लयमा फर्किदैँ बन्दीपुरको होटल व्यवसाय
डुम्रे । पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल भएसँगै बन्दजस्तै भएको यहाँको होटल व्यवसायले पनि गति समात्न थालेको छ । बन्दीपुरका होटल व्यवसायी सूर्य ढकाल भन्छन्, ‘बन्दजस्तै भएको व्यवसाय अहिले केही मात्रामा चयलायमान भएको छ ।’ सर्वजानिक बिदा र शनिबारको दिनमा बन्दीपुरमा आन्तरिक पर्यटकको आवतजावत बढिरहेको उनी बताउँछन् । पूर्वाधारमा सहज व्यवस्थापन नहुँदा पनि केही असर गरेको उनको भनाइ छ । त्यस्तै बन्दीपुरका पर्यटन व्यवसायी काशीनाथ गुरुङ भन्छन्, ‘पहिले–पहिले पर्यटक धेरै आउँथे, फुर्सद नै थिएन ।’ अहिले यहाँ पर्यटक कम मात्रामा आउने गरेको व्यवसायी गुरुङ बताउँछन् । ‘दुई वर्ष कोरोनाले पर्यटक नै शून्य भए, अहिले सिजन हो, आउनुपर्ने जति पर्यटक बन्दीपुर आउन सकेका छैनन्’, उनी भन्छन्, ‘राजमार्ग विस्तार गर्ने क्रममा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले सडकमार्गको यात्रामा समस्या हुँदा पर्यटक घटेको अनुभव गरेका छौँ ।’ सहज यात्रा चाहने पर्यटक हवाईमार्फत सिधा पोखरा जाने गर्दा यहाँ आउने विदेशी पर्यटक घटेका उनको भनाइ छ । अहिले विदेशी पर्यटक ‘प्याकेज’मा मात्रै आउने गरेको बन्दीपुर पर्यटन बोर्डका अध्यक्ष किसान प्रधान बताउँछन् । ‘दुई वर्ष अगाडि प्याकेजबिना पनि पर्यटक आउने गर्दथे, तर अहिले प्याकेजमा मात्रै आउने गरेका छन्’, उनले भने । यस वर्ष सडक विस्तारले पनि केही समस्या भएको उनले बताए । ‘सडक सहज नबन्दा पनि बेसिजनमा आउने पर्यटक भने पक्कै घटेका छन्, राजमार्ग विस्तार सकिएपछि अझै पर्यटक बढ्ने अपेक्षा गरेका छौँ’ उनले भने । अहिले प्याकेजमा भने दैनिक २० देखि २५ विदेशी पर्यटक बन्दीपुर भित्रिने गरेका छन् । ‘सिजन तथा बेसिजनमा विदेशी पर्यटक बन्दीपुरमा जतिबेला पनि देखिन्थ्यो, अहिले प्याकेजमा मात्रै आउने गरेका छन्, यसले बन्दीपुरको व्यवसाय पनि घटेको प्रत्यक्ष देखिन्छ’, अध्यक्ष प्रधानले भने । बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको बन्दीपुर पर्यटन बोर्डका पूर्वअध्यक्ष एवं होटल व्यवसायी वैश गुरुङ बताउँछन् । परम्परागत पुराना घर, यहाँको रहनसहन, स्वागत–सम्मान, ढुङ्गाले बिछ्याएको बाटोघाटोले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन मिनी ग्रेटवाल निर्माण गरिरहेको छ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिन्छ । विगत दुई वर्षदेखि निर्माण सुरु भएको मिनी ग्रेटवाल निर्माण नसकिँदै पर्यटकको रोजाइमा पर्न थालेको हो । बन्दीपुर घुम्न आएका अधिकांश पर्यटक उक्त ठाउँका बारेमा चासो लिने गरेका छन् । बन्दीपुरमा अझै पर्यटक वृद्धिका लागि संरचना निर्माणलाई गाउँपालिकाले विशेष प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । कुल साढे दुई किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना गाउँपालिकाको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा सयर, पुष्पलाल स्मृति उद्यान, मुकुन्देश्वरी उद्यान, सिसाको पुललगायतका संरचना निर्माण गर्ने योजना छ । विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’को नामकरण गरिएको हो । सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ आउन आकर्षित हुने गर्दछन् । रासस
नारायणकाजीले किन स्थगित गरे आकस्मिक पत्रकार सम्मेलन ?
काठमाडौं । उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आइतबार मध्यान्ह १२ बजे पत्रकार सम्मेलन गर्ने जानकारी सचिवालयमार्फत् सम्पूर्ण सञ्चार माध्यमलाई जानकारी गराए । माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले आकस्मिक पत्रकार सम्मेलन भन्दै पत्रकार सम्मेलनको जानकारी गराए । मन्त्रीले एकाएक पत्रकार सम्मेलनको आव्हान गरेपछि धेरैले यस विषयलाई चासोको रुपमा हेरे । सम्भवतः आइतबार मन्त्रिपरिषद् विस्तार हुने आंकलनसहित अधिकांश सञ्चारकर्मीहरुले यो कार्यक्रमलाई प्राथमिकतामा राखेका थिए । तर, पत्रकार सम्मेलन भनिएको केही समयपछि नै तय भएको कार्यक्रम स्थगित भएको सूचना आएको छ । यो सबै विषय नयाँ मन्त्रिमण्डल विस्तारसँग जोडिएको छ । अहिले उप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गरिरहेका श्रेष्ठले सुरुवादेखि नै गृहमन्त्रालयको दाबी गरिरहेका थिए । तर, सत्ता साझेदर दलहरुको पनि चित्त बुझाउनु पर्ने उनी गृहको दाबी छोडेर भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गर्न आएका थिए । अहिले नेपाली काँग्रेस, एकीकृत समाजवादी लगायतका दलहरुसँग गठबन्धन भएको छ । मन्त्रीका लागि विभिन्न राजनीतिक दलबाट विभिन्न व्यक्तिहरुले दाबी गरिरहेका छन् । गृहमन्त्रालय पनि अहिले नेतृत्वविहिन अवस्थामा छ । यही बेला भौतिक पूर्वाधार मन्त्रालय छोडेर गहृमा प्रवेश गर्ने रणनीतिमा नारायणकाजी श्रेष्ठ छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा वरियताक्रम नमिलेको भन्दै उनले सुरुमा असुन्तुष्टि पनि जनाएका थिए । आजको पत्रकार सम्मेलन पनि त्यसको एउटा किस्सा भएको बुझिएको छ । मन्त्री श्रेष्ठ निकट स्रोतका अनुसार सुरुवाती चरणदेखि नै गृह मन्त्रालय दाबी गरेका उनले अध्यक्ष दाहाललाई दबाब दिनका लागि नै पत्रकारसम्मेलन आयोेजन गरेका हुन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले गृह मन्त्रालय श्रेष्ठलाई नै दिने आश्वासन दिएपछि आइतबार बिहानै कारणबश भन्दै पत्रकार सम्मेलन स्थगित गरिएको बुझिएको छ । नेपाली कांग्रेसका उपसभापति पूर्वाबहादुर खड्का र नारायणकाजी श्रेष्ठ दुबैको नजर गृह मन्त्रालयमा छ । दुबैले एउटै मन्त्रालयमा दाबी गरेपछि मन्त्रालय बाडँफाडँमा समस्या देखिएको प्रधानमन्त्री निटक स्रोतको भनाइ छ । स्रोतका अनुसार खड्कालाई अर्थ मन्त्रालय र श्रेष्ठलाई गृह मन्त्रालय दिने सहमति भएसँगै श्रेष्ठले आयोजना गर्ने भनिएको पत्रकारसम्मेलन स्थगित गरिएको हो । मन्त्रीको सचिवालयले भने समय अभावका कारण आज आयोजना गर्ने भनिएको पत्रकारसम्मेलन स्थिगत गर्नु परेको बताएको छ । श्रेष्ठका प्रेस संयोजक कमल गिरीले मन्त्रीको समय अभाव र आवश्यक तयारी नपुग्दा स्थगित गर्नु परेको जानकारी दिए ।
एनएमबि बैंकले चैत २१ गतेदेखि ४ अर्बको ऋणपत्र बिक्री गर्दै, १०.७५ प्रतिशत ब्याज दिने
काठमाडौं । एनएमबि बैंकले चैत २१ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ निष्काशन गर्ने भएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेद्ध । जसमध्ये ६० प्रतिशत अर्थात् २४ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात् १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । जसमध्ये ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १६ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा छिटोमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो समयमा पूर्ण आवेदन नपरेमा आवेदन दिने समय २०८० बैशाख ५ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
६ सयले घट्यो सुनको मूल्य
काठमाडौं । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलाको १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर तोलाको १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको पनि मूल्य घटेर तोलाको १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । साथै, आइतबार चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएको सुन १० रुपैयाँ बढेर १३ सय ७० रुपैयाँ कायम भएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ बिक्री गर्दै
काठमाडौं । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम-३ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम–३ ले १२ अर्ब रुपैयाँ बराबरको इकाई बिक्री खुला गर्ने भएको हो । क्यापिटलले १० वर्ष अवधिको बन्दमुखी योजना बिक्री गर्ने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंकलाई, ५ प्रतिशत अर्थात् ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटललाई र बाँकी १० करोड २० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको हो । क्यापिटलको फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म खरिद गर्न सकिनेछ । क्यापिटलको फण्डमा छिटोमा चैत २९ गतेसम्म आवेदन दिन पाइनेछ । यदि सो समयमा पूर्ण आवेदन नपरेमा २०८० बैशाख १० गतेसम्म आवेदन दिन समय लम्बिनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । सो फण्डमा लगानीकर्ताले स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
खड्का अर्थमन्त्री बन्ने, रेसबाट बाहिरिए महत र चौधरी
काठमाडौं । नेपाली काँग्रेसले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई अर्थमन्त्रीको रुपमा सरकारमा पठाउने आन्तरिक सहमति गरेको छ । पार्टीले खड्कालाई अर्थमन्त्रीका रुपमा उनकै नेतृत्वमा सरकारमा सामेल हुने आन्तरिक सहमति गरेको हो । माओवादी केन्द्रले गृहमन्त्रालयको माग गरेपछि काँग्रेसले अर्थमन्त्रालय मा दाबी गरेको हो । यसअघि काँग्रेसबाट डा. प्रकाशशरण महत, विनोद चौधरी लगायतको नाम अर्थमन्त्रीको रुपमा चर्चा भएपनि अन्तत: खड्का अर्थमन्त्री बन्ने देखिएको हो । स्रोतका अनुसार नेपाली काँग्रेसले औपचारिक रुपमा निर्णय भने गरिसकेको छैन । ‘खड्कालाई अर्थमन्त्री बनाएर उनकै नेतृत्वमा सरकारमा पठाउने आन्तरिक सहमति भएको छ, बिचमा कुनै विवाद नभएको खण्डमा उनी नै अर्थमन्त्री बन्नेछन्,’ स्रोतले भन्यो । खड्का सुर्खेतका हुन् । उनी नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुँदै पार्टी उपसभापतिसम्म बनेका छन् । काँग्रेसको १४ औं महाधिवेशनमा उनी काँग्रेसको निर्वाचित पहिलो उपसभापति बनेका हुन् ।
बैंकमै थन्कियो ३ अर्ब बढी लाभांश, लिनै मान्दैनन् सेयरधनी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीकर्ताले दीर्घकालका लागि लगानी गरेका हुन्छन् । हजुर बुवाको पुस्ताले लगानी गरेर नातीको पुस्ताले लाभ लिने क्षेत्र बैंकिङ्ग हो । अर्थात् बैंकमा लगानी गरेपछि आजको भोलि नै प्रतिफलको आशा हुँदैन । बैंकको लगानी दीर्घकालमा पाइने प्रतिफलका लागि हो भनेर बैंकरहरु बताउँदै आएका छन् । आठ दशकदेखि डेढ दशकसम्मइतिहास बोकेका बैंकहरु सञ्चालनमा छन् । सरकारको लगानीदेखि विदेशी लगानीसम्म भएका बैंक अहिले सञ्चालनमा छन् । बैंकमा गरेको लगानी सबैभन्दा सुरक्षित हुने गरेको लगानीकर्ता बताउँछन् । तर, विगतका वर्षहरुको तुलनामा उच्च लाभांश दिइरहेका बैंकहरुको लाभांश दर कही वर्ष यता भने घट्दै गइरहेको छ । बैंकहरुले वर्षभरी कमाएको नाफा वितरण गर्दा पनि सेयरधनीहरुले अर्बौं रुपैयाँ बराबरको लाभांश रकम बैंकमा नै थन्किने गरेको छ । बैंकहरुले प्रत्येक वर्ष वितरण गर्दै आएको लाभांश रकम केही सेयरधनीहरुले नलिँदा उक्त रकम बढ्न थालेको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत(डीसीईओ) महेश शर्मा ढकाल सेयधनीहरु लाभांश रकम लिन नआउँदा बैंकमै थपिँदै जाने बताउँछन् । लगानीकर्ताले लिएपछि मात्रै लाभांश रकम शून्यमा झर्ने उनको भनाइ छ । वितरण गरिएको रकम सेयरधनीहरुले लिन नआएसम्म बाँकी रहिरहने उनले बताए । ‘अहिले सेयरधनीहरुको खातामा जम्मा गरिन्छ, पहिला खाता पनि हुन्थेन्, लाभांश लिन बैंक वा मर्चेन्ट बैंकमा जनुपथ्र्याे,’ उनले भने, ‘कतिपय मान्छे विदेश गएका हुन सक्छन्, कतिपय आफ्नो नाममा भएको सेयर कति छ भनेर बिर्सेका पनि हुन्छन्, कतिको मृत्यु पनि भएको हुन्छ ।’ उनका अनुसार बैंकले पनि फोन गरेर बोलाएर वितरण गर्न सम्भव छैन । किनभने पुराना खातामा फोन नम्बर पनि अपडेट हुँदैन । बैंकले पटक पटक वितरण गरिएको लाभांश रकम लिनका लागि सूचना पनि जारी गर्ने गरेको उनले बताए । यदि तोकिएको अवधिमा सेयरधनीहरु लाभांश लिन आएनन् भने कोषमा जम्मा गर्ने गरेको उनले बताए । ‘पहिला सेयर भर्दा केवाइसी भर्ने चलन थिएन, सेयरधनी को हो र कहाँ छ भनेर बैंकलाई पनि जानकारी हुँदैन, त्यसैले बैंकहरुले आफ्नो वेबसाइटमा लाभांश लिन बाँकी रहेका सेयरधनीहरुको सूची राख्ने गरेको छ, यदि तोकिएको अवधिमा लिन आएनन् भने कोषमा जम्मा गरिन्छ, त्यो बेलामा मात्रै शुन्यमा झर्छ,’ उनले भने । पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा सेयरधनीहरुले ३ अर्ब ५५ करोड रुपैयाँ बराबरको लाभांश रकम बुझिलिन बाँकी छ । जुन अघिल्लो वर्षको तुलनामा २० प्रतिशत अर्थात् ५८ करोड ५६ लाख रुपैयाँ वृदि भएको हो । यसअघि आर्थिक वर्ष २०७७÷७८ मा ३ अर्ब १ करोड रुपैयाँ बराबरको लाभांश सेयरधनीहरुले बुझिलिन बाँकी थियो । जुन एक वर्षमा २० प्रतिशतले बढेको हो । तथ्याङ्क अनुसार नबिल बैंकका सेयरधनीहरुले सबैभन्दा धेरै लाभांश रकम बुझिलिन बाँकी छ । गत असार मसान्तसम्म नबिल बैंकका सेयरधनीहरुले ७९ करोड २ लाख रुपैयाँ बराबरको लाभांश रकम लिएका छैनन् । उक्त रकम साविकको नेपाल बङ्गलादेश बैंकका सेयरधनीहरुको पनि रहेको बताइएको छ । यस्तै, सबैभन्दा धेरै लाभांश रकम बुझिलिन बाँकी रहेका बैंकहरुमा क्रमशः कृषि विकास बैंकको ५१ करोड १ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको ४१ करोड ५० लाख रुपैयाँ, हिमालयन बैंकको ३१ करोड ६५ लाख रुपैयाँ र एनएमबि बैंकको २१ करोड ५८ लाख रुपैयाँ बराबरकोसेयरधनीहरुले लिएका छैनन् । यस्तै, सिटिजन्स बैंकको १५ करोड ५४ लाख रुपैयाँ, एभरेष्ट बैंकको १३ लाख १८ हजार रुपैयाँ, कुमारी बैंकको ११ करोड ९९ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकको ११ करोड ७४ लाख रुपैयाँ, नेपाल बैंकको १० करोड ६८ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० करोड ६१ लाख रुपैयाँ, प्राइम बैंकको १० करोड ४० लाख रुपैयाँ र सिद्धार्थ बैंकको १० करोड ७ लाख रुपैयाँ बराबरको लाभांश रकमबुझि लिन बाँकी रहँदा बैंकमा नै थन्किएर रहेको छ । यस्तै, एनआईसी एशिया बैंकको ८ करोड ७५ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ७ करोड ८३ लाख रुपैयाँ, सानिमा बैंकको ७ करोड ४८ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ६ करोड ३० लाख रुपैयाँ, लक्ष्मी बैंकको ५ करोड ६८ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको १९ लाख ५२ हजार रुपैयाँ लाभांश रकम बुझिलिन बाँकी रहेको तथ्याङ्कमा उल्लेख छ । एक वर्षको अवधिमा सबैभन्दा धेरै नेपाल बैंकको बुझिलिन बाँकी रहेको लाभांश रकम बढेको छ । बैंकसँगआर्थिक वर्ष २०७७÷७८ मा २० लाख रुपैयाँ मात्रै बुझिलिन बाँकी रहेको लाभांश रकम थियो । तर, एक वर्षमा ५ हजार २३८ प्रतिशत बढेर १० करोड ६८ लाख रुपैयाँ पुगेको छ । लगानीकर्ता सृजना सुवेदी सेयर बजारमा लामो समयदेखि सक्रिय रहेका तर जानकारी नहुँदा लाभांश नै लिन नगएको हुन सक्ने बताउँछिन् । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश लिनका लागि सूचना जारी गर्नुभन्दा सिधै खातामा जम्मा गर्नु पर्ने उनको धारणा छ । ‘आमाबुबाको पुस्ताका सेयरधनीहरु लाभांश लिन जाँदैनन्, सेयर बजारमा पुराना लगानीकर्ताहरु धेरै छन्, उहाँहरुलाई थाहा पनि हुँदैनन्, त्यसपछि लिन जाँदैनन्, बैंक तथा वित्तीय संस्थाहरुले सिधै खातामा हालिदिनु पर्छ,’ उनले भनिन् । लामो समयदेखि सेयरधनीहरुले लाभांश नलिएको खण्डमा बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्रिय दैनिक पत्रिमा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ । सूचना प्रकाशित गर्दा पनि तोकिएको समयसीमामा सेयरधनीहरु सो लाभांश लिन नआएमा रकम कोषमा जम्मा हुन्छ । बैंक तथा अन्य कम्पनीहरुले पनि लाभांश लिन नआएका सेयरधनीहरुलाई सूचना निकालेर बेलाबखत लाभांश लिन आउन आव्हान गरिरहेका हुन्छन् । यदि समयमा लाभांश रकम लिन नआएमा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमाजम्मा गरिने व्यवस्था रहेको छ । एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपेश कुमार वैद्य पुराना सेयरधनीहरुको डिम्याट खाता नहुँदा लाभांशको ठूलो रकम कोषमा जाने गरेको बताउँछन् । अधिकांश सेयरधनीहरुको पुरा विवरण नमिलेका कारण पनि सेयरधनीहरु लाभांश रकम लिन नआएको हुन सक्ने उनले बताए । ‘कुनै–कुनै सेयरधनीहरुको विवरण मिलेको हुँदैन, जस्तै, डिम्याटमा खाता नम्बर नराखेको हुँदा सेयरधनीहरुको लाभांश रकम निलिएको हुन्छन्, पहिला–पहिला आईपीओ भर्दाखेरि सेयरधनीहरुको सूचना राख्नुपर्ने हुन्थ्यो, त्यो सूचनाको पुरा विवरण नराखेको हुँदा लाभांशको रकम कोषमा जम्मा हुन्छ,’ उनले भने । पछिल्लो समय डिम्याट खातामा बैंकको खाता लिंक गरिएको हुँदा नयाँ मुद्धाहरु नहुन सक्ने उनले बताए । तर, आफूले लगानी गरेको लगानीको जानकारी सेयरधनीहरुलाई हुनु पर्ने उनले बताए । उनका अनुसार सेयरधनीहरुको खाता नम्बर अपडेट भएको छ भने सिधैं डिम्याट खातामा राख्न मिल्छ । यदि खाता नम्बर अपडेट गराएको छैन भने अपडेट गराउनुपर्ने उनको भनाइ छ । ‘धेरै सेयरधनीहरुलाई जानकारी नभएर, सेयरधनीहरुलाई सूचना वा सचेतना नभएर लाभांश रकम लिन नआएको हुन सक्छन्, यदि सूचना निकालेको समयसीमाभित्र लिन नआएपछि कोषमा जम्मा हुन्छ,’ उनले भने, ‘सेयर लगानी गरेपछि के भयो, कस्तो भइरहेको छ भनेर जानकारी सेयरधनीहरुले पनि लिनु पर्ने हुन्छ, आफूले लगानी गरेको लगानीको जानकारी सेयरधनीहरुलाई हुनुपर्छ ।’ यस अवधिमा प्रभु बैंकलेसेयरधनीहरुले बुिझलिन बाँकी रहेको रकम लगाानीकर्ता सरंक्षण कोषमा जम्मा गरेको जनाएको छ । बैंकबाट सेयरधनीहरुले लिन बाँकी रहेको लाभांश शुन्यमा झारेको छ । ग्लोबल आइएमई क्यापिटलका सीईओ पारषमणी ढकाल सेयरधनीहरु लिन नआएका कारण लाभांश रकम कोषमा जम्मा हुने गरेको बताउँछन् । कतिपय सेयरधनीहरुलाई आफ्नो सम्पत्तिको समेत वास्ता नभएको उनले बताए । ‘सेयरधनीहरु लाभांश रकम लिन आउँदैनन्, नआएपछि त्यो रकम कोषमा जम्मा गर्नुपर्छ, कतिपय सेयरधनीहरु नेपाल बाहिर पनि हुन सक्छन्, कतिपय सेयरधनीहरुलाई आफ्नो सम्पत्तिको वास्ता पनि हुँदैन,’ उनले भने, ‘यदि सेयरधनीहरुले चाहनाराखेको भए आफ्नो पैसा कहाँ छ भनेर खोज्नु पर्छ, सेयरधनीहरुमा सूचना नपुगेको र आफूले लगानी गरेको सम्पत्तिको वास्ता नहुन सक्छ ।’ खाता अपडेट गरेको दोस्रो दिननै लगानीकर्ताको खातामा लाभांश रकम जम्मा गरिदिने गरेको उनले बताए । तर, पछिल्लो समय पनि सेयरधनीहरुको कारण समस्या आउने गरेको उनको भनाइ छ । ‘अहिले पनि खाता अपडेट नभएको, खातालाई निरन्तरता नदिएको, कतिपय खाताहरुमा डेबिट र क्रडिट गर्न नमिल्ने रहेका छन्, यस्तो अवस्थामा गाह्रो हुन्छ, लगानीकर्ताका कारण पछिल्लो समय खाता दिइसकेपछि खाता नमिल्ने गरेको छ,’ उनले भने । मर्जरमा गएका बैंकहरुको लाभांश रकममा साविक नामेट भएका बैंकको रकम भने जोडिएको छैन । यदि मर्जमा विलय भएका बैंकको बुझिलिन बाँकी लाभांश रकम जोड्ने हो सेयरधनीहरुले बुझिलिन रहेको रकम बढी हुने देखिन्छ । साविकको बैंक अफ काठमाण्डू, मेगा बैंक,सेञ्चुरी बैंक, एनसीसी बैंक, सिभिल बैंकको लाभांश रकम भने यसमा जोडिएको छैन ।
गुराँस लाइफले घोषणा गर्याे हालसम्मकै उच्च लाभांश
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीकोले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले १३.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख ९३ हजार रुपैयाँ बराबरको लाभांश वितरण गरेको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब २३ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीले घोषणा गरेको लाभांश हालसम्मकै उच्च हो । इन्स्योरेन्स कम्पनीले यसअघि आर्थिक वर्ष २०७१/७२ मा १०.५२ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो । इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।