विकासन्युज

स्किल वीक चौथौं संस्करण सञ्चालन हुँदै

काठमाडौं ।  स्किल वीक चौथौं संस्करण यही मार्च १३ देखि १९ सम्म सञ्चालन हुने भएको छ । कलकारखाना, शैक्षिक संस्था एवं सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिई तिनै क्षेत्रबाट सीपमूलक रोजगारीका अवसर, बढ्दोे सीपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल वीक नामक कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजक ग्लोकल आफ्टर स्कुल जनाएको छ । १६ देखि ३० वर्षका व्यक्तिले कार्यक्रममा निःशुल्क रूपमा सहभागिता जनाउन सक्ने र सोही कार्यक्रमबाट सीप विकासबारे जानकारी लिन सक्ने जनाइएको छ । ‘यो युवाका लागि एक खुला मञ्च हो । युवाले सीपका विभिन्न किसिम, यस क्षेत्र, बजारको माग एवं सीपको महत्वका बारेमा जानकारी पाउनेछन्, स्किल वीकले युवालाई विभिन्न सीपका बारेमा अन्वेसन गर्न, आफू संलग्न हुन एवं ज्ञान हासिल गर्न सहयोग पुग्नेछ,’ आयोजकले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । कार्यक्रममा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य र विज्ञान तथा प्रविधिका क्षेत्रमा प्रदर्शन समेत हुने जनाइएको छ ।

९ वटा पोलिसीमध्ये सावधिक जीवन बीमामा आकर्षित हुँदै बीमितहरु, कुनबाट कति उठ्यो प्रिमियम ?

काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका जीवन बीमा कम्पनीहरुले विभिन्न प्रकारका बीमालेखहरु सञ्चालनमा ल्याएका छन् । कम्पनीहरुले हालसम्ममा ९ वटा छुट्टा छुट्टै बीमालेखहरु सञ्चालनमा ल्याएका हुन् । कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी साविधक जीवन बीमा, रुपान्तरित सावधिक जीवन बीमा, बालबच्चा सम्बन्धि सावधिक जीवन बीमा, वैदेशिक रोजगार म्यादि जीवन बीमा, आजिवन जीवन बीमा, एकल बीमाशुल्क जीवन बीमा, म्यादि जीवन बीमा र लघु जीवन बीमा सञ्चालनमा ल्याएका छन् । कम्पनीहरुले यी सबै बीमालेख देशभरका ७ वटै प्रदेशमा बिक्री गरी बीमाशुल्क संकलन गरिरहेका छन् । जसमध्ये सबैभन्दा बढी प्रिमियम सावधिक जीवन बीमाबाट उठिरहेको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । माघ महिनासम्ममा मात्रै ७ वटा प्रदेशबाट ३२ अर्ब ५७ करोड रुपैयाँ बराबरको प्रिमियम सावधिक जीवन बीमाबाट संकलन भएका छन् । समीक्षा अवधिमा २२ लाख २१ हजार वटा पोलिसी बिक्री भएका छन् । उक्त बीमाशुल्क पुस महिनाको तुलनामा बढी हो । गत पुसमा मात्रै कम्पनीहरुले सावधिक जीवन बीमाबाट २८ अर्ब ५४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए । ७ वटा प्रदेशमध्ये पनि सबैभन्दा बढी बीमाशुल्क बाग्मती प्रदेशबाट संकलन भएको छ । ९ लाख ८३ हजार वटा पोलिसी बिक्री भएको यो प्रदेशबाट मात्रै १७ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको प्रिमियम उठेको छ । त्यस्तै, सावधिक जीवन बीमालेख बिक्रीबाट लुम्बिनी प्रदेशमा ४ अर्ब, गण्डकी ३ अर्ब २३ करोड, प्रदेश १ (कोशी) मा ३ अर्ब ८ करोड, मधेशमा २ अर्ब, सुदुरपश्चिममा एक अर्ब ३८ करोड र कर्णाली एक अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन भएका छन् । त्यसैगरी, सावधिक जीवन बीमालेखपछि सर्वाधिक बिक्री हुनेमा अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख रहेका छन् । यो बीमालेखबाट कम्पनीहरुले माघसम्ममा २ अर्ब रुपैयाँ बढी प्रिमियम संकलन गरेका छन् । जसमध्ये बाग्मती प्रदेशबाट सबैभन्दा बढी प्रिमियम उठेको छ । त्यस्तै, बालबच्चा सम्बन्धि सावधिक जीवन बीमाबाट १२ अर्ब १६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन भएको छ । त्यसपछि रुपान्तरित सावधिक जीवन बीमामा बीमितहरु आकर्षित भएका छन् । जसबाट कम्पनीहरुले ११ अर्ब ९ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको प्राधिकरणले जनाएको छ । आजिवन जीवन बीमालेख बिक्रीबाट कम्पनीहरुले कूल २ अर्ब ६८ करोड, वैदेशिक रोजगार म्यादि जीवन बीमाबाट १ अर्ब ९६ करोड, लघु जीवन बीमाबाट १ अर्ब ४३ करोड, म्यादि जीवन बीमाबाट ७७ करोड ६७ लाख र एकल बीमाशुल्क जीवन बीमाबाट ६८ करोड ४२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गर्न सफल भएका छन् । जुन चालु आवको ७ महिनाको अवधिमा संकलन भएका हुन् । समग्रमा कम्पनीहरुले सात वटै प्रदेशमा बिक्री भएका सबै बीमालेखहरुबाट कूल ८३ अर्ब ३९ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । जसमध्ये बाग्मती प्रदेशबाट सबैभन्दा बढी अर्थात ३८ अर्ब ८० करोड रुपैयाँ बीमाशुल्क संकलन भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

प्रभु स्मार्ट फण्डमा १.५५ गुणा बढीको आवेदन

काठमाडौं । प्रभु स्मार्ट फण्डमा मागभन्दा १.५५ गुणा बढीको आवेदन परेको छ । प्रभु बैक कोष प्रवर्धक र प्रभु क्यापिटल कोष व्यवस्थापक तथा डिपोजिटरी रहेको फण्डले निष्काशित कुल ८ करोड इकाईमध्ये प्रभु बैंकले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटलले ८ लाख इकाई सुरक्षित गरी ६ करोड ८० लाख इकाई आवेदन माग गरिएको थियो । जसमध्ये १० कराेड ५२ लाख ९६ हजार २०० इकाईको लागि आवेदन परेको छ । उक्त आवेदन सर्वसाधारणहरुलाई छुटयाईएको भन्दा १.५५ गुणा बढीको आवेदन हो । १० बर्ष अवधि रहेको बन्दमुखी योजना प्रभु स्मार्ट फण्डलाई केयर नेपाल लिमिटेडले एएमसी ३ रेटिङ्ग प्रदान गरेको छ । क्यापिटलले ८० करोड बराबरको प्रभु स्मार्ट फण्ड नामको योजना निष्कासन गरेको भए पनि सामूहिक लगानी कोष निर्देशिका, २०६९ को नियम १५ को उपनियम ४ मा भएको व्यवस्था अनुसार निष्कासन गरिएको भन्दा बढी संख्यामा इकाई माग भएमा निष्कासन गरिएको इकाई संख्याको पच्चीस प्रतिशतसम्म थप गरी इकाई बाँडफाँड गर्न सकिनेछ भन्ने व्यवस्था रहेकोले प्रभु स्मार्ट फण्डले बिउ पुँजीसहित १ अर्ब बराबरको इकाई बाँडफाँड गर्ने भएको छ ।  

यस कारण टाट पल्टियो सिलिकन भ्याली बैंक, नेपाली बैंकले सिक्नु पर्ने पाठ के हो ?

काठमाडौं । अमेरिकाको सिलिकन भ्याली बैंक टाट पल्टिएपछि अमेरिकाको बैंक तथा वित्तीय क्षेत्रमा एक किसिमको तरंग पैदा भएको छ । ठूलो मध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गरेपछि अमेरिकाको बैंक तथा वित्तीय क्षेत्रमा त्रास उत्पन्न भएको हो । यो घटनालाई लिएर धेरैले वित्तीय क्षेत्रमा संकट सिर्जना रुपमा चित्रण गरेका छन् । कतिपयले यसलाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा समेत बुझेका छन् । सन् २००८ मा वासिंङटन म्युचअल टाट पल्टिएको थियो । सो घटनापछि भएको यस घटनालाई अर्को वित्तीय संकटका रुपमा लिइएकाे छ । सिलिकन भ्याली बैंक अमेरिकाको १६औं ठूलो बैंक हो । नियामकले यो बैंकलाई बन्द गरेर भएको निक्षेपलाई आफ्नो नियन्त्रणमा लिएको छ । केही समय अगाडि देखि नै यस बैंकका वित्तीय स्वास्थ्य बिग्रिएको थियो । बेला बखत यस बैंकको विषयमा नकारात्मक समाचारहरु बाहिरिन्थे । बैंकले गत बुधबार घाटा पूर्तिका लागि ठूलो हिस्सामा सेयर बेचेर करिब २.२५ बिलियन बराबरको सेयर बेच्ने घोषणा गरेको थियो । बैंकको उक्त घोषणापछि ठूला लगानीकर्ता र बचतकर्ताले आफ्नो लगानी र बचत फिर्ता लिन सुरु गरेका थिए । बैंकको विषयमा नकारात्मक विषयहरु बाहिरिएपछि निक्षेपकर्ताहरुले समेत धमाधम पैसा निकाल्दै आएका थिए भने ऋणीहरुले पनि समयमै ऋणको सावाँ किस्ता तिर्न मानिरहेका थिएनन् । यो बैंक समस्यामा पर्नुको मुख्य कारण उच्च ब्याजदर भएको विषय पनि बाहिरिएको छ । बैंकको सेयर मूल्य घट्दै जाँदा र लगानी समस्या हुँदा ठूलो सकसमा परेको थियो । अमेरिकाको बैंकहरुको नियामक फेडरल रिजर्भले महंगीलाई लक्षित २ प्रतिशतको दायरामा ल्याउन ब्याज दर वृद्धि गरेको छ । यसले पनि बैंकलाई असर गरेको हो । फेडेरल डिपोजिट इन्स्योरेन्स कोर्पोरेसन(एफडीआईसी) ले बैंकमा करिब १७५ बिलियन डलर डिपोजिट रहेको जनाएको छ । यस बैंकको लगानीको हिस्सा सबभन्दा बढी प्रविधि क्षेत्रमा रहेको बताइएको छ । बैंकले भारतमा मात्रै करिब दुई दर्जन स्टार्टअपमा लगानी गरेको बुझिएको छ । गत वर्ष अक्टोबरमा मात्रै भारतका स्टार्टअप कम्पनीले सो बैंकबाट करोडौं डलर ऋण लिएको खुलेको छ । यो बैंक टाट पल्टिएसँगै यसको असर भारतमा पनि पर्ने धेरैको विश्लेषण छ । विश्व बैंकको पछिल्लो प्रक्षेपण प्रतिवेदनमा समेत सन् २०२३ देखि विश्वका अधिकांश मुलुकमा आर्थिक मन्दी लम्बिने उल्लेख छ । नेपाली बैंकले सिक्नु पर्ने पाठ पछिल्लो समय नेपाली बैंक तथा वित्तीय क्षेत्र पनि स्वस्थ अवस्थामा छैन । बैंक तथा वित्तीय क्षेत्रले लामो समयदेखि तरलताको समस भोगिरहेका छन् भने बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट उच्च ब्याज लिएको भन्दै उद्योगी व्यवसायी पनि आन्दोलनमा छन् । बैंक तथा वित्तीय संस्थाहरुको नियामक राष्ट्र बैैंक एकपछि अर्को कडा नीति अघि सारेर वित्तीय संस्थाहरुप्रति झन कठोर बनिरहेको छ भने बैंकहरुले राष्ट्र बैंकको नीतिको मौन विरोध गर्दै आएका छन् । उद्योगी व्यवसायीहरुले बढी ब्याजदर भयो भनेर विरोध जनाइरहेको बेला नियामक राष्ट्र बैंकले नै बढी ब्याजलाई नै प्रशय दिइरहेको उसको नीतिबाट प्रष्ट हुन्छ । अहिले राष्ट्र बैंकले साढे ११ प्रतिशत ब्याजदरमा बचतपत्र बिक्री गरिरहेको छ । जुन बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्र तथा मुद्दती निक्षेप खातामा तोकिएको ब्याजदरभन्दा बढी हो । हाल बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपमा ११.३३ प्रतिशत ब्याजदर छ । तर, चैतदेखि भने घट्ने बताइएको छ । राष्ट्र बैंकले नै ब्याजदर बढाउने नीति अघि सार्दा यसले सेयर बजारलाई असर गर्ने धेरैको बुझाइ छ । सेयर बजारमा आएको गिरावट नै सिलिकन भ्याली बैंक टाट पल्टिनुको एउटा प्रमुख कारण भएको धेरैको बुझाइ छ । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा यो घटनाबाट नेपाली बैंकहरुले पनि धेरै पाठ सिक्नु पर्ने बताउँछन् । नेपाली बैंकहरुले बैंक जति ठूलो भयो त्यति धेरै जोखिम हुने, कर्जा लगानी एउटै ठाउँमा मात्रै गर्न नहुने, अधिक तरलता हुनु पर्ने र बैंकहरुको समस्यामा नियामकले सहयोग गर्नु पर्ने लगायतका विषयहरु बुझेर अगाडि बढ्नु पर्ने उनको राय छ । सिलिकन भ्याली बैंक जस्ताे ठूलो बैंक डुब्नाले पनि धेरै ठूलो जनमानसमा आर्थिक क्षति पुर्याएको छ र अझै पुर्याउन सक्छ । पछिल्लो समय नेपाली बैंक पनि ठूलो बन्ने लहर सुरु भएको छ । नेपाल राष्ट्र बैंकले मर्जरको नीति अघि सारेर बैंक ठूलो बनाउने रणनीति बनाइरहेको छ । यदि त्यो बैंकमा कुनै दिन समस्या आउने वित्तिकै त्यसले ठूलो जनमासनमा असर पर्ने थापाको भनाइ छ । यस्तै, सिलिकन भ्याली बैंकले स्टार्टअप क्षेत्रमा बढी लगानी गरेको थियो । पूर्व कार्यकारी निर्देशक थापका अनुसार बैंकले एउटै क्षेत्रमा लगानी गर्नु राम्रो होइन । ‘सिलिकन भ्याली बैंकले स्टार्टअप क्षेत्रमा मात्रै लगानी गरेको थियो, अब यो घटनाले त्यस बैंकले लगानी गरेको क्षेत्रमा पनि असर पर्ने भयो, नेपालमा पनि घरजग्गा र सेयर बजामा बैंकहरुले बढी लगानी गर्छन्, ती क्षेत्रमा समस्या आयो भने बैंकहरु पनि ठूलो समस्यामा पर्न सक्छन्,’ उनले भने । यस्तै, बैंकहरुले तरलता अनुपात प्रयाप्त राख्नु पर्ने थापाको धारणा छ । अधिक तरलता .नराख्दा पनि बैंकमा समस्या आउन सक्छ । पछिल्लो समय नेपाली बैंकिङमा बैंकको ९० प्रतिशतमा रहेको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) को विषयमा व्यापक विरोध पनि हुने गरेको छ । तर, बैंकहरुले यो भन्दा पनि बढी तरलता राख्नु पर्ने थापाको तर्क छ । उनले बैंकमा अधिक तरलता राख्दा जस्तोसुकै समस्या आएपनि बैंकले समाधान गर्न सक्ने क्षमता राख्ने बताए । यस्तै, उनले नियामकले सहयोग नगरेकै कारण पनि सिलिकन बैंकमा समस्या आएको बताउँदै यस विषयमा राष्ट्र बैंकले पनि सजग बन्नु पर्ने राय दिए । ‘केन्द्रिय बैंकले सहयोग गरेन भने पनि यस्तो समस्या आउन सक्छ, सिलिकन भ्याली बैंकलाई त्यहाँको केन्द्रिय बैंकले अन्तिम ऋणदाता सहुलियत दियो भने डुब्ने सम्भावना कम हुन्थ्यो, यस्ता समस्या आउने वित्तिकै केन्द्रिय बैंकले पनि सहुलियत दिन पछि हट्नु हुन्न,’ थापाले भने ।  

उपराष्ट्रपतिका ४ उम्मेदवारले लिएनन् नाम फिर्ता

काठमाडौं । उपराष्ट्रपति पदका लागि ४ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको छ । आईतबार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवार दिएका कोही पनि उम्मेदवारहरुले नाम फिर्ता नलिएपछि ४ जनाकै उम्मेदवारी कायम रहेको हो । उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदको उम्मेदवार रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए । उनले भने, ‘नाम फिर्ता लिने समय १ देखि ४ बजेसम्मको थियो, कुनैपनि उम्मेदवारले नाम फिर्ता लिनुभएन र हामीले अहिले अन्तिम नामावली प्रकाशित गरिसकेका छौँ, अष्टलक्ष्मी शाक्य बोहरा, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव हुनुहुन्छ ।’ उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।

पानी नपर्दा ताप्लेजुङमा अलैँचीका बोट सुक्न थाले, घाटामा किसान

फुङ्लिङ ।  ताप्लेजुङमा अलैँचीका बगान हरिया हुनुपर्नेमा राताम्य भएर बोट ढलिरहेका देखिन्छन । अलैँचीका बोट सुकेर बगान सोत्तर भएका छन् । अलैँची बगानमा डढेलोको जोखिम पनि उत्तिकै छ । फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका कृषक सुशन लिम्बूले लगाएको अलैँची बगानको अवस्था यस्तै रहेको छ । कुनै समयमा कालो सुनको उपनामले परिचित अलैँची अहिले बगानमै सुक्न थालेको छ । लामो समय वर्षा नहुँदा पहाडी क्षेत्रको मुख्य नगदेबाली अलैँची सुक्न थालेको हो । खोलामा पानी सुकेकाले सिँचाइ गर्ने उपाय छैन । हिउँ नपर्दा चिस्यानको थप समस्या भएको छ । हरियो देखिनुपर्ने बगान यतिबेला सुकेर रातै देखिन थालेको लिम्बूले बताए । विगतका वर्षमा पुसको तेस्रो सातादेखि वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने गर्दथ्यो । तर यस वर्ष भने खासै हिमपात भएको छैन । हिमाली क्षेत्रमा हिमपात नहुँदा पानीको स्रोत पनि कमी हुँदै गएको फक्ताङलुङ–५ का पार्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजु हेल्लोकले बताए । उनले भने, ‘खासै हिमालमा हिउँ परेको छैन । पर्याप्त वर्षा पनि भएको छैन । अलैँची बगानमा पर्याप्त सिँचाइ नहुँदा सुक्न थालेको छ ।’ सिरिजङ्घा गाउँपालिका–६ मामाखेका रनकुमार माबोको यतिबेला हरियो हुनुपर्ने बगान सुकेर रातो भएको छ । गत वर्ष अनुकल मौसम हुँदा यस वर्ष उत्पादनमा वृद्धि भएको थियो । अर्को वर्ष उत्पादनमा ठूलो ह्रास आउनसक्नेमा माबोको चिन्ता छ । ‘यतिबेला पालो गरीगरी बोट भिजाउनुपर्ने हो’, उनले भने, ‘खोलामा थोपो पानी नहुँदा सिँचाइको समस्या भएको छ ।’ साउनदेखि मङ्सिर पहिलो सातासम्म टिपिसक्ने अलैँचीमा त्यसपछि सिँचाइ गर्नुपर्छ । सम्भव हुनेले प्रत्येक बोटको फेदमा मल लगाएर त्यसलाई भिजाउँछन् । जरामा चिस्यान रहोस् भनेर पतझरले छोप्ने र त्यसमाथि सिँचाइ गर्ने चलन पनि छ । ‘पानी नै नभएपछि यी सबै सम्भावना सकिँदो रहेछन्’, मेरिङ्देन गाउँपालिकाका अलैँची कृषक शेखर लिम्बूले भने, ‘केही ठाउँमा पानीको स्रोत भएका कृषकले भने स्प्रिङकल (सिँचाइ गर्ने एक प्रकारको मिसिन)बाट सिँचाइ गरिरहेका छन् ।’ गत वर्ष माघभरीमा चार पटक वर्षा भएको थियो । तीन पटकसम्म परेको ठूलो हिमपातले खोलामा पानी प्रशस्तै बग्यो । यस वर्ष असोजको सुरुदेखि नै वर्षा नभएको किसान बताउँछन् । न त हिमपात नै भएको छ । यतिबेला जिल्लाका बेंसीदेखि लेकसम्मकै हिउँदे बालीमा असर परेको किसानको दुखेसो छ । कृषि ज्ञानकेन्द्र ताप्लेजुङको तथ्याङ्कअनुसार यो आर्थिक वर्ष दुई हजार छ सय ५० टन अलैँची उत्पादन भएको छ । जिल्लाको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको छ । गत वर्षको तुलनामा ५० हेक्टरले कमी रहेको ज्ञानकेन्द्रको तथ्याङ्कमा उल्लेख छ । फल लाग्नुभन्दा पहिला यो समयमा अलैँचीको टुसा लाग्ने गर्दछ । वर्षाले टुसामा फूल खेल्न सहयोग गर्दछ र अर्को वर्षको उत्पादनमा वृद्धिमा सहयोग पु¥याउँछ । यतिबेला अलैँचीलाई पानीको अधिक आवश्यकता पर्छ । पानीले भिजाउने र तातोले राप सिर्जना गर्दा जरा भर्ने जोखिम अति हुन्छ । जमिन तातेका बेला वर्षा हुँदा राहतको साटो बिरुवालाई आहात हुने किसानको भनाइ छ । हिमालमा हिउँ हुँदा त्यहाँबाट आउने चिसो हावाले पनि राहत हुने तर त्यो नभएकाले किसान चिन्तित बनेका छन् । अलैँचीलाई ओसिलो जमिन, सिँचाइ सुविधा अनिवार्य चाहिन्छ । विगतमा एक मन (४० किलो) को एक लाख २० हजारसम्ममा खरिद बिक्री भएको थियो । अहिले ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बजारमा प्रतिमन अलैँची ३५ हजारमा खरिद बिक्री भइरेको फुङ्लिङ नगरपालिका–५ का व्यापारी दिनेश अधिकारीले बताए । गत साता ३२ हजारमा कारोबार भएको अलैँची बुधबार ३५ हजारमा कारोबार भएको उनले बताए । रासस

सिटिजन्स बैंकका ग्राहकलाई आवरण स्किन एण्ड हेयर क्लिनिकमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिकबीच सम्झौता भएको छ । बैंक र क्लिन‍‍िकबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझौता भएको हो । सो सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले आवरण स्किन क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए।टि।एम। र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

मेट्रो सुपर मार्केटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडौं । स्मार्ट क्युआरले मेट्रो सुपर मार्केटसँग सम्झाैता गरेकाे छ । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवको अवसरमा दई बीच सम्झाैता भएकाे हाे । सम्झाैता अनुसार ग्राहकहरुले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम प्रति कारोबार १०० रुपैयाँ र अफर अ‍वधिभर ३०० रुपैयाँसम्म छुट पाउनेछन् । स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले मेट्रो सुपर मार्केटको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने बताइएकाे छ । यस अफर अन्तर्गत मेट्रो सुपर मार्केर्टका पेप्सीकोला, सानेपा र जोरपाटी स्थित शाखामा एनआई सी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, यन क्याश तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।