अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ
काठमाडौं । भर्खरै सुरु भएको चैतमास, पछिल्लो साताको वर्षा छाडेर भन्ने हो भने सुक्खायाम छ । यसपटकको हिउँदमा राम्ररी वर्षा भएको छैन । त्यसैले अबको दुई महिना आगलागी, डढेलो, चट्याङ र हावाहुरीको उच्च जोखिम छ । पछिल्लो साता मुलुकभर वर्षा भएकाले आगलागीको क्रम केही रोकिएको छ । अब वर्षा रोकिनेबित्तिकै आगलागी ह्वात्तै बढ्ने यस क्षेत्रका विज्ञहरूले बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो समयमा सबैभन्दा बढी आगलागी र डढेलोले क्षति पुर्याउने भएकाले विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल पछिल्लो एक दशकको तथ्याङ्क हेर्ने हो भने आगलागीको दर बढ्दै गएको र त्यसले पुर्याउने क्षतिसमेत बढिरहेको बताउँछन् । ‘अझ पछिल्लो पाँच वर्षको तुलना गर्दा आगलागीको ग्राफ गुणाङ्कले बढेको छ’, पोखरेलले भने, ‘यो बेला विशेष सावधानी अपनाउनुपर्छ, स्थानीय तहलगायत सरोकारवाला निकायले त्यसको न्यूनीकरणका लागि पूर्वतयारी तथा आगलागी भइहालेको खण्डमा नियन्त्रणका लागि आवश्यक तयारी गर्ने बेला हो ।’ प्राधिकरणका अनुसार बुधबार मात्रै १८ विपद्जन्य घटना भएका थिए । त्यसमध्ये १६ घटना आगालगी, हावाहुरी चट्याङ र डढेलोका छन् । गत वैशाखदेखि चार हजार ४८ वटा विपद्जन्य घटना भएकामध्ये सबैभन्दा बढी दुई हजार छ सय १३ घटना आगालागीका छन् । उक्त आगलागीमा परेर एक सय दुई जनाको मृत्यु भएको छ भने तीन सय ५२ जना घाइते भएको तथ्याङ्क प्राधिकरणसँग छ । आगलागीबाट मानवीय क्षतिका साथै भौतिक क्षति पनि ठूलोमात्रामा हुने गरेको छ । ती घटनामा दुई अर्ब ३० करोड बढीको क्षति भएको छ । तीन हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । यस्तै हुरीबतासका एक सय घटना हुँदा १० जनाको मृत्यु भएको छ भने डढेलोका एक सय ३४ घटनामा एक जनाले ज्यान गुमाएका छन् । चट्याङका दुई सय ३६ घटनामा ८० जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका आगलागीविज्ञ सुन्दर शर्माले यी तथ्याङ्कले पनि आगलागीको दर अत्यधिक रहेको र बढी भौतिक क्षति आगलागीका कारण हुने गरेको बताए । ‘सबै विपद्जन्य घटनालाई विश्लेषण गर्दा त्यसको ९० प्रतिशत भौतिक क्षति आगलागीका कारण भएको छ । हालसम्म नेपालमा आगलागी नियन्त्रणमा खटिने अग्रफोर्स भनेको नेपालका सुरक्षाकर्मी हो’, उनले भने । शर्माले सुरक्षाकर्मी बाहेकका तालिमप्राप्त दस्ता नेपालमा नभएको उल्लेख गरे । पछिल्लो समय सरकारले स्वयंसेवक ब्यूरोको अवधारणा ल्याएपछि सोही आधारमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वयंसेवी तयार पार्न लागेको प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए । उनका अनुसार अहिले स्वयंसेवीलाई तालिम दिने काम भइरहेको छ । मकवानपुरमा तालिम चलिरहेको छ । नमूनाका रूपमा विपद्का समयमा स्वयंसेवा गर्न इच्छुक व्यक्तिका लागि अनलाइनबाटै फारम भर्ने व्यवस्था गरिएको छ । पहिलो चरणमा रेडक्रसमा आवद्ध एक लाखलाई स्वयंसेवामा जोड्दै तालिम सुरु गरिएको प्राधिकरणले जनाएको छ । स्थानीय तहको मातहतमा रहने गरी ती स्वयंसेवीलाई विपद्का बेला परिचालन गर्न सकिने छ । प्राधिकरणले आगलागी, हावाहुरी, चट्याङ र डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि आवश्यक तयारीसमेत थालेको जनाएको छ । यसका लागि आवश्यक तालिम, प्रशिक्षण यन्त्र, उपकरण व्यवस्थापनलगायतको काम जारी रहेको प्राधिकरणका प्रमुख पोखरेलको भनाइ छ । हालै प्राधिकरणले सिंहदरबारमा आगलागी नियन्त्रणका लागि उपयुक्त हुने ‘फायर फाइटिङ पम्प’को सफल अभ्यास गरेर देखाएको थियो । यस्ता यन्त्रको सही तरिकाले प्रयोग गरे दमकल नपुग्ने स्थानमा स्थानीय तहले सजिलै आगलागी नियन्त्रण गर्न सक्ने प्राधिकरणले जनाएको छ । ‘फायर फाइटिङ पम्प’को मूल्य रू एक लाख मात्रै पर्ने भएकाले हरेक स्थानीय तहले उक्त उपकरण व्यवस्थापन गर्न सक्ने उनले बताए । अधिकांश आगलागी मानवीय कारण प्राधिकरणका आगलागीविज्ञ सुन्दर शर्मा अधिकांश आगलागीका घटना मानवीय कारणले हुने गरेको बताउँछन् । उनका अनुसार ६४ प्रतिशत आगलागी मानिसले जानीजानी लगाउने गरेका छन् । बत्तीस प्रतिशत चुरोटको ठुटा फ्याँक्नेलगायत हेल्चेक्र्याइँका कारण हुने गरेको छ । हरेक वर्ष डढेलो निभाउन जाँदा औसत सात जनाको मृत्यु हुने गरेको उनले जानकारी दिए । औषतमा वार्षिक ८० घर आगालगीबाट जल्ने गरेका छन् । आगलागीले मानवीय र भौतिक सम्पत्तिका साथै जैविक विविधतामा ठूलो क्षति पुर्याए पनि यसतर्फ धेरैको ध्यान नपुगेको विज्ञ शर्मा बताउँछन् । उनका अनुसार आगलागी नियन्त्रणका लागि सरकारबाट समेत ध्यान नपुगेकाले बजेटको अभाव हुने गरेको छ । शर्माले पछिल्लो समय आगलागीको प्रकृति फरक हुँदै गएकाले ‘एरियल फायर फाइटर’को जरुरी रहेको बताए । उनले वैशाखमा बढी आगलागी हुने भएकाले आजैदेखि सचेत हुनुपर्ने भन्दै आवश्यक तयारीमा जुट्न सबैलाई अनुरोध पनि गरेका छन् । रासस
१० हजारमा खप्तडमा समिट एयरले सुरु गर्यो ‘हेली टुर’
दिपायल । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीयस्थल खप्तड घुम्न ‘हेली टुर’ सुरु भएको छ । समिट एयरसँगको सहकार्यमा हेली टुर प्याकेज सञ्चालन गर्न लागिएको हो । समिट एयरले आन्तरिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यले खप्तडको प्रवेशद्वार झिग्रानाबाट खप्तड जान आउन र दुई दिनको प्याकेजको व्यवस्था रहेको आयोजकले जनाएको छ । डोटीको पूर्वचौकी गाउँपालिकामा पर्ने रहेको ‘खप्तड होमस्टे’ को समन्वयमा खप्तड एडभेन्चर हेली टुर सुरु भएको हो । आजदेखि सुरु भएको खप्तड एडभेन्चर हेली टुर चैत १२ गतेसम्म सञ्चालन गरिने खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताए । धार्मिक तथा पर्यटकीयस्थल खप्तडको अवलोकन तथा प्रचाप्रसारका लागि ‘हेली टुर’ सुरु गरिएको खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक खड्काले बताए । साथै डोटीको झिग्रानाबाट खप्तडमा घुमफिरमा जाने यात्रुहरूले प्रतिव्यक्ति १० हजारसम्म शुल्क तोकिएको खड्काले बताए । खड्काले हेलिकप्टरमार्फत खप्तड घुम्नका लागि झिग्रानाबाट छोटो प्याकेज ल्याइएको छ । ‘हेली टुर प्याकेज’ आजदेखि १२ गतेसम्म रहनेछ । पर्यटकलाई खप्तडमा घुम्न र फोटो खिच्न कम्तीमा आधा घण्टाको समय दिइनेछ । पाँच दिनमा तीन सय पर्यटकलाई खप्तड पु¥याउने योजना रहेको खड्काले जानकारी दिए । सुदूरपश्चिमका चार पहाडी जिल्लाहरू बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सङ्गमस्थल रहेको खप्तडमा त्रिवेणी मन्दिर, २२ वटा पाटन छन् । केदार ढुङ्गा, खप्तडबाबाको आश्रम, विभिन्न प्रजातिका फूल तथा चराचुरुङ्गी रहेका छन् । भूस्वर्गका उपमाले चिनिने खप्तड समुन्द्री सतहबाट दुई हजार सात सयदेखि तीन हजार दुई सय २७ मिटरसम्मको उचाइमा रहेको छ । यहाँ विश्वमै अति दुर्लभ दलदले घाँसेमैदान पनि रहेको छ । पछिल्लो समय भूस्वर्गका रुपमा चिनिने खप्तड दिनानु दिन पर्यटको रोजाइ बन्दै गएको छ । रासस
मर्स्याङदी करिडोर अन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
काठमाडौं । मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् । आयोजनाअन्तर्गत नै लमजुङको खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसनहरु निर्माणाधीन छन् । खुदी सबस्टेसन आगामी ६ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ । भौगोलिक रुपमा विकट र सबस्टेसन निर्माणस्थलमा उपकरणहरु लैजान पहुँच सडकको समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने छ । पहुँच सडक निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ । नयाँ भरतपुर सबस्टेसनमा सञ्चालन पूर्व गर्नु पर्ने परीक्षणका कामहरु भइरहेका छन् । उदीपुर सबस्टेसनका अधिकांश सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ । सबस्टेसनमा रहने उपकरणहरु निर्माण स्थलमा ढुवानी भइसकेका छन् । उपकरणहरु जडान जारी छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरुसँग विस्तृत छलफल गरी सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गरेका छन् । नयाँ भरतपुर र उदीपुर सबस्टेसनमा क्रमश २२०/१३२ केभी, ३२० एमभिए र २२०÷१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी,५० एमभीए क्षमताका पावर टान्सफर्मरहरु रहने छन् । खुदी र धारापानी सबस्टेसनमा क्रमश : २२०/१३२ केभी,१६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए र २२०/१३२ केभी, १०० एमभिए तथा १३२/३३ केभी, ३० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु रहने छन् । खुदी सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ । ट्रान्सफर्मरलगायतका उपकरणहरु निर्माणस्थलमा ढुवानी सुरु भएको छ । मर्स्याङदी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।
मागेको मन्त्रालय नपाए सरकारमा जादैनौँ : झलनाथ खनाल
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पार्टीका नेता झलनाथ खनालले मागेजति मन्त्रालय नपाए एकीकृत समाजवादी सरकारमा सामेल नहुने बताएका छन् । पाँचथर सदरमुकाम फिदिममा शुक्रबार समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समाजवादी पार्टीले मागेजति मन्त्रालय नपाए सरकारमा नजाने बताएका हुन । ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नेकपा एसले मुख्य तीन मन्त्रालय मागेको छ, मागेको मन्त्रालय दिए हामी सरकारमा जान तयार छौँ, नभए जादैनौ’ँ, उनले भने, ‘नेकपा एसले खेलेको भूमिकाबाट यो सरकार निर्माण भएको हो, हाम्रो योगदानलाई बेवास्ता गरे सरकारमा सहभागी हुँदैन ।’ पत्रकारसँग कुरा गर्दै खनालले प्रचण्ड नेतृत्वको सरकार लामो समयसम्म चल्न नसक्ने संकेत समेत गरे । कुनै पनि दलको बहुमत नभएकाले सरकारको आयु लामो नहुने उनको तर्क थियो ।
नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले पायो पूर्णता, को को थपिए ?
काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले पूर्णता पाएको छ । सञ्चालकमा थप ३ जना नियुक्त भएसँगै इन्स्योरेन्सको सञ्चालक समितिले पूर्णता पाएको हो । कम्पनी सञ्चालक समितिले निशान्त जोगाई, दिवाकर पौडेल र स्वतन्त्र सञ्चालकमा वीरविक्रम रायमाझीलाई नियुक्त गरेको छ । जसमध्ये सञ्चालक जोगाई र पौडेल गत चैत १ गते नै नियुक्त भएका हुन् भने रायमाझी भने चैत ९ गते इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् । सञ्चालक जोगाई (संस्थापकतर्फबाट) अग्रिम इन्टरनेशनल प्रा.लि.को र पौडेल (सर्वसाधारणतर्फबाट) श्री समिकरण इन्भेष्टमन्ट प्रा.लि.का प्रतिनिधि हुन् । सो दिन अपरान्ह बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । साथै, नवनियुक्त तीन जना सञ्चालकले चैत ९ गते बिहीबार नै आफ्नो पद तथा गोपनियताको शपथ समेत लिइसकेको कम्पनी श्रोतले बतायो । यसअघि कम्पनी सञ्चालक समितिमा अध्यक्षमा लक्ष्मण पौडेल, सञ्चालकमा चन्द्र सिंह साउद र सविता श्रेष्ठ जोशी) थिए । र, रिक्त रहेको बाँकी पद पुरा गर्न कम्पनीले थप तीन जनालाई नियुक्त गरेको हो । यससँगै, कम्पनीको सञ्चालक समितिमा ६ जनाको टीम बनेको छ ।
नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि
काठमाडाैं । नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रिय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो । पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत पुगेको तथ्यांक विभागले जनाएको छ । २०६८ को जनगणनाअनुसार कुल साक्षरता दर ६५.९ प्रतिशत थियो । जसमा पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो । तथ्यांक उपप्रमुख डा. हेमराज रेग्मीले जनगणना २०७८ अनुसार नेपालमा पुरुषको भन्दा महिलाको साक्षरता दर १४.२ प्रतिशत रहेको बताए । उनले भने, ‘नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ । साक्षरता दर पुरुषको भन्दा १४.२ प्रतिशत कम महिलाको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ । २०६८ को जनगणनाअनुसार कूल साक्षरता दर ६५.९ प्रतिशत थियो । पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो ।’ रेग्मीकाअनुसार नेपालमा २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेका छन् । उनले १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा बसोवास गर्ने गरेको बताए । यो संख्या २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोवास गरेको पाइएको थियो । जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ । ‘२१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोवास गर्ने गरेको,राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेका छन् । गत २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गरेको पाइएको थियो । जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ,’ उनले भने । रेग्मीले जनगणनामा सधैँको लागि देश छोडेर गएका व्यक्तिहरुको गणना नगरिएको बताउनु भयो । त्यस्तै परिवारका सबै सदस्य विदेशमा रहेकाहरुको पनि गणना गरिएको छैन । रेग्मीले उमेर समूहअनुसार १५ देखि १९ वर्षको उमेर समूहमा कुल जनसंख्याको सबैभन्दा बढी प्रतिशत रहेको बताए । २०६८ को जनगणनामा भने १० देखि १४ वर्षको बीचको उमेरसमूहका थिए ।
तल्लो सेती : २०८१ मा बोलपत्र आह्वान गर्ने तयारी
दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको निर्माणकार्य विसं २०८१ बाट सुरु गर्ने तयारी गरिएको छ । यस कम्पनीले तनहुँको ऋषिङ गाउँपालिका–१ मा एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । तनहुँ जलविद्युत् आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो । एक सय चार मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि ढिलोमा विसं २०८१ सम्ममा बोलपत्र आह्वान गर्ने तयारीका साथ काम अगाडि बढेको तनहुँ हाइड्रोपावर लिमिटेडका इञ्जीनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख एवं प्रस्तावित तल्लो सेती जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ । आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अगाडि बढाएको थियो । परामर्शदाताले पेस गरेको विस्तृत डिजाइन प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूहले विसं २०७८ असार २३ गते डिजाइन पुनरावलोकन प्रतिवेदन बुझाइसकेको छ । विज्ञ समूहले पेस गरेको आयोजनाको डिजाइनबमोजिम थप केही काम गर्ने तयारी गरिएको छ । ‘विज्ञ समूहले सुझाव दिएअनुसार केही काम अगाडि बढाउन खोजिएको छ, वातावरणीय प्रारम्भिक मूल्याङ्कनको काम पनि सकिएको छ’, भण्डारीले भने । आगामी आर्थिक वर्षमा उक्त क्षेत्रमा केही पूर्वाधार निर्माणको काम सुरु हुनेछ । भवन बनाउने, बाटो बनाउने, पुल बनाउने काम आगामी आर्थिक वर्षमा नै सुरु गर्ने तयारी गरिएको भण्डारीले बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तल्लो सेती जलविद्युत् आयोजनाको क्षेत्र निरीक्षण गरी काम अगाडि बढाउने तयारीसहित लाग्न निर्देशन दिइसकेका छन् । कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एसियाली विकास बैंक (एडिबी)बाट प्राप्त करिब ३ दशमलव ५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जीनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी काजगात तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत÷निप्पन कोई जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो । आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै ६ दशमलव ८ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमबाट करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्धभूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ । आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१४, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछ ।
सीमाक्षेत्रमा कोरोना सङ्क्रमणदर बढ्यो
काठमाडौं । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । केही महिना सङ्क्रमण शून्य रहेको भए पनि हाल दिनहुँजसो सङ्क्रमित देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । निर्देशनालयको तथ्याङ्कअनुसार चैत सुरु भएयता मात्रै यहाँ २४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण देखिएकाले त्यसको प्रभाव यहाँ पनि परेको जोशीको भनाइ छ । उनले भने, ‘भारतका विभिन्न सहरमा कोरोना फैलिएको भन्नेछ, त्यसको प्रभाव यहाँ पनि पर्न थालेको हो । सङ्क्रमित पुष्टि हुने सबै भारतबाट फर्किएका रहेका छन् ।’ भारतसँग जोडिएका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा नियमित रुपमा कोरोना परीक्षण जारी रहेको निर्देशनालयले जनाएको छ । नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका नाकामा भारतबाट स्वदेश फर्किनेको सङ्ख्या पनि बढ्दै गएको छ । नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले सङ्क्रमणदर पनि वृद्धि भएको जोशीले बताए । भारतमा सङ्क्रमण देखिएका सहरहरूसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक रहेको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ । उनले भने, ‘सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ, सङ्क्रमण देखिनेलाई सम्बन्धित पालिकासँग समन्वय गरेर होम आइसोलेसन बस्न भन्ने गरेका छौँ । यसले जोखिम कम गर्न सकिन्छ ।’ साथै कोभिड–१९ सम्पर्क व्यक्ति जोशीका अनुसार कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोना विरुद्धको खोप अभियानलाई निरन्तरता दिइएको छ । प्रदेशका सबै स्थानीय तहमा हाल ५५ वर्षमाथिकालाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउन थालिएको जोशीको भनाइ छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख ४२ हजार तीन सय ६४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय आठजनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना सङ्क्रमण बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयको आग्रह छ । रासस