काठमाडौं । उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आइतबार मध्यान्ह १२ बजे पत्रकार सम्मेलन गर्ने जानकारी सचिवालयमार्फत् सम्पूर्ण सञ्चार माध्यमलाई जानकारी गराए । माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले आकस्मिक पत्रकार सम्मेलन भन्दै पत्रकार सम्मेलनको जानकारी गराए । मन्त्रीले एकाएक पत्रकार सम्मेलनको आव्हान गरेपछि धेरैले यस विषयलाई चासोको रुपमा हेरे ।
सम्भवतः आइतबार मन्त्रिपरिषद् विस्तार हुने आंकलनसहित अधिकांश सञ्चारकर्मीहरुले यो कार्यक्रमलाई प्राथमिकतामा राखेका थिए । तर, पत्रकार सम्मेलन भनिएको केही समयपछि नै तय भएको कार्यक्रम स्थगित भएको सूचना आएको छ ।
यो सबै विषय नयाँ मन्त्रिमण्डल विस्तारसँग जोडिएको छ । अहिले उप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गरिरहेका श्रेष्ठले सुरुवादेखि नै गृहमन्त्रालयको दाबी गरिरहेका थिए । तर, सत्ता साझेदर दलहरुको पनि चित्त बुझाउनु पर्ने उनी गृहको दाबी छोडेर भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गर्न आएका थिए ।
अहिले नेपाली काँग्रेस, एकीकृत समाजवादी लगायतका दलहरुसँग गठबन्धन भएको छ । मन्त्रीका लागि विभिन्न राजनीतिक दलबाट विभिन्न व्यक्तिहरुले दाबी गरिरहेका छन् । गृहमन्त्रालय पनि अहिले नेतृत्वविहिन अवस्थामा छ ।
यही बेला भौतिक पूर्वाधार मन्त्रालय छोडेर गहृमा प्रवेश गर्ने रणनीतिमा नारायणकाजी श्रेष्ठ छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा वरियताक्रम नमिलेको भन्दै उनले सुरुमा असुन्तुष्टि पनि जनाएका थिए ।
आजको पत्रकार सम्मेलन पनि त्यसको एउटा किस्सा भएको बुझिएको छ । मन्त्री श्रेष्ठ निकट स्रोतका अनुसार सुरुवाती चरणदेखि नै गृह मन्त्रालय दाबी गरेका उनले अध्यक्ष दाहाललाई दबाब दिनका लागि नै पत्रकारसम्मेलन आयोेजन गरेका हुन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले गृह मन्त्रालय श्रेष्ठलाई नै दिने आश्वासन दिएपछि आइतबार बिहानै कारणबश भन्दै पत्रकार सम्मेलन स्थगित गरिएको बुझिएको छ ।
नेपाली कांग्रेसका उपसभापति पूर्वाबहादुर खड्का र नारायणकाजी श्रेष्ठ दुबैको नजर गृह मन्त्रालयमा छ । दुबैले एउटै मन्त्रालयमा दाबी गरेपछि मन्त्रालय बाडँफाडँमा समस्या देखिएको प्रधानमन्त्री निटक स्रोतको भनाइ छ ।
स्रोतका अनुसार खड्कालाई अर्थ मन्त्रालय र श्रेष्ठलाई गृह मन्त्रालय दिने सहमति भएसँगै श्रेष्ठले आयोजना गर्ने भनिएको पत्रकारसम्मेलन स्थगित गरिएको हो ।
मन्त्रीको सचिवालयले भने समय अभावका कारण आज आयोजना गर्ने भनिएको पत्रकारसम्मेलन स्थिगत गर्नु परेको बताएको छ । श्रेष्ठका प्रेस संयोजक कमल गिरीले मन्त्रीको समय अभाव र आवश्यक तयारी नपुग्दा स्थगित गर्नु परेको जानकारी दिए ।