विकासन्युज

यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी

काठमाडौं । देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ । कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ । बिहान ८ बजेदेखि खुल्दा सेवाग्राही लाममा बस्नु नपर्ने र उनीहरुले थोरै समयमा काम गरिसक्ने कार्यालयका प्रमुख राजकुमार कपालीले बताए । उनले भने, ‘लाममा बस्न नपरेपछि बिचौलियाले पनि ठग्न पाउँदैनन् । आउँछन् र खुरुखुरु जान सक्छन् ।’ बिहानदेखि सेवा सुरु अहिले छलफल भइरहेको कार्यालयले जनाएको छ । सेवा प्रवाह कार्यालय समयमा हुने भए पनि सेवाग्राही बिहान छ बजेदेखि लाममा बस्ने गरेको उनले बताए । सेवाग्राहीलाई बुझाउन नसकिएको १० बजेसम्म दुई सय जना लाममा बस्ने उनले बताए । प्रमुख कपालीले भने, ‘ताला लगाए पनि बाहिरैबाट लाम हुने गरेको छ ।’ कार्यालयले दैनिक तीनदेखि साढे तीन सय टोकन बाँड्ने गरेको छ । त्योबाहेक टाढाबाट आएको जाममा परेको वा तुरुन्त अनुमतिपत्र चाहिने सेवाग्राहीलाई टोकन नभए पनि अवस्था हेरेर सेवा दिइने प्रमुख कपालीले बताए । उनले भने, ‘समस्या रहेकालाई टोकन विना ५० देखि एक सयसम्मलाई दिने गरिएको छ ।’ कार्यालयमा अहिले दरबन्दीअनुसार नै जनशक्ति कार्यरत रहेका छन् । विसं २०७२ को दरबन्दीअनुसार ३५ जना रहेकामा र करारबाट २२ जना कार्यरत रहेका छन् । कार्यालयको व्यस्त समय ११ देखि २ बजेसम्म जनशक्ति कमी महसुस हुने भए पनि अरू समयमा जनशक्ति पर्याप्त नै हुने गरेको उनले बताए । सेवाग्राहीको भीडभाड बिहानी समयमा बढी भए पनि दिउँसो कम रहेको छ । उनले भने, ‘३ बजेपछि कार्यालय नै सुनसान हुन्छ ।’ यातायात कार्यालय सधैँ नै सेवाग्राहीको भीडभाड बढी हुने कार्यालयका रुपमा रहेको छ । पहिले सङ्घीय सरकारअन्तर्गत रहेको कार्यालय अहिले प्रदेश सरकारको अन्तर्गत गएको छ । कार्यालयहरुले केही वर्षदेखि टोकन प्रणाली सुरु गरे पनि सेवाग्राही घण्टौँ लाममा बस्नु परेको छ । रासस

महिलाले नै महिला नेतृत्वलाई स्वीकार्दैनन्, कसरी हटाउने विभेद ?

काठमाडौं । काठमाडौं डनबस्को कलेज र जेभियर एकेडेमी निजी क्षेत्रबाट सञ्चालित प्रतिष्ठित शैक्षिक संस्था मध्येमा पर्छन् । लामो समयदेखि यी दुई संस्थाको प्रिन्सिपल तथा डाइरेक्टरको रुपमा जिम्मेवारी सम्हाल्दै आएकी छन् रश्मी शर्मा मैनाली । रश्मी माइती तर्फका बुवा आमाको पुर्खौली थलो पर्वतको लिमिठाना हो । तर, उनी नजन्मदै उनका बुवाआमा काठमाडौ आइसकेका थिए । काठमाडौंमा नै जन्मेपनि उनले स्नातक तह सम्मको पढाई भने भारतको सिलाङबाट गरेकी हुन् । त्यसैले रश्मीलाई नेपालको ग्रामिण परिवेशको विषयमा भने धेरै थाहा छैन् । साथै शिक्षित परिवारमा जन्मिएर शिक्षित परिवारमा नै घरजम भएकाले उनलाई लैंगिक असमानताको विषयमा पनि पारिवारिक रुपमा पिडावोध हुनेगरी अनुभव गर्नुपरेन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उनीसँग लैंगिकता प्रकट हुनेगरी ठोक्किन आएका केही अनुभवलाई उनले विकासन्युजमार्फत् बाँडेकी छन् । स्नातक तह उत्तिर्ण नगर्दै रश्मीको रश्मीको बिहे भयो । तर, पढ्नुपर्छ भन्ने मनोविज्ञान परिवारमा भएकाले विवाहपछि पनि उनको अध्ययनले निरन्तरता पायो । ‘बच्चा भैसकेको थियो तर, ससुराले पढ्नपर्छ भनेर मोटरसाइकलमा हालेर आँफैले कलेज लैजानुहुन्थ्यो, नत्र मैले पढ्दैनथेँ होला’, उनी विवाहपछिको आफ्नो पढाईको निरन्तरतालाई सम्झिन्छिन् । उनको विचारमा पछिल्लो समयमा शहरी क्षेत्रका स्कुल तथा कलेजमा गहिरो हिसाबले लैंगिक विभेद त्यती धेरै छैनन् । तर, सामाजिक तथा पारिवारिक मनोविज्ञानमा भने समस्या रहेको उनको भनाइ छ । ‘मलाई प्रकृतिले नै राम्रोसँग भूमिकाको निर्धारण गरिदिएको छ जस्तो लाग्छ, दिन/रात, जन्मनु/मर्नु’, उनी भन्छिन्, ‘विगतमा पारिवारिक परिवेशमा एकजनाले घरमा काम गर्ने अर्को बाहिर जाने प्रचलन थियो, जुन अहिलेको तुलनामा ठिक थियो जस्तो लाग्छ ।’ तर, पहिलेको समयमा महिला मात्रै घरमा बस्नुपर्ने र पुरुष बाहिर जाने प्रचलनलाई उनले नकरात्मक रुपमा टिप्पणी गर्छिन् । त्यसले समग्र महिला जगतलाई समाजमा पछाडि पारेको भन्दै उनले क्षमताको आधारमा कार्यविभाजन भएको भए लैंगिक खाडल नबढ्ने तर्क गर्छिन् । पछिल्लो समयमा परिवारहरुमा आमा र बाबु दुबै नहुने हुँदा बालबालिकाहरुमा डिप्रेसन, एन्जाइटी लगायतको समस्या आउने गरेको उनको भनाइ छ । परिवारमा यो स्तरको समस्या आउनुमा पुरुषको मात्रै नभएर समाजको समस्या रहेको उनी बताउँछिन् । स्कुल वा कलेजमा विद्यार्थीको रुपमा अध्ययन गर्दा उनको अनुभवमा छात्रा वा छात्रको रुपमा लैंगिक विभेद त्यति नदेखिएको उनको भनाइ छ । उनले आफूलाई एउटा प्रभावकारी शिक्षक भएको दाबी गर्दै कक्षाकोठामा हुने लैंगिक विभेद व्यक्तिमा निर्भर हुने धारणा राख्छिन् । ‘पढ्ने बेलामा कुनै विभेद देखिँदैन तर काम गर्ने बेलामा भने विभेद देखिन्छ’, उनी भन्छिन, ‘पुरुषहरुले महिला नेतृत्वलाई हेर्ने दृष्टिकोणमा चाहिँ अलिक फरक भएको देखिन्छ ।’ अहिलेको जिम्मेवारी शिक्षण पेशामा आवद्ध हुँदा विभागीय इन्चार्ज, एनजिओको प्रशिक्षक लगायत विभिन्न नेतृत्वदायी भूमिकामा रहेर उनले काम गर्दै आएकी हुन् । शिक्षित तथा समाजको नेतृत्वदायी क्षेत्रमा पनि लैंगिक विभेदहरु देखिने उनी बताउँछिन् । आफ्नै हैसियत सरहका पुरुषहरुले पनि काम गर्ने शिलशिलामा महिलाहरुलाई सक्षम नेतृत्वको रुपमा स्वीकार गर्न आनाकानी गर्ने गरेको उनको अनुभव छ । ‘कतिपय अवस्थामा पुरुषहरुले बडी ल्याङ्गवेजले पनि इग्नोर गरेजस्तो, नटेरे–नटेरेजस्तो गरेजस्तो लाग्छ’, उनले अनुभव सुनाइन्, ‘कतीपय अवस्थामा यस्तो देखिन्छ, बडी ल्याङ्ग्वेजले ओ तिमी पो ! वाउ यु ! सायद यो मलाई मात्रै होइन, सबैतिर हुन्छ होला ।’ यस्तो प्रकारको व्यवहार पुरुषबाट मात्रै नभएर महिलाबाट पनि आउने उनको अनुभव छ । महिलाहरुले समेत पुरुष नेतृत्वलाई जत्तिकै महिला नेतृत्वलाई सहज रुपमा नलिने गरेको उनी बताउँछिन् । पोखरामा पछिल्लो समय भएको यति एयर दुघर्टनाको विषयमा पनि लैंगिक विभेद झल्किने गरी टिप्पणी भएको रश्मीको बुझाइ छ । ‘यतिको जुन प्लेन दुघर्टना भयो नि, त्यसमा दिग्गज मान्छेले पनि महिलालाई चलाउन दिन हुँदैन भन्ने सुनेको छु, दुघर्टना यो पहिला भएको त होइन नी ?’, उनले भनिन् । त्यसैले मानिसहरुको दृष्टिकोणमा चाहिँ समस्या छ । रश्मीको हजुरबुवाले पुरोहितको रुपमा काम गर्ने गर्दथे, जसले गर्दा उनको परिवारमा परम्परागत संस्कृतिको राम्रो प्रभाव परेको उनी बताउँछिन् । ‘हाम्रो पारिवारिक पृष्ठभूमि एकदमै धार्मिक प्रकृतिको रहेको छ, मेरो घर परिवारमा के सिकाइन्थ्यो भन्दाखेरी सबैलाई आदर गर्नुपर्छ ।’ उनले सम्बन्धित पारिवारिक पृष्ठभूमिले पनि मानिसको प्रकृति निर्धारण गर्ने र त्यसले पनि विभेद निर्धारणमा भूमिका निर्वाह गर्ने उनले बताइन् । रश्मी नेपालमा इएमबिए र एमबिए कार्यक्रम सञ्चालन गर्ने कलेजको पहिलो महिला प्रमुख हुन् । सो पोजिसनमा उनी महिला भएर भन्दापनि क्षमताका आधारमा पुगेको बताउँदै तर, सञ्चार जगतले नै आफूलाई एउटा महिला नेतृत्वको हिसाबले मात्रै सम्बोधन गर्दा विभेदको महसुस हुने गरेको सुनाउँछिन् । ‘मलाई सञ्चारकर्मीहरुले केही कार्यक्रममा बोलाउँदा उहाँहरुले तपाईं एकजना मात्रै महिला हुनुहुन्छ भन्ने’, ‘यो त मेरो बायोलोजिकल जेन्डर हो नि त, तर यदी मैले शिक्षा क्षेत्रमा यो तहको भूमिका निर्वाह गर्न सक्दैनथे भने मलाई महिला भएकौ आधारमा त अवस्य पनि निमन्त्रणा हुँदैन नी’, उनले अनुभव सुनाइन् । ‘मलाई त मेरो क्षमताको आधारमा नै रेस्पोन्स गरिएको हो नी, जबकी लिंगका आधारमा होइन ।’ विभेदहरु छैनन् भन्दा भन्दै पनि समाजको धारणामा रुपान्तरण आइनसकेको उनको भनाइ छ । उनले कुनै समयमा एउटा संस्थामा फ्याकेल्टी नेतृत्वको रुपमा काम गर्दा आफ्नै सासुआमाको दुघर्टना भएर एक महिना जति अस्पतालमा राख्नुपर्ने अवस्था भएको र सो अवस्थामा विदा माग्दा विभेद भोग्नुपरेको उनले उदाहरण सुनाइन् । ‘मैले संस्था र व्यक्तिको नाम त नलिउँ, तर मैले बिदा माग्न भनेर प्रिन्सिपलको अफिसमा पुग्दा उहाँले ‘हैन महिलाहरुले कति बिदा लिन्छन्, सुत्केरी बिदा, को बिमारी भयो त्यो बिदा, तपाईंहरुले कतिवट बिदा लिनुहुन्छ’ भन्नुभयो ? आफूले बिदा लिनैपर्ने सुनाउँदा प्रिन्सिपलले मुख खुम्च्याएपछि राजीनामा पत्र लेखेर सम्म दिनुपरेको उनले सुनाइन् । समाजमा अदृश्य रुपमा महिलामाथिको दृष्टिकोण विशेष प्रकारको रहेको अनुभव उनको छ । ‘समाजमा महिलाले काम पनि गरोस, तर घरको काम पनि नबिगारोस भन्ने धारणा छ’, उनले भनिन्, ‘मेरो ससुरा बुवाले मलाई इङ्लिस् कम्युनिकेशन पढ भन्नुभयो, किन भन्नुभो भने पढाउँछ्यौ नि त घर पनि हेर्न पाउँछ्यौ भनेर’, उनले भनिन्, ‘मेरो सासुआमालाई पनि शिक्षण पेशामा नै किन राखियो भने घरपनि उहाँले चलाउन मिल्छ नि त भनेर ।’ परिवर्तित परिस्थितिमा मानिसहरुको भूमिका गतिशिल भइरहेको तर, महिलाहरुलाई घरबार हेर्नुपर्छ भनेर ब्याक गर्न खोज्ने धारणा अझै पनि नहटेकोमा उनको गुनासो छ । ‘घरबार हेर्नुपर्छ, तर महिलाले नै हेर्नुपर्छ भन्ने होइन नी’, उनी भन्छिन्, ‘घरबार हेर्न महिलालाई बाध्य पारिन्छ भने महिला सरहको पुरुषलाई किन बाध्य पारिँदैन ?’ दुईवटा कलेजको प्रमुख जिम्मेवारीमा रहेर अहिले उनलाई पनि आफ्नो पेशा भन्दा घर नै बढी महत्वपूर्ण लाग्ने बताउँछिन् । ‘म अहिले यो जिम्मेवारीमा छु, तर पनि मलाई घर नै बढी महत्ववपूर्ण छ, जति मलाई यो संस्थाले व्यक्तित्व र पहिचान दिएको छ, त्यहाँ पनि मेरो पहिचान छ ।’ बच्चाबच्ची बिमारी हुँदा आमाले मात्रै बिदा लिने र स्याहार सुसार गर्ने संस्कार रहेको उनले बताइन् । घर र बच्चाबच्ची हेर्दा पुरुष र महिलाको बराबरी भूमिका हुनुपर्ने उनको भनाइ छ । जे–जे भूमिकाले महिलालाई महिला बनाएको छ, त्यो भूमिका पुरुषलाई पनि दिँदा महिलालाई पनि समाजमा पुरुष सरह विकास गर्न सकिने उनी बताउँछिन् । ‘छोरीले एउटा सन्तानलाई संसारमा लिएर आउँछे, घरपरिवार बाँधेर राख्छे, कति राम्रो काम गरेकी छ’, उनी भन्छिन्, ‘छोरा मान्छेलाई पनि सहकार्यमा बाँध्न पर्यो ।’ सरकारी तथा निजी क्षेत्रका संस्थाहरुले पनि महिलाको वायोलोजिकल फरकपना मैत्री सहजिकरण गरिदिनुपर्ने उनको धारणा छ । आफ्नै माइती परिवार शिक्षित भएपनि परिवारमा महिला भनेको अलिकति निहुरिउनु पर्ने, अनुशासित हुनुपर्ने र पुरुष भनेको जे पनि गर्नसक्ने हुन्छ भन्ने धारणा भएको उनले सुनाइन् । ‘छोरीले पनि जे पनि गर्दा हुन्छ, तर यो पुरानो पिँढीमा त मैले परिवर्तनको अनुमान गर्न सक्दिन, नयाँ आउँने पिँढीलाई बाबुआमाले दुईतर्फी हिसाबले हुर्काउने हो भने परिवर्तन हुनसक्छ ।’ औसतमा सन्तानको रुपमा छोरा नै चाहिने भन्ने हराउँदै गएको, छोरीले वा छोराले आफ्नो साथी रोज्न सक्ने जस्ता धैरै परिवर्तन विकास हुँदै गएको पनि उनले अनुभव गरेको सुनाइन् । नेपालको शिक्षा विदेशीको नक्कल गरेर जोरजाम पारेर बनाइएको हुँदा नेपालको समाजमा अनुकुलन प्रयोग हुन नसकेको उनको भनाइ छ । शिक्षकहरुमा प्रभावकारी क्षमताको अभाव रहेको आफुले महसुस गरेको उनले बताइन्, जहाँ पाठ्यक्रमको डेलिभरी सिर्जनशील हिसाबले हुन नसकेको उनले बताइन् । जसले गर्दा पनि महिलाहरुलाई बुझ्ने विषयमा सरल हुन नसकेको र त्यसैका कारण महिलाहरु सिमान्तकृत हुने अवस्था सिर्जना भएको हो । साथै संस्कृतिमा रहेको सकारात्मक पक्षलाई व्यवहारिक रुपमा प्रयोग गर्ने विषयमा पनि महिला र पुरुषको समान सहकार्य हुन नसकेको उनको भनाइ छ । संस्कृतिमाथि भएको बुझाइलाई हटाउन शिक्षाले भूमिका खेल्नुपर्नेमा त्यसो हुन नसकेको उनले बताइन् । आरक्षणको नाममा क्षमता नभएका महिलालाई अगाडि ल्याउने नभएर क्षमता भएका महिलाहरुलाई प्रतिस्पर्धाका अवसर दिने विषयमा आफ्नो सहमति भएको उनले बताइन् । पछिल्लो समयमा विशेष गरी राजनीतिक क्षेत्रमा बोल्न लेख्न समेत क्षमता नभएका महिलाहरुलाई आरक्षणको नाममा भित्र्याइएको उनले बताइन् । ‘आफ्नो अधिकार बुझेर काम गर्न सक्नेलाई अवसर दिनुपर्छ, सिनमा मात्रै महिला देखिएर भएन्, महिलाको सहभागिताले पनि राष्ट्रको लागि योगदान दिनुपर्छ ।’

राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । सङ्घीय संसद् र प्रदेशसभा सदस्यका लागि उक्त कक्षमा बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ । मतदान अधिकृतसहितको टोली खटिएर मतदान केन्द्र निर्माण गरिसकेको उनले बताए । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता हुनुहुन्छ । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ । निर्वाचनलाई व्यवस्थित गर्न मतदाता र मिडियाकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको स्थानको व्यवस्था मिलाइएको छ । निर्वाचनमा सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । निर्वाचनका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वाेच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिएका छन् । निर्वाचन र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सातजनाको कर्मचारीको टोली खटिनेछ । राष्ट्रपति पदको निर्वाचनमा नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । समग्र निर्वाचनका लागि पौडेलका तर्फबाट रमेश लेखक र नेम्वाङका तर्फबाट महेश बर्ताैला प्रतिनिधिका रुपमा रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । यसैबीच, निर्वाचनमा मतदानका लागि सबै प्रदेशका सांसदहरु काठमाडौं आइपुगिसकेका छन् ।

कुटुम्ब ब्यान्ड र इन्टरनेसनल साउन्ड सर्भिसद्वारा विद्यार्थीलाई सहयोग प्रदान

काठमाडौं । कुटुम्ब ब्यान्ड र इन्टरनेसनल साउन्ड सर्भिसले विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको छ । प्रसिद्ध सांगितिक समुह कुटुम्ब र इन्टरनेसनल साउन्ड सर्भिसले काभ्रेपलान्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा न. ३ स्थित वेथानचोक नारायण आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग प्रदान गरेका छन् । उक्त विद्यालयका ११७ विद्यार्थीहरुलाई स्कुल ब्याग तथा स्टेसनरी सामानहरु प्रदान गरिएको हो । वडा अध्यक्ष कुबेर ढकालको प्रमुख आतिथ्यतामा कुटुम्ब ब्यान्डको तर्फबाट तबालाबादक पबित महर्जन र इन्टरनेसनल साउन्ड सर्भिसका तर्फबाट सुरेश शाक्यले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक सिताराम लामालाई यी सामानहरु हस्तान्तरण गरिएको हो । कुटुम्बको स्कुल टु स्कुल कार्यक्रम अन्तर्गत यी सहयोग सामाग्रीहरु प्रदान गरिएको ब्यान्डका पबित महर्जनले बताए । त्यस्तैगरी आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई अध्ययन सामाग्रीहरु प्रदान गरिएको इन्टरनेसनल साउन्ड सर्भिसका सुरेश शाक्यले बताए । यस बारेमा बोल्दै विद्यालयका प्रधानाध्यापक सिताराम लामाले भने,’विद्यार्थीहरुको पठनपाठन सहज बनाउनको लागि उनीहरुले जुन सहयोग प्रदान गरेका छन्, त्यसले पक्कै पनि सम्बन्धित विद्यार्थीहरुलाई हौसला र प्रेरणा मिलेको छ । इन्टर्नेसनल साउन्ड सर्भिस र कुटुम्बको यो सहयोग प्रति हामी आभारी छौँ ।’

काठमाडौं प्लाजामा सर्ने तयारीमा महानगर, सबै सेवा एकै ठाउँबाट

काठमाडौं । काठमाडौं महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्ने गरी काठमाडौं प्लाजामा सर्ने अन्तिम तयारी गरेको छ । महानगरका अनुसार यही फागुनभित्र आवश्यक प्रक्रिया पूरा गरी नेपाल ट्रष्टसँग सम्झौता गर्ने तयारी भइरहेको छ । महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा विभिन्न १६ वटा विभाग छन् । ती सबै विभागले हाल दश स्थानबाट सेवा प्रवाह गरिरहेका छन् । यसरी धेरै स्थानबाट सेवा दिनुपर्दा कामपालाई समस्या भएको र नागरिकले पनि सास्ती खेप्नुपरेको भन्दै जतिसक्दो छिटो काठमाडौँ प्लाजामा सर्ने तयारी गरेको हो । विसं २०७२ को भूकम्प जानुअघि एकै स्थानबाट सेवा प्रवाह गरिरहेको महानगरको अहिले केन्द्रीय कार्यलय सुन्धारामा छ भने वातावरण विभाग टेकुमा, राजस्व विभाग बबरमहल, सहकारी विभाग बिजुलीबजार, शिक्षा विभाग ताहाचल, केही विभाग राष्ट्रियसभा गृहमा गरी विभिन्न दश स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।

सहकारी व्यवस्थापकहरुको गोष्ठी शुरु : वित्तीय अनुशासनमा केन्द्रित हुने प्रतिवद्धता

काठमाडौं । राजधानीमा बुधबारदेखि सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी शुरु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा भएको गोष्ठीमा वक्ताहरुले सहकारीको वित्तीय सुशासनमा केन्द्रित हुन प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई सुझाव दिए । सञ्चालकहरुले बदमासी गरे त्यसको प्रतिवाद व्यवस्थापकहरुले गर्नुपर्ने समेत वक्ताहरुले सुझाव दिएका छन् । कार्यक्रममा बोल्ने अधिकांश सहकारीकर्मीहरुले सरकारले बचतको सीमा २५ लाख तोक्न लागेको प्रति चिन्ता व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारीको सुशासनका लागि स्पष्ट ऐन कानुको आवश्यक पर्ने र त्यसका लागि सरकार तयार हुनुपर्ने बताए । ‘देशमा आर्थिक समस्यामा आइरहेको छ, सहकारी र लघुवित्तमा चरम समस्या छ । के कारणले यस्तो समस्या आइरहेको हो ? किन वित्तीय सुशासन छैन ? सरकारको ध्यान जानु जरुरी छ’ सभामुख घिमिरेले भने, ‘सरकारले आवश्यक कानुनका लागि तयारी गरोस् यसमा सहयोग गर्न म तयार छु ।’ सोही अवसरमा सभामुख घिमिरेले सहकारी गाउँगाउँमा गरिब किसानहरुको साना साना पुँजी संकलन गरेर वित्तीय उपार्जनमा लगाउने सामाजिक संस्था भएकाले यस्तो संस्थालाई बचाउनु सबैको दायित्व भएको बताए । ‘उत्पादन, रोजगारीबाट गरिबी हटाइ समाजवाद उन्मुख समाजवाद स्थापना सहकारीबाट हुने भएकाले यसतर्फ सरकारको यथोचित ध्यान पुगोस् भन्ने मलाई लाग्छ’ उनले भने, ‘तर पछिल्लो समय सहकारीको माध्यमबाट ठगी गर्ने प्रवृति बढ्दै गएका भन्ने गुनासाहरु सुनिराखेका छौं । यस्तो कार्याललाई नियन्त्रण गर्न आवश्यक छ । सरकारले यसको अनुगमन गर्नुपर्यो र देखा परेका समस्या समयमै समाधान गर्नुर्यो’ उनले भने । सोही अवसरमा सभामुख घिमिरेले ७ खर्ब भन्दा बढी रकम परिचालन गर्ने सहकारीलाई व्यवस्थि तगर्न छुट्टै ऐन आवश्यक भएको समेत बताए । सम्पत्ति शुद्धीकरणको हिसाबले सहकारीमा अवैध धन हुन्छ भन्दै बचतमा २५ लाखको सीमाको कुरा आएको बताउँदै घिमिरेले सो क्षेत्रमा यस्तो हुँदैन भनेर ग्यारेन्टी गर्न सके त्यो सीमा हट्न सक्ने समेत बताए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष एवम् पूर्वमन्त्री केशवप्रसाद बडालले सहकारीमा प्रविधि अत्यावश्यक भएको बताए । कुनै पनि समुदाय पछि पर्न नहुने र त्यसका लागि सहकारीले सहयोग गर्नुपर्ने उनले बताए । ‘सहकारीमा गैरकानुनी मुद्रा प्रयोग होस् भन्ने हामी पनि चाहदैँनौं, सहकारीमा कालोधन छ भन्ने भ्रम फिजाइएको छ’ उनले भने, ‘सहकारीको मूल्य, मान्यतामा नचलेका सहकारीमा समस्या आएको हो । सहकारीमा २५ लाखको सीमा कुनै पनि कारणले उचित छैन यसको कार्यान्वयन हामीलाई मान्य छैन । यो प्रावधान तत्काल हटाइयोस्’ उनले भने । जहासम्म सहकारीमा समस्याको विषय छ, संघ संस्थाहरु ऐन नियम, विनियम अनुसार चले समस्या नआउने बताउँदै उनले त्यसका लागि संघ संस्थाका व्यवस्थापकहरु चनाखो हुनुपर्ने बताए । यस्तै भनाई राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीको पनि रहेको छ । स्वनियमनमा चलेको सहकारीमा समस्या नरहेको बताउँदै सहअध्यक्ष दवाडीले सहकारी नचलाई बैंकसँग प्रतिष्पर्धा गर्नेहरु समस्यामा फसेको बताए । नीति, नियम कार्यान्वयन गर्ने व्यवस्थापक नै भएकाले बढी जिम्मेबार हुनुपर्ने उनको दवाडीको भनाइ छ । ‘उद्यमी बन्न ऋण प्राथमिकता दिनुपर्छ, घरघडेरीमा ऋण दिन कडाइ गर्नुपर्छ । चलायमान हुने ठाउँमा मात्र ऋण दिए आर्थिक रुपान्तरण हुने हो । तर, अधिकांश संघ संस्थाले घडेरीमा ऋण लगानी गरेका छन्, कतिपय सहकारी आफैले घडेरी किनलेकाले समस्या आएको हो’ उनले भने । बचतमा क्यापिङको सन्दर्भमा असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष दवाडीले भने, ‘समस्या बचतमा होइन व्यवस्थापनमा हो । यसो हो भने बचतमा मात्र किन ऋणमा पनि क्यापिङ गरौं ।’ सहकारीमा २५ लाखको सीमा हटाउन माग गरे । तर, सहकारीमा सम्पत्ति शुद्धीकरणको समस्या छैन हुँदैन भन्ने ग्यारेन्टी भए बचतको सीमामा पुनरविचार हुन सक्ने भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले बताए । ‘सहकारीमा केही चुनौती थपिएका छन् । सहकारी तीन तहमा गए पनि तल संरचना बन्न नसक्दा समस्या आएको हो’ सचिव रेग्मीले भने, ‘कोभिडका कारण समग्र वित्तीय क्षेत्र नै आक्रान्त बन्दा समेत सहकारीमा असर परेको छ । सहकारीकर्मीहरु सचेत भए वित्तीय सुशासन कायम गर्ने हो भने समस्या आउँदैन’ उनले भने । सोही अवसरमा सचिव रेग्मीले सहकारी ऐनलाई पनि जतिसक्दो चाढो ल्याउनुपर्ने बताए । सोही कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या नरहेको बताए । सहकारीको नाममा गलत काम गरेकाले समस्या आएको उनको भनाइ छ । ‘सहकारीका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ, ती सहकारी होइन, बदनाम गरिरहेका छन्’ उनले भने । देशैभरी सेवाकेन्द्र खोलेर बजार प्रतिनिधि चिनेको भरमा करोडौं बचत राख्ने गरिएको र लगानी आफ्नो स्वार्थ अनुकुल खोलिएका कम्पनीमा लगानी गर्दा समस्या आएको उनले बताए । विश्वमै आएको समस्या नेपाली वित्तीय क्षेत्रमा पर्नुु स्वभाविक भए पनि सहकारीमा त्यसको असर नपरेको उनले बताए । सहकारी बिग्रिने, बिगार्ने ५० प्रतिशत भन्दा बढी जिम्मेवारी प्रमुख कार्यकारी अधिकृतको हुने उनले बताए । सिइओ भ्रष्ट भए, सहकारी बदनामी हुन्छ । सञ्चालकमा राजनीति हुन्छ । कर्मचारीमा विज्ञता हुन्छ, निर्णयमा सहयोग गर्ने र कार्यान्वयन गर्ने हो’ उनले भने । नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौडेले सहकारीका चालक (व्यवस्थापक) हरु सक्षम भए संस्थाहरु दुर्घटनामा नपर्ने बताए । नेपालका सहकारीलाई स्थरिकरण र स्तरिकरण गर्नुपर्ने बताए ।

महिलाहरु अब प्रधानमन्त्री बन्न सक्छन् : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यस खालको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाहरुको लागि गर्वको विषय भएको बताए । ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार च्यासलस्थित एमाले केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुनु सामान्य विषय नभएको बताए । अध्यक्ष ओलीले महिलाहरु अब प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताए ।

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल प्रहरीलाई सहयोग गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ । महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय, टेकु, काठमाडौंलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चेकिङ्ग बोर्ड, सामाजिक जनचेतनामुलक पुस्तिका, आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर र मास्क हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ । मालीगाँउ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र रात्रिकालिन समयमा प्रहरी चेकिङ्ग गर्न सहयोग पुर्याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको हो । सामुदायिक सेवाकेन्द्र तथा सामुदायिक प्रहरी सेवाकेन्द्र, नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठ र प्रहरी वृत्त मालीगाँउका बरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त थापालाई बैैंकका निक्षेप बजारिकरण तथा कर्पोरेट सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले उक्त सामाग्री हस्तान्तरण गरेकी छिन् । त्यसैगरि बैंकको शंखमुल शाखाद्वारा जिल्ला प्रहरी कार्यालय, टेकुलाई फ्लोरेशन ज्याकेट हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । रात्रिकालिन समयमा सडकमा खटिएका प्रहरीहरुको जोखिम व्यवस्थापनमा सहयोग पु¥याउनका लागि बैंकले उक्त सहयोग प्रदान गरेको हो । जिल्ला प्रहरी कार्यालय, टेकुका प्रहरी उपरिक्षक सिताराम रिजाललाई शंखमुल शाखाका प्रमुख पुण्य श्रेष्ठले उक्त सामाग्री हस्तान्तरण गरेकी हुन् । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैैंकले जनाएको छ ।