गुराँस लाइफले घोषणा गर्याे हालसम्मकै उच्च लाभांश
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीकोले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले १३.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख ९३ हजार रुपैयाँ बराबरको लाभांश वितरण गरेको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब २३ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीले घोषणा गरेको लाभांश हालसम्मकै उच्च हो । इन्स्योरेन्स कम्पनीले यसअघि आर्थिक वर्ष २०७१/७२ मा १०.५२ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो । इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
नेष्डो समृद्ध लघुवित्तको ७३.६८ प्रतिशत लाभांश, बोनस र नगद कति ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बोनस सेयर, २० प्रतिशत नगद र ३.६८ प्रतिशत कर प्रयोजनका लागि गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गरेको हो । लघुवित्तको हाल कायम चुक्ता पूँजी २५ करोड २५ लाख रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’
तुलसीपुर । राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदैरुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ, भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ । ‘आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ’, सल्यानबाट दाङ आउदै गरेका यात्रु रुद्रबहादुर रेउलेले भने ‘दुर्घटनाको जोखिम उत्तिकै छ ।’ सल्यान कपुरकोटदेखि तुलसपुर पुग्दा मानिस चिन्न नसिकने अबस्था रहने यात्रुहरुको गुनासो छ । त्यस्तै समय पनि धेरै लाग्ने गर्छ । ‘धुलोले शरिर थपक्कै ढाकेको हुन्छ’,मोटरसाइकल चालक लक्ष्मण केसीले भने, ‘खाल्डा खुल्डीले गर्दा पहिले जस्तो छिटो पनि आउन सकिदैन्, आधा घण्टा लाग्ने ठाउँमा, एक डेढ घण्टा लाग्छ ।’ बिग्रिएको ठाउँमा मर्मतकालागि ठेक्का भइसकेको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए । ‘धेरै ठाउँमा सडक बिग्रिएको छ, अहिले स–साना ठेक्का लागिरहेका छन्’, उनले भने, ‘स–साना ठेक्काको काम सकेपछि अर्को बर्षदेखि ठूलो ठेक्का लाग्छ ।’ ठाउँ–ठाउँमा ठेक्का गरिएको भएपनि ठेकेदारले काम गरेको अबस्था छैन । पटक–पटक म्याद थप गर्ने कार्य भइरहेको छ । चालु आर्थिक बर्ष भित्र सडक मर्मतको काम सक्ने योजना रहेको प्रमुख जैसवालको भनाइ छ । राप्ती लोकमार्ग सुरुमा ‘ओटासिल’ प्रबिधिबाट कालोपत्रे गरिएको हो । त्यो थोरै सवारी चल्दाको कालोपत्रे भएपनि अहिले धेरै सवारी चल्दा ठाउँ–ठाउँमा बिग्रिएको उनको भनाइ छ । तुलसीपुरदेखि रुकुम पश्चिम खौलासम्मको सडक ठाउँ–ठाउँमा बिग्रिएको छ । तीन बर्षदेखि राप्ती लोकमार्गका लागि भनेर छुट्टै बजेट बिनियोजन हुने गरेको छ । चालु बर्षकालागि मात्रै बिभिन्न २० खण्डमा करिब ४८ करोड रुपैयाँ बजेट परेको छ । सडकमा खाल्डाखुल्डी हुँदा चालु बर्षमा मात्रै ३६ जनाभन्दा बढीको दुर्घटनाबाट मृत्यु भइसकेको छ । यस सडकमा बर्षेनी करोडौं बजेट विनियोजन गरेको भएपनि काम भने नहुँने गरेको पाइएको छ । रासस
सहरका शैक्षिक संस्थाभन्दा कम छैन बागलुङको शान्ति मावि
बागलुङ । बागलुङको सबैभन्दा दूरको गाउँ खुङ्खानी । तमानखोला गाउँपालिका–५ मा पर्ने खुङ्खानी गाउँमा पालिका केन्द्र बोङ्गादोभान हुँदै विभिन्न खोलानाला, जङ्घार र भिरपहारा छिचोल्दै पुग्नु पर्छ । भौगोलिकरूपमा निकै विकटमा रहेको खुङ्खानीगाउँ छेउमै चिटिक्क रङरोगन गरेर सिङ्घारिएका केही भवन देखिन्छन् । भवन वरिपरि घेराबारले लगाएर सुरक्षित गरिएको यो शान्ति माध्यमिक विद्यालय हो । दुर्गम गाउँमा यत्ति चिटिक्क परेको विद्यालय ठूला सहरका शैक्षिक संस्थाभन्दा कम छैन । आधा दशक अगाडिसम्म जीर्ण भवन, खानेपानी र शौचालयको अभावमा गुज्रिएको यस विद्यालयले अहिले मुहार फेरेको छ । भौतिक संरचनामा मात्रै होइन, शैक्षिक गुणस्तरमा पनि विद्यालयले फड्को मारेको छ । केही वर्ष पहिलेसम्म विद्यार्थी धुलोमै बसेर पढ्ने गर्थे । पर्याप्त डेक्स– बेन्च थिएनन् । खानेपानी र शौचालयको अवस्था पनि उस्तै थियो । जब स्थानीय सरकार आयो, तब शान्ति माविको स्वरुप नै परिवर्तन भएको छ । गाउँको विद्यालय भए पनि यहाँ डिजिटल माध्यमबाट पढाइ हुन थालेको छ । प्रविधिमैत्री शिक्षा अवलम्बन गरेको विद्यालय जिल्लाकै नमूना बनेको छ । भौगोलिक विकटताका कारण विभिन्न समस्या झल्दै आएको शान्ति मावि अहिले बजारका विद्यालयका लागि पनि प्रेरणाको स्रोत बनेको छ । जिल्ला सदरमुकाम नजिकै रहेका कतिपय सामुदायिक विद्यालयमा अहिले पनि डिजिटल माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप हुँदैनन्, तर यहाँ अघिल्लो वर्षदेखि नै ‘पेपरलेस’ पढनपाठन सुरु गरेको विद्यालयका प्रधानाध्यापक सत्यनारायण सिंहले बताए । सिंहले पछिल्लो आधा दशकमा विद्यालयले भौतिक संरचना र शैक्षिक गुणस्तरमा धेरै सुधार गरेको बताए । उनले अहिले आफूहरूले समयानुसार प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राखेर पठनपाठन सुरु गरेको बताउछन् । उनले पाँच वर्ष अगाडिसम्म विद्यालय भौतिक, शैक्षिक र अन्य प्राविधिकरूपमा कमजोर रहेको सुनाउँदै अहिले अब्बल बन्न थालेको बताए । कक्षा १–५ स्थानीय पाठ्यक्रम लागू गरेको र कक्षा ६–१० डिजिटल माध्यमबाट पठनपाठन हुने गरेको प्रधानाध्यापक सिंहको भनाइ छ । ‘आजभन्दा पाँच–सात वर्ष अगाडि विद्यालयको अवस्था निकै दयनीय थियो, कक्षाकोठा नपुग्दा बालबालिकालाई भुइँमै राखेर पढाउनुपथ्र्यो, पूर्वाधार जीर्ण थिए, विद्यालय घेराबार थिएन, असुरक्षित थियो’ प्रधानाध्यापक सिंहले भने, ‘अहिले विद्यालयमा धेरै संरचना बने, शैक्षिक गुणस्तर पनि राम्रो भएको छ, अब हाम्रो ध्येय भनेको शैक्षिक गुणस्तरलाई बढाउनु हो, हामी सोहीअनुसार लागिरहेका छौँ, अहिले पनि धेरै सुधार गरेका छौँ ।’ पूर्वाधारमा सम्पन्न भएसँगै विद्यालयले शैक्षिक गुणस्तरलाई पनि बढाएको छ भने विद्यार्थी सङ्ख्या पनि बढेको छ । पहिले ४० प्रतिशतमात्रै शैक्षिक प्रगति गरेको विद्यालयले अहिले ८० प्रतिशत बढी उपलब्धि हासिल गर्न थालेको प्रअ सिंह बताउछन् । पहिले दुई सय विद्यार्थी हुने गरेकामा अहिले करिब साढे तीन सय विद्यालर्थीले अध्ययन गरिरहेको उनको भनाइ छ । विद्यालयप्रति समुदाय र अभिभावकको भरोसा बढेपछि विद्यार्थीको आकर्षण बढेको उनले जानकारी दिए । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगर यस विद्यालय विकटमा रहेर पनि छुट्टै पहिचान बनाउन सफल भएको बताउछन् । गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी गरेको जनाउँदै लगानीअनुसार शान्ति माविले प्रतिफल दिन थालेको उनको भनाइ छ । अध्यक्ष बुढामगरले पहिलो कार्यकालको सुरुआतदेखि नै शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको भन्दै अहिले पनि पालिकाका थुप्रै विद्यालयमा सुधार गरिरहेको बताए । अध्यक्ष बुढामगर भन्छन्, ‘खुङ्खानी गाउँ भौगोलिक हिसाबले टाढा र विकटमै छ, यहाँ विकास गर्न त्यत्ति सहज थिएन, तर पनि निरन्तरको प्रयासले सफल भयौँ, अहिले एउटा चरणमा पुग्यो, विद्यार्थीको चाप पनि राम्रो छ, गुणस्तरलाई बढाउनतर्फ जोड दिएका छौँ, इन्टरनेट र अन्य प्राविधिक सहयोग पनि गाउँपालिकाले गरिरहेको छ ।’ कक्षा १० सम्म पढाइ हुने यस विद्यालय विसं २०२१ मा स्थापना भएको थियो । विसं २०४२ देखि निम्नमाध्यमिक र २०६४ बाट माध्यमिक तह पढाइ हुँदै आएको छ । यहाँ १० कक्षासम्म पढाइ सकेर उच्च शिक्षाका लागि विद्यार्थी पालिकाको केन्द्र रहेको बोङ्गादोभानस्थित जनजागृति माध्यमिक विद्यालयमा पुग्नुपर्छ । छ घन्टा हिँडेर पढ्ने बाध्यता हट्दै तमानखोला गाउँपालिका–६ नर्जाखानी, पात्ले, भित्रीवनलगायतका गाउँबाट विद्यार्थी दैनिक छ घण्टा हिँडेर माध्यमिक तहको अध्ययन गर्दै आएका छन् । वडा नं ६ का दर्जनौँ विद्यार्थी आधारभूत तहको पढाइ विष्णु आधारभूत विद्यालय नर्जाखानीमा सकेपछि उनीहरू शान्ति माध्यमिक विद्यालयमा पुग्नुपर्छ । नर्जाखानीबाट शान्ति मावि खुङ्खानी पुग्न तीन घन्टा बढी लाग्छ । वर्षौँदेखि घन्टौँ हिँडेर माध्यमिक शिक्षा हासिल गर्दै आएका नर्जाखानी क्षेत्रका विद्यार्थीले अब छात्रबासमै बसेर माध्यमिक तहको पढाइ गर्न पाउने भएका छन् । शान्ति माविमा छात्राबास सञ्चालनका लागि चालु आर्थिक वर्षमा तमानखोला गाउँपालिकाले रु दुई लाख ५० हजार विनियोजन गरेको प्रधानाध्यापक सत्यनारायण सिंह बताउछन। नर्जाखानीबाट आएर कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीका लागि आवासीय सुविधा दिने भएको उनको भनाइ छ । प्रधानाध्यापक सिंहले भने, ‘यहाँका विद्यार्थीलाई निकै समस्या थियो, दैनिक छ घन्टा पूरै हिँड्नुपथ्र्यो, हिँडाइको थकाइले गर्दा उनीहरूमा पढाइप्रति रुचि कम हुने गरेको पाइयो, त्यसले गर्दा यस वर्षबाट छात्रबासमा राखेर पढाउन थालेका छौँ, यस वर्ष छोटो समय राख्यौँ, आगामी वर्षदेखि थप व्यवस्थापनका साथ विद्यार्थीलाई सहज हुने गरी पठनपाठन गराउँछौँ ।’ रासस
रसुवामा कित्ताकाट खुलाउन पहल
रसुवा । गत असारको तेस्रो सातादेखि रोकिएको जमिनका कित्ताकाट खुलाउन यहाँका पालिकाले पहल सुरुआत गरेका छन् । यसलाई कार्यान्वयन गर्न यहाँका पाँच गाउँपालिकामध्ये पहिलो चरणमा उत्तरगयाले गृहकार्य अगाडि बढाएको हो । यसका लागि उसले सुझाव सङ्कलन सम्पन्न गरेको छ । आवास क्षेत्र र कृषियोग्य जग्गाका विषयमा यकिन गरेर मात्र कित्ताकाट गराउन संघीय सरकारले सबै पालिकालाई पत्राचार गरेको थियो । उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले सुझाव सङ्कलनकार्य सम्पन्न गरी निर्णयमा जाने अन्तिम तयारी भएको जानकारी दिए । भू–उपयोगको नीतिअनुरूप सङ्कलित सुझाव र विज्ञको सिफारिसलाई आधार मानी यही चैत २५ गतेभित्र निर्णय लिइसक्ने उनले बताए । कृषिका लागि दुई रोपनी र घडेरीका लागि साढे चारआनाभन्दा कम कित्ताकाट गर्न नपाइने भू–उपयोग नीतिले औँल्याएको छ । असारदेखि हालसम्म कित्ताकाट हुन नसकेकै कारण ३० लाखभन्दा बढी राजस्व घटेको मालपोत कार्यालयले जनाएको छ । कित्ताको रजिष्ट्रेशन, मरूवा नामसारी, बैंक–वित्तीय संस्थाको धितो बन्धकको कामबाहेक कित्ताकाटबाट गरिने रजिष्ट्रेशनकार्य रोकिएको मालपोत प्रमुख गणेश श्रेष्ठले बताए। नौकुण्ड गाउँपालिकाले जमिनको कित्ता नम्बरसहितको लगत सङ्कलन सुरू गरेको अध्यक्ष नुर्पुसाङ्वो घलेले बताए । रासस
आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू–भागमा केही दिनदेखि आंशिक बदली भइरहेको छ । यसैगरी आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । भोलि सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सगरमाथा जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले चैत ८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँ बराबरको ३९ प्रतिशत अर्थात् ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले १० प्रतिशत अर्थात् ४ लाख ३६ हजार ८०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली लागि, ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४ सय कित्ता सामूहिक लगानी कोषका लागि, ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता कर्मचारीका लागि र सर्वसाधारणका लागि ३५ लाख ८१ हजार ७६० कित्ता सेयर छुट्याइएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने सेयर बिक्री गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीका आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
प्राइम बैंकले धितोमा रहेको घरजग्गा र ५ वटा सवारी बेच्दै
काठमाडौं । प्राइम कमर्सियल बैंकले धितोमा राखिएको घरजग्गा र सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको भरतपुर शाखा कार्यालय चितवनबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । ऋणी अर्मान कन्स्ट्रक्सन प्रालिले लिएको कर्जा वापत दिनेश कुमार चौधरीको नाममा खैरहानी ९ चितवन स्थित कित्ता नम्बर ७६८ को ०–१०–११ विघा, हेमना चौधरीको नाममा रहेको कित्ता नम्बर ९७१ को ०–८–११.५ विघा र शकुरा महतोको नाममा रहेको कित्ता नम्बर ८४७ को ०–११–३ विघा क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो । साथै, बैंकको नाममा दर्ता भएका बा २ क ९२०४ नम्बरको ग्रेडर मेसिन, बा २ क ८५९४ नम्बरको केश कम्प्याक्टर, ना ८ ख ५९४७ नम्बर र ना ८ ख ५९४८ नम्बरका टाटा टिप्पर बिक्रीमा राखेको हो । यस्तै, ऋणी नताशा निर्माण सेवाका प्रोप्राइटर ईश्वर रिमालको नाममा चितवन स्थित कित्ता नम्बर ४०१०, ४००९ को क्रमशः ०–०–१८–० र ०–०–५–० क्षेत्रफल भएको जग्गा, जमानीकर्ता रामेश्वरी रिमालको नाममा रहेको कित्ता नम्बर २७८५, १०४२ र १३७९ को ०–१–७.२५–०, ०–०–१०–० र ०–०–१०–० क्षेत्रफल भएको जग्गा र जग्गाले चर्चेका घर बिक्रीमा राखेको हो । साथै, बैंकको नाममा दर्ता रहेको प्र नं.१–०१–००३–क ५६९३ नम्बरको एक्जाभेटर बिक्रीमा राखेको छ । यस्तै, ऋणी हिरोज कन्स्ट्रक्सनका प्रोप्राइटर वचन कार्कीले कर्जा लिएवापत जमानीकर्ता श्रीया पौडेलको नाममा दर्ता कायम कित्ता नम्बर १४९८ को ०–१–१७.५, सूर्य बहादुर कार्कीको नाममा दर्ता कायम कित्ता नम्बर ५४१३ र १७३८ को क्रमशः ०–०–१३ र ०–१–२ विघा क्षेत्रफल भएको जग्गा र सिता कुमारी कार्कीको नाममा दर्ता रहेका जग्गा र जग्गाले चर्चेको घर पनि लिलाम बिक्री गर्ने भएको हो ।