘आजभन्दा १०/११ वर्ष अगाडिको तुलनामा हाल डलरको रेट र हवाई इन्धनको मूल्य बढ्दा १ करोड रुपैयाँभन्दा बढी खर्च लाग्छ, १ करोडभन्दा बढी खर्च गरेर पढ्दा पनि तत्काल जागिर पाइने सम्भावना न्यून छ’, उनले भनिन, ‘मेरो छोरी पढ्ने कलेजमा २० जना अध्ययनरत रहेको मैले जानकारी पाएको छु, अरु देशमा पनि अध्ययनकै क्रममा होलान् तर पढाइ सक्नासाथ जागिर पाइने सम्भावना न्यून छ ।’

Share News