विकासन्युज

म मन्त्री बन्दिनँ, बन्न पनि मिल्दैन : गगन थापा

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको कार्य्रक्रममा उनले यस्ताे बताएका हुन् । उनले आफूले ५ वर्षकाे लागि पाएकाे जिम्मेवारी सांसद भएकाे बताउँदै उनले सबै कामहरु काँग्रेसको महामन्त्री भएर गर्ने बताए । ‘मैले सांसद भएर प्रधानमन्त्रीकोमा, संसदमा उठाउनुपर्ने कुराहरु उठाउँछु, म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु, न बन्छु अहिले, मैले अहिले काँग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो,’ उनले भने । यस्तै, उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरी सुधार गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् । ‘मुलुकको अर्थतन्त्र सुधारमा सरकार गम्भीर हुनुपर्छ’, उनले भने, ‘पाँच वर्षका लागि बनेको सरकारले गर्ने काम पाँच महिनाभित्रै संकेतका रुपमा देखिनुपर्छ ।’

यूएईमाथि नेपालको सानदार जित, एकदिवसिय मान्यता जोगायो

काठमाडौं । नेपालले यूएईमाथि सानदार जित हासिल गरेको छ । नेपालले यूएईमाथि १७७ रनको जित हात पारेको हो । योसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । हारसँगै यूएईले ओडीआई मान्यता गुमाएको छ भने अमेरिकाको ओडीआई मान्यता जोगिएको छ । टस जितेर पहिला बलिङ गरेको नेपालले २४८ रनको लष्य दिएको थियो । २४९ रनको लक्ष्य पछ्याएको यूएईले ७१ रन मात्रै बनाउन सक्यो ।

२६ अंकले घट्यो सेयर बजार, एक अर्ब ६६ करोड रुपैयाँको कारोबार

काठमाडौं । आइतबार सेयर बजार २६.८० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सेयर बजार घटेर १९७५।८९ विन्दुमा पुगेको छ । यसरी बजार घट्दा गुडविल फाइनान्स डिबेन्चर लिमिटेड २०७८ को सेयर मूल्य सबैभन्दा बढी घटेको छ भने शुभम पावर लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी बढेको छ । यस्तै, सबैभन्दा बढी कारोबा गर्नेमा शिवम् सिमेन्टका सेयरधनीहरु रहेका छन् । कम्पनीको ८ करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेप्सेको अनुसार आज ४७ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ ।

नेपालमै ‘खानी’ इञ्जिनियरको पढाई सुरु गर्दै काठमाडौं विश्वविद्यालय

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू-विज्ञान तथा माइनिङ इञ्जिनियरिङ (खानी इञ्जिनियर)को अध्यापन सुरु गर्ने भएको हो । देशभित्र ‘खानी’ इञ्जिनियरको अभाव महसुस गरी केयूले उक्त विषयको अध्यापन गरिने जनाएको छ । उक्त विषयमा आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा अध्यापन सुरु गर्ने योजना रहेको विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले बताए। उनले भने, ‘देशमा रहेका खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरको अभाव देखिएको छ, त्यसका लागि स्नातक तहमा चारवर्षे भू–विज्ञान तथा माइनिङ इञ्जिनियरिङको अध्यापन सुरु गर्न लागेका हौँ ।’ नेपालमा खानीजन्य उद्योगको विकास हुँदै गए पनि जनशक्ति भने अभाव हुँदै गएको थापाको भनाइ छ । ‘पाठ्यक्रमको मस्यौदा तयार गरिसकेका छौँ, खनिजको अन्वेषण, उत्खनन, प्रशोधन र उपयोगका लागि त्यसको गुणस्तरको सुनिश्चितता गर्नेबारे अध्यापन हुनेछ’, उनले भने । उनका अनुसार विश्वविद्यालयले उक्त विषयमा वार्षिक ३० जना विद्यार्थीलाई अध्यापन गराउने छ । उक्त विषय नेपालमा नै पहिलो पटक अध्यापन हुनेसमेत जनाइएको छ । नेपालमा खानी इञ्जिनियरिङ विषयको अध्यापन नभएका कारण खानी तथा भूगर्भ विभागमा दरबन्दीअनुसारको कर्मचारीको अभाव छ । विज्ञका अनुसार नेपालका विभिन्न स्थानमा उद्योग तथा सामग्री निर्माणका लागि आवश्यक पर्ने चुनढुङ्गा, कोइला, रातो माटो, ग्रेनाइट, सिङमर्मर, कोइला, सुन र बहुमूल्य र अर्ध–बहुमूल्य पत्थर (टुरमलाइन, एक्वामेरिन, रुवी र नीलमणि) रहेको छ । यस्तै केयूले सुरु गर्न लागेको भू–विज्ञान तथा माइनिङ इञ्जिनियरिङ विषयलाई गण्डकी विश्वविद्यालयले पनि सञ्चालन गर्न चासो देखाउँदै गत माघ दोस्रो साता केयूसँगै सम्झौता गरेको थियो । केयूले दुईसाता अघिमात्रै काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्न सम्झौता गरेको थियो । सम्झौतामा गाउँपालिकाको ४, २ र १ वडामा पर्ने बाइसेढुङ्गाबाट दुर्लुङखोला हुँदै चौतारीसम्म चार महिनामाभित्र सुरङमार्ग अध्ययन गरी प्रतिवेदन तयार गर्नुपर्ने उल्लेख गरिएको छ । रासस

अर्थतन्त्र ठीकठाक भएको राष्ट्र बैंकको सन्देश, १० महिनाको आयात धान्ने वैदेशिक मुद्रा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ७ महिनामा अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अर्थतन्त्रका महत्वपूर्ण सूचकहरुमा सुधार देखिएकको हो । पछिल्लो समय बैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेपछि रेमिट्यान्स पनि सुधार देखिएको छ भने विदेशी मुद्राको सञ्चिति पनि बढको छ । अर्थतन्त्रका विभिन्न सूचकहरु सुधार हुँदा अर्थतन्त्र पनि सही दिशामा रहेको राष्ट्र बैंकको सन्देश छ । शोधनान्तर स्थिति १ खर्ब ३३ अर्बले बचतमा चालू आर्थिक वर्षको माघ मसान्तसम्म शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२४७ अर्ब ३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ । यस्तै, समीक्षा अवधिमा चालु खाता रु.२९ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.४११ अर्ब ३४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ४५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४६ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १५.२ प्रतिशतले कमी आई रु.५ अर्ब ३५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.६ अर्ब ३१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब २९ करोड रहेको थियो । पौने १४ खर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति चालू आर्थिक वर्षको माघ मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १३.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको माघ मसान्त सम्मको तथ्यांक अनुसार २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले वृद्धि भई २०७९ माघ मसान्तमा रु.१३८३ अर्ब ३३ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ माघ मसान्तमा १०.२ प्रतिशतले वृद्धि भई १० अर्ब ५० करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ माघ मसान्तमा १६.२ प्रतिशतले वृद्धि भई रु.१२२८ अर्ब ५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ माघ मसान्तमा २.६ प्रतिशतले कमी आई रु.१५५ अर्ब २८ करोड कायम भएको छ । २०७९ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९र८० को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७९ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.५ प्रतिशत, ७८.३ प्रतिशत र २४.० प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए । रेमिट्यान्स पनि बढ्यो ७ महिनासम्म पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स पुगेको छ । चालू आव ७ महिनाको तथ्यांक अनुसार विप्रेषण आप्रवाह २७.१ प्रतिशतले वृद्धि भई ६८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजा ७६७ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भई रु.७५९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो । आयात र निर्यात घट्यो चालू आर्थिक वर्षको सात महिनामा नेपालले ९३ अर्ब बराबरको निर्यात गरेको छ । सात महिनाको तथ्यांक अनुसार नेपालले ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात गरेको हो । बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अबधिमा ८८.३ प्रतिशतले निर्यातमा वृद्धि भएको थियो । गत आवको तुलनामा चालु आवको सो अवधिमा २९ प्रतिशतले निर्यातमा कमी आएको हो । यस्तै, चालू आवको सात महिनाको अबधिमा नेपालले विभिन्न देशबाट ९ खर्ब १९ अर्ब १७ करोड बराबरको विदेशी वस्तुको आयात गरेको छ । अघिल्लो आवकोे तुलनामा चालू आवको सो अबधिमा १९.९ प्रतिशतले आयातमा कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२.८ प्रतिशतले बढेको थियो । भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १८ प्रतिशत, २४.३ प्रतिशत र २२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदी लगायतका वस्तुको आयात घटेको छ । मूल्यवृद्धि बढेको बढ्यै चालू आर्थिक वर्षको सात महिनाको अबधिमा ७.८८ प्रतिशतले मूल्य वृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्यांक अनुसार मूल्यबृद्धि ७.८८ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही महिनामा ६.२४ प्रतिशत मूल्यबृद्धि रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ । सात महिनाको अबधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले बढेको छ ।

बैंकको ब्याज एकल बिन्दुमा हुनु पर्नेमा सकारात्मक छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ब्याजदर एकल बिन्दुमा हुनु पर्नेमा आफु सकारात्मक भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाललेआफुले यसअघि नै बैंकको ब्याजदर एकल अंकमा हुनु पर्ने धारणा राखेको बताउँदै सो अनुरुप निर्देशन पनि दिइसकेको बताएका छन् । यस्तै, उनले अर्थतन्त्रको सूचकहरुमा सुधार ल्याउने भन्नेतर्फ सरकारले ध्यान दिइरहेको बताए । उनले देशमा १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने वैदेशिक सञ्चिति रहेको भन्दै संकटमा रहेको अर्थतन्त्र सुधारतर्फ गइरहेको बताए । उनले भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीहरुका बाँकी रहेका भुक्तानीहरु समयमै भुक्तान गर्ने तर्फपनि सरकारको ध्यान रहेको उल्लेख गरे । यस्तै, प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीहरुले जिम्मा लिएका कामहरु जिम्मेवार र गम्भिर भएर काम गर्नुपर्ने बताए ।

आजदेखि तनहुँको विमलनगर–घाँसीकुवा खण्ड थप १५ दिन बन्द

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न लागिएको हो । उक्त खण्डमा यही फागुन १८ गतेदेखि राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिएकामा फेरी २८ गतेदेखि चैत १२ गतेसम्मका लागि सोही समय अवधिमा अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । उक्त खण्डमा काम जारी रहेकाले थप १५ दिन दैनिक चार घण्टा बाटो बन्द गर्न जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएको उनले बताए । राजमार्ग बन्द नगरे सवारीसाधन सञ्चालन भइरहने र काम गर्न अप्ठ्यारो हुने भएकाले थप १५ दिन बाटो बन्द गर्न अनुरोध भएपछि प्रशासन कार्यालयबाट निर्णय भएको मुग्लिन पोखरा सडक योजना पूर्वीखण्डका प्रमुख इञ्जिनीयर नरेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार बाटो बन्द गरेर रातको समयमा भीर काट्ने काम भइरहेको छ । उक्त सडक विस्तार योजनाअन्तर्गत तनहुँमा दुई खण्ड विभाजन गरिएकामा आँबुखैरेनीदेखि जामुनेसम्म एउटा खण्ड र जामुनेदेखि पोखरासम्म अर्को खण्डमा राजमार्ग विस्तारको काम भइरहेको छ । दुवै खण्डको हालसम्मको प्रगति १० प्रतिशत छ । पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको भौतिक प्रगति १५दशमलव पाँच प्रतिशत छ । उनका अनुसार यस खण्डमा नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको छ । विद्युत् पोल स्थानान्तरण नहुँदा काम सुस्त भएको इन्जिनियर सुवेदीले बताए । रासस

माग सम्बोधन नगरे राष्ट्र बैंक र संसद भवन घेर्ने व्यवसायीको चेतावनी

काठमाडौं । उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध आन्दोलन गरेका छन् । आईतबार माईतीघर मण्डलामा भेला भएर विभिन्न व्यवासायी तथा उद्यागीहरुले आन्दोलन गरेका हुन् । आन्दोलनका क्रममा बोल्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले शान्तिपूर्ण आन्दोलन गर्दा सरकार र राष्ट्र बैंकले बेवास्ता गरेकाले अहिले पुनः आन्दोलन गर्नुपरेको बताए । उनले बैंक तथा वित्तीय संस्थाको उच्च दर आतंकाकाबिरुद्ध आफूहरुले आन्दोलन गरेको बताए । उनले सरकारले व्यवसायीहरुका माग सम्बोधन नगरे झनै विकराल अवस्था आउने र राष्ट्र बैंक र संसद भवन घेराउ गर्ने चेतावनी दिए । ‘हामीले केही दिनपछि नै वृहत आन्दोलन घोषणा गर्नेछौँ, उद्योगी व्यवसायीमाथि बैंकहरुले दादागिरी देखाइरहेका छन्, यो मुलुकको लागि राम्रो पक्ष होइन, सरकारको ध्यान जाओस्, राष्ट्र बैंकको ध्यान जाओस्, यो विकराल हुँदैछ, राष्ट्र बैंक र संसद भवन घेराउ कार्यक्रम हुनसक्छ,’ उनले भने । उनीहरुले मौद्रिक नीति परिमार्जन गर, ब्याज दरमा स्थिरता कायम गर, चालु पुँजी निर्देशिका स्थगित गर, ब्याजदर हामीलाई चर्को भयो, उच्च सेवा शुल्क बन्द गर लगायतका प्ले कार्ड बोकेर आन्दोलन गरेका थिए ।