मकर जितुमाया सुरी हाइड्रोले चैत १९ गतेदेखि आईपीओ बेच्दै, कति कित्ता खरिद गर्ने ?
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको १४ करोड ४९ लाख ४० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ४९ हजार ४ सय कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये ८० हजार ७० कित्ता सामूहिक लगानी कोष, ३२ हजार २८ कित्ता कर्मचारी र १३ लाख ३७ हजार ३०२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ छिटोमा चैत २२ गते र ढिलोमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलमा रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनबाट ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्तको सेयर बिक्रीमा, प्रतिकित्ता १ हजार ११५ रुपैयाँ
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २१ हजार २५५ कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले संस्थापक सेयरधनी नरेश नेपालको नाममा रहेको १३ हजार ४२० कित्ता, शंकर गिरीको ६ हजार ३३५ कित्ता र गंगा लक्ष्मि अवालको १ हजार ५ सय कित्ता गरी कूल २१ हजार २५५ कित्ता सेयर बिक्रीमा राखेको हो । लघुवित्तले बिक्री गर्न लागेको सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १ हजार ११५ रुपैयाँ तोकिएको छ । लघुवित्तले यसअघि संस्थापक सेयरधनीहरुका लागि ३५ दिनभित्र खरिद गर्न आह्वान गरेको थियो । संस्थापक सेयरधनीहरुले आवेदन नदिएको हुँदा खरिद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताहरुलाइ १५ दिन भित्र आवेदन दिन लघुवित्तले आग्रह गरेको छ ।
सिद्धार्थ बैंकको १२.५० प्रतिशत बोनस सेयरधनीको डिम्याट खातामा
काठमाडौं । सिद्धार्थ बैंकले वितरण गरेको लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको छ । बैंकको गत पुस २८ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाले पारित गरेको १२.५० प्रतिशत बोनस सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १२.५० प्रतिशत बोनस सेयर र ०.६६ प्रतिशत नगद लाभांश वितरण गरेको हो । बैंकले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको हो । साथै, बैंकले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ ।
सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने
भक्तपुर । नयाँवर्ष २०८० सालको अवसरमा भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ को आयोजना हुने भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव हुन लागेको आयोजकले जानकारी दिएको हो । यहिँ चैत्र २३ गतेदेखि २०८० साल बैशाख ३ गतेसम्म ११ दिने महोत्सवको आयोजना हुने महोत्सवका संयोजक दीपक थापाले बताए । “हामीले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षको अवसरमा बृहत औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागेको हौं,” थापाले भने । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा महोत्सवको हुने जहाँ २०० भन्दा बढी स्टल रहनेछन् । यहाँ मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरुका स्टलहरु हुने संयोजक थापाले बताए । कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिएका छन् । सो स्थानमा अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल रहनेछन् । “बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौं,” औद्योगिक शान्ति नेपाल अध्यक्ष महतले भने । महोत्सवमा करिब ५ लाख उपभोक्ताले अवलोकन तथा सेवा लिने र करिब स्टलहरुबाट करिब १० देखि १२ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । दैनिक सांगीतिक प्रस्तुती, बाल उद्यानपनि आयोजकका अनुसार महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हाँस्य व्यङ्गय सहितका मनोरञ्जनात्मक प्रस्तुती रहनेछ । महोत्सवमा हरेक दिन व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरुको समेत आयोजना हुनेछ । प्रवेश शुल्क ५० र ७० रुपैयाँ रहेकोमा विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको संयोजक थापाले बताए । महोत्सवमा भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले यसबाट लाभ लिनेछन्,, थापाले भने । बैशाख ४ गते भने विशेष सांस्कृति कार्यक्रम हुने सो कार्यक्रमको टिकटको मुल्य २०० रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ ।
राज्यले निजीक्षेत्रको सम्मान नगरेसम्म देश आर्थिक रूपमा सबल हुदैन : श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारका आकाक्षी उमेशलाल श्रेष्ठले सरकारले निजीक्षेत्रको सम्मान नगरेसम्म देश आर्थिक रुपमा सबल हुन नसक्ने बताएका छन् । सुदुरपश्चिम प्रदेश उद्योग वाणिज्य महासंघको छैठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । ‘अहिले तीन वटै तहको सरकार चलाउन निजी क्षेत्रको ठूलो सहयोग छ तर निजी क्षेत्रलाई कुनै सम्मान गरिँदैन,’ उनले भने, ‘सम्मान भन्नाले हामीलाई राज्यले फुलमाला लगाईराख्न पर्दैन तर काम गर्ने वातावरण त बनाईदिन पर्यो नि ।’ एउटा कम्पनी दर्ता गर्न करिव ३ दर्जन सरकारी निकायमा पुगेर हात जोड्दै हिड्नुपर्ने अवस्था रहेको उनको भनाई थियो । ‘हामीले आन्दोलनमार्फत विभिन्न राजनीतिक व्यवस्था बदल्यौं तर राजनीति र कर्मचारी तन्त्रमा परिवर्तन आएन,’ उनले भने, ‘हामी पञ्चायत हुँदै गणतन्त्रसम्म आईपुग्यौं तर हाम्रो कर्मचारीमा तन्त्रको काम गर्ने शैली पञ्चायतकालिन नै छ ।’ कुनै पनि मुलुकमा राजनीतिक क्रान्ति हुँदा आर्थिक व्यवस्थाका साथै सरकार र कर्मचारी तन्त्रको कार्यशैली बदलिने भन्दै तर नेपालमा कुनै पनि कार्यशैलीमा परिवर्तन नआएको उनको गुनासो थियो । उद्योगी व्यवसायीले अहिले पनि राजा महेन्द्रको पालाको २०१९ सालको कानूनको अधिनमा रहेर व्यापार व्यवसाय गर्नुपरेको भन्दै कालाबजारी ऐनजस्ता झण्झटिला कानूनहरु तत्काल परिवर्तन गरिनुपर्ने उनको तर्क थियो । ‘हामील अहिले बैंक विरुद्ध आन्दोलनमा छौं तर हाम्रा लागि त्यो भन्दा ठूलो समस्या नीति नियममा देखिएका समस्या हुन्,’ उनले भने, ‘अहिले नियामक निकायले बैंकहरुलाई विना लगाम छाडिदिँदा समस्या आएको छ त्यसमा सरकार र राष्ट्र बैंक निजी क्षेत्रमैत्री हुनु जरुरी छ ।’ सरकार र राष्ट्र बैंकले चाहेको खण्डमा अहिले देखिएको उच्च व्याजदर घटाउन सक्ने भन्दै त्यसका लागि नेपाल उद्योग वाणिज्य महासंघले पहल गर्नुपर्ने उनको तर्क थियो । यसैगरी सरकारले देशको आर्थिक स्थिती सुधार गर्न कम्तीमा एक दशकसम्म एउटै आर्थिक नीति लिनुपर्ने उनको भनाई थियो । ‘जबसम्म सरकारले निजी क्षेत्रलाई सम्मान गरेर देशका ठूला पूर्वाधार विकाशमा लगानी गर्न आब्हान गर्नु हुन्न तबसम्म देश आर्थिक रुपमा अघि बढ्न सक्दैन,’ उनले भने, ‘अहिले सरकारले हामी निजी क्षेत्रलाई निचोरेर भएपनि कर उठाउने काम गरेको भन्दै यसतर्फ सरकारले विशेष ध्यानदिनु आवश्यक छ ।’ राजनीतिक घरनामा जन्मिए पनि आफ्नो एउटै मुलमन्त्र उद्योग व्यवसाय संचालन गर्दै देशलाई आर्थिक रुपमा सक्षम बनाउने भएको भन्दै व्यवसायीका समस्या समाधान गर्न पुनः महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको रुपमा अघि बढेको जानकारी दिए । ‘अहिले महासंघ केन्द्र र जिल्ला नगरबीच त्यतिधेरै समन्वय भएको देख्दिन भने जिल्लाका समस्यालाई केन्द्रले चासो नदिएको आभास भएको छ,’ उनले भने, ‘महासंघलाई सबै तहका उद्योगी व्यवसायी पुर्याएर राज्यसँग लविङ गरेर व्यवसायीको मसस्या समाधान गर्न मेरो ध्यान केन्द्रित हुनेछ ।’ साथै अहिलेको विषम परिस्थितीमा महासंघको नेतृत्व लिन आएको भन्दै अब हुने वरिष्ठ उपाध्यक्षको लागि आफुलाई मत दिएर निर्वाचित गराउन समेत श्रेष्ठले आग्रह गरेका छन् ।
महासंघलाई सबै तहका उद्योगी र व्यवसायीको पहुँचमा पुर्याउँछु : श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले आफुले संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन कार्य गर्ने बताएका छन् । वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले शनिवार धनगढीमा आयोजित नेपाल उद्योग बाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको छैटौं प्रदेश सभाको सफलताको शुभकामना दिँदै आफ्नो नेतृत्वमा व्यवसायीहरुको समस्यारुपी घाउमा मल्हम लगाउन र पिडामा रहेको व्यवसायलाई उकास्न भूमिका निभाउने बताए । “अर्थतन्त्र लथालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्याहरु सुनिनुपर्दछ र यसको लागि महासंघलाई सबै तहका उद्योगी व्यवसायीहरुको पहुँचमा हुनेगरी काम गर्नुपर्दछ,” उनले भने भने, “करका विषय नापतौल र मिसम्याचका विषयलगायत ऋण तिर्ने जस्ता आर्थिक समस्या छन्, यस्ता विषयहरुलाई सम्बोधन गर्न भनेर नै मैले विज्ञसहितको टिम तयार गरेको छु ।” श्रेष्ठले सुदुरपश्चिम प्रदेशमा पर्यटन र कृषिको अथाह संभावना रहेको भन्दै यसलाई बिस्तार गर्न पनि युवा र जुझारु नेतृत्व चाहिने बताए । “मैले लामो समयदेखि महासंघको विभिन्न तहमा बसेर कार्य गर्दै आएको छु, यसले मलाई उद्योगी व्यवसायीहरुको समस्या बुझ्न सहयोग गरेको छ,” श्रेष्ठले भने, “मेरो टिम अन्तरगतका विभिन्न उपाध्यक्ष तथा अन्य सदस्यहरु समेत समावेशी युवाहरु छन् ।” आफ्नो टिमको तर्फबाट जिल्ला/नगर तर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान तथा एसोशिएट्स उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ उम्मेदवार रहेको उनले जानकारी दिए । उनले आफूले महासंघमा लामोसमयदेखि विभिन्न भूमिकामा रहेर नयाँ विषयहरु सिक्दै रहेको र अन्य साथिहरुलाई समेत सिकाउँदै आएको बताए । उनले आफूले व्यवसायीहरुको पिडालाई सम्बोधन गर्नकै लागि र लथालिङ्ग अर्थतन्त्रलाई सम्हाल्नेगरी प्लेटफर्म तयार पारेको भन्दै सबैलाई त्यसमा सहकार्य र सहभागी हुन आग्रह गरे । “मेरो नेतृत्वमा तपाईँहरुलाई संस्थाको हरेक कार्यमा आबद्धता गराउने र अपनत्व दिलाउने प्रतिबद्धता व्यक्त गर्दछु, आउनुस् सबै मिलेर सहकार्य गरौं,” उनले भने ।
गृहले गर्याे २५ अधिकारीको सरुवा
काठमाडौं । गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो । सरुवा हुनेमा १४ राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) सहित रहेका छन् । गृह सचिव विनोदप्रकाश सिंहका अनुसार मन्त्रालयले अतिरिक्तमा रहेका ११ सहसचिवको पदस्थापन र तीनजनाको सरुवा गरेको छ भने ११ जना सहसचिवको विभिन्न निकायमा सरुवा गरेको छ । जसअनुसार सहसचिव रामबन्धु सुवेदीलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँको प्रमुख अध्यागमन अधिकृतमा पठाएको छ भने त्यहाँका वासुदेव घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत सारिएको छ । सहसचिव रुद्रसिंह तामाङलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महादेव पन्तको आन्तरिक व्यवस्थापन महाशाखा, गृहमा पदस्थापन गरिएको छ । यसैगरी, मेखबहादुर मगरातीलाई जिल्ला प्रशासन कार्यालय पाँचथर, रामकृष्ण अधिकारीलाई लमजुङ, जयकुमार घिमिरेलाई जुम्ला, प्रेमप्रसाद आचार्यलाई पर्वत, कोमलप्रसाद धमलालाई दोलखा, वेदप्रसाद खरेललाई सल्यान, मदन कोइरालालाई प्यूठान र रामकुमार महतोलाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । थानेश्वर गौतमलाई धनकुटा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव अनिता निरौलालाई जिल्ला प्रशासन कार्यालय रामेछापको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलाई जिल्ला प्रशासन कार्यालय जुम्लाको सहायक प्रजिअ, धनकुटाकी लीलाकुमारी केसी (पाण्डे) लाई पाँचथरको सप्रजिअ, दोलखाका प्रजिअ शेखर पौड्याललाई जिल्ला प्रशासन कार्यालय इलामको सहायक प्रजिअ, रामेछापका प्रजिअ शोभाखर रेग्मीलाई जिल्ला प्रशासन कार्यालय बैतडीको सहायक प्रजिअमा सरुवा गरिएको छ । यसैगरी, जिल्ला प्रशासन कार्यालय लमजुङका प्रजिअ वसन्तराज पुरीलाई सहायक प्रजिअ दोलखा, पर्वतका प्रजिअ चित्राङ्गत बराललाई सप्रजिअ बागलुङ, र बागलुङका प्रजिअ गणेशप्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय पर्वतको सहायक प्रजिअ र प्यूठानका प्रजिअ वेदप्रसाद अर्याललाई जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रजिअमा सरुवा गरिएको छ । रासस गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सल्यान, जुम्ला र जाजरकोटका प्रजिअहरु क्रमशः कृष्णचन्द्र पौडेल, मुकेशकुमार केशरी र अञ्जन न्यौपानेलाई क्रमशः प्यूठान, धनुषा र धनकुटाको सहायक प्रजिअ बनाई पठाएको जनाएको छ । रासस
उपप्रधानमन्त्री श्रेष्ठको दावी : दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउँछ
काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउने दावी गरेका छन् । मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले सो दावी गरेका हुन । शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिवद्धता समेत व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरुसँग निरन्तर संवादमा रहिरहने आश्वासन समेत व्यक्त गरे । कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले आम उपभोक्तालाई सस्तो र गुणस्तरीय बस्तुको उपयोग गराउने काममा तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्ने आवश्यक्ता रहेको बताएकी थिईन ।