प्राइम बैंकले धितोमा रहेको घरजग्गा र ५ वटा सवारी बेच्दै
काठमाडौं । प्राइम कमर्सियल बैंकले धितोमा राखिएको घरजग्गा र सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको भरतपुर शाखा कार्यालय चितवनबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । ऋणी अर्मान कन्स्ट्रक्सन प्रालिले लिएको कर्जा वापत दिनेश कुमार चौधरीको नाममा खैरहानी ९ चितवन स्थित कित्ता नम्बर ७६८ को ०–१०–११ विघा, हेमना चौधरीको नाममा रहेको कित्ता नम्बर ९७१ को ०–८–११.५ विघा र शकुरा महतोको नाममा रहेको कित्ता नम्बर ८४७ को ०–११–३ विघा क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो । साथै, बैंकको नाममा दर्ता भएका बा २ क ९२०४ नम्बरको ग्रेडर मेसिन, बा २ क ८५९४ नम्बरको केश कम्प्याक्टर, ना ८ ख ५९४७ नम्बर र ना ८ ख ५९४८ नम्बरका टाटा टिप्पर बिक्रीमा राखेको हो । यस्तै, ऋणी नताशा निर्माण सेवाका प्रोप्राइटर ईश्वर रिमालको नाममा चितवन स्थित कित्ता नम्बर ४०१०, ४००९ को क्रमशः ०–०–१८–० र ०–०–५–० क्षेत्रफल भएको जग्गा, जमानीकर्ता रामेश्वरी रिमालको नाममा रहेको कित्ता नम्बर २७८५, १०४२ र १३७९ को ०–१–७.२५–०, ०–०–१०–० र ०–०–१०–० क्षेत्रफल भएको जग्गा र जग्गाले चर्चेका घर बिक्रीमा राखेको हो । साथै, बैंकको नाममा दर्ता रहेको प्र नं.१–०१–००३–क ५६९३ नम्बरको एक्जाभेटर बिक्रीमा राखेको छ । यस्तै, ऋणी हिरोज कन्स्ट्रक्सनका प्रोप्राइटर वचन कार्कीले कर्जा लिएवापत जमानीकर्ता श्रीया पौडेलको नाममा दर्ता कायम कित्ता नम्बर १४९८ को ०–१–१७.५, सूर्य बहादुर कार्कीको नाममा दर्ता कायम कित्ता नम्बर ५४१३ र १७३८ को क्रमशः ०–०–१३ र ०–१–२ विघा क्षेत्रफल भएको जग्गा र सिता कुमारी कार्कीको नाममा दर्ता रहेका जग्गा र जग्गाले चर्चेको घर पनि लिलाम बिक्री गर्ने भएको हो ।
कब्जा गरिएका संचरना हटाउन महानगरको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले एक सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका सबै सरोकारवालालाई संचरना हटाउन निर्देशन दिएको हो । महानगरले पटकपटक अवगत गराउँदा पनि नहटेका संरचनालाई प्रचलित कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुल्ने सूचनामा उल्लेख गरेको छ ।
८ महिनामा १ खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले १ खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार ८ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबर अनुदान र १ खर्ब १४ अर्ब रुपैयाँ बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ बराबर वैदेशिक ऋण र ५५ अर्ब ४६ करोड रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको थियो । लक्ष्यको तुलनामा वैदेशिक ऋण प्रतिबद्धता ४७ प्रतिशत र वैदेशिक अनुदान प्रतिबद्धता ४४.२८ प्रतिशत बराबर हो । अर्थ मन्त्रालयका अनुसार यो अवधिमा जापान सहयोग नियोग (जाइका)बाट ‘प्राजेक्ट फर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसीप’ (जेडिएस) कार्यक्रमका लागि ३५ करोड रुपैयाँ अनुदानको प्रतिबद्धता सरकारले पाएको छ । त्यस्तै जाइकाले ‘तराई क्षेत्र सिँचाइ प्रणाली सुदृढीकरण परियोजना’का लागि २ अर्ब रुपैयाँ अनुदान प्रतिबद्धता जनाएको छ । युरोपियन युनियनबाट ‘वास फर अल’ परियोजनाका लागि १ अर्ब ३७ करोड रुपैयाँ र ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमका लागि २ अर्ब अनुदान प्रतिबद्धता पाएको छ । ८ महिनामा स्वीटजरल्यान्ड सरकारबाट ‘प्राविधिक तथा व्यावसायिक शिक्षा कार्यक्रम’का लागि ९९ करोड १० लाख रुपैयाँ बराबर अनुदान सहायताका प्रतिबद्धता आएको छ । दक्षिण कोरिया सरकारले कोरियाबाट फर्किएका कामदारको उद्यमशीलता विकासका लागि लागि १ अर्ब र नेपाल प्रहरीको साइबर ब्यूरोको क्षमता विकासका लागि १ अर्ब रुपैयाँ अनुदानको प्रतिबद्धता जनाएको छ । त्यसैगरी एसियाली विकास बैंक (एडिबी)ले नेपालको पहाडी क्षेत्रमा फलफूल तथा ओखरखेती प्रवद्र्धनका लागि २ अर्ब ४७ करोड रुपैयाँ र महिलाको क्षमता विकास कार्यक्रमका लागि १ अर्ब ५७ करोड अनुदान प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ । बेलायत सरकारले सुरक्षा तथा न्याय प्रणाली क्षमता विकास कार्यक्रम फेज–२ का लागि ५ अर्ब २६ करोड रुपैयाँ र स्थानीय पूर्वाधार कार्यक्रमका १ अर्ब ४४ करोड रुपैयाँ अनुदान प्रतिबद्धता जनाएको छ । त्यस्तै नर्वे सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि २ अर्ब ५७ करोड रुपैयाँ र फिनल्यान्ड सरकारले विद्यालय शिक्षा क्षेत्र योजनाका लागि २ अर्ब ५४ करोड रुपैयाँ प्रतिबद्धता जनाएको छ । वैदेशिक ऋण सहायतातर्फ विश्व बैंकमार्फत ‘ग्रिन रेजिलेन्स एन्ड इन्क्लुसिभ डेभलपमेन्ट’ (ग्रिड) कार्यक्रमका लागि १२ अर्ब ७५ करोड रुपैयाँ ऋण प्रतिबद्धता आएको छ । त्यस्तै विश्व बैंकले क्षेत्रीय यातायात तथा व्यापार कनेक्टिभिटी परियोजनाका लागि ३४ अर्ब ९६ करोड रुपैयाँ र ‘डिजिटल नेपाल एक्सिलेरेसन कार्यक्रम’का लागि १७ अर्ब ७९ करोड रुपैयाँ बराबर ऋण दिने प्रतिबद्धता जनाएको अर्थ मन्त्रालयले जनाएको छ । यो अवधिमा जाइकाबाट सहरी क्षेत्रको विद्युत् प्रणाली व्यवस्थापन परियोजनाका लागि १ अर्ब ४२ करोड रुपैयाँ ऋणका लागि सम्झौता भएको छ । त्यस्तै एसियाली विकास बैंकले पहाडी क्षेत्रमा फलफूल तथा ओखरखेती प्रवद्र्धनका लागि ७ अर्ब ७९ करोड रुपैयाँ र विद्यालय शिक्षा क्षेत्र योजनाका लागि २६ अर्ब ५१ करोड रुपैयाँ बराबरको ऋण प्रतिबद्धता जनाएको छ । रासस
नक्कली नोटको बिगबिगी, ३ महिनामै १० लाख बढी बरामद
काठमाडौं । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा १० लाख रुपैयाँभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन् । गत मङ्सिरमा तीन जना पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले १ हजार दरका २६ हजार र ५ सय दरको ४ हजार ५ रुपैयाँ नक्कली नोट बरामद गरेको जनाएको छ । साथै पुसमा १७ पक्राउ परेका र उनीहरुको साथबाट १ हजार दरको ६ लाख ३६ हजार बरामद गरिएको थियो । पुसमा ५ सय, १ सय र ५० दरका पनि नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ । माघमा १ हजार दरको ४ लाख ४४ हजार नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । काठमाडौँको कालोपुलबाट चैत १ गते नक्कली नोट कारोबारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ लाख ३६ हजार नक्कली नोट बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका–७ घर भएर सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खुला बोर्डरले धेरै सुविधा दिएको छ :अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल–भारतबीचको सम्बन्ध परम्परागतदेखि प्रगाढ रहिआएको बताएका छन् । नेपाल–भारतका पत्रकारको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ले आयोजना गरेको नेपाल–भारतमैत्री संवादमा उनले नेपाल–भारतबीचको सम्बन्ध सौहार्दपूर्ण रहिआएको बताए । उनले हाल कायम रहेको सम्बन्धलाई अझ सबल बनाउँदै लैजानुपर्नेमा जोड दिए । ‘हाम्रो खुला बोर्डरले धेरै सुविधा दिएको छ, यद्यपि कहिलेकाहीँ समस्या निम्तिने गरेको भए पनि खुला सिमानाका कारण दुवै देशका नागरिकले फाइदा लिइरहेका छन्,’ उनले भने । पूर्वप्रधानमन्त्री नेपालले सीमा क्षेत्रका जनताले मलखादको समस्या भोग्नुपरेको स्मरण गर्दै मलखाद अभावमा कृषि क्षेत्र प्रभावित हुनु दुःखद भएको बताए । किसानको समस्या समाधानका लागि विषेश पहल जरुरी रहेको उल्लेख गर्दै उनले स्थायी समाधानका लागि सरकारको ध्यान जानुपर्ने बताए । लोसपाका नेता एवं पूर्वमन्त्री अनिलकुमार झाले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि चलिआएको बताउँदै आगामी दिनमा पनि यस सम्बन्धले जनस्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
वायुसेवा निगम सुधारेर गौरव गर्न लायक ध्वजावाहक बनाउँछु : पर्यटनमन्त्री किराती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सुधार्न विशेष महत्व दिएको बताएका छन् । निकै कमजोर अवस्थामा रहेको निगमको हालको अवस्थालाई सुधारेर साँच्चिकै गौरव गर्न लायक ध्वजावाहक बनाउन विभिन्न प्रयत्न भइरहेको उनले उल्लेख गरे । पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउन विभिन्न सञ्चारमाध्यमका पत्रकारसँग अन्तक्र्रियाका क्रममा पर्यटनमन्त्री किरातीले निगमका साथै मुलुकको समग्र हवाई क्षेत्रको सुधार गरी सुरक्षित र भरोसायोग्य बनाउन नीतिगत र संरचनागत सुधार गरिने विश्वास व्यक्त गरे । ‘वायुसेवा निगम इतिहासकै चरम सङ्कटमा छ, अर्को भाषामा भन्नुपर्दा कृत्रिम श्वास लिइरहेको छ । राष्ट्रिय ध्वजावाहकको यो हालतलाई सुधार गरेर लैजानुर्छ,’ उनले भने । पर्यटनमन्त्री किरातीले पुरानो पर्यटन ऐनका कारण पर्यटन क्षेत्रमा गुणात्मक फड्को मार्न नसकिएको बताए । संस्कृति र सम्पदाको क्षेत्रमा पनि सन्तोषजनक काम हुन नसकेको उनको भनाइ छ । आफू मन्त्री भएर आएको दुई महिनाको अवधिमा मन्त्रालय र मातहत निकायमा धेरै समस्या पहिचान गरेको र समस्यालाई सम्भावनामा परिणत गर्न आवश्यक रणनीतिसमेत बनाएको उनले उल्लेख गरे । उनले मन्त्रालय मातहतका निकायको कामकारबाही चुस्त र प्रभावकारी बनाउन योजनाबद्ध कार्यक्रम ल्याउने बताए । पर्यटनमन्त्री किरातीले पर्यटन मन्त्रालयअन्तर्गतका निकायको कामलाई परिणाममुखी बनाउन के–कसरी काम गर्न सकिन्छ भनेर सञ्चारकर्मीसँग आवश्यक राय–सुझाव पनि लिएका थिए । उनले लामो समय पर्यटन र नागरिक उड्डयनमा कमल चलाउने पत्रकारको सुझावलाई समेत आधार मानेर मन्त्रालयको कामलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरे ।
मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ । जसका कारण हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज आइतबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
मकर जितुमाया सुरी हाइड्रोले चैत १९ गतेदेखि आईपीओ बेच्दै, कति कित्ता खरिद गर्ने ?
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको १४ करोड ४९ लाख ४० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ४९ हजार ४ सय कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये ८० हजार ७० कित्ता सामूहिक लगानी कोष, ३२ हजार २८ कित्ता कर्मचारी र १३ लाख ३७ हजार ३०२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ छिटोमा चैत २२ गते र ढिलोमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलमा रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनबाट ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।