उपराष्ट्रपतिका ४ उम्मेदवारले लिएनन् नाम फिर्ता
काठमाडौं । उपराष्ट्रपति पदका लागि ४ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको छ । आईतबार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवार दिएका कोही पनि उम्मेदवारहरुले नाम फिर्ता नलिएपछि ४ जनाकै उम्मेदवारी कायम रहेको हो । उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदको उम्मेदवार रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए । उनले भने, ‘नाम फिर्ता लिने समय १ देखि ४ बजेसम्मको थियो, कुनैपनि उम्मेदवारले नाम फिर्ता लिनुभएन र हामीले अहिले अन्तिम नामावली प्रकाशित गरिसकेका छौँ, अष्टलक्ष्मी शाक्य बोहरा, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव हुनुहुन्छ ।’ उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।
पानी नपर्दा ताप्लेजुङमा अलैँचीका बोट सुक्न थाले, घाटामा किसान
फुङ्लिङ । ताप्लेजुङमा अलैँचीका बगान हरिया हुनुपर्नेमा राताम्य भएर बोट ढलिरहेका देखिन्छन । अलैँचीका बोट सुकेर बगान सोत्तर भएका छन् । अलैँची बगानमा डढेलोको जोखिम पनि उत्तिकै छ । फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका कृषक सुशन लिम्बूले लगाएको अलैँची बगानको अवस्था यस्तै रहेको छ । कुनै समयमा कालो सुनको उपनामले परिचित अलैँची अहिले बगानमै सुक्न थालेको छ । लामो समय वर्षा नहुँदा पहाडी क्षेत्रको मुख्य नगदेबाली अलैँची सुक्न थालेको हो । खोलामा पानी सुकेकाले सिँचाइ गर्ने उपाय छैन । हिउँ नपर्दा चिस्यानको थप समस्या भएको छ । हरियो देखिनुपर्ने बगान यतिबेला सुकेर रातै देखिन थालेको लिम्बूले बताए । विगतका वर्षमा पुसको तेस्रो सातादेखि वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने गर्दथ्यो । तर यस वर्ष भने खासै हिमपात भएको छैन । हिमाली क्षेत्रमा हिमपात नहुँदा पानीको स्रोत पनि कमी हुँदै गएको फक्ताङलुङ–५ का पार्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजु हेल्लोकले बताए । उनले भने, ‘खासै हिमालमा हिउँ परेको छैन । पर्याप्त वर्षा पनि भएको छैन । अलैँची बगानमा पर्याप्त सिँचाइ नहुँदा सुक्न थालेको छ ।’ सिरिजङ्घा गाउँपालिका–६ मामाखेका रनकुमार माबोको यतिबेला हरियो हुनुपर्ने बगान सुकेर रातो भएको छ । गत वर्ष अनुकल मौसम हुँदा यस वर्ष उत्पादनमा वृद्धि भएको थियो । अर्को वर्ष उत्पादनमा ठूलो ह्रास आउनसक्नेमा माबोको चिन्ता छ । ‘यतिबेला पालो गरीगरी बोट भिजाउनुपर्ने हो’, उनले भने, ‘खोलामा थोपो पानी नहुँदा सिँचाइको समस्या भएको छ ।’ साउनदेखि मङ्सिर पहिलो सातासम्म टिपिसक्ने अलैँचीमा त्यसपछि सिँचाइ गर्नुपर्छ । सम्भव हुनेले प्रत्येक बोटको फेदमा मल लगाएर त्यसलाई भिजाउँछन् । जरामा चिस्यान रहोस् भनेर पतझरले छोप्ने र त्यसमाथि सिँचाइ गर्ने चलन पनि छ । ‘पानी नै नभएपछि यी सबै सम्भावना सकिँदो रहेछन्’, मेरिङ्देन गाउँपालिकाका अलैँची कृषक शेखर लिम्बूले भने, ‘केही ठाउँमा पानीको स्रोत भएका कृषकले भने स्प्रिङकल (सिँचाइ गर्ने एक प्रकारको मिसिन)बाट सिँचाइ गरिरहेका छन् ।’ गत वर्ष माघभरीमा चार पटक वर्षा भएको थियो । तीन पटकसम्म परेको ठूलो हिमपातले खोलामा पानी प्रशस्तै बग्यो । यस वर्ष असोजको सुरुदेखि नै वर्षा नभएको किसान बताउँछन् । न त हिमपात नै भएको छ । यतिबेला जिल्लाका बेंसीदेखि लेकसम्मकै हिउँदे बालीमा असर परेको किसानको दुखेसो छ । कृषि ज्ञानकेन्द्र ताप्लेजुङको तथ्याङ्कअनुसार यो आर्थिक वर्ष दुई हजार छ सय ५० टन अलैँची उत्पादन भएको छ । जिल्लाको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको छ । गत वर्षको तुलनामा ५० हेक्टरले कमी रहेको ज्ञानकेन्द्रको तथ्याङ्कमा उल्लेख छ । फल लाग्नुभन्दा पहिला यो समयमा अलैँचीको टुसा लाग्ने गर्दछ । वर्षाले टुसामा फूल खेल्न सहयोग गर्दछ र अर्को वर्षको उत्पादनमा वृद्धिमा सहयोग पु¥याउँछ । यतिबेला अलैँचीलाई पानीको अधिक आवश्यकता पर्छ । पानीले भिजाउने र तातोले राप सिर्जना गर्दा जरा भर्ने जोखिम अति हुन्छ । जमिन तातेका बेला वर्षा हुँदा राहतको साटो बिरुवालाई आहात हुने किसानको भनाइ छ । हिमालमा हिउँ हुँदा त्यहाँबाट आउने चिसो हावाले पनि राहत हुने तर त्यो नभएकाले किसान चिन्तित बनेका छन् । अलैँचीलाई ओसिलो जमिन, सिँचाइ सुविधा अनिवार्य चाहिन्छ । विगतमा एक मन (४० किलो) को एक लाख २० हजारसम्ममा खरिद बिक्री भएको थियो । अहिले ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बजारमा प्रतिमन अलैँची ३५ हजारमा खरिद बिक्री भइरेको फुङ्लिङ नगरपालिका–५ का व्यापारी दिनेश अधिकारीले बताए । गत साता ३२ हजारमा कारोबार भएको अलैँची बुधबार ३५ हजारमा कारोबार भएको उनले बताए । रासस
सिटिजन्स बैंकका ग्राहकलाई आवरण स्किन एण्ड हेयर क्लिनिकमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिकबीच सम्झौता भएको छ । बैंक र क्लिनिकबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझौता भएको हो । सो सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले आवरण स्किन क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए।टि।एम। र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
मेट्रो सुपर मार्केटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट
काठमाडौं । स्मार्ट क्युआरले मेट्रो सुपर मार्केटसँग सम्झाैता गरेकाे छ । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवको अवसरमा दई बीच सम्झाैता भएकाे हाे । सम्झाैता अनुसार ग्राहकहरुले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम प्रति कारोबार १०० रुपैयाँ र अफर अवधिभर ३०० रुपैयाँसम्म छुट पाउनेछन् । स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले मेट्रो सुपर मार्केटको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने बताइएकाे छ । यस अफर अन्तर्गत मेट्रो सुपर मार्केर्टका पेप्सीकोला, सानेपा र जोरपाटी स्थित शाखामा एनआई सी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, यन क्याश तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।
‘आइएमई पे’ मोबाइल टप अपमा ५ प्रतिशत क्यासब्याकको निरन्तरता
काठमाडौं । ‘आइएमई पे’ ले आफ्नो सेवाग्राहीहरूलाई आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत राखेको छ । टप अपमा पाँच ५ प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीहरूलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावात राखिएको कम्पनीले बताएको छ । कम्पनीले सेवाग्राहीहरूले दुई हजार रिर्चाज गर्दा १०० रुपैयाँ, एक हजार गर्दा ५० रुपैयाँ र एक सय गर्दा ५ रुपैयाँ क्यासब्याकका साथै हरेक रिर्चाजमा ५ प्रतिशतसम्म प्राप्त हुनेगरी व्यवस्था गरेकाे जनाएकाे छ । यसमा आइएमई पेमा दर्ता भएको मोबाइल नम्बरमा पाँच प्रतिशत र दर्ता नभएको मोबाइल नम्बरमा दुई प्रतिशत क्यासब्याकको व्यवस्था रहेको छ ।
म मन्त्री बन्दिनँ, बन्न पनि मिल्दैन : गगन थापा
काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको कार्य्रक्रममा उनले यस्ताे बताएका हुन् । उनले आफूले ५ वर्षकाे लागि पाएकाे जिम्मेवारी सांसद भएकाे बताउँदै उनले सबै कामहरु काँग्रेसको महामन्त्री भएर गर्ने बताए । ‘मैले सांसद भएर प्रधानमन्त्रीकोमा, संसदमा उठाउनुपर्ने कुराहरु उठाउँछु, म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु, न बन्छु अहिले, मैले अहिले काँग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो,’ उनले भने । यस्तै, उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरी सुधार गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् । ‘मुलुकको अर्थतन्त्र सुधारमा सरकार गम्भीर हुनुपर्छ’, उनले भने, ‘पाँच वर्षका लागि बनेको सरकारले गर्ने काम पाँच महिनाभित्रै संकेतका रुपमा देखिनुपर्छ ।’
यूएईमाथि नेपालको सानदार जित, एकदिवसिय मान्यता जोगायो
काठमाडौं । नेपालले यूएईमाथि सानदार जित हासिल गरेको छ । नेपालले यूएईमाथि १७७ रनको जित हात पारेको हो । योसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । हारसँगै यूएईले ओडीआई मान्यता गुमाएको छ भने अमेरिकाको ओडीआई मान्यता जोगिएको छ । टस जितेर पहिला बलिङ गरेको नेपालले २४८ रनको लष्य दिएको थियो । २४९ रनको लक्ष्य पछ्याएको यूएईले ७१ रन मात्रै बनाउन सक्यो ।
२६ अंकले घट्यो सेयर बजार, एक अर्ब ६६ करोड रुपैयाँको कारोबार
काठमाडौं । आइतबार सेयर बजार २६.८० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सेयर बजार घटेर १९७५।८९ विन्दुमा पुगेको छ । यसरी बजार घट्दा गुडविल फाइनान्स डिबेन्चर लिमिटेड २०७८ को सेयर मूल्य सबैभन्दा बढी घटेको छ भने शुभम पावर लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी बढेको छ । यस्तै, सबैभन्दा बढी कारोबा गर्नेमा शिवम् सिमेन्टका सेयरधनीहरु रहेका छन् । कम्पनीको ८ करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेप्सेको अनुसार आज ४७ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ ।