काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को इतिहासमै महिला पाइलटले जहाजको कमाण्ड सम्हालेका छन् ।
आइतबार युएई गएको निगमको एयरबस ३२० (न्यारोवडी) जहाज बुधबार बिहान काठमाडौं फर्कदा जहाजको कमाण्ड महिलाले सम्हालेको निगमले जनाएको छ ।
नेपाल एयरलाइन्सको इतिहासमा नै पहिलो पटक महिला चालह दलका सदस्यले जहाजको कमाण्ड सम्हालेको जनाईएको छ ।
क्यापटेन भावना पन्त र कोपाइटल श्रृजना राउतसँगै उक्त जहाजमा आइएफएस बास्ना राना, फ्लाईट पर्सर अन्जक महर्जन, एयर होस्टेस संगीता के.सी, र अनिशा प्रजापति रहेका थिए ।

यूएईबाट काठमाडौंका लागि आज बिहान ४ बजेर ५५ मिनेट जाँदा उडेको उक्त जहाज बुधबार बिहान ९.५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा अवतरण गरेको हो ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर निगमले एउटा उडान महिलाको जिम्मामा दिएको हो । हाल निगममा ९ जना महिला क्यापटेन कार्यरत रहेका छन् । ९ जना महिला क्यापटेन भएपनि हालसम्म महिलाले मात्रै कुनै पनि उडान भरेका थिएनन् । जसमा एयरबस ३३० (वाईडबडी) मा १ जना, न्यारोवडीमा ४ जना र ४ जना आन्तरिक उडानका विमानमा कार्यरत रहेका छन् । यसैगरी निगममा कार्यरत १४५ क्याविन क्रू मध्ये ९६ जना महिला क्याविन क्रू रहेका छन् ।
निगमका प्रवक्ता अर्चना खड्का निगमको इतिहासमै पहिलो पटक महिलाले जहाजको नेतृत्व लिएको बताउँछिन् ।
मन्त्रीको बधाई
संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले एयरबस २२० जहाज उडान गर्ने चालक दलका महिला सदस्यलाई विमानस्थलमै पुगेर बधाई दिएका छन् ।

‘संयोग मात्र होइन, महिलाहरूले अवसर पाउँदा गर्न सक्छन् भन्ने प्रमाण पनि हो, बधाई छ दिदीबहिनी पाइलटहरू भावना पन्त गिरी र सृजना रावललाई, नेपालकै इतिहासमा महिलाहरुमात्रै रहेको चालक दलले पहिलो पटक राष्ट्रिय ध्वजाबाहक एअरबस ३२० नेपाल–दुबई र दुबई–नेपालको सफल उडान भरेका छन्’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेवानीमा अरू ९ जना महिला पाइलटहरू पनि रहेको सगौरव जानकारी गराउन चाहन्छु ।’
को हुन क्यापटेन पन्त ?
सन् १९९१ मा रुसमा अध्ययन सकेर नेपाल फर्किएर हवाई सेवामा प्रवेश गरेकी ४५ वर्षीय पन्त विगत २५ वर्षदेखि नेपालको हवाई क्षेत्रमा आवद्ध छिन् । रुसबाट फर्किदा तत्कालीन नेपाल एयरवेजमा काम गर्ने तयारी गरेतापनि नेपाल एयरवेज बन्द भएपछि तीन वर्षसम्म बेरोजगार बनेकी उनले तत्कालीन नेकोन एयरबाट एभियसन क्षेत्रमा प्रवेश गरेकी हुन् ।
उनी देशकै तेस्रो महिला पाइटल समेत हुन । उनले निकोन एयरमा काठमाडौं–पटना उडान गरेका थिइन् भने बुद्ध एयरबाट भारतको बनारसमा समेत उडान गरेकी थिइन् । उनी निगममा करार कर्मचारीका रुपमा कार्यरत छिन् ।

सौर्य एयरमा उनले पहिलो महिला जेट एयर चालकको रुपमा समेत आफ्नो नाम राख्न सफल भएकी छिन् । उनले ६ वर्ष नेकोन एयर, ९ वर्ष बुद्ध एयर र २ वर्ष सौर्य एयरमा काम गरिसकेकी छन् ।
उनी तत्कालीन राज परिवारका निजी क्याप्टेन बलराम पन्तकी माहिली छोरी हुन् । क्यापटेन पन्तका तीन छोरी र एक छोरामध्ये छोरा र पन्त एभियसन क्षेत्रमै कार्यरत छन् ।