पोखरा । पोखराको अन्नपूर्ण केवलकारले होलीको अवसर पारेर सोमबारदेखि पोखरा वरिपरिको दृश्यावलोकन सहज बनाउँदै केवलकारमा ५० प्रतिशत छुटको घोषणा गरेको छ ।
यो योजना होलीको दिनदेखि पोखरा घुम्ने नेपाली पर्यटकका लागि ल्याइएको केवलकारले जनाएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कम्पनीले यस्तो व्यवस्था गरेको केवलकारका प्रशासन प्रमुख दामोदर तिमिल्सिनाले बताए ।
कम्पनीका अनुसार बिहान ५ देखि साढे ७ बजेसम्म सराङकोटबाट सूर्योदय अवलोकनका लागि जान चाहने पर्यटकले दुईतर्फी भाडा ४ सयमात्रै तिरे पुग्नेछ । यसअघि सो समयमा ७ सय रुपैयाँ भाडा रहेको थियो ।
त्यस्तै अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै दुईतर्फी भाडा ३५० रुपैयाँ मात्रै कायम गरिएको कम्पनीले जनाएको छ । केबलकारले विद्यार्थी र बालबालिकाका लागि बिहान ५ बजेदेखि साढे ७ बजेसम्म दुईतर्फी ४ सय र एकतर्फी यात्राका लागि २ सय रुपैयाँ शुल्क तय गरेकाे छ ।
केबलकारले साढे ७ देखि ८ बजेसम्मको समय ‘ब्रेक’ राखिएको छ भने बिहान ८ बजेदेखि साढे १ बजेसम्मका लागि भने पहिलेकै भाडादर तय गरेकाे छ ।