काठमाडौं । चालू आर्थिक वर्षको सात महिनाको अबधिमा ८ प्रतिशतले मूल्य बृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्यांक अनुसार मूल्यबृद्धि ७.८८ प्रतिशतले बढेको हो ।
अघिल्लो वर्षको सोही महिनामा ६.२४ प्रतिशत मूल्यबृद्धि रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ ।
सात महिनाको अबधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले बढेको छ ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप समूहको मूल्य सूचकाङ्क १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.७८ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ९.०० प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ माघ महिनामा उक्त क्षेत्रहरुमा क्रमशः ५.४७ प्रतिशत, ६.५० प्रतिशत, ६.७१ प्रतिशत र ५.९७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।