काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल–भारतबीचको सम्बन्ध परम्परागतदेखि प्रगाढ रहिआएको बताएका छन् । नेपाल–भारतका पत्रकारको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ले आयोजना गरेको नेपाल–भारतमैत्री संवादमा उनले नेपाल–भारतबीचको सम्बन्ध सौहार्दपूर्ण रहिआएको बताए ।
उनले हाल कायम रहेको सम्बन्धलाई अझ सबल बनाउँदै लैजानुपर्नेमा जोड दिए । ‘हाम्रो खुला बोर्डरले धेरै सुविधा दिएको छ, यद्यपि कहिलेकाहीँ समस्या निम्तिने गरेको भए पनि खुला सिमानाका कारण दुवै देशका नागरिकले फाइदा लिइरहेका छन्,’ उनले भने ।
पूर्वप्रधानमन्त्री नेपालले सीमा क्षेत्रका जनताले मलखादको समस्या भोग्नुपरेको स्मरण गर्दै मलखाद अभावमा कृषि क्षेत्र प्रभावित हुनु दुःखद भएको बताए । किसानको समस्या समाधानका लागि विषेश पहल जरुरी रहेको उल्लेख गर्दै उनले स्थायी समाधानका लागि सरकारको ध्यान जानुपर्ने बताए ।
लोसपाका नेता एवं पूर्वमन्त्री अनिलकुमार झाले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि चलिआएको बताउँदै आगामी दिनमा पनि यस सम्बन्धले जनस्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।