नक्कली नोटको बिगबिगी, ३ महिनामै १० लाख बढी बरामद

<p>काठमाडौं । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा १० लाख रुपैयाँभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना [&hellip;]</p>

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा १० लाख रुपैयाँभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन् । गत मङ्सिरमा तीन जना पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले १ हजार दरका २६ हजार र ५ सय दरको ४ हजार ५ रुपैयाँ नक्कली नोट बरामद गरेको जनाएको छ ।

साथै पुसमा १७ पक्राउ परेका र उनीहरुको साथबाट १ हजार दरको ६ लाख ३६ हजार बरामद गरिएको थियो । पुसमा ५ सय, १ सय र ५० दरका पनि नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ । माघमा १ हजार दरको ४ लाख ४४ हजार नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँको कालोपुलबाट चैत १ गते नक्कली नोट कारोबारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ लाख ३६ हजार नक्कली नोट बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका–७ घर भएर सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Share News